काठमाडौंमा भोलि र पर्सी यी रुटमा सवारी साधन जान नपाउने
काठमाडौं । काठमाडौं महानगरपालिकामा गाईजात्रा (सापारु) र गुँपुन्हि (क्वाति पुन्हि) पर्वमा विभिन्न मार्गहरु बन्द हुने भएका छन् । महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै बन्द हुने बाटोहरुबारे जानकारी दिएको हो । महानगरकाअनुसार जात्रा हुने भदौ १४ गते बिहीबार र १५ गते शुक्रबार यी बाटोहरु बन्द हुनेछन् । सूचनामा उल्लेख भएअनुसार जात्रा हुने मार्गहरुबाट प्रवेश हुने सबै प्रकृतिका सवारी साधनहरुलाई उक्त दिन प्रवेश गर्न निषेध गरिएको छ । गाईजात्रा हुने मार्गमा असनदेखि केलटोल, इन्द्रचोक, मखन, हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैशिदेव, ज्याबहाल, लगन चोक, गोफल, ब्रह्मटोल, वन्डे, ह्युमत, जैशिदेव, कोहिटि, भिमसेनस्थान, मरु टोल, प्याफल, ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी, टेंगल, न्हयोखा, बांगेमुढा, न्हैकन्तला, असन, कमलाछि र भोताहिटि हुँदै असनसम्मको मार्ग बन्द रहनेछन् ।
महानगरको एक्सनपछि कपनमा आरम्भचोकसम्म खोलियो यज्ञमती र चखुँचा खोला
काठमाडौं । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने काम आरम्भचोकसम्म सकिएको छ । खोला छुट्याउने कामसँगै यहाँसम्म जग्गाको नापजाँच पनि गरिएको महानगरपालिका–६ का अध्यक्ष भुवन लामाले जानकारी दिए । काठमाडौँ उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर घर बनाउन थालिएको थियो । यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको हो । गैरकानुनीरूपमा सुरु गरिएको यो कामलाई तत्कालीन कपन गाविसले वैधानिकता दिँदा अहिले समस्या आएको स्थानीयवासी चुडामणि कोइरालाले बताए । तत्कालीन कपन गाविसका जननिर्वाचित पूर्वपदाधिकारी एवं सबै राजनीतिक दलका नेतृत्वको सहमतिमा नदी पुरिएको उनको भनाइ थियो । नदी पुरेर ढल बिच्छ्याएसँगै बाढीले कपन एवं काठमाडौँ महानगरपालिका–६ स्थित सरस्वतीनगर र वडा नं ७ को चावहिल क्षेत्रका केही बस्ती डुबानमा पर्दै आएको थियो । महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको छ तर बूढानीलकण्ठ नगरपालिका–१० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ । खोलाको दायाँबायाँ चार/चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भए पनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ । महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले नापी कार्यालयले यस क्षेत्रको नापी गरी सक्ने र पुर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तीका रुपमा कायम गरिने बताए । दुई दशकदेखिको यो समस्या समाधानका महानगरपालिकाको नेतृत्वमा ढल हटाएर नदीको बहाव क्षेत्र कायम गर्न लागिएको हो । नदीको बहाव क्षेत्र कायम गर्ने काम धमाधम भइरहेको छ । दुवै खोलाको बहाव क्षेत्रबाट ढल हटाउने काममा बूढानीलकण्ठ नगरपालिकाले समेत सहयोग गरिरहेको जनाइएको छ । कपन, सरस्वतीनगर क्षेत्रमा यज्ञमती र चखुँचा खोला कायम हुँदा बाढीको समस्या कम हुन थालेको स्थानीयवासी वाङ्छी शेर्पाको भनाइ छ । खोला पुरेर ढल हालेपछि भने वर्सातका समयमा बाटो हिँड्नै नसकिने गरी बाढी आउने गर्दा यस वर्ष एक बालकलाई बाढीले बगाएको थियो । विगत वर्षमा पनि बर्खायाममा प्रायःजसो यहाँ दुर्घटना हुने गरेको स्थानीयवासीले बताए ।
तारकेश्वरको विकास योजना आयोगको उपाध्यक्षमा डा. कृष्णबहादुर घिमिरे
काठमाडौं । तारकेश्वर नगरपालिकाको विकास योजना आयोगको उपाध्यक्ष पदमा डा. कृष्णबहादुर घिमिरे नियुक्त भएका छन् । तारकेश्वरले विकास योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०८० अनुसार सोमबार उहाँ आगामी तीन वर्षका लागि सो पदमा नियुक्त भएका हुन् । तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनले डा. घिमिरेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । यसअघि निजामती क्षेत्रमा कार्यरत डा घिमिरेले गत साउन १० गते उमेरहदका कारण अनिवार्य अवकाश लिएका थिए । नेपालको संविधानको धारा २२६ (१) तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले प्रदान गरको अधिकार प्रयोग गरी तारकेश्वरको १३औँ नगरसभाले सो ऐन पारित गरेको थियो । नव नियुक्त उपाध्यक्ष डा घिमिरेले तारकेश्वरको समृद्धि र विकासका लागि आफूले जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाको विकास योजना आयोगले नगरपालिकाको समग्र समृद्धिका लागि दूरगामी सोचसहितको दीर्घकालीन लक्ष्य, मार्गचित्र, नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनका लागि सिफारिस गर्नेछ । यस्तै नगरपालिकाको विकास सम्भावना र अवसरलाई बृहत्तर अध्ययन, अनुसन्धान गरी सहभागितामूलक विधिबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको तर्जुमा गर्नेछ । यसैगरी नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक योजना तथा परियोजनाको तर्जुमा, कार्यान्वयनमा सहजीकरण, सुपरीवेक्षण, अनुगमन तथा मूल्याङ्कन गर्नेलगायतका विभिन्न २७ काम, कर्तव्य र अधिकार तोकिएको छ ।