नियम विपरित औषधि बिक्री गर्ने फार्मेसीलाई नियमन गर्न सबै पालिकालाई पत्रचार

बैतडी । जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । यहाँका धेरैजसो फार्मेसीहरुले नियम विपरित औषधि बिक्री वितरण गरिरहेकाले नियमन गर्न जिल्ला प्रशासन कार्यालयले सबै पालिकाहरुलाई पत्राचार गरेको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हालै जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गर्दा नियम विपरीत फार्मेसी सञ्चालनमा रहेको पाइएको थियो । अनुगमनका क्रममा मेडिकहरुले अनुमति नलिइ औषधि बिक्री गरेको, स्वास्थ्यकर्मीको प्रेस्किप्सनबिना कडा खालका मानव स्वास्थ्यमा असर गर्ने औषधिसमेत बेचबिखन गरेको, फार्मेसी सञ्चालक आफैले चिकित्सा सम्बन्धी अभ्यास गर्ने गरेको, आयुर्वेदिक फार्मेसीबाट एलोपेथिक तथा एलोपेथिक फार्मेसीबाट भेटेनरी औषधिसमेत बेचबिखन गर्ने गरेको पाइएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ले स्थानीय तहको क्षेत्रमा सञ्चालनमा रहेका फार्मेसीको अनुगमन, निरीक्षण र नियमन गर्ने अधिकार स्थानीय सरकारलाई दिएकाले नियमबमोजिम कार्य गराउन आग्रह गरिएको प्रजिअ सुरेश पन्थीले जानकारी दिए । फार्मेसी सञ्चालन गर्दा औषधिको आयात, सञ्चय, बिक्री वितरणका लागि सम्बन्धित निकायबाट अनुमति लिए नलिएको बारे अनुगमन गर्ने अधिकार स्थानीय सरकारको भएकाले सो जानकारी गराइएको हो । फार्मेसी सञ्चालकले साइनबोर्ड सबैले देख्ने गरी राख्नुपर्ने, इजाजत प्राप्त व्यक्तिबाट मात्रै औषधि बिक्री गर्नुपर्ने, म्याद गुज्रेका औषधि अलग्गै राख्नुपर्ने, चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री गर्न नहुनेलगायत नियम पालना गराउनुपर्ने प्रशासनले पालिकालाई पठाएको पत्रमा उल्लेख गरिएको छ । औषधिकोे अवैधरूपमा बेचबिखन तथा कारोबारले आमजनताको स्वास्थ्यमा जटिल समस्या सिर्जना हुने भएकाले यसमा सचेत हुन र आम उपभोक्ताको स्वास्थ्यसम्बन्धी मौलिक हक र अधिकार संरक्षण गर्न अनुगमन समितिलाई सक्रिय पार्न पनि प्रशासनले पालिकालाई भनेको छ । रासस

सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले सडक किनारालाई हरियाली बनाउने अभियान अगाडि सारेको छ । विभिन्न सङ्घसंस्थाको सहकार्यमा उपमहानगरले सो अभियान कार्यान्वयनमा ल्याएको हो । अभियानअन्तर्गत मोहना–अत्तरिया सडकमा काठमाडौँको जावलाखेल ग्रुपदेखि नगर विकास कोषको सहयोगमा बिरुवा रोपिएका छन् । सडकको बीचभागमा वृक्षरोपण गर्नुका साथै तारजालीसमेत लगाएको छ । छ लेन सडकको धनगढी चौराहबाट भन्सारसम्म तारजाली लगाउने काम जावलाखेल ग्रुपले गरेको हो । बोराडाँडीबाट विमानस्थल जाने बाटोसम्म धनगढी उपमहागरले आफ्नै लगानीमा बोटबिरुवा रोपेको जनाएको छ । ‘छ लेन सडकमा वृक्षरोपण लगाउनुका साथै तारजाली लगाउने काम भएको छ’, धनगढी उपमहानगरका इञ्जीनियर उपेन्द्र भट्टले भने। ‘यसमा जावलाखेल ग्रुप, सूर्य नेपाल प्रालि, धनगढी विकास समिति र उपमहानगरको लगानी रहेको छ ।’ सूर्य नेपालले यएरपोर्ट जाने बाटोबाट गोदावरी नगरपालिका अर्थात् सिमानासम्म बोटबिरुवा रोप्ने र तारजाली लगाउने काम गरेको इञ्जीनियर भट्टले जानकारी दिए । छ लेन सडक विभिन्न भागमा विभिन्न प्रजातिका बोटबिरूवा तथा फूलको बोट रोपेका हुन् । उपमहानगरपालिकालाई हरियाली तथा सौन्दर्यीकरण बनाउन सडकमा वृक्षरोपण गरिएको नगरप्रमुख गोपाल हमालले बताए । नगरलाई सुन्दर, सफा र हराभरा बनाउन वृक्षरोपण अति नै आवश्यक रहेको उनको भनाइ छ । ‘स्वच्छ, सफाका लागि बोटबिरुवा रोप्न आवश्यक छ’, उनले भने । ‘त्यसले गर्दा उपमहागरले वार्षिक दुई हजार बिरुवा रोप्नुका साथै हुर्काउने अभियान बनाएको छ । त्यसमा पनि टि–गार्डसहित हुनेछ ।’ अझ छ लेन सडकको बीच भागमा बिरुवा र दुबो लगाएर हरियाली बनाउने नगरप्रमुख हमालले बताए । छ लेनमात्र होइन निर्माणधीन अवस्थामा रहेका सहिदगेट क्याम्पस रोड सडक, ट्राफिक चौराह क्याम्पस चोकलगायतका सडकमा बिरुवा रोप्ने अभियान छ । उनले रोपिएका बिरुवा जोगाउनका लागि स्थानीयको साथ सहयोगबिना सम्भव नभएको बताए। ‘स्थानीयको सहयोगबिना कुनै पनि काम असम्भव हुन्छ’, उनले भने । ‘बिरुवा चोरी हुनेदेखि गाईवस्तुबाट बचाउन सबैले लाग्नुपर्नेछ ।’ वृक्षरोपण र सरसफाइ एकअर्काबीच अन्तरसम्बन्ध रहेकाले यसले सुन्दर र हराभरा देखिने बिरुवाको संरक्षण गर्नुपर्ने उनले जोड दिए । उपमहानगरले रोपिएका बिरुवा हुर्काउनका लागि साँझ, बिहान सिँचाइसमेत गर्ने गरेको छ । उपमहानगरको सडक हरियाली पार्ने अभियानले स्थानीय पनि हर्षित भएका छन् । सडक मिडियम, दायाँ र बायाँ भागमा बिरुवा रोप्ने कार्य अति नै उत्तम भएको धनगढी उपमहानगर–२ का नितेश बटालाले बताए। ‘धनगढी उपमहानगरले वातावरणमैत्री सडक बनाउने अभियान चालेको छ’, उनले भने, ‘धनगढी प्रदेशमुकाम भएको हुँदा यसले गर्दा प्रदेशकै गौरव बढ्ने छ ।’ उनले बिरुवा रोप्ने कार्य चर्चामा आउनका लागि मात्र नभएर रेखदेख महत्वपूर्ण रहेको बताए । उपमहानगरमा नगरलाई सफा, स्वच्छ बनाउनका लागि सडकलाई हरियालीमात्र होइन, प्लाष्टिकका झोलासमेत निषेध गर्ने अभियान छ । नगर स्वच्छताका लागि जनाउँदै धनगढी उपमहानगरपालिकाले मङ्सिरदेखि प्लाष्टिकका झोला बेच्न र सामान राखेर दिन रोक लगाएको हो । उपमहानगरले प्लाष्टिकका झोला बन्द गरेपछि कपडाका झोला प्रयोग हुन थालेका छन् । रासस

सहरका शैक्षिक संस्थाभन्दा कम छैन बागलुङको शान्ति मावि

बागलुङ । बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी । तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा छिचोल्दै पुग्नु पर्छ । भौगोलिकरूपमा निकै विकटमा रहेको खुङ्खानीगाउँ छेउमै चिटिक्क रङरोगन गरेर सिङ्घारिएका केही भवन देखिन्छन् । भवन वरिपरि घेराबारले लगाएर सुरक्षित गरिएको यो शान्ति माध्यमिक विद्यालय हो । दुर्गम गाउँमा यत्ति चिटिक्क परेको विद्यालय ठूला सहरका शैक्षिक संस्थाभन्दा कम छैन । आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले मुहार फेरेको छ । भौतिक संरचनामा मात्रै होइन, शैक्षिक गुणस्तरमा पनि विद्यालयले फड्को मारेको छ । केही वर्ष पहिलेसम्म विद्यार्थी धुलोमै बसेर पढ्ने गर्थे । पर्याप्त डेक्स– बेन्च थिएनन् । खानेपानी र शौचालयको अवस्था पनि उस्तै थियो । जब स्थानीय सरकार आयो, तब शान्ति माविको स्वरुप नै परिवर्तन भएको छ । गाउँको विद्यालय भए पनि यहाँ डिजिटल माध्यमबाट पढाइ हुन थालेको छ । प्रविधिमैत्री शिक्षा अवलम्बन गरेको विद्यालय जिल्लाकै नमूना बनेको छ । भौगोलिक विकटताका कारण विभिन्न समस्या झल्दै आएको शान्ति मावि अहिले बजारका विद्यालयका लागि पनि प्रेरणाको स्रोत बनेको छ । जिल्ला सदरमुकाम नजिकै रहेका कतिपय सामुदायिक विद्यालयमा अहिले पनि डिजिटल माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप हुँदैनन्, तर यहाँ अघिल्लो वर्षदेखि नै ‘पेपरलेस’ पढनपाठन सुरु गरेको विद्यालयका प्रधानाध्यापक सत्यनारायण सिंहले बताए । सिंहले पछिल्लो आधा दशकमा विद्यालयले भौतिक संरचना र शैक्षिक गुणस्तरमा धेरै सुधार गरेको बताए । उनले अहिले आफूहरूले समयानुसार प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखेर पठनपाठन सुरु गरेको बताउछन् । उनले पाँच वर्ष अगाडिसम्म विद्यालय भौतिक, शैक्षिक र अन्य प्राविधिकरूपमा कमजोर रहेको सुनाउँदै अहिले अब्बल बन्न थालेको बताए । कक्षा १–५ स्थानीय पाठ्यक्रम लागू गरेको र कक्षा ६–१० डिजिटल माध्यमबाट पठनपाठन हुने गरेको प्रधानाध्यापक सिंहको भनाइ छ । ‘आजभन्दा पाँच–सात वर्ष अगाडि विद्यालयको अवस्था निकै दयनीय थियो, कक्षाकोठा नपुग्दा बालबालिकालाई भुइँमै राखेर पढाउनुपथ्र्यो, पूर्वाधार जीर्ण थिए, विद्यालय घेराबार थिएन, असुरक्षित थियो’ प्रधानाध्यापक सिंहले भने, ‘अहिले विद्यालयमा धेरै संरचना बने, शैक्षिक गुणस्तर पनि राम्रो भएको छ, अब हाम्रो ध्येय भनेको शैक्षिक गुणस्तरलाई बढाउनु हो, हामी सोहीअनुसार लागिरहेका छौँ, अहिले पनि धेरै सुधार गरेका छौँ ।’ पूर्वाधारमा सम्पन्न भएसँगै विद्यालयले शैक्षिक गुणस्तरलाई पनि बढाएको छ भने विद्यार्थी सङ्ख्या पनि बढेको छ । पहिले ४० प्रतिशतमात्रै शैक्षिक प्रगति गरेको विद्यालयले अहिले ८० प्रतिशत बढी उपलब्धि हासिल गर्न थालेको प्रअ सिंह बताउछन् । पहिले दुई सय विद्यार्थी हुने गरेकामा अहिले करिब साढे तीन सय विद्यालर्थीले अध्ययन गरिरहेको उनको भनाइ छ । विद्यालयप्रति समुदाय र अभिभावकको भरोसा बढेपछि विद्यार्थीको आकर्षण बढेको उनले जानकारी दिए । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर यस विद्यालय विकटमा रहेर पनि छुट्टै पहिचान बनाउन सफल भएको बताउछन् । गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गरेको जनाउँदै लगानीअनुसार शान्ति माविले प्रतिफल दिन थालेको उनको भनाइ छ । अध्यक्ष बुढामगरले पहिलो कार्यकालको सुरुआतदेखि नै शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै अहिले पनि पालिकाका थुप्रै विद्यालयमा सुधार गरिरहेको बताए । अध्यक्ष बुढामगर भन्छन्, ‘खुङ्खानी गाउँ भौगोलिक हिसाबले टाढा र विकटमै छ, यहाँ विकास गर्न त्यत्ति सहज थिएन, तर पनि निरन्तरको प्रयासले सफल भयौँ, अहिले एउटा चरणमा पुग्यो, विद्यार्थीको चाप पनि राम्रो छ, गुणस्तरलाई बढाउनतर्फ जोड दिएका छौँ, इन्टरनेट र अन्य प्राविधिक सहयोग पनि गाउँपालिकाले गरिरहेको छ ।’ कक्षा १० सम्म पढाइ हुने यस विद्यालय विसं २०२१ मा स्थापना भएको थियो । विसं २०४२ देखि निम्नमाध्यमिक र २०६४ बाट माध्यमिक तह पढाइ हुँदै आएको छ । यहाँ १० कक्षासम्म पढाइ सकेर उच्च शिक्षाका लागि विद्यार्थी पालिकाको केन्द्र रहेको बोङ्गादोभानस्थित जनजागृति माध्यमिक विद्यालयमा पुग्नुपर्छ । छ घन्टा हिँडेर पढ्ने बाध्यता हट्दै तमानखोला गाउँपालिका–६ नर्जाखानी, पात्ले, भित्रीवनलगायतका गाउँबाट विद्यार्थी दैनिक छ घण्टा हिँडेर माध्यमिक तहको अध्ययन गर्दै आएका छन् । वडा नं ६ का दर्जनौँ विद्यार्थी आधारभूत तहको पढाइ विष्णु आधारभूत विद्यालय नर्जाखानीमा सकेपछि उनीहरू शान्ति माध्यमिक विद्यालयमा पुग्नुपर्छ । नर्जाखानीबाट शान्ति मावि खुङ्खानी पुग्न तीन घन्टा बढी लाग्छ । वर्षौँदेखि घन्टौँ हिँडेर माध्यमिक शिक्षा हासिल गर्दै आएका नर्जाखानी क्षेत्रका विद्यार्थीले अब छात्रबासमै बसेर माध्यमिक तहको पढाइ गर्न पाउने भएका छन् । शान्ति माविमा छात्राबास सञ्चालनका लागि चालु आर्थिक वर्षमा तमानखोला गाउँपालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको प्रधानाध्यापक सत्यनारायण सिंह बताउछन। नर्जाखानीबाट आएर कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीका लागि आवासीय सुविधा दिने भएको उनको भनाइ छ । प्रधानाध्यापक सिंहले भने, ‘यहाँका विद्यार्थीलाई निकै समस्या थियो, दैनिक छ घन्टा पूरै हिँड्नुपथ्र्यो, हिँडाइको थकाइले गर्दा उनीहरूमा पढाइप्रति रुचि कम हुने गरेको पाइयो, त्यसले गर्दा यस वर्षबाट छात्रबासमा राखेर पढाउन थालेका छौँ, यस वर्ष छोटो समय राख्यौँ, आगामी वर्षदेखि थप व्यवस्थापनका साथ विद्यार्थीलाई सहज हुने गरी पठनपाठन गराउँछौँ ।’ रासस