दीर्घकालीन खालका योजना ल्याउने तयारीमा नरैनापुर

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेको छ । गाउँ सभामा पेश हुने बार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षको बार्षिक बजेटको सबै तयारी पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताए । नरैनापुर गाँउपालिकाले असार १० भित्र सुरु गर्नुपर्ने गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव सङ्कलन, माग र आवश्यकता सङ्कलनको काम पुरा गरेको जनाएको छ । बुधबार बसेको गाँउकार्यपालिकाको बैठकले बस्तीस्तरबाट भएको योजना छनोटका विषयमा विभिन्न समितिमा छलफल गरी आवश्यकताका आधारमा बजेट बिनियोजन गर्ने तयारी गरेको गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । अध्यक्ष शाहले समयमै सभा गर्ने तयारीमा आफूहरु व्यस्त रहेको बताए । ‘हामीले वडास्तरमा जनप्रतिनिधिलाई साना–साना समूह बनाएर टोलटोलमा पठायौँ, जसले सबैका माग सम्बोधन गर्न सहज होस् भन्ने सबैसँग छलफल गर्ने समय मिल्यो’, उनले भने, ‘यसपटक फेरी पनि शिक्षा र स्वास्थ्य प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी छ ।’ बुधबार बसेको बैठकले उपाध्यक्ष जयन्ती देबी श्रीवस्तवको संयोजकत्वमा न्यायिक समितिलाई पूर्णता दिने निर्णय गरेको छ । समितिको सदस्यमा वडा नं. १ का अध्यक्ष इसाक जोलाह र वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यलाई राख्ने निर्णय भएको वडा नं. २ का अध्यक्ष मसूद अहमद शाहले जानकारी दिए । उनले भने, ‘कार्यपालिकाले गरेको निर्णयलाई असार १० गते गाँउसभबाट पारीत गरिने छ ।’ यस्तै वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यले शिक्षा ऐन २०७४ लाई सम्शोधन गर्ने र निति, कार्यक्रम र बजेट का विषयमा आजको बैठकमा छलफल भएको बताउदै असार १० गते हुने गाँउ सभा विवाद रहित तरिकोले सम्पन्न हुने बताए । वडा नं २ का अध्यक्ष मसूद अहमद शाहले अबका दिनमा दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता दिने बताए । ‘शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण प्राथमिकतामा रहनेछन’, उनले भने, ‘बजेट तथा कार्यक्रम ल्याउँदा नरैनापुरकाको दिगो विकास र फाइदा हुने कुरामा ध्यान दिइनेछ । त्यसका साथै पछाडि परेका सबै क्षेत्रलाई समेट्ने प्रयास रहने गरी काम थालेका छौँ ।’ बैठकमा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. १ का अध्यक्ष इसाक जोहल, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, ३ का वडा अध्यक्ष अजय मिश्रा, ४ का अध्यक्ष मनोज शर्मा, ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य, ६ का वडा अध्यक्ष प्रेम मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो र लेखा पाल प्रकाश अधिकारी लगायत कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

उदयपुरको ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ मा विगतमा जस्तो वडागत रुपमा बजेट नपठाउने भएको छ । वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार पालिकाले यही असार १० गते कूल ३६ करोडको बजेट ल्याउने तयारी गरेको छ । समग्रमा पालिकाभरिका योजना एकीकृतरूपमा छनोट गरी ठूला र प्रभावकारी योजना निर्माणसहित बजेट विनियोजन गरिने उनको भनाइ छ ।  पालिकाको भौगोलिक विकटतालाई ध्यान दिँदै दिगो विकासका लागि ठूला र महत्वपूर्ण योजना पालिकास्तरबाटै सञ्चालन गर्न यस्तो निर्णय गरेको हो । बजेट गत वर्षभन्दा घटेर आएको र वडास्तरबाट साना योजना मात्रै माग भई आएकाले प्रभावकारिता नदेखिने हुँदा वडागतरुपमा बजेट माग नगरिएको ताप्ली–१ का वडाध्यक्ष उद्धव हमालले बताए । गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत सात करोड ५५ लाख, सशर्त अनुदान शीर्षकअन्तर्गत १८ करोड, विशेष अनुदानतर्फ एक करोड नौ लाख र समपूरक अनुदान पूँजीगततर्फ २६ करोड बजेट विनियोजन गरिँदै छ ।  चालु आवको तुलनामा आगामी आवका लागि दुई करोड ३६ लाख कम बजेट विनियोजन गरिएको छ । ताप्लीमा पाँच वडा रहेका छन् । रासस

धुलिखेल नगरपालिकाको बजेट एक अर्ब १५ करोड

काभ्रे । धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब १५ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरले बुधवार तेह्रौँ नगर सभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने काभ्रेपलाञ्चोकको १३ स्थानीयमध्ये धुलिखेल नगर पहिलो हो । सभामा आउँदो आवका नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट, उपप्रमुख निराजन जङ्गमले प्रस्तुत गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पास गरिएको छ । विनियोजित बजेटमध्ये चालुतर्फ ६७ करोड ६५ लाख ३२ हजार रुपैयाँ रहेको छ भने पुँजीगत खर्चतर्फ ४६ करोड ७९ लाख ६८ हजार रुपैयाँ उल्लखे छ । वित्तीय व्यवस्थातर्फ ७० लाख रुपैयाँ विनियोजन भएको छ । चालू आव २०७९/८० मा एक अर्ब ३५ करोड रुपैयाँ अनुमान गरिएकोमा आर्थिकमन्दीका कारण लक्ष्यअनुरुप राजस्व सङ्कलन हुन नसकेकाले कूल बजेट एक अर्ब २२ करोड २५ लाख रुपैयाँ कायम गरिएको जनाइयो । चालु आवको प्रगतिमा ८० दशमलव ३५ प्रतिशत प्रगति भएको बताइयो । नगरप्रमुख ब्याञ्जुले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्वास्थ्य सहर अभियानलाई साकार बनाउन स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ड्यासबोर्ड कार्यक्रम, रक्तअल्पता मुक्त नगर, दीर्घरोगीलाई घरघरमा औषधि पु¥याउने घोषणासमेत गरेका छन् । कार्यक्रममा नसर्ने रोगको प्रकोपको नियन्त्रण गर्न दीर्घ रोगीलाई स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइ घरमै औषधि पु¥याउने योजना बनाइएको छ । साथै ‘काभ्रे हाइपरटेन्सिभ क्यास्केड केयर’ कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याइने ब्याञ्जुले बताए । यस्तै नगरसभाले धुलिखेल नगर अस्पताल सञ्चालन, स्वास्थ्य पर्यटन गन्तव्य, रोगविरुद्धको चेतना व्यक्ति व्यक्तिमा, रोगको उपचार बस्ती बस्तीमा, बहु–क्षेत्रीय स्वास्थ्य, प्रत्येक स्वास्थ्य संस्थामा अक्सिजन सेवा, स्वास्थ्य बिमा, नगरको जिम्मा, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचार, निःशुल्क एम्बुलेन्स सेवा, मानसिक रोग तथा मनोसामाजिक परामर्श, हाम्रो स्वास्थ्य–हाम्रो सरोकार, स्वास्थ्य सहर, धुलिखेल नगर, धुलिखेल नगर, धुवाँमुक्त सहर, विपद्मा नगरको साथ, अत्यावश्यकीय औषधि तथा उपकरण अभाव हुन नदिन र विशेषज्ञ घुम्ती स्वास्थ्य शिविर सञ्चालनको घोषणा गरेको छ । यसैगरी शिक्षामा स्वउत्प्रेरित शिक्षकले मात्र सिकाउने कार्यक्रमलाई प्राथमिकता, नतिजाका आधारमा शिक्षक र विद्यार्थीलाई प्रोत्साहन पुरस्कार र दण्डको व्यवस्था, सकारात्मक प्रतिस्पर्धाको वातावरण, शिक्षकको व्यवस्थापन कार्य र विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन गरी समग्र शैक्षिक उपलब्धिको आधारमा विद्यार्थी र शिक्षकलाई दण्ड पुरस्कारको नीति लिइने ब्याञ्जुले बताए । ‘धुलिखेलका खेलाडी सधैँ अगाडि’ भन्ने नारालाई युवा तथा खेलकुद कार्यक्रम प्रभावकारी बनाइने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशितालगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने, लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौँ, महिला पुरुष कोही पनि हिंसामा नपरौँ भन्ने नारालाई कार्यान्वन गर्ने घोषणा गरिएको छ । यस्तै कार्यक्रममा व्यक्तिगत घटना दर्ता सम्बन्धमा देशकै नमूना सिकाइ तथा व्यवस्थापकीय केन्द्रको रुपमा विकास गर्ने, अपाङ्गतामैत्री नगर घोषणाका लागि पदमार्ग निर्माण तथा संरचनालाई अपाङ्गमैत्री बनाउन जोड दिइने उल्लेख गरिएको छ । बाल अधिकारको संरक्षण तथा आपत्कालीन अवस्थामा उद्धार तथा संरक्षणको लागि वडा नगर बाल संरक्षण कोष सञ्चालनलाई निरन्तरता, जन्मदर्तालाई नै पहिलो आधार मान्ने कार्यलाई प्रभावकारी बनाइने, ‘धुलिखेलको आवाज–छुवाछुतमुक्त समाज’, आर्थिक विकासको आधार उद्यमशीलता र रोजगार, मेयर गरिबी निवारण कार्यक्रम, उद्यमी युवा समृद्ध धुलिखेल निर्माणमा टेवा भन्ने कार्यक्रम घोषणा गरिएको छ । नीति तथा कार्यक्रममा ‘एक घर–एक धारा, नगर क्षेत्रभित्रका सबै खानेपानी आयोजनाको संरक्षण, सञ्चालन र मर्मतसम्भार तथा महसुल व्यवस्थामा एकरुपता कायम गर्ने समेटिएको छ । सडक पूर्वाधारअन्र्तगत नियमित मर्मतसम्भार दिगो सडकको आधार भन्ने अभियान पूरा गर्ने, अन्य पूर्वाधार, भवन आवास तथा सहरी विकासअन्तर्गतका कार्यक्रम, प्रत्यक्ष रोजगारी सिर्जना गर्ने कम्तीमा एक वडा एक आयोजना, पर्यटन विकास, कृषि विकास, पशुपन्छी विकास, गरिबी न्यूनीकरण, श्रम, रोजगारी तथा उद्यम विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सूचना, सञ्चार तथा प्रविधि, सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राजस्व परिचालन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनलगायतका विषयमा विभिन्न योजनासहितको बजेट विनियोजन भएको छ । रासस