सडकमा फोहर फाल्ले २ जनालाई १२ हजार जरिवाना
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फालेको भन्दै २ जनालाई कारबाहीस्वरुप १२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । कामपाले कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९ नं वडाका सानोकान्छा भारतीलाई सार्वजनिकस्थलमा फोहर फालेको भन्दै जरिवाना तिराएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार जरिवानास्वरुप कामपाले मण्डललाई २ हजार र भारतीलाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो । कामपाले भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहरमैला सडकमा फालेको भन्दै जरिवाना गरेको हो । त्यस्तै मण्डलले सार्वजनिक स्थानमा फोहर फालेका कारण उनलाई जरिवाना गराइएको हो । कामपाले पछिल्लो समय सडकपेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । कामपाको आग्रह अटेरी गरे अनुगमन गरी जरिवाना गर्ने गरेको छ । फोहरलाई तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्नका लागि कामपाले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । नागरिकले सडकमा यत्रतत्र फोहर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई ५ सयदेखि ५ हजारसम्म जरिवानासमेत तिराउने गरेको छ । वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहरको व्यवस्थापन गर्नका लागि कामपाको फोहर सङ्कलन गर्ने गाडी आउने गर्दछ । उक्त गाडीमा नै फोहर राख्नका लागि आग्रह गर्दै आएको छ । महानगरको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिवाना तिराउन थालेको छ । उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि हरेक दिन २ सय गाडी फोहर बोकर बञ्चरेडाँडामा जाने गर्दछन् । वर्षाको समय सुरु नभएकाले अहिले फोहरको अन्तिम व्यवस्थापन गर्नका लागि कुनै अवरोध नभएको बताइएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलवासीले भने यसअघिको सम्झौता पालना नभए पुनः फोहर व्यवस्थापनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
जाजरकोटमा काम नगर्ने ठेकेदारलाई कारबाही गरिँदै
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदीको पुल सात वर्षसम्म निर्माण सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का तोड्ने चेतावनी दिएको छ। काठमाडौंको बसुन्धारास्थित मृत सञ्जीवनी ग्याल्वा जेभीले विसं २०७७ पुस १३ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो। सम्झौता मिति पूरा भई दुईवर्ष बितिसक्दा एक ठाउँमा मात्र पिल्लर उठाएर निर्माण बीचमै छाडेपछि काम अलपत्र परेको छ। पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम नगरी सम्पर्कविहीन भएपछि डिभिजन कार्यालय चौरजहारीले अन्तिम पत्र लेख्दै ठेक्का तोडने चेतावनी दिएको हो। काम गर्ने भए विश्वसनीय कार्ययोजनासहित १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अन्तिम पटक चेतावनी दिइएको डिभिजन प्रमुख आशुतोष कर्णले बताए। यसअघि म्याद थप गर्दा गरिएका प्रतिबद्धता अनुसार काम नभएको भन्दै कार्यालयले १५ दिनभित्र विश्वासनीय स्पष्टीकरण र समयमै निर्माण गर्ने यथेष्ट कार्ययोजनासहित आउन अन्तिम चेतावनी पत्र लेखेको छ। कार्यालयले चेतावनी पत्रलाई अटेर गरी सम्पर्कमा नआए ठेक्का रद्द गर्ने चेतावनी दिएको छ। यहाँ काम गर्ने मजदुरले यसअघि काम गरेको पारिश्रमिक समेत नपाएको नलगाड नगरपालिका–१० का सुरेन्द्र थापाले बताए। रुकुम पश्चिम आठबीसकोट नगरपालिका ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गरे। गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले १० लाख र स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेका मजदुरले छ लाख नपाएको बताएका छन् । स्थानीय चङ्खलाल नेपालीको ट्र्याक्टर प्रयोग गरेबापत निर्माण कम्पनीले ६ लाख र मजदुरले खाना बापतको दुई लाख भुक्तानी नगरेको भन्दै मजदुर आन्दोलनमा उत्रिएका छन् । जाजरकोट खण्डमा सामान्य पिलर उठाइएको छ। कम्पनीले छेडागाड नगरपालिकाका प्रमुख रत्न खड्काले बैंक ग्यारेन्टी राखेर काम सुरु गरेको थियो। सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की बराबरको रकम बैंकबाट कार्यालयले फिर्ता लिएपछि पुल निर्माण नगर्ने भन्दै प्रमुख खड्काले काम छोडेका थिए। नौ करोडमा पुल निर्माण गर्ने सम्झौतामा उल्लेख छ। खड्काले बीचमै काम छोडेपछि निर्माणको जिम्मा लिएको मृत सञ्जीवनी गाल्वा जेभीले हालसम्म काम अघि बढाएको छैन। भेरी करिडोरबाट रुकुम पश्चिम राप्ती लोकमार्गसँग जोड्ने उक्त पुल सात वर्षसम्म निर्माण नहुँदा यहाँको विकास निर्माणसमेत अवरुद्ध भएको छ। साथै भेरी करिडोर र राप्ती लोकमार्ग जोड्ने कामसमेत अवरुद्ध भएको छ। त्यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गसँग भेरी करिडोर जोड्ने रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको पूर्तिमकाँडा–गराइलाको बीचमा रहेको सानी भेरीको पुलसमेत नौ वर्षदेखि अलपत्र परेपछि सडक डिभिजन चौरजहारीले कारबाही गर्ने अन्तिम तयारी थालेको छ। सपना सैलुङ जेभीले विसं २०७७ पुस १३ मा निर्माण सम्पन्न गर्ने गरी २०७१ मङ्सिर २ गते सडक डिभिजनसँग सम्झौता गरेको थियो । सम्झौताको भाका नाघेको दुई वर्ष पूरा हुँदासम्म पनि कामको सुरुवात नगरेकाले सडक डिभिजन कार्यालयले कारबाही गर्न सार्वजानिक सूचना निकालेको छ । उक्त पुलले पुष्पलाल मध्यपहाडी, भेरी करिडोर सडकसँग जोडिने उद्देश्यले ठेक्का खोलिएको थियो। निर्माण कम्पनीले काम सुरु नगर्दा ठेक्का तोड्ने अवस्थामा पुगेको डिभिजन प्रमुख कर्णले बताए। म्याद थप गर्दा गरिएका प्रतिबद्धताअनुसार काम नभएको भन्दै डिभिजन कार्यालयले १५ दिनभित्र काम गर्ने प्रतिवद्धतासहित कार्ययोजना तयार गरी सम्पर्क आउन अन्तिम चेतावनी पत्र लेखेको छ। ‘चेतावनी पत्रलाई अटेर गरेमा प्रचलित कानुन अनुसार ठेक्का रद्द गरिने छ’, उनले भने। कामको जिम्मेवारी लिएर तोकिएको समयमा पूरा नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने प्रमुख कर्णले बताए । रासस
महानगरले १० वर्षको लागि भाडामा लियो काठमाडौं प्लाजा, सबै सेवा एकै ठाउँबाट
काठमाडौं । काठमाडौं महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौं प्लाजासँग सम्झौता गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । महानगरले नेपाल ट्रष्टसँग काठमाडौं प्लाजा १० वर्ष भाडामा लिन सम्झौता गरेको हो । महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल दश स्थानबाट सेवा प्रवाह गरिरहेका छन् । यसरी धेरै स्थानबाट सेवा दिनुपर्दा कामपालाई समस्या भएको र नागरिकले पनि सास्ती खेप्नुपरेको भन्दै काठमाडौं प्लाजासँग सम्झाैता गरेकाे बताए । विसं २०७२ को भूकम्प जानुअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजस्व विभाग बबरमहल, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रियसभा गृहमा गरी विभिन्न दश स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।