महानगरमा अतिक्रमित ३३ रोपनी जग्गा फिर्ता, श्रम बैंकमार्फत ८५७ जनालाई रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमण भएको ३३ रोपनी जग्गा फिर्ता गरेको छ । महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बताएको हो । महानगरको वार्षिक समीक्षामा बोल्दै उपप्रमुख सुनिता डंगोलले व्यक्तिले कब्जा गरेको ३३ रोपनीभन्दा धेरै सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त गराएर सार्वजनिक उपयोगमा ल्याइएको बताएकी हुन् । महानगरका अनुसार यसै वर्ष नगर प्रमुखको अध्यक्षतामा सार्वजनिक निजी साझेदारी बोर्ड गठन गरिएको थियो । जुन समितिले व्यक्तिले कब्जा गरेको ३३ रोपनीभन्दा धेरै  सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त गराएर सार्वजनिक उपयोगमा ल्याएकाे थियाे । साथै समितिले ५० वटा स्वास्थ्य संस्थाहरूको अस्पतालजन्य फोहोर व्यवस्थापन कार्यको अनुगमन गरी २० वटा स्वास्थ्य संस्थाहरूलाई सुधारको मौका दिएर कारबाहीको दायरामा पनि ल्याएको महानगरले जनाएको छ । त्यस्तै, समीक्षामा बोल्दै उपप्रमुख डंगोलले राजस्व संकलन कार्यलाई सरल र सहज बनाउनुपर्ने बताएकी छन् । उनी भन्छिन्, ‘खर्चलाई मितव्ययी र लाभग्राहीले महसुस गर्ने बनाउनुपर्छ । ठूला कार्यक्रम र योजनाबाट मात्र प्रगति देखिन्छ भन्ने होइन । कतिपय ठाउँमा साना कार्यक्रमले पनि ठूलो प्रभाव राख्न सक्छ ।’ उपप्रमुख डंगाेलले चालु आर्थिक वर्षमा क्रमागत योजनाको संख्या धेरै भएकोले यस्ता योजना तत्काल सम्पन्न गर्नुपर्ने पनि बताएकी छन् । ‘यसवर्ष विनियोजित २४ अर्बमध्ये १२ अर्बभन्दा बढी अर्थात् ५१.०१ प्रतिशत खर्च भएको छ । यो पछिल्लो पाँच वर्षको अवधिमा भएको खर्चको दरमध्ये सबैभन्दा उच्च हो,’ उनी भन्छिन्, ‘सामाजिक विकासका कार्यक्रममा ६०.२२ प्रतिशत खर्च भएको छ । खर्चको यो दरले महानगरपालिकाले लिएको बाटो सही गन्तव्यतिर छ भन्ने हो ।’ समीक्षामा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आव २०८०/८१ मा भएको कुल खर्च रकम आव २०७६/७७ का लागि विनियोजित सिङ्गो बजेट बराबर रहेको बताए । उनले विभागीय प्रमुखहरूलाई राजस्व संकलन र पुँजीगत खर्च बढाउने र बेरुजु घटाउने विषयमा गम्भीर हुन आग्रह गर्दै यसमा गएको वर्षको प्रगति सन्तोषजनक रहेको तर सन्तुष्ट हुन सकिने अवस्था नरहेको उल्लेख गरे । महानगरपालिकाले आव २०८०/८१ मा २४ अर्ब बजेट विनियोजन गरेको थियो । यसका लागि सबैभन्दा बढी आन्तरिक स्रोतबाट ८२ प्रतिशत, तीनै तहको राजस्व बाँडफाँडबाट ९ प्रतिशत, समानीकरण अनुदानबाट ३ प्रतिशत र सशर्त अनुदानबाट ६ प्रतिशत बेहाेर्ने अनुमान गरिएको थियो । योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले आयोजना गरेको समीक्षा कार्यक्रममा महानगरपालिकाको नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने विभाग स्तरीय २५ वटा कार्यान्वयन एकाइका प्रस्तुति रहेका थिए । यी कार्यान्वयन केन्द्रहरूमा प्रशासन, वित्त, राजस्व, सार्वजनिक निर्माण, कृषि तथा पशुपन्छी, सहकारी, विपद व्यवस्थापन, शिक्षा, सूचना प्रविधि, कानुन तथा मानव अधिकार, वातावरण व्यवस्थापन, सामाजिक विकास, सम्पदा तथा पर्यटन, स्वास्थ्य, सहरी व्यवस्थापन विभाग रहेका छन् । यस्तै, सहरी योजना आयोग, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय, खरिद एकाइ, योजना, अनुगमन तथा मूल्याङ्कन एकाइ, आन्तरिक लेखा परीक्षण एकाइ, उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, महानगर प्रहरी बल, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यान्वयन केन्द्र रहेका छन् । समीक्षामा कार्यान्वयन केन्द्रका प्रमुखहरूले विभागगत प्रस्तुति पनि गरेका थिए । विभाग, आयोजना, एकाइ, कार्यक्रम, वडासहित महानगरपालिकाका नीति, योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने ८५ वटा केन्द्र रहेका छन् । यसवर्ष श्रम बैङ्कमा आवद्ध भएका ५२८ जनालाई महानगरपालिकाभित्र र ३२९ जनालाई निजी क्षेत्रमार्फत रोजगारी प्रदान गरिएकाे छ । समीक्षामा प्रशासन विभागका प्रमुख नमराज ढकालले भने, ‘यसबाहेक प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थप १ हजार जनालाई रोजगारी प्रदान गरियो ।’ कर्मचारी व्यवस्थापनका विषयमा कुरा गदै उनले यस आवमा प्रदेश सरकारबाट सिफारिश भएर आएका ७१ जना कर्मचारीलाई पदस्थापन गरिएको जानकारी दिए । महानगरले यस वर्ष ५५.४० किलोमिटर सडक कालोपत्रे गरेको बताएको छ । त्यस्तै, १०.३१ किलोमिटर सडक ढलान, १२.२५ किलोमिटर ढल राख्ने, ३२.४७ किलोमिटर ब्लक छाप्ने, १ हजार ७७७ वर्ग मिटर ढुंगा छाप्ने, ३.१८ किलोमिटर रिटेनिङ् वाल लगाउने काम भयो प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक निर्माणअन्तर्गत १६ वटा भवन निर्माण सम्पन्न भएको महानगरले बताएको छ । त्यस्तै, ९ वटा पार्क निर्माण भएका छन् । यस वर्षमा चालु र क्रमागत गरी ८ अर्ब ९२ करोड रुपैयाँ लागतका ३५८ वटा योजना रहेका थिए । महानगरका अनुसार १ लाख २५ हजार २०६ जनालाई परिवार, नियोजन, नियमित खोप, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतनजस्ता सेवा प्रदान गरिएको छ । २ हजार ९१० जनलाई पूर्ण खोप प्रदान गरिएको महानगरको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ४ हजार ४६६ जनाको पोषण लेखाजोखा भएको छ । ८५४ जना क्षयरोग लागेका बिरामीलाई डट्स विधिबाट औषधी प्रदान गरिएको छ भने १ हजार २५० जना नागरिकलाई विपन्न उपचारका लागि सिफारिस गरिएको छ । ६ हजार ६२४ जनाको एचपिभी डिएनए प्रविधिबाट पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको र १ हजार ४३३ जनालाई निःशुल्क रगत तथा रक्त तत्व उपलब्ध गराइएको महानगरले बताएको छ । महानगरका अनुसार ५ हजार ५ सय कुकुर विरालाको बन्ध्याकरण गरिएको छ । १६ हजार कुकुर/बिरालोलाई रेबिज भ्याक्सिन दिइएको छ भने १ हजार कुकुरलाई डिस्टेम्पर भ्याक्सिन दिइएको छ । २ हजार ५०० छाडा पशु व्यवस्थापन गरिएको र २ हजार ४७९ मृत जनावर व्यवस्थापन गरिएको महानगरले जनाएको छ । यस आवमा बहाल करतर्फ ३ हजार ३१७ जना करदाताको संख्या थप भएको महानगरले जनाएको छ । यस्तै, व्यवसाय करतर्फ ३ हजार १६७ जना र सम्पत्ति करतर्फ १ हजार ३३९ जना करदाताको संख्या थप भएको महानगरको भनाइ छ । महानगरले सार्वजनिक स्थलहरूको सरसफाइका लागि ३ सय जना सफाइकर्मीहरू दैनिक रूपमा परिचालन गरेकाे जनाएकाे छ । महानगरका अनुसार विष्णुमति, रुद्रमति (धोवीखोला), भचाखुशी, टुकुचा, सामाखुशी, बल्खु, करखुशी र मनोहरासहितका नदीहरूको विशेष सरसफाइ गरिएको थियो । महानगरभित्र ४० माइक्रोनभन्दा कम तौल भएका पाताला झोलाहरूको विक्रीवितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । महानगरले ६० वटा स्वास्थ्यसंस्थाहरूको फोहरमैला व्यवस्थापन अनुगमन गरेर कानुनी दायरामा ल्याएको छ । अफिस अटोमेसनअन्तर्गत ई-अफिस सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । जस प्रणालीमा अनलाइनबाट नै टिप्पणी लेख्ने, पेश गर्ने, दर्ता चलानी गर्ने प्रक्रिया हुने गरेको छ । इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम, ई-अफिस र सिफारिसका लागि ४७६ वटा डिजिटल सिग्नेचर प्रयोगमा ल्याइएको महानगरको भनाइ छ । ३२ वडा कार्यालय, ३२ वटा स्वास्थ्य प्रवर्द्धन केन्द्र, महानगर प्रहरी बल, दमकल, विभिन्न आयोजना, पार्कसहित ८५ वटा सेवा केन्द्रलाई ईन्ट्रानेट सञ्जालबाट जोडिएको महानगरले जनाएको छ । त्यस्तै, कल सेन्टरमा प्राप्त भएका २ हजार १५८ गुनासामध्ये १ हजार ७६५ वटा गुनासो सम्बोधन गरिएको महानगरले बताएको छ । महानगरका अनुसार २८ हजार १७२ कल रिसिभ गरिएकोमा २६ हजार १४ सम्बोधन भएको छ । भवन निर्माणतर्फ भने १ हजार ३२० वटा नक्सा स्वीकृत भएका छन् भने ६६ वटाको तला थप गर्न नक्सा पास गरिएको महानगरले बताएको छ । ३ हजार ७४५ वटा भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिइएको छ भने १५५ जनाले नक्सा नामसारी गरेका छन् ।

विनाशपछि अझ राम्रो बन्दै धार्चे, पर्यटक लोभ्याउन आकर्षक पूर्वाधार निर्माण

  काठमाडौं । प्राकृतिक विपद्का कारण विनाश भएका त थुप्रै पालिकाका उदाहरण छन् । तर विनाशपछि पुनरुत्थान गर्दै उदाहरणीय काम गरेका पालिकाहरू भने कमै होलान् । यसको एक गतिलो उदाहरण हो- गाेरखाकाे  धार्चे गाउँपालिका । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट ठूलो क्षति भयो । जसको असर थुप्रै पालिकाहरूले बेहाेर्नुपर्‍याे । प्रत्यक्ष रूपमा क्षति बेहाेर्ने धार्चे गाउँपालिका पनि एक हो । गोरखाको लाप्राकले भूकम्पपछि गरेको पुनरुत्थान अनुकरणीयसँगै चामत्कारिक छ । क्षतिपछि लाप्राक पहिलेभन्दा अझै सुन्दर र बलियो बन्दै अघि बढेको छ । यस पालिकाले सरकार, दाता र गैरसरकारी संस्थाहरूको सहयोगसँगै आफ्नो प्रयासबाट ‘इपिसेन्टर ट्रेकिङ ट्रेल’ बनाएको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । उनका अनुसार भूकम्पको केन्द्र (इपिसेन्टर)लाई भित्र पारेर २० किमि ‘इपिसेन्टर ट्रेकिङ ट्रेल’ बनाइएको हो । त्यस्तै, भूकम्पले क्षतिग्रस्त लाप्राकका दुई सय ५० घरलाई होमस्टेको रूपमा विकास गरेको छ । भूकम्पको केन्द्रमा अन्य पनि थुप्रै यस्तै कामहरू भएका छन्, जसले पर्यटकलाई लोभ्याइरहेका छन् । भूकम्पको केन्द्रमा इपिसेन्टर चौतारो बनाइएको छ । त्यस्तै, प्याराग्लाइडिङ, क्यानोनिङ, रक क्लाइम्बिङ र स्कीजस्ता पर्यटक लोभ्याउने आकर्षक पूर्वाधार बनाइएको गुरुङले बताए । काठमाडौंबाट सात दिनमै गणेश हिमाल पुग्ने एक्स्पिडिसन रुट पनि गाउँपालिकाले निर्माण गरिरहेको छ । गणेश हिमाल तस्बिर साभार: धार्चे गाउँपालिकाको वेबसाइट‍ । गाउँपालिकाभित्र घुम्नैपर्ने पर्यटकीय स्थलको प्रचार गरिएको अध्यक्ष गुरुङ बताउँछन् । ‘पर्यटक तान्न आफ्नो क्षेत्रभित्रका भूगोल, सम्पदा र पूर्वाधारको जानकारी दिने ‘एग्रो टुरिजम एप’ बनाएका छौं,’ उनी भन्छन्, ‘यसको सहायताले कुनै पनि पर्यटक बिना गाइड नै यहाँ आइपुग्न सक्छन् ।’ गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तर-पूर्वी भागमा अवस्थित यो गाउँपालिका सदरमुकाम गोरखा बजारबाट करिब ७२ किलोमिटर उत्तर-पश्चिममा पर्दछ । पूर्वतर्फ धादिङ जिल्ला र चीनको स्वशासित क्षेत्रसँग जोडिएको यो गाउँपालिका दक्षिणतर्फ आरुघाट गाउँपालिका र धादिङ जिल्ला, उत्तरमा चुमनुम्ब्री गाउँपालिका र पश्चिममा बारपाकसुलिकोट गाउँपालिकासँग सिमाना जोडिएको छ । यो गाउँपालिका राष्ट्रिय गौरवको बुढी गण्डकी जलविद्युत् आयोजना तथा मनास्लु हिमाल र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारको रूपमा पनि रहेको छ । गाउँपालिका छ सय ५२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने गाउँपालिको केन्द्र वडा नम्बर ५ माछीखोलामा रहेकाे छ । भूकम्पअघिको लाप्राक बस्ती ।  तस्बिर साभार: धार्चे गाउँपालिकाको वेबसाइट‍ । यस गाउँपालिकामा प्रकृतिका पुजारी आदिवासी जनजातिहरूको बाहुल्यता रहेको अध्यक्ष गुरुङ बताउँछन् । यहाँका बासिन्दाले आफ्नो घरबाट बाहिर कतै प्रस्थान गर्ने बेलामा आफ्नो रक्षा एवं कार्यसिद्धिका लागि खोलानाला एवं डाँडाकाँडाको पूजा गर्ने चलन रहिआएको उनको भनाइ छ । उनी भन्छन्, ‘यसरी पूजा गर्दा धर्च (कपडाको टुक्रा) ढुंगाको देउरालीमा चढाउने वा काठको लठ्ठीमा बाँधेर गाड्ने प्रचलन रहेको छ ।’ स्थानीय गुरुङ भाषामा ध्वजालाई धर्च र डाँडाकाँडालाई गाङ भनिन्छ । बोल्दै जाने क्रममा यही शब्द अपभ्रमित भई धार्चेडाँडा भन्ने प्रचलन चलेकाे स्थानीयहरू बताउँछन् । समुन्द्री सतहबाट तीन हजार चार सय ५० मिटर उचाइमा रहेको रुबीनाला ग्लेसियर धार्चे गाउँपालिका, बारपाक सुलिकोट, गाउँपालिका र चुमनुम्ब्री गाउँपालिकाहरूमात्र होइन, समग्र नेपालकै पर्यटकीय स्थलको रूपमा परिचित रहेको अध्यक्ष गुरुङ बताउँछन् । कम उचाइमा रहेको  रुबीनाला ग्लेसियर विश्वमै जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । त्यसैगरी, यसै गाउँपालिका भएर पुगिने नेटुंगोमा रहेका एक सय आठ प्राकृतिक धारा सौन्दर्यताको दृष्टिले मात्र होइन, पौराणिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले समेत महत्त्वपूर्ण मानिने अध्यक्ष गुरुङले जानकारी दिए । ‘जिउँदै स्वर्ग जान हिँडेका पाण्डवहरूले यहाँ रहेका धारामा नुहाएर नजिकै रहेको नेटुंगो गुफामा ध्यान गरेका थिए भन्ने जनविश्वास प्रचलित रहेको छ,’ उनी भन्छन्, ‘त्यति मात्रै होइन, धार्चे गाउँपालिकाका विभिन्न स्थानहरूमा तातोपानीका मूलहरू रहेका छन् । विशेषगरी, स्थानीय माछाखोला बजारसँगै बुढीगण्डकीको वरिपरि तथा माछाखोला बजारबाट २ घण्टाको दूरीमा रहेको तातोपानी कुण्ड धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण रहँदै आएको छ ।’ तातोपानीमा नुहाउँदा शरीर स्वस्थ अनि सबल बन्छ भन्ने जनविश्वास रहेको अध्यक्ष गुरुङ बताउँछन् । धार्चे गाउँपालिकास्थित लापुबेंसीमा रहेको नौलेखोला झरनाको शिरमा रहेको नौलेखाला चिंगारलाई स्थानीयहरूले परम्परागत रूपमा दैवीय शक्ति मानेर पूजाअर्चना गर्दै आएका छन् । यसलाई धार्चे गाउँपालिकाले शिवलिंगको रूपमा धार्मिक पहिचान प्रदान गरी एक तीर्थस्थलको रूपमा विकास गर्ने लक्ष्य समेत लिएको अध्यक्ष गुरुङले बताए । प्राकृतिक र जैविक विविधताको केन्द्र धार्चेडाँडामा तीन सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीहरू पाइने उनी बताउँछन् । उनका अनुसार समथल पाटन र हरियाली जंगलहरू रहेको धार्चेडाँडा गुफाको दृष्टिले समेत महत्त्वपूर्ण छ । मनास्लु ट्रेकिङ, रुवीनाला ट्रेकिङ र गणेशमान ट्रेकिङको प्रवेशमार्ग रहेको धार्चेमा गाउँपालिकाले ट्रेकिङ रुटहरूको समेत बिस्तार गरेको छ । यारुबगरस्थित बुढीगण्डकीको किनारमा बनाइएको क्यान्टिलिभर पुल सांस्कृतिक रूपमा पनि धार्चे गाउँपालिका महत्वपूर्ण रहेको छ । यस ठाउँमा मनाइने मकै विवाह विश्वमै एक नौलो संस्कृति रहेको अध्यक्ष गुरुङ बताउँछन् । ‘यहाँ मनाइने मकै विवाहले विश्वकै नवीन मौलिक संस्कृतिसँगै कृषिकर्मप्रति श्रद्धा र सम्मानलाई पनि अभिव्यक्त गर्दछ,’ उनी भन्छन्, ‘मकै रोप्ने समय माघ र फाल्गुण महिनामा मनाइने मकै विवाहमा मकैको बीउ रोप्नुअगाडि धर्ति पूजालगायतका अन्य पूजाआजा र सांस्कृतिक कर्म गर्ने गरिन्छ ।’ नेपाली समाजमा परिचित राम जानकी विवाहको जस्तो स्वरूप र प्रक्रिया देख्न पाइने मकै विवाहको आफ्नै मौलिक र धार्मिक मान्यता रहेको उनी बताउँछन् । यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि हुन नसकेको अध्यक्ष गुरुङको गुनासाे छ । भूकम्पले गरेको विनाशपछि क्रमश: सुधार हुँदै गएको पालिका हाल उत्कृष्ट पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी शहरबीच भगिनी सम्बन्ध विस्तार

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी शहरबीच भगिनी सम्बन्धका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की र जापानको ओत्सुकी शहरको प्रान्तीय सभाका सभापति उजुकी मासाइतोले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा हस्ताक्षर पश्चात नगर प्रमुख कार्कीले जापानको ओत्सुकी शहरसँग कला, संस्कृति, खेलकुद, पर्यटन र कृषिको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने समझदारी भएको बताए । उनले जापानको ओत्सुकी शहर र कागेश्वरी मनोहरा नगरपालिकाबीच आपसी सहयोग आदानप्रदान र प्रवद्र्धनका लागि फ्रेण्डसिप सिटी एक्सचेन्जका लागि दुई शहरबीच भगिनी सम्बन्ध कायम गरिएको बताए । मेयर कार्कीले दुई शहरकाबीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गरिने जानकारी दिए । उनले संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान पनि हुने उल्लेख गरे । नेपालको तुलनामा जापान पूर्वाधार र प्रविधिको विकासमा निकै अघि रहेकाले त्यहाँको असल अभ्यासहरुलाई नगरपालिकाले अनुशरण गर्ने बताए । सम्झौता पत्रमा हस्ताक्षर पश्चात जापानका उच्च अधिकारीहरुले पनि नेपालको शहरसँग भगिनी सम्बन्ध स्थापित गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।