पदबहाली गरेको एक वर्ष : सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन प्रमुख साहको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र साहले जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतीनिधिहरुलाई पत्रमार्फत अनुरोध गरेका छन् । आगामी १३ गते बिहान ७ देखि १० बजेसम्म आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुनका लागि प्रमुख साहले आग्रह गरेका हुन् । विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्नसमेत उनले पत्रमार्फत आग्रह गरेका छन् । सरसफाइ गरिने स्थानको छनोट र आवश्यक सामग्री वडाले उपलब्ध गराउनेछन् । सङ्कलित फोहर उठाउने तथा अन्तिम व्यवस्थापन गर्ने काम वातावरण विभागले फोहर व्यवस्थापनमा काम गर्ने निजी क्षेत्रको सहयोगमा गर्नेछ । गत वर्ष २०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको थियो । वैशाख ३१ गते शनिबारदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिकाको मतगणना जेठ १३ गते शुक्रबार सकिएको थियो । शुक्रबार राति ११ बजे मत परिणाम घोषणा गरिएको थियो । त्यसको भोलिपल्ट अर्थात् जेठ १४ गते शनिबार बिहान ८ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा बधाई कार्यक्रम आयोजना गरेको थियो । जेठ १६ गते सोमबार कामपाका जनप्रतिनिधिहरुले बिहान १० बजे पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको थियो । सोही दिन अपराह्न ४ बजे कार्यपालिकाको पहिलो बैठकसमेत बसेको थियो ।

५ महिनादेखिको हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनःसञ्चालनमा

हुम्ला । पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेक सडकखण्ड सञ्चालनमा आएको छ । गत पुसको भारी हिमपातले अवरुद्ध भएको उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो । डोजरले नौ दिन लगाएर हिउँ, पहिरो पन्छाएपछि सिमकोट–हिल्सा सडक सञ्चालन आएको हो । नाम्खा–५ को यारीमा पर्ने नारा लेकमा जमेको झन्डै चार फिटसम्मको हिउँ र पहिरो पन्छाएर सडक सञ्चालन भएको हिल्सा–सिमकोट सडक आयोजनाका इञ्जिनियर नीरज राजवंशीले बताए । नारापासमा यातायात सञ्चालन गर्न नौ दिन लगाएर हिउँ र पहिरो पन्छ्याइएको इञ्जिनियर राजवंशीले बताए । सिमकोट–हिल्सा सडकखण्डको सिमकोटदेखि यारीसम्म यातायात सञ्चालन भए पनि नारामा हिउँ जमेको हुनाले पाँच महिनादेखि सडक अवरुद्ध थियो । हिल्सा–यारी खण्डको २८ किलोमिटर सडकमध्ये १० किमी सडकबाट हिउँ र १८ किमी सडकबाट पहिरो पन्छाइएको हो । पाँच महिनादेखि सडक यातायात अवरुद्ध हुँदा स्थानीय एवं व्यापारी पैदलै हिँड्न बाध्य थिए । वैशाख १८ गतेदेखि जेठ पहिलो हप्तासम्म ताक्लाकोट जाने हुम्ली तथा हिल्सामा कार्यरत सुरक्षाकर्मीले यसअघि पैदल भएर आवतजावत गरिरहेका थिए । अहिले पहिरो र हिउँ पन्छाएसँगै सडक यातायात सञ्चालन भएकाले यात्रुलाई सहज भएको सिमकोट गाउँपालिका–७ का बासिन्दा वीरबहादुर सिंहले बताए । कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमकोट सडकखण्ड हिल्सा–सिमकोट सडक आयोजनाको क्षेत्रमा पर्ने भएकाले कार्यालयले आफैँले मेसिन लगाएर हिउँ पन्छाएको इञ्जिनियर राजवंशीले बताए । अघिल्लो वर्षसम्म हिल्सा नाका बन्द भएकाले सीमितरूपमा सञ्चालन हुने सवारीसाधन नाका खुलेपछि भने चीनको ताक्लाकोटसम्मै सञ्चालन भएका छन् । यससँगै त्यहाँ जानेको सङ्ख्या बढेको छ । रासस

श्रम रोजगार बैंक स्थापना गर्दै गाउँपालिका

बलेवा । बागलुङको ताराखोला गाउँपालिकाले श्रम रोजगार बैंक स्थापनाका लागि ६० श्रमिक सूचीकृत गरी प्रक्रिया अघि बढाएको छ । उक्त गाउँ पालिकाले एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने क्रममा सो कुरा जनाएको हो । चालु आर्थिक वर्षमा एउटा ऐन र पाँच कार्यविधि पारित गरिएको छ । सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७९, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्रसम्बन्धी कार्यविधि–२०७९, नगर प्रहरी सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ तयार पारिएको छ । यस्तै सञ्चित कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि, शहीद, घाइते, अपाङ्गता र बेपत्ता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण तथा रोजगार कार्यक्रम सञ्चालन कार्यविधि र सार्वजनिक सुनुवाइसम्बन्धी कार्यविधि २०७९ निर्माण गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिए । शहीद सप्ताह कार्यक्रमअन्तर्गत २७ शहीद परिवारलाई प्रतिमहिना एक हजारका दरले आठ महिनाको एकमुष्ट आठ हजारका दरले दुई लाख १६ हजार जीवन निर्वाह भत्ता वितरण गर्नाका साथै गाउँपालिकामा बसोबास गरी सरकारी तलबभत्ता खाने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई अनिवार्यरुपमा सरकारी विद्यालयमा भर्ना गराउन सुरुवात गरिएको जनाइएको छ । कक्षा १ र २ को स्थानीय पाठ्यपुस्तक लागू गरेको पालिकाले कक्षा ३ को पाठ्यपुस्तक छपाइ भइरहेको जनाएको छ । स्वास्थ्यतर्फ अमरभूमि र ताराखोला स्वास्थ्यचौकीमा प्रसूति प्रतिक्षा घर, भुस्कात र साँघुबोटमा बर्थिङ सेन्टरको भवन निर्माण गरिएको जनाइएको छ । पालिकाले बितेको एक वर्षमा फलफूल दशकअन्तर्गत बिरुवा रोपण कार्यक्रमका लागि स्याउ, ओखर, आल्मोण्ड, किबीलगायत छ हजार फलफूलका बिरुवा चार सय ५० किसानलाई वितरण गरेकोे र किसान परिचयपत्र वितरण अन्तिम चरण रहेको अध्यक्ष धनबहादुर विकले जानकारी दिए । पूर्वाधारतर्फ सडक स्तरोन्नति, सांस्कृतिक सङ्ग्रहालय निर्माण, घुस्मेली कभर्ड हल निर्माण, भुस्कात खानेपानी आयोजना निर्माण, सात विद्यालयको भवन निर्माण, औद्योगिक ग्राममा जग्गा विकास निर्माण प्रक्रियालाई निरन्तरता र जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । चालु आर्थिक वर्षमा ७२ प्रतिशत भौतिक प्रगति गरेको पालिकाले ठेक्कामार्फत सञ्चालन भएका पूर्वाधार विकासतर्फ १८ आयोजनामध्ये छ वटा निर्माण गरिएको, सात निर्माणाधिन र सात आयोजना ठेक्का प्रक्रियामा रहेका छन् । यस्तै उपभोक्ता समितिमार्फत सञ्चालित ७० योजनामध्ये ३७ सम्पन्न भई रकम भुक्तानी गरिएको छ । रासस