
जनकपुरधाम । मधेस प्रदेशको राजधानीसमेत रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फोहर मैला संकलन तथा व्यवस्थापनमा विशेष जोड दिएको छ ।
शुक्रबार दशौं नगर सभामा उपमहानगर प्रमुख मनोजकुमार साहले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष विसं २०८०/८१ को नीति तथा कार्यक्रममा ‘सफा, स्वच्छ, सुन्दर र सुसंस्कृत जनकपुरधाम उपमहानगर’ बनाउने सोचसहित वातावरण संरक्षण तथा फोहर मैला व्यवस्थापनलाई जोड दिँदै यसमा वडादेखि नै सबैलाई जिम्मेवार र जबाफदेही बनाउने नीति लिएको उल्लेख छ ।
सो नीतिमा आगामी आवदेखि फोहर संकलनको सम्पूर्ण जिम्मा वडालाई नै दिने उपमहानगर प्रमुख साहले घोषणा गरेका छन् । यस्तै, सरसफाइसम्बन्धी उत्कृष्ट काम गर्ने वडालाई वार्षिक बजेटमा १० लाख रुपैयाँ थप विकास अनुदान दिनुका साथै फोहर व्यवस्थापनमा जनसहभागिता अभिवृद्धि गर्न दण्ड, पुरस्कार प्रणाली लागू गर्ने, प्रत्येक वडामा फोहर सङ्कलन गर्ने सवारीसाधन, जनशक्ति तथा स्रोत उपलब्ध गराइने घोषणा गरिएको छ ।
वातावरण तथा प्रविधिमैत्री यातायात व्यवस्थापन गर्न विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन, जनकपुरको हेरिटेज रुट करिडोरलाई हरियाली तथा सौन्दर्य अभिवृद्धि गर्ने र उपमहानगरलाई नेपालको सांस्कृतिक राजधानी घोषणा गर्न नेपाल सरकारसँग पहल गर्ने पनि निती तथा कार्यक्रममा समेटिएको छ ।
नीति तथा कार्यक्रममा आगामी साउन १ गतेदेखि खुलारूपमा विचरण गर्ने छाडा चौपायाको व्यवस्थापनका लागि गौशाला सञ्चालन गर्ने, व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न अत्याधुनिक कृषि बजार, ‘एक टोल एक सामूहिक कृषि उत्पादन क्षेत्र’, किसानलाई चाहेको बेला कृषि यन्त्र उपलब्ध गराउन एक ‘कस्टम हायरिङ केन्द्र’ स्थापना, कृषियोग्य भूमिको पूर्ण उपयोग गर्न जमिन बाँझो राख्न नदिने, कृषि तथा गैरकृषि भूमिको स्पष्ट वर्गीकरण, उत्कृष्ट किसानलाई पुरस्कार, एक वडा एक उत्पादन, एक वडा एक पशु फार्म कार्यक्रम लागू गर्ने जनाइएको छ ।
व्यवस्थित बस्ती विकास, युवा तथा उद्यमीलाई नवीन व्यवसाय सुरु गर्न प्रोत्साहन, आधारभूत एवं गुणस्तरीय स्वास्थ्य सेवामा नगरवासीको पहुँच वृद्धि, हाम्रो स्कुल बनाऔँ, राम्रो स्कुलको नीतिअनुसार विद्यालय शैक्षिक सुधार, उपमेयरसँग बालबालिका कार्यक्रम, भवन, आवास तथा बस्ती विकासलाई वैज्ञानिक बनाउने, पूर्वाधार विकास कार्यलाई व्यवस्थित बनाउन परियोजना बैंक तयार गर्ने, सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई जोड दिँदै विद्युतीय शासनलाई प्रवर्द्धन गर्ने विषय पनि नीति तथा कार्यक्रममा छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ को लागि दुई अर्ब २८ करोड २३ लाख ६८ हजार दुई सय ९० को अनुमानित आय प्रस्तुत गरेको छ । रासस