घरभाडा नतिरी सम्पर्कविहीन बनेपछि एक सहकारी संस्थाविरुद्ध महानगरपािलमा उजुरी

काठमाडौं । घरभाडा नतिरी सम्फर्कमा आउन छाडेपछि काठमाडौं महानगरापलिकामा एक सहकारी संस्था विरुद्ध उजुरी परेको छ । सुनौलो दियालो बचत तथा ऋण सहकारी संस्थाले घरभाडा नतिरेपछि काठमाडौं महानगरपालिकामा होमल्याण्ड इन्भेष्टमेष्ट प्रालिद्धारा सञ्चालित कान्तिपुर मलले उजुरी दिएको हो । सहकारी संस्थाले २०७१ असारदेखि बहाल लगायतको रकम नतिरी सम्पर्कमा नै आउन छाडेको उजुरीमा उल्लेख गरिएको छ । मौखिक तथा लिखित रूपमा बहाल बुझाई पसल खाली गर्न अनुरोध गर्दा समेत अटेर गरेको उजुरीकर्ता होमल्याण्ड इन्भेष्टमेष्ट प्रालिद्धारा सञ्चालित कान्तिपुर मलले बताएको छ । सहकारी संस्थाले गोङ्गबु नयाँ बसपार्क भित्र रहेको कान्तिपुर महलस्थित ३०१ र ३०२ वटा कोठा भाडामा लिएको छ । सुनौलो दियालो बचत तथा ऋण सहकारी संस्थाको प्रधान कार्यालय काठमाडौंको इन्द्रचोकमा रहेको छ । काठमाडौं महानगरपालिका घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा २७ उपदफा ३ बमोजिम विपक्षीहरूलाई वडा नम्बर २६ वडा कार्यालयमा १५ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

मेयरको सट्टामा एसईई दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

रौतहट । मेयरको सट्टामा एसईई दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा-६ पोठियाहीका कमल साह पक्राउ परेका हुन् । मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् । परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ । गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरणको शुभारम्भ गरे । गाउँपालिकाले औषधि वितरणसँगै एक दिनको बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको छ । काठमाडौंको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दीर्घरोगीलाई वडामा निवेदन दिन आग्रह गरेको थियो । सोही आधारमा गाउँपालिकाभरका चार सय बढीलाई अब पालिकाले निःशुल्क औषधि उपलब्ध गराउने गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । न्यूनतम एक हजार देखि बढीमा २० हजारसम्मको मासिक औषधि सेवन गर्ने बिरामी गाउँपालिकामा रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए । रासस