‘एक वडा एक उत्पादन’ भन्ने अभियान चलाएका छौं – नगर प्रमुख खत्री

बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा पर्ने एउटा रमणिय नगरपालिका हो ‘कमलामाई नगरपालिका’ । यो नगरपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि चर्चित छ । यो नगरपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक अनि प्राकृतिक रुपले फरक विशेषता बोकेको क्षेत्र हो । यहाँका प्राकृतिक श्रोत साधन र ऐतिहासिक तथा पुरातात्विक सम्पदा जीवन्त रहन सक्षम छन् । यो नगरपालिका चुरे तराईको प्रचण्ड गर्मी देखी महाभारतको उच्च श्रृंखलासम्म विस्तारित छ । नगरपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ, नगरपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन्, कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, रोजगारीको अवसर नगरपालिकाले कसरी सिर्जना गरिरहेको छ भन्ने लगायतका विषयमा सो नगरपालिकाका मेयर खड्ग वहादुर खत्रीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः नगरपालिकामा कोरोनाले पुर्याएको असर तथा हालको ताजा अवस्थाका वारेमा केहि बताइदिनुस् न विश्वभरी नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो नगरपालिकामा पनि ठुलो असर पुर्याएको छ । कोरोनाको कारण विकास निर्माण देखि लिएर सबै क्षेत्रमा असर पुर्याएको छ । कोरोना बाट नै यहाँका ५ जनाले ज्यान गुमाउनुपर्यो । नगरपालिका भित्र हामीले क्वारेन्टिन स्थापना गरेका थियौं । हामीले सिन्धुली कोभिड अस्पतालको पनि निर्माण गरेका छौं । हामीले स्थानिय अस्पतालमा आइसोलेसनको सञ्चालन पनि गरेका थियौं । अब नगरपालिकामा कोरोनाको खासै प्रभाव छैन । अवस्था सामान्य बन्दै गएको छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? प्रदेश सरकारका माननीय, मन्त्री तथा कर्मचारी सबैसँग समन्वय गरेर हामी अगाडि बढि रहेका छौं । सिन्धुलीगढी दरबार बनाउन पनि हामीले प्रदेश सरकारसँग नै समन्वय गर्यौं । नयाँ सडक निर्माण, भएका सडकहरु पिच गर्ने लगायतका योजना छन् । बहुवर्षे योजनामा पनि हामीलाई प्रदेश सरकारले सहयोग गरेको छ । नगरपालिकाको विकास निर्माणदेखि भौतिक पूर्वधारसम्मका योजनाहरुमा पनि प्रदेश सरकारसँग समन्वय गरेरै अघि बढेका छौं । प्रदेश सरकारको साथ स्थानीय सरकारलाई मिलको छ । हाम्रो नगरपालिकाको एकमुष्ट बजेट १ अर्व १६ करोड १२ लाख रुपैयाँ रहेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आईपर्छन् ? स्थानीय तहमा काम गर्दा समस्या धेरै आउने गरेका छन् । सडक निर्माण गर्नुपर्यो भने सिमानाका कुराहरु आउन सक्छ । बजेट विनियोजन गर्ने कुरामा मानिसको अपेक्षा धेरै रहेको हुन्छ । तर हाम्रो बजेट भने अपेक्षा गरेभन्दा थोरै रहेको हुन्छ । भौगोलिक दृष्टिकोणले विकट गाँउपलिकालाई मिलाएर नगरपालिका बनाइएको छ । जे होस् जनता हाम्रो कामसँग सन्तुष्ट नै छन् भन्नुपर्छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? नगरपालिकामा केन्द्र सरकार बाट पनि सहयोग भएको छ । केन्द्र सरकारकै सहयोगको कारणले गर्दा ‘उज्यालो नगरबासीको चाहना, उज्यालो नगरपालिका हाम्रो कामना’ भनेर गाउँ–गाउँमा बिजुली पुर्याउन संघीय सरकार बाट बजेट ल्याएर हामीले काम गरेका हौं । विकास निर्माणको काममा पनि हामीले केन्द्र सरकारको सहयोग पाइरहेका छौं । ठुला विकासको योजनामा पनि केन्द्र सरकार बाट सहयोग मिलिरहेकै छ । नगरपालिकामा गरेको विकास निर्माणको काम कत्तिको प्रभावकारी भएको छ ? नगरपालिकामा गरेको विकास निर्माणको कामहरु सबै प्रभावकारी भएका छन् । विकासको काम प्रभावकारी भएकाले म यसमा सन्तुष्ट रहेको छु । त्यहाँ भएका विकास निर्माणका कामको उदाहरण दिनुपर्दा के भन्नुहुन्छ ? मुख्यतः सडक सबै ठाउँमा पुर्याउने काम भइसकेको छ । प्रदेश सरकार र संघिय सरकारको समन्वयमा सडकहरु पिच गर्ने कार्य भइरहेको छ । बिजुली वत्ति घर घरमा पुर्याइरहेका छौं भने खर तथा परालको छानो अन्त्य गर्ने अभियानमा हामी जुटेका छौं । मा.वि स्कुलका भवनहरुको निर्माण र व्यवस्थापन गर्ने कार्य गरिएको छ । तपाईं निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि नगरपालिकाका नागरिकमा कस्तो परिर्वतन आएको छ ? नगरिकको आर्थिक स्थितीमा परिर्वतन आएको छ । पहिले यो नगरपालिका दुधमा, मासुमा आत्मनिर्भर थिएन तर आज यी कुराहरुमा आत्मनिर्भर भइसकेको छ । तरकारीमा पनि आत्मनिर्भर भएको छ । सानासाना मझौला उद्योग खोल्न चाहने नागरिकले नगरपालिका बाट विना व्याज विना धितो १ करोड रुपैयाँ नगर स्वारोजगार र १ करोड रुपैयाँ युवा स्वारोजगार पाउन सक्छन् । विभिन्न मजदुरको स्वास्थ्य बीमा भएको छ । ६ सय घर परिवारका २८ सय मान्छे स्वास्थ्य बीमा बाट लाभान्बित भएका छन् । सबै वडामा कृषिका भेटेरिनरीका जेटिएहरुलाई पठाएका छौं । अस्पताल नभएका वडाहरुमा अस्पताल भवनको निर्माण गरेका छौं । नेपाल सरकारबाट प्राप्त निःशुल्क औषधी हामीले जुनसुकै समयमा पनि वितरण गरेका छौं । तपाई निर्वाचित भएको ३ बर्ष पुरा हुँदा नगरपालिका भित्र सम्झिन लायक काम के–के गर्नुभयो ? त्यस्ता काम धेरै नै छन् । नेपाली सेनाको सहयोगमा सिन्धुली गढी संंग्रहालय अन्तिम चरणमा पुगेको छ । सिन्धुली गढी दरबारको निर्माण भइरहेको छ । सिद्धलाला मन्दिरमा भ्यू टावर बनिरहेको छ । वडा नं ९ र १० जोड्ने पक्कि पुल टेन्डर भएर चलिरहको छ । नगरपालिकादेखि तीनपाटन गाँउपालिका जोड्ने बाटो ५२ करोड रुपैयाँमा पिच हुने काम अगाडि बढि रहेको छ । नगरपालिकाको वडा नं ६ र ५ जोड्ने पुलको निर्माण भइरहेको छ । वृद्ध बाआमाहरुले निःशुल्क रुपमा आँखाको उपचार पाइरहनु भएको छ । नगरपालिका भित्रका विद्यालय व्यवस्थित रहेका छन् । भवन निर्माणका कामहरु भएका छन् । त्यसैले मैले सम्झिन लायकका काम धेरै भएका छन् भन्दा फरक पर्दैन । बुँदागत रुपमा भन्नुपर्दा नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? नगरपालिकाको ठुला योजनाहरुमा – १. सिन्धुली गढी दरबारको योजना (बजेट ७ करोड रुपैयाँ), २. सिन्धुली गढी हिलिफीर बन्ने योजना (बजेट ३ करोड रुपैयाँ), ३. सिद्ध लाला मन्दिर भ्यू टावरको निर्माण (बजेट ३ करोड ५० लाख रुपैयाँ), ४. नगरपालिका हुँदै चकमके जाने बाटोको योजना (५२ करोड रुपैयाँको प्रजेक्ट), ५. नगरपालिकाको वडा नं. ९ र १० जोड्ने पुलको निर्माण (१२ करोड रुपैयाँको योजना) लगायत छन् भने नगरपालिका भित्रका साना तिना योजानाहरु त धेरै नै रहेका छन् । आफ्नो नगरपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ नि ? पर्यटन क्षेत्रको प्रचारप्रसार राम्रैसँग गरेका छौं । सिन्धुली गढी हेर्न भन्दै वाह्य तथा आन्तरिक पर्यटकहरुको भिड लागिरहेकै छ । कमलामाई मन्दिरको उचित व्यवस्थापन गरेका छौं भने यस मन्दिरको प्रचारप्रसार पनि गरिरहेका छौं । पर्यटकहरुका लागि होमस्टेको व्यवस्थापन गरेका छौं । कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पुर्याएको असर तथा हालको शैक्षिक अवस्थाका वारे पनि बताइदिनुहुन्छ कि कोरोना भाइरसले नगरपालिका भित्रको शैक्षिक क्षेत्रमा ठुलो असर पुर्याएको छ । कोरोनाको समयमा नगरपालिकामा रहेको सबै विद्यालयहरु बन्द भएको थियो । कोरोनाको प्रभाव नपरेका ठाँउमा सामजिक दूरी कयम गर्दै पठनपाठन सञ्चालन गर्यौं । नगरपालिकामा इन्टरनेट तथा रेडियोका माध्यम बाट पनि पढाउने व्यवस्था गर्यौं । हाल गाँउपालिकामा कोरोनको खासै प्रभाव छैन । नगरपालिकामा रहेका सबै विद्यालयको पठनपाठनहरु नियमित रुपमा सञ्चालन भइरहेको छ । विद्यालयमा माक्स, सेनिटाइजर आदिको प्रयोगलाई अनिवार्य गराएका छौं । नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हामीले नगरपालिकामा बाँझो जमीन नराख्न तथा खेतीयोग्य जमीनको उपयोग गर्न लगाएका छौं । तरकारी खेती गर्नका लागि टनेल पनि वितरण गरिरहेका छौं । हरेक वडामा एउटा जेटिएको व्यवस्थापन गरेका छौं । विउको साटो विरुवा नै दिने अभियानमा रहेका छौं । एक वडा–एक उत्पादन भन्ने अभियान नगरपालिकाको छ । नगरपालिका भित्र जे उत्पादन हुन्छ त्यसै अनुसारका विउ विजन वितरण गर्दै आएका छौं । नगरपालिकामा विभिन्न खाले तरकारी उत्पादन हुने गरेको छ । अनुदानलाई भन्दा खेती अथवा तरकारी व्यावस्थापन तर्फ जोड दिएका छौं । नगरपालिकाले कृषिमा १ करोड र भेटेरिनरीमा १ करोड रुपैयाँ बजेट छुट्याएको छ । नगरपालिकाले रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? नगरपालिकाले युवा स्वरोजगारका लागि भनेर १ करोड रुपैयाँ बजेट छुट्याएको छ । नगर स्वारोजगारको पनि कार्यविधि बनिरहेको छ । युवाहरुलाई विकास निर्माणको काममा लगाएर पनि हामीले रोजगारी दिने वातवरणको विकास गरिरहेका छौं । नगरपालिकामा मानिसहरु प्रायः कस्ता समस्या लिएर आउने गर्छन् ? कोहि खानेपानीको पाइप चाहियो भन्दै आउनुहुन्छ, कोहि रोजगारी चाहियो भन्दै आउनुहुन्छ, कोहि भने स्वास्थ्य सेवा राम्रो हुनुपर्यो भन्नेजस्ता समस्याहरु लिएर आउनुहुन्छ । तपाइँको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मेरो कार्यकालमा सबै वडामा बिजुली पुग्नेछ । नगरपालिका तरकारीमा आत्मनिर्भर बनिरहेकै छ । सबै वडामा सडक पुर्याउने योजना बनाएको छु । नगरपालिकामा रहेका हरेक स्वास्थ्य चौकी सञ्चालमा रहेका छन् । जे होस्, आफूले जिताएकोे जनप्रतिनिधि नगरपालिकको मेयर भएको छ भन्ने अनुभुति जनतालाई भएको छ भन्नेमा विश्वस्त छु ।

युवाको चाहना तथा सीप अनुसारकै रोजगारी दिन प्रयासरत छौं- नगर प्रमुख विष्ट

बागमती प्रदेश अन्तर्गतको मकवानपुर जिल्लामा पर्ने एउटा सुन्दर नगरपालिका हो ‘थाहा नगरपालिका’ । कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित यो नगरपालिका महाभारत श्रृंखलाको मध्य भागमा रमणिय उपत्यकाको रुपमा रहेको छ । यस नगरक्षेत्रको उच्च भागमा रहेको दामन भ्युटावरबाट सर्वोच्च शिखर सगरमाथा सहित २५ भन्दा बढि हिमश्रृंखलाहरु अवलोकन गर्न सकिन्छ । रमाइलो पदमार्ग, शितोष्ण हावापानी, विभिन्न धार्मिकस्थलहरु, प्रशस्त जैविक विविधताजस्ता सम्पदाहरुले थाहा नगरपालिकालाई विशेष बनाएको छ । त्यसैगरी, यहाँको प्रशस्त उर्वर कृषि भुमी त यस क्षेत्रले पाएको वरदान नै हो भन्दा फरक पर्दैन । यस क्षेत्रबाट वार्षिक २ अर्व बरावरको तरकारी देशका प्रमुख शहरहरुका साथै छिमेकी देश भारतमा समेत निर्यात हुने गरेको छ । मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथले यस नगरलाई करिव बिच भागवाट चिर्दै तराईलाई राजधानी काठमाडौसँग जोडेको छ । नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु के के रहेका छन्, कोरोनाकाल पछि नगरपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ, महामारीले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, नगरपालिकाले रोजगारीका अवसरहरु कसरी सिर्जना गरिरहेको छ भन्ने लगायतका विषयमा नगर प्रमुख लवशेर विष्टसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्: नगरपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ ? कोरोनाले पक्कै पनि असर पुर्याएको छ । सजगता अपनाउँदा अपनाउँदै पनि कोरोनाका कारण यहाँका २ जनाको ज्यान गयो । महामारीका वेला हामीले २० बेडको क्वारेन्टिन र आइसोलेसन निर्माण गरेका थियौं । हाल भने कोरोनाको त्रास हट्दै गएको भान हुँदैछ । स्थिती पहिलेभन्दा सामान्य बन्दै गएको छ । नगरपालिकामा कस्तो किसिमको योजनालाई प्रथमिकता दिएर काम गरिरहनुभएको छ ? गत साल कोरोनाले विकास निर्माणमा ठुलो असर पुर्याएको थियो । कोरोनाको असर भए पनि सामान्य तरिकाले विकास निर्माणको कामलाई अगाडि बढाएका थियौं । हामीले अहिले भौतिक पूर्वाधार लगायत नागरिकका आवश्यकतासँग सम्बन्धित विकास निर्माणलाई जोड दिएका छौं । सडक, विद्युत, खानेपानी लगायतलाई पनि नगरपालिकाले प्रथमिकतामा राखेको छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? हामी अहिले संघियताको पहिलो अभ्यासमा रहेका छौं । पहिले जनप्रतिनिधि नहुने भएको हुनाले कानुन मिलेको थिएन । के-के अधिकार हाम्रा हुन् , के-के अधिकार प्रदेशका हुन् भन्ने कुराहरु छलफल भइरहेको अवस्था थियो । संविधानले तोकेको कुराहरु पनि कसले कसरी प्रयोग गर्ने भन्ने हुन्थ्यो । हाल स्थानीय तह र प्रदेश सरकारबिच राम्रोसँग समन्वय भैरहेको छ । समन्वय गरेरै विकास निर्माणका कामहरु अघि बढाईरहेका छौं । स्थानीय तहमा काम गर्दा मुख्य रुपमा के-कस्ता समस्याहरु आईपर्ने रहेछन् ? स्थानीय तहमा धेरै नै समस्याहरु रहेका छन् । मुल समस्या भनेकै जुन गतिमा विकास हुनुपर्ने हो, त्यो अनुसारको नहुनु नै हो । खानेपानीमा समस्या छ, त्रिभुवन राजपथ छियाछिया परेको छ । खोलाहरुमा पुल निर्माणदेखि लिएर सिँचाइसम्ममा समस्यै समस्या रहेको छ । हामी त्यस्ता समस्याको पहिचान गर्दै त्यसलाई समाधान गर्नेतर्फ केन्द्रीत रहेका छौं । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ नि ? केन्द्र सरकारबाट राम्रै सहयोग मिलेको छ । नगरपालिकालाई बजेट पनि सोचेअनुसारको नै आउने गरेको छ । हाम्रो नगरपालिकामा ९० करोड रुपैयाँ बराबरको बजेट बन्ने गरेको छ । नगरपालिकाले विकास निर्माण गरेका कामहरु कत्तिको प्रभावकारी भएका छन् ? नगरपालिकाले प्रभावकारी काम गरेको छ । योजना कसरी ल्याउने भन्ने विषयमा बनाइएको मोडल अनुसार वडा अध्यक्ष तथा सदस्यहरु गाउँ-टोलमा गएर पहिचान गर्नुहुन्छ । आजसम्म नगरपालिकामा जे-जति विकास निर्माणका काम भएका छन् सबैमा सबैजना सन्तुष्ट भएको पाएको छु । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसके पछि नगरपालिकामा कस्ता परिवर्तन आएका छन् ? म निर्वाचित हुनु अघि बजेटको आकार सानो थियो । काम गर्ने तरिका पनि छिटो छरितो थिएन । नगरिकको माग पनि राम्रोसँग सम्वोधन हुँदैनथ्यो । म निर्वाचित भएपछि विभिन्न क्षेत्रमा सुधार आएको छ । स्वास्थ्य सेवामा पनि परिवर्तन आएको छ । बजेटको आकार सानै भएपनि विकास निर्माणतर्फ सन्तुष्ट गर्ने ठाउँ रहेको छ । तपाईं निर्वाचित भएको ३ वर्ष पुरा हुँदा नगरपालिका भित्र सम्झन लायक काम के-के छन् नि ? खोलामा पुल निर्माण गरेका छौं, घरघरमा खानेपानी पुर्याउने वातावरण बनाएका छौं, आधुनिक कृषि प्रणालीतर्फ नागरिकलाई अवसर प्रदान गरेका छौं, पर्यटन क्षेत्रमा पनि विकास भएको छ, बसपार्कको निर्माण गरेका छौं, हरेक वडामा सडक कालोपत्रे गर्नका लागि कम्मर कसेका छौं, सडकलाई ग्राबेल गरेर यातायातहरु बर्खामा पनि सञ्चालन हुने वातावरण बनाएका छौं, खेल मैदानको निर्माण भईरहेको छ, भुकम्पले क्षति गरेका विद्यालय पुनः निर्माण गरेका छौं, शिक्षा क्षेत्रमा पनि निक्कै परिवर्तन ल्याएका छौं, वडामा एक-एक वटा स्वास्थ्य केन्द्रको स्थापना गरेका छौं, १५ बेडको अस्पतालका लागि टेन्डर प्रकिया अगाडि बढिरहेको छ । तपाईसँग चुनाव लडेका प्रतिस्पर्धीको साथ कस्तो पाइरहनु भएको छ ? मसँग चुनाव लडेका प्रतिस्पर्धीको राम्रै साथ पाइरहेको छु । चुनाव भनेको निर्वाचित भएर आउने एउटा विधि हो । मैले सबै बाट साथ र सहयोग पाइरहेको छु । नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? हामीले केठेश्वर १७ सय मेट्रिक टनको निर्माण गरेका छौं । यस आर्थिक वर्ष भित्र सम्पन्न गर्ने योजना रहेको छ । कोरोनाले गर्दा पनि यसको काममा ढिलाई भएको छ । ११ करोड ४७ लाख रुपैयाँ बराबरको बजेटमा यो काम अघि बढिरहेको छ । २ ठुला पुल निर्माण गरिरहेका छौं । एउटा पुल ५ करोड रुपैयाँको लागतमा र अर्काे पुल ७ करोड ५० लाख रुपैयाँको लागतमा बनिरहेको छ । खानेपानीको एउटा योजना सम्पन्न भएर घरघरमा धारा पुगिसकेको छ । आफ्नो नगरपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले पर्यटन क्षेत्रको प्रचारप्रसारमा बढि जोड दिएका छौं । गाउँघरका सानातिना उत्पादन तथा लोप हुन लागेका समानहरुको प्रचारप्रसार गरिरहेका छौं । सामाजिक अनि धार्मिक क्षेत्रको पनि प्रचारप्रसार गरिरहेका छौं । दामन भ्यु टावरबाट सगरमाथासहित २५ भन्दा बढि उच्च हिमशिखरहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस बाहेक रमाइला पदमार्गहरु, प्रख्यात सिमभन्ज्याङ्ग लगायतले पर्यटकलाई लोभ्याउने हुनाले पनि हामीले यिनको प्रचारप्रसारमा जोड दिएका छौं । कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पुर्याएको असर तथा हालको शैक्षिक अवस्था वारे बताइदिनुस् न कोरोनाले सबैभन्दा बढि असर शैक्षिक क्षेत्रमा पुर्याएको छ । नगरपालिकामा निजि र सामुदायिक गरी जम्मा ६२ वटा स्कुलहरु रहेका छन् । लकडाउनको समयमा अनलाइन बाट पढाउन सकिन्छ कि भनेर धेरै प्रयत्न गरेका थियौं । सबैका घरमा इन्टरनेट नहुनाले त्यो सम्भव भएन । रेडियोका माध्यम बाट पनि पढाउन थाल्यौं तर त्यो पनि प्रभावकारी भएको थिएन । पछिल्लो समयमा विद्यार्थीहरुलाई विद्यालयमै बोलाएर सामाजिक दुरी कयम गराउँदै पठनपाठन सञ्चालन गरिरहेका छौं । हाल नगरपालिकामा कोरोनाको खासै प्रभाव छैन पनि । नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हाम्रो नगरपालिकामा आलुको धेरै उत्पादन हुने गरेको छ । यसमा प्रधानमन्त्री कृषि आधुनिकिकरण पनि लागु भएको छ । कृषि विकासको लागि नगरपालिकामा रहेको कृषि शाखाले पनि काम गरिरहेको छ । हामीले धेरै मात्रामा हाते ट्रयाक्टरहरु वितरण गरेका छौं । टनेल खेतीलाई विकास गर्नुपर्छ भन्ने ठानेर ५० प्रतिशत अनुदानमा टनेल दिएर प्रोत्साहन गरेका छौं । नेपाल सरकार तथा युएनडीपीको सहयोगमा बजार विकास पनि लागु भएको छ । अनुदानमा नगरपालिकाको नगद दिने कार्यक्रम चाहिँ रहेको छैन । नगरपालिकाले युवाहरुका लागि रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? रोजगारी सिर्जना गर्नका लागि हामीसँग कलकारखाना छैनन् । अहिले हामीले विदेश बाट फर्केका तर रोजगारी नभएकाहरुलाई अनलाइन फर्म भर्न लगाएका छौं । युवाहरुको चाहना तथा सीप उनीहरुसँगै सोधेर कामको अवसर मिलाउने वातावरण तयार गरिरहेका छौं । मानिसहरु नगरपालिकामा प्रायः कस्ता समस्या लिएर आउने गर्दछन् ? मानिसहरु विभिन्न किसिमका समस्या लिएर आउने गरेका छन् । सबैभन्दा बढि त सडकको कुरा लिएर आउँछन् । तपाइँको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? नगरिकको मागलाई सकेसम्म सम्वोधन गर्न प्रयासरत छु । म आफ्नो कार्यकालमा जे-जति पूर्वाधार विकासका कामहरु गर्छु, इमान्दारीतापूर्वक गर्नेछु । कमसेकम यहाँका नागरिकले भोलिका दिनमा पनि मलाई इमान्दारपूर्वक काम गर्ने मान्छेका रुपमा सम्झने गरे भने मेरो लागि त्यही नै सबै भन्दा ठुलो सफलता हुनेछ ।

सबै योजना मन्त्रीज्यूको खल्तीमा जाँदा गाउँपालिकामा समस्या भयोः अध्यक्ष मगर

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण धेरै क्षेत्रमाअसर पुर्याएको छ । यसले स्थानीय तहले गर्ने काम, यसका योजना तथा कार्यक्रममा ठूलो बाधा पुगेको छ । बागमती प्रदेश सिन्धुली जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो तीनपाटन । कोरोनाको समयपछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? गाँउपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन् ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो ? भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर मगरसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः गाँउपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ ? गाँउपालिकामा कोरोना भाइरसले ठुलो असर पुर्याएको छ । गाँउपालिकामा एक प्रकारको त्रास पनि फैलियो । गाँउपालिकमा प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेक्सको पनि स्थपना गर्यौं । भारत लगायत देशबाट आएका व्यक्तिलाई कोरोना पोजेटिभ देखिएको छ । हामीले गाँउपालिकमा राहात प्याकेज पनि वितरण गरेका थियौं । हामीले विभिन्न संघ संस्था, विद्यालयमा स्यानिटाइजर,माक्स पठाएका थियौं । कोरोनाको समयमा विद्यालय बन्द गर्यौं । प्राथमिक स्वास्थ्य क्षेत्रलाई तोकेर वडा अनुसारका विद्यालयमा क्वारेन्टिनको स्थापना गरेका थियौं । कोरोनाको समयमा जस्तो अहिले गाँउपालिकमा डर छैन । कोरोनाको समयपछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? गत आर्थिक वर्षको चैतमा हामीले जब लकडाउन सुरु भएपछि हामीसँग रहेको बजेटलाई पनि गाँउसभा बाट तानेर १ करोड ६० लाख रुपैयाँ पैसा बजेटको रुपमा फिर्ता ग¥यौं । कोरोनाको समयमा यसलाई खर्च गरेर बाँकी रहेका योजना चालु अवस्थामा थियो । हामीले यो काम मेशिनको काम कम गर्ने जनतालाई काम बढी दिने योजना पनि छ । यो वर्ष पनि विकास निर्माणको काममा बढीभन्दा बढि गाँउपालिकाका जनतालाई सेवा दिने काम पनि गरिरहेका छौं । अहिले हामीसँग प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत २ करोड रुपैयाँ बजेट आएको छ । गाँउपालिकमा सडक विकासको हिसाबले एकदमै पछि परेको छ । गाँउपालिकामा रहेको सडक पिच गर्नेको लागि २ वर्ष भित्र केन्द्र सरकार मा पुग्ने छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? स्थानीय तह र प्रदेश सरकारबीचको समन्वयमा पहिला देखिनै दुविधा हुँदै आएको छ । सबै योजना सासंद तथा मन्त्रीज्युहरुको खल्तीमा जाँदा गाउँपालिकामा काम गर्न समस्या भइरहेको छ । गाँउपालिकले कार्यान्वयनका लागि पठाएको योजना एउटा पनि परेको छैन । पार्टीगत आस्थाले नै काम गर्ने वातावरण सिर्जना नै भएको छैन । प्रदेशबाट नै कार्यकर्तामुखि बजेट आउने गर्छ । यसले गाउँपालिकाका योजनाहरु अगाडि बढाउन समस्या नै हुन्छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् ? हामीसँग बजेटको अभाव छ । यसलाई कार्यान्वयन गर्दा सबैको चित्त बुझ्दैन । राजनीतिक चिन्तन नै विकासको ठूलो बाधक बनेको छ । कार्यकर्ताको इच्छामा बजेट आएको हुनाले विकास निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकार गाँउपालिकाको मुख्य सरकार हो । सबै स्रोत बजेट आउने भनेको नै केन्द्र सरकारबाट हो । केन्द्र सरकारले स्थानीय सरकारलाई स्वतन्त्र ढङगले छोडेको छ । स्थानीय सरकारनै बलियो हुनु पर्छ भन्ने केन्द्र सरकारको धारणा छ । केन्द्र सरकारले पठाउने राजस्व बाँडफाँड यी सबै बजेटहरु नियोजित ढङगले, जनसंख्याको हिसाबले भुगोलको हिसाबले बजेट विनियोजन गर्दै आएको छ । गाँउपालिकमा केन्द्र सरकारबाट ६४ करोडको रुपैयाको हाराहारीमा वार्षिक बजेट विनियोजित हुने गरेको छ । गाँउपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के छन् ? गाँउपालिकामा हामीले खुद्रा काम गर्ने थालेका छौं । गाँउपालिकमा ठूला सडकको पिच गर्न सक्ने अवस्था छैन । हाम्रो गाँउपालिका जस्तो भुभाग भएको ठाँउमा १ कि.मि पिच गर्ने ३ करोड ५० लाख रुपैयाँमा खर्च हुन्छ । गाँउपालिकामा ११ वटा वडा छन् । सबै ठाउँमा बिजुलि, सडक चाहिएको छ । गाँउपालिकामा राष्ट्रिय स्तरको नेता नजोडिएकोले पनि ठूला मेगा प्रजेक्टहरु पर्ने सकेको छैन । तर प्रदेश सरकारको ४३ करोड रुपैयाँ बराबरको ठेक्का आव्हान गरेर २४ करोड रुपैयाँमा गाँउपालिकाका जानको लागि १४ कि.मि बाटोको पिच गर्ने काम सुरु भएको छ । गाँउपालिकामा कस्तो किसिमको योेजनालाई प्राथमिकता राखेर काम गरिरहनु भएको छ ? गाँउपालिकाले सडकलाई बढी प्राथमिकता राखेको छ । कृषि क्षेत्रलाई पनि बढी प्राथमिकता दिएको छ । कृषि क्षेत्रलाई पकेट क्षेत्रको रुपमा घोषणा गर्ने र यसलाई ठूलो बजेटको रुपमा बढाउने योजना हाम्रो छ । हाल यिनै विषयहरुलाई प्राथमिकता दिइरहेका छौं । आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाँउपालिकामा धेरै पर्यटक आउने सम्भावना कम भएको ठाँउ हो । गाउँपालिमा एउटा ठुङगरी नदी भन्ने छ । यो स्थानलाई पर्यटक स्थल बनाउने मेरो लक्ष्य छ । जमावती गुफालाई धार्मिक र पर्यटकिय क्षेत्र बनाउनको लागि ५० लाख रुपैयाँ राष्ट्रिय योजना आयोगले बजेट छुट्याएको छ । यसको लागि हामीले टेन्डर आव्हान गर्दैै छौं । ठुलो पर्यटक स्थल बनाउन चाहिँ सम्भावना छैन । कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ? कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पुर्याएको छ । शिक्षा क्षेत्रको सामुदायिक विद्यालयप्रति अभिभावको आकर्षण घटेकोे छ । केहि महिना गाँउपालिकामा रहेका विद्यालयहरु बन्द पनि भएका छन् । कोरोनाले गर्दा शिक्षा क्षत्रलाई सुधार गर्ने धेरै समय लाग्छ । गाँउपालिकामा अनलाइन सिस्टमले पनि पठन पाठन गर्यौं । तर अनलाइन सिस्टम पनि प्रभावकारी बनेन । कोरोनाको प्रभाव नपरेका ठाँउमा सामाजिक दूरी कायम गरी पठन–पाठन सञ्चालन गर्यौं । हाल गाँउपालिकामा कोरोनाको प्रभाव छैन । गाँउपालिकामा रहेका सबै विद्यालयको पठन–पाठन निरन्तर रुपमा सञ्चालन भइरहेका छ । गाँउपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषिमा गाँउपालिकाले अनुदान दिने गरेको छ । कृषकहरुलाई ५० प्रतिशत लगानी गर्नुहोस् हामी गाँउपालिकाको तर्फबाट ५० प्रतिशत अनुदान दिन्छौं भनेका छौं । हामीले अहिले साझेदारीमा कृषि सम्बन्धि काम गरेका छौं । किसानहरु पनि अहिले उत्साहित छन् । कृषि विकास बैंकले पनि कृषकहरुलाई ऋण दिइरहेको छ । प्रदेश सरकारले पनि ३ अर्ब पैसा राखेर कृषि विकास बैंक माफर्त ५ लाख र १० लाख रुपैयाँको ऋण दिइरहेको छ । थेरै भएपनि ३ प्रतिशत ब्याजमा पाउने भएपछि कृषकहरु उत्साहित नै छन् । यसकोे लागि हामीले स्थलगत अनुगमन गरेर मात्र दिने व्यवस्था मिलाएका छौं । मुख्य उत्पादनको रुपमा धान खेति नै छ । कृषिको लागि गाँउपालिकमा रहेका कृषकहरुलाई उन्नत जातका मकै, धान आदिको विउ वितरण गर्दै आइरहेको छौं । कृषि क्षेत्रको लागि गाँउपालिकाले २ करोड रुपैयाँ बजेट छुटाएको छ । गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाँउपालिकामा रहेको जति पनि निर्माण काम भइरहेको त्यसमा युवा स्वरोजगारको फारम भरेर त्यहीँ रोजगारदिलाउने पनि गरेका छौं । युवाहरुलाई कृषि क्षेत्रमा अगाडि सारेका छौं । धेरै मात्रामा युवाहरुको कृषि क्षेत्रमा संलग्नता छ । गाँउपालिकामा मानिसहरु प्रायः के कस्ता समस्याहरु लिएर आउने गर्छन् ? गाँउपालिकामा मानिसका धेरै ठूलो समस्या त रहेको हुँदैन । तर, पनि खानेपानी, बिजुलि, सडक पुगेन जस्ता समस्याहरु लिएर आउने गरेका छन् । तपाइँको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ? मेरो कार्यकालमा गाँउपालिकालाई विकसित बनाउने योजना छ । तर हाल हामी गाँउपालिकाको कार्यालय पनि भाडामा रहेको छ । अब बाँकी रहेको कार्यकालमा विद्युत सबै ठाउँमा पुगिसकेको हुनेछ । सबै वडाका वडा भवनहरु भाडामा नभइकन आफ्नै वडा भवनको निर्माण हुनेछ । सबै वडाका स्वास्थ्य भवनको निर्माण हुनेछ । भौतिक संरचनाको निर्माण पनि गर्ने नै छौं । वडा कार्यालयसम्म जाने सडकको ग्राबेल भइसक्छ । बजारको पनि व्यवस्थापन हुन्छ ।