काठमाडौं महानगर र गुणस्तर विभागबीच सम्झौता, खाद्य नमूना संकलन, अनुगमन र निरीक्षण हुने
काठमाडौं । खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच सोमबार सहमति पत्रमा हस्ताक्षर भएको छ । महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विभागको सभा कक्षमा आयोजित कार्यक्रममा हस्ताक्षर गरे । खाद्य व्यवसाय अनुगमन तथा खाद्य नमूना परीक्षणको माध्यमबाट खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सहकार्य थालिएको हो । संयुक्त अनुगमन तथा निरीक्षणका लागि घुम्ती खाद्य प्रयोगशालाको सञ्चालनका लागि आवश्यक साधन स्रोतको व्यवस्था महानगरपालिकाले गर्नेछ । अन्य व्यवस्थापन संयुक्त रूपमा हुनेछ । अनुगमन निरीक्षणमा घुम्ती खाद्य प्रयोगशाला, खाद्य प्राविधिक, माइक्रोबायोलोजिष्ट तथा विज्ञसहितको टोलीले संयुक्त टोली हुनेछ । अनुगमन निरीक्षणसम्बन्धी कार्ययोजना दुवै पक्षको सहभागितामा निर्धारण हुनेछ । महानगरपालिकाको सेवामा रहेका फुड टेक्नोलोजिष्ट र माइक्रोवायोलोजिष्ट तथा अन्य कर्मचारीलाई विभागले क्षमता विकास गराउनेछ । सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि बोल्दै महानिर्देशक कर्णले सहमतिअनुसारका कामबाट काठमाडौंमा थोरै लगानी भएको ठाउँमा खाइने खाना होस् कि ठूलो लगानीमा सञ्चालित खाद्य सेवाका ठाउँ हुन्, जहाँबाट पनि उपभोक्ताले स्वच्छ खाना प्राप्त गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे । आपसमा भएका क्षमता बाँडेर काम गर्दा स्वच्छ खाद्य सेवामा दिगो नतिजा आउँछ । विभागका उपमहानिर्देशक सोमकान्त रिजालले अनुगमनमा यस अघि देखिएको दोहोरोपनाको समस्या हटेर एकीकृत अनुगमन प्रणाली स्थापना हुने बताउँदै यसले व्यावसायिक वातावरणमा सकारात्मक प्रभाव पर्ने बताए । समाजका तल्लो तहमा रहेका नागरिकलाई राज्यले प्रदान गर्ने सुविधा नजिकैको सरकारबाट प्रदान गर्नका लागि संविधानले कल्पना गरेको सहकार्य संस्थागत हुँदै गएको छ । हस्ताक्षर कार्यक्रममा महानगरपालिकाको प्रशासन विभागका प्रमुख धु्रवकुमार काफ्ले, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरी, विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित पदाधिकारीहरु सहभागी थिए । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा विभागलाई प्रदेश सरकार तथा स्थानीय तहबाट हुने खाद्य व्यवसायको निरीक्षण तथा अनुगमनमा सहयोग तथा सहजीकरण गर्ने दायित्व दिएको छ । काठमाडौं महानगरपालिकाले उपभोक्ताहरुको गुणस्तरीय, सुलभ खाद्य अधिकार सुरक्षाका लागि नियमित खाद्य सेवाको अनुगमन गरिरहेको छ ।
स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने, अन्तर्राष्ट्रिय बजारमा समेत अब्बल रहेको दाबी
काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका-२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन् । रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुङ्गा, स्लेट र औषधीजन्य जडिबुटीको खानी भएपनि सञ्चालन सम्बन्धी कार्यविधि अभावमा उत्खनन् हुन सकेका थिएनन् । ऐन पारित भएसँगै निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी दर्ता गर्ने कानुनी बाटो खुलेको हो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रिया पुरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानुनी व्यवस्था गरेको बताए । यहाँको पाखो तथा निजी जग्गामा भएका ढुङ्गा खानीलाई व्यवस्थित गरी सञ्चालन गरेमा स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले जानकारी दिए । ‘यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छन् । प्रविधि र प्रशोधनको व्यवस्था हुने हो भने अन्तर्राष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना छ,’ उनले भने । रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी छन् । व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेको स्थानीय जगबहादुर पुनले जानकारी दिनुभयो । केही वर्ष अघिसम्म म्याग्दी,पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायतबाट घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो । सभाबाट पारित भएको ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन, २०८१ मा स्लेट खानी सञ्चालनसम्बन्धी व्यवस्था गरिएको हो । स्थानीयवासीले ढुङ्गा खानीलाई वैधानिकता दिन माग गर्दै आएका थिए ।
रसियाको उलान उदे सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध
ललितपुर : ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्धले दुबै देशका जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउने दाबी गरे । उनले भने, ‘दुई सहरबीचको यो सम्बन्धले धेरै कुराको सम्भावना खोलेको छ ।’ ललितपुर महानगर कला, संस्कृति र सम्पदाको सहर भएको बताउँदै उलान उदे सहरमा ललितपुरको संस्कृति र सम्पदा झल्काउने काम गर्न इच्छुक भएको बताए । बुद्धको देश नेपालबाट रसियाका जनतालाई सन्देश लिएर आएको बताउँदै बुर्यातिया प्रमुख र उलान उदे सहरका प्रमुखलाई नेपाल आउन निम्तो दिए । रिपब्लिक अफ बुर्यातिया रसियाका प्रमुख अलेक्सेई स्प्देनोभले नेपाल र रिपब्लिक अफ बुर्यातियाबीच धेरै विषय एक अर्कासँग मिल्दाजुल्दा भएको बताए । भेटघाटलाई बाक्लो बनाउने बताउँदै संयुक्त रुपमा परियोजनाहरु संचालन गर्ने जानकारी दिए । उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले यो भगिनी सम्बन्धले नेपाल र रुसबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताए । दुई देशको विकासका लागि के गर्न सकिन्छ यस सम्बन्धमा थप गृहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उलान उदे रसियाको पुरानो सहर हो । विकासशील यो सहरको विशेषता ललितपुर महानगरसँग मिल्दाजुल्दा छन् । समझदारी पत्रमा सडक निर्माण तथा स्तरोन्नति, महानगरको सार्वजनिक सवारी साधान व्यवस्गित, पर्यटन, शिक्षा र स्वास्थ्य, ऐतिहासिक सम्पदा संंरक्षण , ग्यालरी र म्यूजियम स्थापनाका , सूचना प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान विषयमा सहकार्य गर्ने उल्लेख छ । नगर प्रमुखले प्रतिनिधिमण्डलमा प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, उद्योग, पर्यटन तथा संस्कृति समितिका संयोजक एवम वडा नं.५का वडा अध्यक्ष विकास मान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहदार मुकुन्द विष्ट छन् । महानगर प्रमुखको प्रतिनिधिमण्डल शनिवार रसिया गएको हो ।