आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै कामपा
काठमाडौं । दुवै तर्फबाट सवारीसाधन आवतजावत गर्दा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडकमा एक तर्फबाट मात्रै सवारीसाधन सञ्चालन गर्ने तयारी गरेको छ । यसरी एकतर्फी बनाउने सडकमा महेन्द्र सालिक क्षेत्रको सडक, कमलादी क्षेत्र, जमल क्षेत्र, सिफल क्षेत्र, डिल्डीबजार चारखाल क्षेत्रका सडकमा एकतर्फी गर्न लागिएको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक एकतर्फी कहिलेदेखि गर्ने, कुन समयमा गर्ने वा सबै समयमा नै सडक एकतर्फी बनाउनेबारे छलफल र अध्ययन भइरहेको छ । त्यसैगरी कामपाले आगामी आवदेखि आफ्नो अधिकार क्षेत्रमा पर्ने सडकमा जेब्राक्रसिङमा रङ लगाउने काम पनि गर्ने जनाएको छ । अहिले अधिकांश स्थानका जेब्राक्रसिङ मेटिएका अवस्थामा छ । यस्तो अवस्थामा रहेको जेब्राक्रसिङका कारण दुर्घटनाको जोखिम हुनेहुँदा सडकको मर्मतसम्भार र थप व्यवस्थित गर्नको लागि जेब्राक्रसिङमा रङ लगाएर स्पष्टसँग देख्नसक्ने बनाउन लागिएको सल्लाहकार श्रेष्ठले जानकारी दिए । सडक विभागसँगको सल्लाहमा जेब्राक्रसिङमा रङ लगाउने, आवश्यक परेको स्थानमा सडकमा रङ लगाउने कामसहित सडकमा गर्नुपर्ने अन्य कामसमेत गर्ने जनाएको छ । नियमअनुसार ८ मिटरसम्मको सडक कामपाको अधिकारभित्र पर्दछ अन्य सडक सडक विभागको अधिकारभित्र पर्नेछ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । कामपाले आगमी आवदेखि यस किसिमको व्यवस्था गर्न लागेको हो । कामपाले आगामी आवका लागि सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित कूल ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । सोअन्तर्गत सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये ‘डिपिआर’ भएका सडक तथा पेटी मर्मत तथा निर्माण गरी धुलोरहित काठमाडौँ योजनालाई कार्यान्वयन गरी अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि १ अर्ब रुपैयाँ छुट्याएको छ ।
साना व्यापारीको उचित व्यवस्थापन गर्न माग गर्दै बालेनबिरुद्ध महानगर अगाडि विरोध प्रदर्शन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ । ‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेन शाहबिरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो । ‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने माग राखेको छ । महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादती बिरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताए । उनले जीविकोपार्जन गर्न व्यापार गर्नेहरु माथि महानगरले फोहोरको जस्तो गरी दुव्र्यवहार गनेको बताए । उनले संविधानले बाच्न पाउने अधिकार र मानव अधिकारको कुरालाई समेत हर्नन गरेको आरोप मेयर शाहमाथि लगाए । मेयर तथा महानगरबिरुद्ध यो विषयमा संगठित भएर बोल्न नसकेको उनले बताए । उनले महानगर पालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई राज्यले लुटेको बताए । महानगरले अमानविय रुपमा साना व्यापारीहरुलाई व्यवहार गरेको उनले बताए । गरिबीको चमेली बोलिदिने कोही छैन भन्ने मेयरलाई उनले नै गाएको गीतले नै गिज्याएकाले गरिबको पक्षमा बोल्न आएको बताए। प्रदर्शनमा सहभागि सौरभ न्यौपाने फुटपाथ व्यवस्थापन मेयर शाहले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको आरोप लगाए । मेयर बालेन्द्रले निर्वाचनको बेला बोलेको कुरा बिर्सिएकाले बिरोध प्रदर्शन भन्दा पनि सम्झाउन युवाहरु भेला भएको बताए । बिरोध प्रदर्शनमा सहभागि युजनराज भण्डारीले साना ठेलागाँडा ब्यापारीहरु माथि महानगरले गरेको ज्यादती बिरुद्ध प्रदर्शन गरिएको बताए । उनले फुटपाथका गेलागाढा व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ भनेर मेयर शाहले निर्वाचनको बेला भन्ने गरेपनि अहिले अमानवीय व्यवहार गर्ने काम गरेको आरोप लगाए ।
साउन १ देखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध
काठमाडौं । आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ ।पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने भए पनि यसलाई क्रमिकरूपमा कामपाका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको बताइएको छ । उक्त अभियान कामपा र बानेश्वर व्यापार सङ्घले संयुक्तरूपमा गर्न लागेका हुन् । सङ्घका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै सुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट सुरु गर्ने तयारी गरिएको हो । आजदेखि आगामी साउन १ गतेसम्म प्रचारप्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ उक्त अभियान लागू गर्ने अध्यक्ष लुइँटेलले जानकारी दिए । सार्वजनिक स्थानमा धुम्रपान र मद्यपानको सेवन गर्ने र अन्यलाई पनि उत्तिनै असर गर्ने हँुदा यस किसिमको अभियान सुरु गर्न लागिएको हो । धुम्रपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिने बताइएको छ । एक वर्षअघि पनि कामपाले सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो तर त्यसको सकारात्मक प्रभावकारिता नभएको भन्दै कडाइका साथ कार्यान्वयन गर्ने गरी पुनः सुरु गर्न लागिएको बताइएको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुनाका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने गर्दछ । सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउनुपरेको छ । क्यान्सर रोग लाग्नुको मुख्य कारण सुर्तीजन्य वस्तुको प्रयोग भएको र जम्मा मृत्युको १३ प्रतिशत क्यान्सरकै कारण हुने गरेको बताइएको छ । नेपालमा हरेक वर्ष २० देखि ३० हजार मानिसलाई विभिन्न प्रकारका क्यान्सर हुने गरेको पनि बताइएको छ । वर्षमा एक पटक स्वास्थ्य परीक्षण गराउने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, नियमितरूपमा शारीरिक व्यायाम तथा योग गर्ने, सिर्जनशील तथा रचनात्मक काममा लाग्ने बानीले क्यान्सर रोगबाट बच्न सकिने बताइएको छ । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेको छ ।