डेङ्गु परीक्षणका लागि ६ सय रुपैयाँ लाग्ने

भरतपुर । भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेङ्गु परीक्षणका लागि आधिकतम ६ सय तोकिएको हो । महानगरप्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताए । उनले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गरे । जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण निःशुल्क हुने गरेको छ । भरतपुर अस्पतालले भने आठ सय रुपैयाँ लिँदै आएकोमा अब छ सय रुपैयाँमात्र लिने जनाएको छ । पछिल्लो समय जिल्लामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । साउनयता जिल्लामा ५२ जनामा उक्त सङ्क्रमण पुष्टि भइसकेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले जाजरकोटका उद्यमीलाई सहुलियतपूर्ण ऋण दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण ऋण दिने भएको छ । सो सम्बन्धमा बैंक र नलगाड नगरपालिकाबीच बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नगरपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्र्तगत को कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास लिइएको छ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्झौताले कर्णाली प्रदेशमा बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा लगानी गरेको बताए । नलगाड नगरपालिकाका नगर प्रमुख डम्वरबहादुर रावतले नगर क्षेत्र कृषिको पकेट क्षेत्र भएकाले कृषि उत्पादनमा सहयोग पुग्ने बताए । कर्णाली प्रदेशका पूर्व मन्त्री गणेशप्रसाद सिंहले बैंकको सहुुलियतपूर्ण कर्जाले जनताको जीवनस्तर उकास्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिको बारेमा बताउँदै उत्पादन, रोजगारी र आय श्रृजना गरी आर्थिक विकासमा योगदान पुर्याइरहेको बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुखहरु सरोज वस्नेत, अच्युत गौतम तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कृषि तथा सामाजिक बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषभ भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि

गोरखा । गोरखा नगरपालिका-७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ । विभागबाट गोरखा आएको भूगर्भविद्को टोलीले दुईदिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि गरेको हो । ढुङ्गाको परीक्षण गरी विभागको टोलीले जिल्ला प्रशासन कार्यालय गोरखालाई परीक्षण प्रतिवदेन बुझाएको भूगर्भविद् डा सुस्मिता भण्डारीले जानकारी दिए । ‘परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको पाइयो’, उनले भने, ‘संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गरिन्छ, सोही आधारमा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्छ ।’ भूगर्भविद्को टोलीले टल्कने ढुङ्गाको नापतौल लिनुका साथै अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको भूगर्भविद् डा. भण्डारीले जानकारी दिए । कडापनका आधारमा हीरा १० औँ नम्बरमा पर्ने उनको भनाइ छ । टोलीले गरेको परीक्षणका क्रममा उक्त ढुङ्गाको तौल ५२ किलो तीन सय ३० ग्राम रहेको पाइएको छ । यति ठूलो तौलको भएको एउटै चट्टानका भेट्टाउनसमेत गाह्रो पर्ने भूगर्भविद् डा भण्डारीले जानकारी दिए । ‘क्वार्ज क्रिष्टल’ मुख्यरुपमा सजावटका सामग्री तथा गरगहना बनाउन प्रयोग हुने गरेको भूगर्भविद् डा. भण्डारीको भनाइ छ । त्यस्तै रेडियो ट्रान्समिटर, कम्प्युटर, घडीलगायतका अन्य विद्युतीय उपकरणमा पनि क्वार्ज क्रिष्टलको आंशिकरुपमा प्रयोग हुने उनले जानकारी दिए । टल्कने ढुङ्गाको परीक्षण सम्पन्न गरेपछि विभागको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र प्रहरी उपरीक्षक ९एसपी० अनुपम श्रेष्ठलाई परीक्षणपछिको अध्ययन प्रतिवेदन बुझाएको हो । जिल्ला प्रशासन कार्यालय गोरखाले टल्कने ढुङ्गाको नमूना परीक्षणका लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले भूगर्भविद् डा भण्डारी र दुर्गा बोलाखेको टोली गोरखा पठाएको थियो । अध्ययन टोलीले बरामद गरिएको ‘क्वार्ज क्रिष्टल’ खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि प्रतिवेदनमार्फत सुझाव दिएको छ । खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्यगर्ने अनुमति नलिई उत्खनन् तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमाफृत आग्रह गरिएको छ । गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपिपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो । टल्कने ढुङ्गा वर्षौंदेखि शाही परिवारले घरमा राखेर पूजा गर्दै आएको पाइएकाले उक्त ढुङगा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न सङ्घसंस्थाले प्रशासनसँग माग गर्दै आएका छन् । टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै गोरखा दरबार परिसरमा प्रणप्रतिष्ठा गरी व्यवस्थापन गनुपर्नेमा सङ्घसंस्थाको जोड छ । पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको बल्ने शिला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाई मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने स्थानीयवासीको पनि भनाइ रहेको छ । गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले विभागको टोलीसँगको भेटमा ऐतिहासिक र धार्मिक हिसाबले उक्त पत्थरलाई गोरखामै राख्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले टल्कने ढुङ्गा गोरखामा राख्नका लागि नगरपालिकाले सरकारलगायतका अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नेसमेत बताए । रासस