काठमाडौं महानगरले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा डेङ्गु फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न पहिलो पटक बायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिए । उनले यो औषधि जैविक भएको र यो औषधिले लामखुट्टे तथा त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानि नगर्ने बताए । औषधिले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मर्ने उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत उनले भने, ‘यो औषधि जैविक हो, यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानि गर्दैन, यो विषादी होइन, औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ, यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ, यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ, यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ, औषधिले डेङ्गुसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नियाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।’ डेङ्ग रोगका बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट चौबिसै घण्टा सञ्चालन गरिएको तथा अस्पताल जानु परे १०२ नंमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको र स्वास्थ्य केन्द्रहरुमा डेङ्गु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको प्रमुख शाहले जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डलाई भेटेर अध्यक्ष शाहले मागे शिक्षा र स्वास्थ्यका लागि बजेट

बाँके । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्ड कर्णाली प्रदेश स्थापना तथा शहिद दिवसको कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा नेपालगंजमा अध्यक्ष शाह सहितको टोलीसँग भेट भएको थियो । भेटका क्रममा अध्यक्ष शाहले नरैनापुरको शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णका लागि बजेट बिनियोजन गर्न माग गरेका थिए । अध्यक्ष शाहका प्रेस विज्ञ आलम खानका अनुसार भेट सकारात्मक भएको र प्रधानमन्त्री प्रचण्डले नरैनापुरको विकासका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने अध्यक्ष शाह संग प्रतिबद्धता गरेकाे बताए । भेटमा अध्यक्ष शाहले प्रधानमन्त्री संग नरैनापुरको इलाका प्रशासन कार्यालय संचालनका लागि पहल गरी दिन समेत आग्रह गर्नु भएको थियो । प्रधानमन्त्री प्रचण्डलाई भेटन अध्यक्ष शाह संगै नरैनापुर ४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, अध्यक्षका स्वकीय सचिव विरजेन्द्र यादव, लेखापाल प्रकाश अधिकारी लगायत रहनु भएको अध्यक्षको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड काठमाडौ जाने क्रममा सुर्खेतबाट नेपालगंज पुगे पछि नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एंव प्रतिनिधि सभा सदस्य पूर्ण सुबेदी, केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, बाँकेका संयोजक नरेन्द्र पाण्डे लगायतले स्वागत गरेका थिए । यसैगरी प्रधानमन्त्री प्रचण्डले नेपालगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई भेटेर बधाई ज्ञापन गरेका थिए ।

काठमाडौं महानगरपालिकाले हटायाे दर्ता नभएका टिकट बुकिङ काउण्टर

फाइल तस्बिर काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौंको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गत साउन २६ गते सूचना जारी गरी जथाभावी रुपमा सञ्चालित काउन्टर हटाउने निर्णय गरिएको जनाउँदै दर्ता नभएका काउण्टर भदौ १ देखि हटाउन सुरु गरिएको राससलाई जानकारी दिए । उनका अनुसार हालसम्म कोटेश्वरमा ४१, गौशालामा २७, चावहिलमा २१ र गोँगबु क्षेत्रमा ११ काउण्टर हटाइएको छ । कलङ्की र बल्खु क्षेत्रमा पनि दर्ता नभएका काउन्टर हटाउन सुरु गरिएको प्रहरी प्रमुख पाण्डेले बताए । महानगर प्रहरीले चावहिलमा अनाधिकृत रुपमा निर्माण गरिएका १० काउण्टर डोजर लगाएर भत्काएको जनाएको छ । उपत्यकाबाट बाहिर सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनका लागि तोकिएको मापदण्डअनुरुप व्यावसायिक ठेगानासहित सम्बन्धित वडा कार्यालयमा बुकिङ कार्यालय अनिवार्य दर्ता गर्न महानगरले सम्बद्ध सबैलाई आग्रह गरेको छ । टिकट बुकिङ कार्यालय सडक चोकको एक सय मिटर वरपर खोल्न नपाउने, बुकिङ कार्यालयअन्तर्गत मुख्य कार्यालय गोँगबुस्थित नयाँ बसपार्कभित्र अनिवार्यरुपमा हुनुपर्ने, नयाँ बसपार्कदेखि महाराजगञ्ज र बाफलसम्म कुनै पनि कार्यालय खोल्न नपाउने महानगरपालिकाले जनाएको छ । यस्तै, बुकिङ कार्यालयमा अनिवार्य भाडादर उल्लेख गरिएको बोर्ड राख्नुपर्ने, टिकट काट्न आउने सेवाग्राहीका लागि अनिवार्य आधारभूत आवश्यकता (पार्किङ, शौचालय, पानी, बत्ती बस्ने)लगायत व्यवस्था हुनुपर्ने, कार्यालयका कोठा कम्तीमा १० देखि १५ फिटको हुनुपर्ने, कर्मचारीले पोसाक र परिचयपत्र अनिवार्यरुपमा लगाउनुपर्नेलगायत व्यवस्था गरेको छ । यसअघि महानगरले काठमाडौंभित्र जथाभावी रुपमा टिकट बुकिङ कार्यालय खोल्ने तथा सडकमा यात्रुलाई चढाउने सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट मात्रै सञ्चालन गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार अहिले अधिकांश सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन हुँदै आएका छन् ।