हेटौँडा उपमहानगरले माग्यो बजेटमा सुझाव

हेटौँडा । हेटौँडा उपमहागनरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जनस्तरबाट सुझाव माग गरेको छ । यसका लागि उपमहानगरले क्यूआर कोड सार्वजनिक गरेको छ । उपमहागनरपालिकाले सुझाव सङ्कलन गर्नका लागि सबै नागरिक कार्यालयमा उपस्थित हुन नभ्याउने भएकाले क्यूआर कोड सार्वजनिक गरेको छ । ‘हेटौँडा नगरको विकासका गर्नका लागि साझा गन्तव्य र प्राथमिकता चयन गर्नुपर्ने भएकाले आगामी नीति तथा कार्यक्रम तथा बजेटप्रति नगरवासीको धारणा एवं महत्वपूर्ण सुझाव क्यूआर कोडमार्फत सङ्कलन गर्ने निर्णय लिएको छ’, सूचनमा भनिएको छ । उपमहानगरपालिका प्रमुख मीना लामाले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनमा जोड दिने बताए । उपमहानगरले हाल विभिन्न चरणमा विभिन्न विषयगत समिति, शाखा र महाशाखाबाट बजेट निर्माणका विषयमा छलफल गरिरहको छ । रासस

महानगरले सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको निरीक्षण गर्दै बालेन (फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको विद्यालय पुगेर निरीक्षण गरेका छन् । शुक्रबार मेयर बालेनले महानगरभित्रका सामुदायिक विद्यालयहरूमा पुगेर हरेक शुक्रबार हुने उक्त कार्यक्रमको निरीक्षण गरेका हुन् । बालेनले दरबार हाई स्कुल र पध्मोदय माध्यमिक विद्यालयमा निरीक्षणको लागि पुगेका थिए ।  ‘हामीले विद्यालयका शिक्षकहरूसँग स्रोतसाधन र मानव संसाधनको अवस्था कस्तो छ भनेर बुझ्नुका साथै पुस्तकालयको अनुगमन पनि गरेका छौं, यो निरीक्षणले विद्यार्थी र शिक्षकहरूसँग थप नजिक भएको महसुस भएको छ,’ उनले भने । मेयर बालेनले ‘शिक्षामा सिप’ कार्यक्रम आफ्नो घोषणा पत्रमा समेटेका थिए । महानगरले पुस्तकविहिन शुक्रबारका कार्यक्रम अन्तर्गत थालेको तालिमबाट विद्यार्थीहरूले व्यवहारिक र जीवनोपयोगी सीप प्राप्त गर्न सक्ने बालेन बताउँछन् । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य रहेको उनले बताए ।

तिलोत्तमाका कृषकलाई अनुदानमा औजार वितरण

तिलोत्तमा । तिलोत्तमा नगरपालिका बाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकहरुलाई साना कृषी औजार पशुपन्छी वितरण गरिएको छ । नगरपालिका भित्रका २९ जना कृषकलाई ईलेक्ट्रिक च्याप कटर (घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन (गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायतका सामाग्रीहरु वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । साना कृषकलाई कृषि तथा पशुपन्छीपालनमा उत्साहित बनाउन अनुदानमा प्रयोग हुने औजार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । नगरपालिका भित्रका २९ जना कृषकलाई ५० प्रतिशत अनुदानमा करिव १० लाख बराबरको साना कृषी औजार (पशुपन्छी) ईलेक्ट्रिक च्याप कटर (घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन (गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट)  लगायतका सामाग्रीहरु बितरण गरिएको पशु शाखा प्रमुक राजु कुँवर मगरले बताए । सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले कृषकहरुको समय र मेहनतको बचत गर्न तथा पशुपालक कृषकहरुलाई सो काम मा अग्रसर बनौन यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । पछिल्लो समय युवाहरुको कृषिमा सहभागिता बढेको भन्दै देशमै स्वरोजगार हुन यस्ता अनुदानका कार्यक्रमले सहयोग गर्ने समेत बताए । सो कार्यक्रममा कृषि शाखा प्रमुख दोमलाल भुसाल , राम प्रसाद खनाल, पशु शाखाका डाक्टर उर्जा देवकोटा, प्राबिधिकहरु महेश गौतम , गोविन्द खनाल, त्रिविक्रम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।