काठमाडौं महानगरले ल्यायो साढे २५ अर्बको बजेट, धुलोरहित महानगर बनाउन १ अर्ब छुट्याइयो
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि साढे २५ अर्बको बजेट सार्वजनिक गरेको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । उनले कुल बजेटबको चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरेकी छन् । बजेट सार्वजनिक गर्दै उनले काठमाडौं महानगरपालिकाले धुलो रहित काठमाडौं बनाउनका लागि १ अर्ब रुपैयाँ रकम विनियोजन गरेकी छन् ।
बालेन विरुद्ध अवहेलनाको उजुरी
काठमाडौं । मेयर बालेन्द्र शाह विरुद्ध अवहेलनाको उजुरी दर्ता भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको हो । मेयर शाह विरुद्ध अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलनामा कारबाही हुनुपर्छ भनी निवेदन पेश गरेकी हुन् । उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ । मेयर शाहले भारतीय चलचित्रलाई नेपाली हलमा चलाउने नदिने भन्ने आफ्नो निर्णय विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको आलोचना गरेका थिए । उनले उक्त आदेशको आफूले पालना नगर्ने भन्दै अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाएका थिए ।
ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशत मात्र
पाटन । ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९/८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव गुरागाईँका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ दुई अर्ब सात करोड बजेटमात्रै खर्च गर्न सफल भएको हो । यो महानगरको वार्षिक पुँजीगत बजेट पाँच अर्ब १९ करोड ३५ लाखको ४० प्रतिशत हो । गत असारमा कुल बजेट छ अर्ब ३५ करोड ३५ लाख तीन हजार पारित भएको थियो । उक्त बजेटको संशोधन गर्दै २०७९ पुसमा सम्पन्न दोस्रो नगरसभाले एक अर्ब १५ करोड पूरक बजेट थप गरेको थियो । गत असारको नगरसभामा पुँजीगततर्फ चार अर्ब आठ करोड ७३ लाख ४९ हजार पारित गरेकामा पुसको नगरसभाबाट एक अर्ब १० करोड ३५ लाख पूरक बजेट थप गरी पाँच अर्ब १९ करोड ३५ लाख पुर्याएको सूचना अधिकारी गुरागाईँले जानकारी दिए । त्यस्तै आन्तरिक आयतर्फ ललितपुरले ८५ प्रतिशत उपलब्धि हासिल गरेको छ । आन्तरिक र राजस्व बाँडफाँटबाट प्राप्त हुनेसमेत गरी दुई अर्ब ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको महानगरले आन्तरिकतर्फ जेठ मसान्तसम्म एक अर्ब १५ करोड सङ्कलन गर्न सफल भएको राजस्व महाशाखा प्रमुख प्रेमबहादुर थापाले जानकारी दिए । थापाका अनुसार महानगरले यस वर्ष आन्तरिक र राजस्व बाँडफाँटबाट प्राप्त हुनेसमेत गरी कुल दुई अर्ब ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । आन्तरिकतर्फ एक करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको हालसम्म उठेको रकम ८५ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ६७ करोड राजस्व सङ्कलन गरेको महानगरले आन्तरिकतर्फ एक करोड ४५ लाख राजस्व सङ्कलन गरेको थियो ।