गोदावरीको टिकाथलीसम्म बस सञ्चालन गर्दै चन्द्रागिरि यातायात
काठमाडौं । चन्द्रागिरि यातायातले नागढुंगा देखि गोदावरीको टिकाथली पुलसम्म बस सञ्चालन गर्ने भएको छ । काठमाडौंको चन्द्रागिरि यातायातले नागढुंगा देखि महालक्ष्मी नगरपालिका ०५ गोदावरीको टिकाथली पुल सम्म बस संचालनमा ल्याएको हो । चन्द्रागिरि यातायातले नागढुंगा, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क, माइतीघर, बानेश्वर, कोटेश्वर, जडिबुटी, इमाडोल र ललितपुरको महालक्ष्मी नगरपालिका ०५ गोदावरीको टिकाथली पुलसम्म रुट बस संचालनमा ल्याएको हो । चन्द्रागिरि यातायातले नागढुंगा देखी ललितपुरको महालक्ष्मी नगरपालिका ०५ गोदावरी पुल सम्म ३० ठूला बस संचालनमा ल्याएको हो । चन्द्रागिरी यातायातले चालक, सहचालक र यात्रुको सुरक्षा मापडण्ड अपनाई बसमा चढ्ने व्यवस्था गरिएको छ । ती बसहरु यात्रुको चाप हेरि हरेक ५ देखि १० मिनेटमा छुट्ने बताइएको छ ।
भत्किएको महानगरलाई कसले बनाउने ? (फोटोफिचर)
सामाकोशी नदि उत्खननपछि खोला किनाराका पसलहरु । काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् । महानगर भित्रका संरचनाहरु भत्काइएका छन् तर बनाइएका छैनन् । सार्वजनिक एवं सरकारी जग्गाहरु मिचेर निजी स्वार्थका लागि संरचना बनाउनु गलत हो । त्यसैले पनि काठमाडौं महानगरपालिकाले त्यसरी निर्माण गरिएका संरचना भत्काइदिएको छ । यतिसम्म की खहरे खोला, नदीहरु मिचेर समेत घर, भवनहरु निजी स्वार्थका लागि बनाइएको पाइएको छ । केही दिनअघि मात्रै खहरे खोला मिचेर बनाइएका कपन क्षेत्रका घरहरुमा महानगरले डोजर चलाएको थियो । खोला खोलेपछि कपन मिलनचोक । त्यतिमात्रै होइन, हात्तिसारमा टुकुचा खोला मिचेर बनाइएका संरचना, सामाखुशीमा नदी उत्खनन, रत्नपार्कमा हडपेर राखिएका पसलहरु लगायत मिचेर बनाइएका संरचना महानगरपालिकाले भत्काउँदै आएको छ । तर यसको असर र यसबाट मानव स्वास्थ्यमा उत्पन्न हुने समस्याका बारेमा महानगर अनविज्ञ झैँ छ । भत्काइदिएको त छ तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना महानगरको हालसम्म पनि देखिँदैन । खोला हेर्दै कपन मिलनचोकका बासिन्दा । महानगर क्षेत्रमा अव्यवस्थित र सार्वजनिक सम्पती हडपेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले डोजर लगाएका त छन् तर त्यसलाई व्यवस्थित बनाउने योजना उनीबाट अहिलेसम्म पनि आएको देखिँदैन । किनभने महानगरपालिकाले संरचनाहरु भत्काएर मात्रै छोडेको छ, बनाउन थालेको कतै छैन । कपनका खोला उत्खननका क्रममा साततले । भत्काइएका संरचनामाथि झारपात उम्रिसकेका छन् । सामाखुशी नदी उत्खननपछि खोला किनारका पसलहरुको अस्तव्यस्तता हेर्नुहोस् वा रत्नपार्कका पसलहरु हटाएर सार्वजनिक शौचालय निर्माणका लागि सम्याइएको जमिनको अवस्था हेर्नुहोस्, अवस्था भद्रगोल छ । कपनका खोला उत्खननपछिको अवस्था होस् वा अनामनगरस्थित सार्वजनिक जग्गामा बनेको भद्रकुमारी घले आश्रमको घर भत्काइएपछिको दुरावस्था हेर्नुहोस् । कतैपनि भत्काइएपछि व्यवस्थित बनाइएको छैन । हात्तिसारमा टुकुचा खोलामाथि खनेपछि उम्रेको झारपात । त्यसैले महानगरपालिकाले भत्काउनेसँगै व्यवस्थित र नागरिकलाई हिँडडुल गर्न सहज बनाइदिनेसँगै काठमाडौंलाई अझ सुन्दर बनाउने काममा लाग्दा अझ उपयुक्त र नागरिक जनप्रतिनिधिप्रति आशावादी हुनेछन् । फोटो न्युज एजेन्सी नेपाल ।
कैलालीमा पाइप लाइनबाट घरघरमा ग्यास
कैलाली । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौँदेखि दाउराबाट खाना पाक्ने उनको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ । ‘नजिकै जङ्गल छ । दाउराको समस्या हुँदैन । आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन । दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो’, चौधरी भन्छन्, ‘अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ । यो त सोचेकै थिइँन ।’ टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घर–घरमा पाइप लाइनबाट ग्यास पुगेको हो । स्थानीय धनादेवी चौधरी ग्यास उपलब्ध भएपछि दुःखका दिन सकिएको बताइन् । ‘दाउराको भरमा खाना पकाउन समस्या थियो’, उनी भन्छिन्, ‘अहिले एक घन्टामा खाना पाक्छ । समयमा काममा जान सकिएको छ । भाँडाकुडा माझ्न पनि समय लाग्दैन । हाम्रा लागि नसोचेको भएको छ ।’ ग्यास नियमित नहुँदा भने कहिलेकाहीँ समस्या हुने गरेको चौधरीको गुनासो छ । ग्यास प्लान्ट परीक्षणमा रहेकाले नियमित भने छैन । अहिले दिनमा चार घन्टा ग्यास आउने गरेको स्थानीय फरहरि थारू बताउँछन् । उनले कहिलेकाहीँ भनेको समयमा ग्यास नआउने र खाना पकाउँदै जाने हुँदा समस्या भएको भन्दै नियमित गर्न आग्रह गरे । ग्यास प्लान्ट परीक्षणका क्रममा हुँदा स्थानीयले निःशुल्क ग्यास उपभोग गर्न पाएका छन् । दुई महिनादेखि परीक्षणका लागि ग्यास प्लान्ट सञ्चालनमा रहेको छ । ग्यास नियमित भए वर्षौँदेखिको दाउराबाट खाना पकाउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय बबिता चौधरी बताउँछिन् । ‘दीर्घकालीन बन्ने/नबन्ने थाहा भएन, दीर्घकालीन भयो भने हाम्रा लागि धेरै राम्रो छ । हामीले नियमित खोजेका छौँ’, उनी भन्छिन् । दुई सय घनमिटर क्षमताको बायो ग्यास प्लान्टले उत्पादन सुरु गरेसँगै अहिले ५५ घरधुरीमा ग्यास पुगेको छ । ग्यास प्लान्टको क्षमता एक सय ५० घरधुरीका लागि छ । ग्यास घर–घरमा पुगेपछि वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाको छ । एक करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो । गौशालामा चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर त्यो ग्यास गाउँमा पठाउने गरिएको छ । ‘चौपायाको गोबरलाई सङ्कलन गरेर प्लान्टमा राख्छौँ । त्यसबाट प्रशोधन भएर ग्यास बस्तीमा जान्छ । त्यसबाट निस्केको गोबरलाई कम्पोस्ट मलका रूपमा बिक्री सुरु गरेका छौँ ।’ सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले भने, ‘गोबर पर्याप्त छैन । आवश्यकतानुसार गोबर अभावका कारण दिनमा चार घन्टामात्रै ग्यास प्लान्ट सञ्चालन हुँदै आएको छ ।’ गौशालामा कम्पोस्ट मल उत्पादन सुरु भइसकेको छ । मल भण्डारका लागि भण्डारकक्षसमेत नगरपालिकाले निर्माण गरेको छ । प्रशोधन भएर आएको गोबरबाट गड्यौला मल उत्पादनको तयारी भइरहेको समितिका अध्यक्ष बुढाक्षेत्री बताउँछन् । ‘एकातिर मल बेचेर आम्दानी गर्न सकिन्छ भने अर्कोतिर स्थानीयलाई सहुलियत ग्यास वितरण गरे’, बुढाक्षेत्रीले भने, ‘नगरपालिकाले एक वर्षको लागि परीक्षणकालका रूपमा सञ्चालनको जिम्मा दिएको छ । त्यो अवधिमा गौशालालाई व्यावसायिक गौशालाको रूपमा स्थापित गरेर छाड्छौँ ।’ नगरपालिकाका इन्जिनियर नवराज जोशीले यसबाट नगरपालिकाभित्रका सामुदायिक चौपाया व्यवस्थापन हुनु, स्थानीयले ग्यास प्राप्त गर्नुका साथै खेतका लागि कम्पोस्ट मलसमेत उत्पादन हुने बताए । नगरपालिकाले उक्त बायो ग्यास प्लान्टबाटै बजार क्षेत्रबाट सङ्कलन भएको फोहरको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ । त्यसका लागि बजार क्षेत्रमा कुहिने र नहुहिने फोहरको वर्गीकरण गरेर व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था गरिएको नगरपालिकाका फोहर व्यवस्थापन उपशाखा प्रमुख लोकबहादुर बुढाले बताए । गौशालासँग सुदूरपश्चिम प्रदेशको नवप्रवर्द्धन आयोजना जोडिएको छ । नगरपालिकाले प्रदेश सरकारलाई पेस गरेको प्रस्तावनाअनुसार गौशालालाई व्यावसायिक बनाउनका लागि सहयोग गरेको छ । गौशालाका गाईबाट दूध उत्पादन गरेर बजारीकरणका लागि आवश्यक भाँडाकुँडा, ग्यास प्लान्टबाट प्रशोधन भएको गोबरलाई भण्डारणका लागि भण्डारकक्ष, ग्यासका लागि बजार क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरको छुट्टै व्यवस्थापनका लागि डस्टबिनको व्यवस्थालगायतमा सहयोग गरेको इन्जिनियर जोशीले बताए । रासस