अब कुकुर पाल्न दर्ता अनिवार्य
बागलुङ । बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो । नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो । नगरभित्र रहेका छाडा कुकुरको व्यवस्थापन गर्न पालिकाले ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि–२०७९’ बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधि अनुसार घरपालुवा कुकुरको दर्ता गरी रेबिज विरुद्ध खोपको व्यवस्थापन गर्ने, छाडा कुकुर पाल्नका लागि कुकुर होस्टेल निर्माण गर्ने तथा मृत्यु भएका कुकुरको शव व्यवस्थापन गर्ने उल्लेख छ । कार्याविधि कार्यान्वयनअन्तर्गत कुकुर दर्ता गरी खोप कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा कुकुर होस्टेल स्थापना गरिने नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए । उनकाअनुसार पालिकाले चालु आर्थिक वर्षमा छाडा कुकुर नियन्त्रण तथा होस्टेल निर्माणका लागि १५ लाख विनियोजन गरेको छ । नगरपालिकाले आर्थिक वर्षको पहिलो दिनबाटै कुकुर व्यवस्थापनका लागि घरपालुवा कुकुरको दर्ता गर्न थालेको प्रमुख सापकोटाले बताए । घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने उनको भनाइ थियो । उनका अनुसार घरपालुवा कुकुरको दर्तासँगै भिटामिन, रेबिज र अन्य रोगको खोप प्रदान गर्न थालिएको छ भने घरधनीलाई कुकुर दर्ता प्रमाणपत्र प्रदान गर्न थालिएको छ । पशु सेवा शाखा प्रमुख सापकोटाका अनुसार कुकुर दर्ताका लागि दुई सय तिर्नुपर्नेछ भने नवीकरणका लागि एक सय रुपैयाँ तिर्नुपर्नेछ । नगरपालिकाले दर्ता भएका कुकुरलाई एक वर्षमा एक हजारभन्दा बढी सेवासुविधा दिने उनले बताए । ‘घरधनीले नगरपालिकामा ल्याएर कुकुरलाई दर्ता गर्नुपर्नेछ । दर्ता गरेको कुकुरलाई एक वर्षसम्म खोप, उपचार र आवश्यक परामर्श निःशुल्क गर्नेर्छौं’, प्रमुख सापकोटाले भने, ‘नगरपालिकामा दर्ता भइसकेका कुकुरलाई दर्ता नं सहितको बेल्ट घाँटीमा बाँधेर पठाउँने गरेका छौँ ।’ घरपालुवा कुकुर हराएमा खोज्न सजिलो हुनुका साथै हराएको कुकुरले कसैलाई टोकेमा घाँटीमा बाँधिएको बेल्टका आधारमा कुकुरधनी पत्ता लगाउन सहज हुने उनले बताए । सापकोटाका अनुसार घरपालुवा कुकुर स्वास्थ्यका कारण छाडा कुकुर हुन सक्ने सम्भावना रहेकाले पहिचानका लागि दर्ता गर्न थालिएको हो । नगरपालिकाले कुकुरको घाँटीमा बाँधेको पेटीमा गरिएको सङ्केतका आधारमा कुकुर धनी पत्ता लगाइने उनको भनाइ थियो । जिल्ला सदरमुकाम बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिई कुकुर होस्टेलमा राखेर पालन पोषण तथा उपचार गर्ने नीति नगरपालिकाको रहेको छ । कुकुरलाई नियन्त्रण गरी होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेले अनिवार्य दर्ता गरी पाल्न पाउने नीति नगरपालिकाले लिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । ‘नगरपालिकाले कुकुर व्यवस्थापन कार्य सुरु गरेको छ, नगरबासीको प्रमुख गुनासो कुकुरको समस्या भएकाले कार्यविधि बनाएर कुकुर व्यवस्थापन गर्न थालिएको हो’, उनले भने, ‘घरपालुवा कुकुर नै रोगी भएर वा मानासिक असन्तुलन भएर छाडा छोड्ने गरेकाले घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्ने व्यवस्था गरेका छौँ ।’ उनले यसरी घरपालुवा कुकुर छाडा भएमा कुकुरधनीसँग जानकारी लिन सहज हुने बताए । नगरपालिकाले साउन १ गतेदेखि कुकुर दर्ता गर्न थालिएको बताउँदै पहिलो दिन १२ वटा कुकुर दर्ता गरिएको बागलुङ नगरपालिकाको पशु सेवा शाखाले जानकारी दिएको छ । रासस
आजदेखी सुर्तीजन्य पदार्थमा निषेध
मनहरि । मकवनपुरका तीन स्थानीय तहले आजदेखी मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन् । मनहरि गाउँपालिका, हेटौडा उपमहानगरपालिका र बकैया गाँउपालिकाले आजदेखी यस्तापदार्थ निषेध गर्न लागेका हुन् । मनहरि गाँउपालिकाले यस्ता पदार्थको बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए । पालिकाले नीति तथा कार्यक्रममै यस क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेको थियो । मानवीय स्वास्थ्यलाई हानी पु¥याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको उनले जानकारी दिए । हेटौँडा उपमहानगरपालिकाले पनि आजदेखी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने जनाएको छ । उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनबमोजिम उपमहानगरपालिकाले २०७७ मा बनाएको निर्देशिकाको आधारमा यस्ता पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने तयारी गरेको जानकारी दिए । ‘सार्वजनिकस्थलहरू जस्तै विद्यालय, सरकारी कार्यालय, अस्पतालजस्ता क्षेत्रको एकसय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने भएको छ । निर्देशन नमान्ने जोकोहीलाई २५ हजारदेखि ५० हजारसम्म जरिवाना गरिने छ,’ उनले भने । होटेल तथा रेस्टुरेन्टहरूमा समेत छुट्टै स्मोकिङ जोनको व्यवस्था गर्न पत्राचार गर्न लागिएको प्रवक्ता न्यौपानेले बताए । मनहरि र हेटौडाजस्तै बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै आफ्नो पालिकालाई लागुऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागुऔषधसहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले लागुपदार्थमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेर सूचना जारी गरेको बताए । ‘हामीले पालिकामा मदिराजन्य पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार र सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने तयारी गरेका छौँ,’ उनले बताए । रासस
काभ्रेमा ‘प्याराग्लाइडिङ’ उडान सुरु, कति लाग्छ शुल्क ?
काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो । उक्त व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडानको शनिबार पूर्वमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले शनिबार शुभारम्भ गरे । उनले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने प्याराग्लाइडिङको शुभारम्भले सङ्घीय राजधानीसँग जोडिएको काभ्रेको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको बताए । ‘देशको समृद्धिको लक्ष्यलाई धुलिखेलमा सुरु गरिएको प्याराग्लाइडिङले धुलिखेलको थप चिनारीसँगै आयआर्जनमासमेत वृद्धि हुनेछ’, उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले आवश्यक मापदण्ड पूरा भएपछि उक्त प्रालिलाई औपचारिक (मनोरञ्जनात्मक उड्डयन सञ्चालन) उडानको अनुमति दिएको हो । प्रालिका अध्यक्ष किरण कार्कीले निकै पटकको परीक्षणपछि औपचारिक उडान सुरु गरिएको जनाउँदै आवश्यकता र मौसमका आधारमा प्याराग्लाइडिङ उडान गरिने जानकारी दिए । उनका अनुसार पोखरामा सञ्चालन भएका प्याराग्लाइडिङ कम्पनीहरूको सहकार्यमा धुलिखेलमा पनि व्यावसायिक उडान सुरु गर्न लागिएको हो । धुलिखेलमा एकैपटकमा छवटा उडान भर्न सकिने छ । तोकिएको दूरीमा ३० मिनेट अवधिको उडान हुने जनाइएको छ । एक पटकको उडानवापत तिरिएको सात हजार रुपैयाँमा ३७ लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको उनले बताए । धुलिखेल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बन्दै गएको छ । धुलिखेलमा निर्माण भएका देविस्थान पार्क, बलभद्र कुँवर स्मारक, हजार सिँढी तथा अन्य पार्कले घुम्न र वनभोजका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यस्तै गतसाल पुस अन्तिम साताबाट पनौती नगरस्थित पर्यटकीय पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान भइसकेको छ । प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङको अनुमति दिएको थियो । प्राधिकरणबाट सञ्चालन निर्देशन भएपछि व्यावसायिक उडानको तयारीस्वरुप माघदेखि परीक्षण उडानसँगै डेमोष्ट्रेशन’ उडानपछि ‘टेकअप’ र ‘ल्यान्डिङ’का स्थान व्यवस्थित गरी व्यावसायिक उडान सुरु गरिएको प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताए । उनका अनुसार सुरुआती चरणमा तीन प्याराग्लाइडिङबाट ‘डेमोष्ट्रेशन’ उडान गरिएको थियो भने क्रमशः दश वटाले प्याराग्लाइडिङबाट समेत उडान सञ्चालनमा ल्याइएको छ । कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा फुल्चोकीको गुर्दुमडाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । उक्त स्थानबाट उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप तथा अन्य वातावरण अनुकूल भएकाले अनुमति पाएको थियो । उक्त प्रालिले दैनिक १० प्याराग्लाइडिङले विहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उडान अनुमति पाएको हो । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ । हाल प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दुमडाँडाबाट बन्चरेटार सडकको दूरीको हिसाबले चार किलोमिटर हो । तर प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ । प्याराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको पर्यटनमा थप प्रचारात्मक हुने अपेक्षा गरिएको पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले बताए । उनका अनुसार प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा अपेक्षा गरिएको छ । यसैगरी काभ्रेकै पूर्वीक्षेत्र कोशीपूर्वस्थित भम्लु गाउँपालिकामा पनि कही महिनाअघि प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । उक्त क्षेत्रमा प्याराग्लाइडिङ उडानको तयारीस्वरुप अध्ययन भइरहेको जनाइएको छ । विशेषगरी काभ्रेमा अधिकांश पहाडी भू–भाग रहेकाले साहसिक खेल प्याराग्लाइडिङ प्रवर्द्धनका लागि प्रचुर सम्भावना देखिएको हो । रासस