टोखा नगरपालिकाले हटायो सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना

काठमाडौं। काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाइएको हो । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए । ‘संरचना भत्काउन पटक पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे पनि खाली नगरेपछि हटाएका हौँ’, नगरप्रमुख अधिकारीले भने । नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले पनि उपभोग गर्न नमिल्ने उनको भनाइ छ ।  

भरतपुर महानगरद्वारा भ्रमण वर्षको प्रचारप्रसार सुरु

चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, सङ्घीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई भरतपुर भ्रमण वर्षको प्रबद्र्धनात्मक कार्यक्रमबारे जानकारी गराइसकिएको बताए । उनका अनुसार भ्रमण वर्षबारे निजी क्षेत्रसँग पनि छलफल अगाडि बढाइसकिएको छ । महानगरले भ्रमण वर्ष २०२४ मा दुई लाख विदेशी र सात लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन लागेको हो । हाल यहाँ वार्षिकरुपमा औसतमा ३० हजार विदेशी र चार लाख आन्तरिक पर्यटक आउने गरेको महानगरको भनाइ छ । नगर प्रमुख दाहालले नेपाल र विदेशमासमेत भरतपुर भ्रमण वर्षको प्रचारप्रसार गर्ने गरी कार्यक्रम तय गरिएको जानकारी दिए । उपप्रमुख चित्रसेन अधिकारीका अनुसार भ्रमण वर्ष, २०२४ लाई सफल बनाउन नगरप्रमुख दाहालको संयोजकत्वमा पाँच सदस्यीय निर्देशन समिति र ५०१ सदस्यीय मूलसमिति गठन गरिएको छ । निर्देशन समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पर्यटन महाशाखा प्रमुख र सदस्यसचिवमा पर्यटन विज्ञ रहेका छन् । साथै नगरउपप्रमुख अधिकारीको संयोजकत्वमा १५ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । समितिका संयोजकले १५ दिनभित्र कार्ययोजना तयार गरी पेस गरेपछि कार्यक्रमलाई अन्तिम रुप दिइने महानगरको भनाइ छ । भ्रमण वर्षको तयारीस्वरुप महानगरभित्रका ३३ पर्यटकीय गन्तव्यको जानकारी दिने उद्देश्यले मोबाइल एप पनि तयार गरिएको छ । महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीका अनुसार सातवटा मुख्य पर्यटकीय गन्तव्यसहित ३३ गन्तव्यको जानकारी र तस्वीर एपमा समावेश छन् । यससँगै छोटो भिडियो, वृत्तचित्त तयार गरी एपमा राख्ने काम जारी छ । उक्त एपमा मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, नारायणीसीबीच मोडल, ज्ञानेश्वर ब्लक र चौकीडाँडा यहाँका महत्वपूर्ण पर्यटकीय गन्तव्यबारे जानकारी समावेश गरिएको छ । भ्रमण वर्षका अवसरमा भारत र चीनमासमेत आवश्यक प्रचारप्रसार गरी भ्रमणवर्षको प्रबद्र्धन गरिने छ । देशकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा चितवनलाई लिने गरिन्छ । यहाँको चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी र विदेशी पर्यटकका लागि परिचित छ । निकुञ्जको धेरै भाग महानगरसँग जोडिएको छ । महानगरका विभिन्न ठाउँबाट निकुञ्ज प्रवेश गर्न सकिन्छ । साथै पवित्र तीर्थस्थल देवघाट, सूर्योदय हेर्न सकिने चौकीडाँडा, सूर्यास्त अवलोकन गर्न सकिने गोलाघाटलगायतका रमणीय पर्यटकीय गन्तव्य पनि यही छन् । नारायणी र राप्ती नदीको काखमा भरतपुर महानगरपालिका पर्दछ । रासस

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि महानगरपालिकाको अवरोध

काठमाडौं । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेकका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो । स्थानियले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलवार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो । पार्कमा हिड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृती समेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे । उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरे । यता स्थानीयले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफुहरुले महोत्सव गरेको बताएका थिए । नगरप्रहरी र स्थानीयका बिचमा केहीबेर भनाभन समेत भएको थियो । आफूहरुले लिखित रुपमा अनुमति लिएर भएपनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन् ।