तीन पटक म्याद थप्दा पनि बनेन भगवानपुर सवस्टेसन

सिरहा । सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन निर्माण सम्पन्न भएको छैन । हालसम्म ७७ प्रतिशत मात्र काम भएको छ । नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सवस्टेसन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेसनल अनामनगर, काठमाडौंको ढिलासुस्तीले सवस्टेसन निर्माणमा ढिलाइ भएको हो । सरकारको सिङ्गल प्याकेज आयोजनाअन्तर्गत निर्माण भइरहेको सवस्टेसनको भवन, ट्रन्सर्फर जडान विद्युतीय पोल सबै एउटै निर्माण कम्पनीको जिम्मा रहेको मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले बताए । विसं २०७४ असोज ६ गतेदेखि कार्य सुरु गर्ने सम्झौता भई १८ महिनामा निर्माण कार्य सक्नुपर्नेमा तेस्रो पटक २०८० असोजसम्म समय थपिए पनि निर्माण हुने स्थिति छैन । निर्माण कम्पनीका प्रतिनिधि हृदय सिंहका अनुसार एक हप्ताभित्रै पुनः भगवानपुर सवस्टेसन कार्य अघि बढाइने बताए । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख हिमांशु यादवले लामो दूरीका कारण हावाहुरीको समयमा विद्युत् प्रसारणमा समस्या हुने गरेको बताए । उनले भने , ‘स्थानीयले ३३ हजार केभीको लाइनका लागि पोल गाड्न ठाउँठाउँमा अवरोध सिर्जना गरेकाले काम समयमै हुन नसकेको हो ।’ लहान वितरण केन्द्रअन्तर्गत हाल ७० हजार ग्राहक रहेका छन् । गर्मीको समयमा लाइन आउने जाने हुने, भोल्टेजको समस्या देखापर्ने भएकाले भगवानपुर सवस्टेसन बनेपछि यस्ता समस्या समाधान हुने बताइएको छ । प्रादेशिक कार्यालय जनकपुरधामका इन्जिनियर शम्भुकुमार मण्डलले लहानदेखि तीन सय ७६ पोल गाड्नुपर्ने बताए । हाल पोल गाड्ने काम भइरहेको उनको भनाइ छ । उक्त सवस्टेसन १९ करोड ४० लाखको लागतमा निर्माण भइरहेको छ । रासस  

राजस्व असुलीमा आक्रामक बन्दै महानगर, पहिलो महिनामै उठायो ६५ करोड

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा ६५ करोड ४२ लाख रुपैयाँ बढी राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोड रुपैयाँमात्र राजस्व असुल गरेको कामपाले अहिले राजस्व बढाएको छ । चालु आवका लागि कामपाले १० अर्ब ८१ करोड रुपैयाँको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको पहिलो महिनामा २० करोड रुपैयाँले बढी हो । चालु आवको पहिलो महिनामा सबैभन्दा बढी ३१ करोड रुपैयाँ घरबहाल करबाट असुल भएको काफ्लेको भनाइ छ । सम्पत्ति करमा १२ करोड रुपैयाँ असुल भएको छ । सबैभन्दा कम न्यायिक दस्तुरमा ३५ हजार रुपैयाँ मात्र असुल भएको छ । बहाल कर तिर्ने करदाता बढेकाले पछिल्लो समय कामपाको राजस्व रकम बढेको कामपा प्रमुख काफ्लेले जानकारी दिए । उनका अनुसार विगतका वर्षमा भन्दा अहिले करदाता पनि निकै नै बढेका छन् । अहिले कामपामा ३ लाखभन्दा बढी करदाता छन् । समयमा नै कर तिर्नका लागि कामपाले ३२ वटै वडा कार्यालयमा बिहान बेलुका वडा सदस्य र कर्मचारीको नेतृत्वमा उत्प्रेरित गर्ने काम पनि गरिरहेको छ । कामपाले समयमा नै कर असुल गराउनका लागि गत फागुन २ गते घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको थियो । बहाल कर निर्देशिका जारी भएसँगै कर तिर्ने करिब ५१ हजार करदाता बढेका छन् । उक्त सङ्ख्या निर्देशिका जारी भएपछि मात्रै झन्डै एक हजारले बढेका हुन् । निर्देशिकाअनुसार कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्बन्धित वडा कार्यालयसँग लिखित सम्झौता गर्नुपर्छ । कामपाले सम्पत्ति कर, घरजग्गा, बहाल, व्यवसाय र मनोरञ्जनसहित ३६ शीर्षकमा कर असुल गर्दै आएको छ । कामपाले आव २०७९/८० मा १० अर्ब २५ करोड ४१ लाख रुपैयाँ राजस्व असुल गरेको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजस्व लक्ष्यअनुसार नै उठे पनि सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कम आउँदा समग्र राजस्व गत आवमा घटेको छ ।

तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, जनगुनासो पुरा गर्ने प्रतिबद्धता

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरपालिका परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले एक वर्ष भित्र अथवा आर्थिक वर्ष २०७९र८० भित्र गरिएका गतिबिधिहरुको संक्षिप्त प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत अर्यालले प्रगती विवरण प्रस्तुत गरे पश्चात् सहभागीहरुले टिप्पणी, गुनासो, प्रश्न, सुझाव र प्रशंसा सहितका मिश्रित प्रतिक्रियाहरु राखेका थिए । कार्यक्रममा जिज्ञासा र प्रश्न राख्दै सहभागीहरुले बिकास निर्माण र मानबिय बिकासमा जोड दिन सुझाव दिदै नगरमा भएका गतिविधिहरुका जनचासोका बिषयमा प्रश्न राखेका थिए । नगरपालिकाको सार्वजनिक जग्गा, भवन निर्माण, यातायात, महिला तालिमको उपयोगिता,शिक्षा र पाठ्यक्रमका बिषयमा, मणिग्राम, ड्राइभरटोल तथा मंगलापुर र भलवारी चोकमा भएको डुबान समस्या र त्यसको आवस्यकता, स्वास्थ्य सम्बन्धी समस्या, समाधान, समयमा सडक निर्माण , बिस्तार, कालोपत्रे, पानीको समस्या, कृषकका समस्या, कृषिमा आत्मनिर्भर बन्न पालिकाद्वारा गरिनुपर्ने आवस्यकताहरु,महिला समूहद्वारा उत्पादित स्थानिय उत्पादनको बजार ब्यबस्थापन तथा प्रयोग,कृषिमा बिभेदको अन्त्य र समानान्तर हक र उपयोगिता ,अपाङ्गमैत्री बाताबरण निर्माण, पुरातात्त्विक महत्वका पुराना ऐतिहासिक सम्पदाहरुको खोजतलास तथा संरक्षण, न्यायिक सम्पादन, बैकल्पिक सडकको निर्माण लगायत शिक्षा स्वास्थ्य खानेपानी, रोजगारी, स्थानिय उत्पादन र बजार ब्यबस्थापन लगायत उठाइएका चासो गुनासोहरूलाई नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बुँदागत रुपमा स्पष्ट पारेका थिए । जवाफमा नगरको तर्फबाट कतिपय प्रोजेक्टहरू सम्पन्न भएको, कति हुन बाकी नै रहेको कति पय कार्यहरुको आउँदो नीति तथा कार्यक्रममा समाबेश गरि अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै चासो गुनासो र प्रश्न राख्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए। नगरप्रमुख खाणले कोहि कसैसँग सुझाव सल्लाह प्रतिक्रिया भए विभिन्न माध्यमबाट पठाउन र नगरपालिकामा एउटा सेवा ग्राही भन्दापनि सल्लाहकारको रुपमा आउन आग्रह गर्दै जनताको इच्छा बमोजिम अगाडि बढ्नुका साथै आगामी दिनमा जनताले सोचेको चाहेको र परिकल्पना गरेको देशभरिका नगरपालिका भन्दा फरक पहिचान बोकेको नगरपालिका बनाउन आफू प्रतिबद्ध रहेको समेत बताउदै सबैजनाको साथ सहयोगको अपेक्षा र उपस्थित सम्पुर्णमा दिदै सार्बजनिक सुनुवाई कार्यक्रम समापन भएको घोषणा गरेका थि । कार्यक्रमको संचालन पत्रकार बिनोद परियारले गरेका थिए । तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, सबै वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु,नगरका शाखागत कर्मचारी, वडा कर्मचारी लगायत नगरपालिका भित्र रहेका सरोकारवाला संघ संगठनहरुको उपस्थिति रहेको थियो ।