पाल्पा रामपुर नगरपालिकाद्वारा डिजिटल परिचयपत्र वितरण सुरु

पाल्पा । डिजिटल नगरको अवधारणा ल्याएको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण कार्य सुरु गरेको छ । पाल्पा जिल्लामै पहिलो पटक रामपुरमा ज्येष्ठ नागरिक । अपाङ्गता परिचयपत्र डिजिटल माध्यमबाट वितरण गर्न थालिएको हो । रामपुर–३ बोहरीडाँडा बस्ने ७४ वर्षीय टोपबहादुरसिं ठकुरीबाट परिचयपत्र वितरण कार्य सुरु भएको छ । डिजिटल प्रविधिको परिचयपत्र पाउँदा ज्यादै खुसी लागेको उनले बताएका छन् । नगर प्रमुख रमणबहादुर थापाले नागरिकलाई सहज सेवा दिन र रामपुर नगरलाई डिजिटलमैत्री नगरपालिका बनाउन यस कार्यको थालनी गरिएको बताएका छन् । ‘नगरपालिका कार्यालय, केही वडा कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिसकेको र बाँकी वडामा पनि नगरले राख्ने तयारी गरिरहेको छ’, उनले भने, ‘सूचना प्रविधिको विकासलाई अवलम्बन गरी सफ्टवेयर जडान गरेर नगर तथा वडा कार्यालयबाट विभिन्न सेवा दिइरहेका छौँ, नगरलाई डिजिटलमैत्री नगर बनाउने हाम्रो सङ्कल्प छ ।’ सफ्टवेयर अफ नेपाल प्राइभेट लिमिटेडले सफ्टवेयर जडान गरेर शुक्रबारदेखि सेवा सुरु गरिएको हो । गण्डकी, बागमती प्रदेशका केही पालिकामा सफ्टवेयर जडान गरेको यस संस्थाले पाल्पामै पहिलो पटक रामपुर नगरपालिकामा डिजिटल परिचयपत्र वितरण गरिएको सफ्टवेयर अफ नेपाल प्राइभेट लिमिटेडका इन्जिनियर गङ्गाराम रेग्मीले जानकारी दिएका छन् । अपाङ्गता भएका व्यक्तिका लागि वर्गअनुसारको रातो, निलो, पहेँलो र सेतो परिचयपत्र र ज्येष्ठ नागरिकका लागि पूर्ण विवरणसहितको डिजिटल परिचयपत्रको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन् । ‘सूचना प्रविधिको पहुँच विस्तार हुँदै गएको अवस्थामा कार्यालयका कामकाज छिटो गर्न डिजिटल प्रविधिको परिचयपत्र वितरण कार्य सुरु गरिएको छ’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने । यस्तो परिचयपत्र पानीमा नभिज्ने, हराएमा तत्काल अर्को निकाल्न मिल्ने, नवीकरण गर्न झण्झट नहुने, नवीकरण घरमै बसेर पनि गर्न सकिने, कर्मचारीलाई परिचयपत्र बनाउन धेरै समय खर्चिएर बस्न नपर्ने नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले बताए। यसअघिको परिचयपत्रमा हातले नाम, ठेगाना र विवरण भरेर परिचयपत्र वितरण गरिँदै आएको थियो । नगरपालिकाले परिचयपत्र बनाउने डिजिटल मेसिन राखेर नगरपालिकाबाटै परिचयपत्र दिन थालिएको हो । यसअघि परिचयपत्र लिइसकेका सेवाग्राही र नयाँ सेवाग्राहीले आवश्यक कागजात र विवरण उपलब्ध गराएको खण्डमा डिजिटल परिचयपत्र उपलब्ध गराउन सकिने नगर उपप्रमुख बालकुमारी थापाले बताइन् । हातले बनाएका परिचयपत्र पानीमा भिज्ने, अक्षर र फोटो मेटिने, च्यातिने समस्या रहेकाले सो समस्या धेरै सेवाग्राहीले गुनासो गरेपछि यस्तो परिचयपत्र नगरपालिकाबाटै उपलब्ध गराउने व्यवस्था मिलाइएको हो । अनलाइन प्रविष्टीकरण गरिने भएकाले यो परिचयपत्र बारकोडमार्फत हेर्न सकिने र हराएमा पनि सजिलै प्रदान गर्न सकिने भएकाले धेरै सहज हुनेछ । हाललाई परिचयपत्र परिवर्तन गर्ने र नयाँ लिने सेवाग्राहीलाई नगरपालिकाबाटै यस्तो परिचयपत्र लिन सकिने व्यवस्था गरिएको छ । रासस ।

पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने

जाजरकोट । बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने उद्देश्यका साथ कामको सुरु गरेको छ । सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । अध्यक्ष गिरीका अनुसार अहिले पालिकाको वडा नम्बर १, २ र ३ मा खानेपानीको धारा पुर्याउने कामको सुरुआत भइरहेको छ । सो वडामा हेल्पिटास नेपाल, गाउँपालिका र पहाडी क्षेत्र विकास अभियानको सामाजिक परिचालनमा चार सय ३१ घरधुुरीमा चालु आर्थिक वर्ष २०७९/८० भित्रै खानेपानीको धारा जडान गर्ने लक्ष्य लिइएको छ । यो कार्यक्रम खारी, बयाल, बूढागाउँ, सिल्पाचौर, तलिआग्र, लिम्सामा लक्षित छ । लगभग दुई करोड २९ लाख ५९ हजार दुई सय ७८ रुपैयाँको लागतमा योजना सञ्चालन गरिएको हो । त्यस्तै बारेकोट–२ का ध्यारगाउँ, गैरागाउँ, कुनाउटा, रोकायगाउँका एक सय २८ घरधुरीमा धारा जडानका लागि ८० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । वर्षौंदेखि खानेपानीको अभावमा समस्य भोग्दै आएका यहाँका सर्वसाधारण घरमै खानेपानीको धारा जडान हुन थालेपछि खुसी भएको बारेकोट-२ का स्थानीय पदम रोकायले बताए । गाउँपालिकाको सहकार्यमा सबै वडामा खानेपानी पुर्याउनका लागि आफूहरु लागिपरेको परिचालनको क्षेत्रमा काम गरिरहेको पहाडी क्षेत्र विकास अभियानका प्रदीपजङ्ग शाहको भनाइ छ । हाल गाउँपालिकाले जलउपयोग योजना निर्माण गरिरहेको छ । जनसंख्या वृद्धि, पानीको बहुउपयोग, स्रोतको अभाव, जलवायु परिवर्तनलगायत कारणले सीमित पानीको स्रोतले मानिसको आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था रहेकाले गुरुयोजना निर्माण गर्न लागिएको पनि गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिए । पानीलाई आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी पानीलाई कसरी उपयोग गर्ने भन्ने विषयमा बृहत् योजना बनाएर कार्यान्वयन गर्दै लैजाने गिरीको भनाइ छ । जलउपयोग गुरुयोजना जलस्रोतको एकीकृत विकासका लागि स्थानीय समुदायले सहभागितामूलक र समावेशी पद्धति अपनाएर जलस्रोतको योजना तर्जुमा र व्यवस्थापन गर्ने प्रक्रिया हो । यो प्रक्रियाले गाउँपालिकाभित्र भएका प्रयोग हुनसक्ने सम्भावित पानीका स्रोतको लेखाजोखा गर्नेछ । ‘स्थानीयस्तरमा जलस्रोतको प्रभावकारी तथा न्यायोचित ढङ्गले पानीको उपयोग गर्न एकीकृत योजनाको विकास गर्नु नै यसको उद्देश्य हो, पानीको सही उपयोग र न्यायोचित बाँडफाँट र दिगो प्रयोगको सुनिश्चित हुनेछ, उनले भने । जलउपयोग गुरुयोजना तयार भएपछि गाउँपालिकाको नेतृत्व लिएर सरकारी तथा गैरसरकारी निकायको समन्वयमा पानीसम्बन्धी विभिन्न आयोजनाको कार्यान्वयन गर्न थप सहज हुने विश्वास लिइएको छ । रासस

खेतीयोग्य जमिन वर्गीकरण गरी उत्पादन बढाउँदै गाउँपालिका

काठमाडौं । छरिएका बस्ती । भौगोलिक विकटता र त्यसमाथि सिँचाइको सहज पहुँच नपुगेका उर्वर भूमि । जहाँ आलु, भाँगो र सिमी लटरम्मै फल्छन् । बागलुङको तमानखोला गाउँपालिका उच्च पहाड र डाँडाकाँडाले घेरिएको हुँदा कृषकलाई निकै समस्या छ । खानेपानीको मुहान निकै टाढाटाढा हुँदा सिँचाइको व्यवस्थापन गर्न पनि उत्तिकै कठिनाइ छ । सिँचाइका लागि भिर, कुना कन्दरा र पहरा फोरेर कुलो बनाउन सम्भावना नै देखिँदैन । यद्यपि कृषकले जसोतसो जीवनयापन गर्न खाद्य उत्पादन गर्दै आएका छन् । सिँचाइको व्यस्थापन गर्न समस्या भए पनि गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्रका बनाइ उत्पादन बढाउनेतर्फ लागेको छ । गाउँपालिकाले पाँचवटै वडालाई पकेट क्षेत्रका रुपमा विस्तार गरेको छ । वडा नं ४ को लाम्मेलालाई आलु पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उक्त वडालाई आलु पकेट क्षेत्र घोषणा गरेर कृषकलाई आधुनिक उपकरण, उन्नत जातका बीउ वितरण गरी साना सिँचाइ परियोजनासमेत सञ्चालन गर्न योजना अगाडि बढाएको गाउँपालिकाका कृषि शाखा प्राविधिक सन्देश पराजुलीले बताए । तमान गाउँका ३५० बढी घरका कृषकले आलु उत्पादन गर्दै आएका छन् । लामो समयदेखि परम्परागतरुपमा आलु उत्पादन गर्दै आएका यहाँका स्थानीयलाई पकेट क्षेत्र घोषणा गरेर अनुदान प्रदान गर्ने र व्यावसायिक बनाउनेतर्फ गाउँपालिका लागेको उनको भनाइ छ । लाम्मेलाका हरेक कृषकले वार्षिक न्यूनतम ५०० किलोदेखि ३ हजार किलोसम्म आलु उत्पादन गर्दै आएको कृषि शाखाले जनाएको छ । पालिकाले लाम्मेलासँगै वडा नं ६ को नर्जाखानी, वडा नं २ को मुठाचौरलगायतका ठाउँलाई पनि आलु पकेट क्षेत्र विस्तार गरेको छ । यी वडाबाहेक आलु उत्पादन हुँदै आएका अन्य क्षेत्रमा पनि आधुनिक तरिकाले खेती गर्ने गाउँपालिकाले जनाएको छ । यस वर्ष नयाँ पकेट क्षेत्रका लागि १० लाख र पुरानोलाई निरन्तरता दिन ५ लाख गरी १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । कृषकलाई आवश्यक बीउबिजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको अध्यक्ष बुढामगर बताउनुहुन्छ । खेतीयोग्य जमिनको वर्गीकरण गरी कृषकलाई अनुदानसँगै सिँचाइको व्यवस्थापन गर्न गाउँपालिकाले दीर्घकालीन योजना बनाएर लागेको उनको भनाइ छ । ‘गाउँपालिकाको आर्थिक उपार्जनको माध्यम नै कृषि हो, कृषकलाई व्यावसायिक र आधुनिक प्रविधिसँग जोडेर उत्पादन बढाउने गरी कामको थालनी गरेका छौैँ, यहाँ मुख्यतः कृषि र पशुपालन गर्ने कृषक धेरै छन्, पालिकाले पनि सोहीअनुसार बजेट विनियोजन गर्दै आएको छ, जहाँ जुन चिज उत्पादन हुन्छ, माटो र हावापानीअनुसार बालीनाली लगाउन कृषकलाई प्रेरित गरेका छौँ,’ अध्यक्ष बुढामगरले भने । भौगोलिक कठिनाइका कारण धेरै ठाउँमा सिँचाइको समस्या रहेको भन्दै प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा कुलो तथा नहर निर्माण गर्ने योजना बनाएको उनले सुनाए । पालिकाले हरेक वर्ष कृषि र पशुपालनका लागि बजेटसमेत वृद्धि गर्दै गएको छ । उनका अनुसार वडा नं १, २ र ३ लाई पनि खाद्य बाली पकेट क्षेत्रका रुपमा विकास गरिएको छ ।