मझगाउँ विमानस्थल निर्माणले गति लिन सकेन, २५ प्रतिशतमात्र काम सम्पन्न

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको विमानस्थलको अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माणले गति लिन नसकेको बताइएको छ । विसं २०७८ मा तीन वर्षभित्र काम सक्ने गरी कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । मझगाउँ विमानस्थल आयोजनाका इन्जिनियर अङ्कित शर्माका अनुसार अहिले बर्खाले गर्दा विमानस्थलको काम रोकिएको छ । बर्खामा निर्माण सामग्री ढुवानीका लागि समस्या भएकाले काम रोकिएको उनले बताए । ‘माटो र ग्राभेलको काम चलिरहेको थियो, बर्खाले माटो र ग्राभेल ढुवानीमा समस्या छ’, उनले भने, ‘त्यसैले अहिले काम रोकिएको छ, बर्खा रोकिएपछि फेरि काम सुरु हुन्छ ।’ आयोजनाका अनुसार अहिलेसम्म विमानस्थलको धावनमार्गको नौ सय मिटर सवबेस निर्माण भएको छ । यस्तै नौ सय मिटर नाली निर्माणको काम पनि सकिएको छ । स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीमा विमानस्थल पुनः निर्माण भइरहेको हो । विमानस्थल पुनः निर्माणमा यहाँको भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनीको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत तथा सङ्घीय सरकारको ५० प्रतिशत लगानी छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्नवाटिका र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार लिने विषयमा विवाद भएको थियो । उक्त क्षेत्रमा धावनमार्ग निर्माणका क्रममा निर्माण कम्पनीका उपकरण र कामदार निकुञ्जले नियन्त्रणमा पनि लिएको थियो । काम सञ्चालन गर्न दिने मौखिक सहमति तथा भोगाधिकारका लागि प्रक्रिया अगाडि बढाउने भएपछि उक्त क्षेत्रमा धावनमार्ग निर्माणको काम भइरहेको हो । मझागाउँ विमानस्थलमा अहिले एक हजार पाँच सय २५ मिटर लामो धावनमार्ग निर्माण गरिनेछ । विसं २०३० देखि मझगाउँ विमानस्थलमा हवाई सेवा सुरु भएको थियो । सशस्त्र द्वन्द्वका बेला विसं २०५६ मा सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो । त्यसपछि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । कञ्चनपुरमा विमानस्थल सञ्चालनमा नआउँदा हवाई सेवाका लागि यहाँका स्थानीय धनगढी जाने गर्दछन् । रासस

बागमती नदीको सुन्दरता बढाउँदै पार्क

ललितपुर । कुनै समय फोहोरको डम्पिङ साइट बनेको ललितपुर महानगरपालिका–२ इन्द्रयानी पार्क यतिबेला हरियाली पार्कमा परिणत भएको छ । लामो समय फोहोरको डम्पिङ साइट बनेको यो स्थान यतिबेला मानिसको समय काट्ने थलो बनेको छ । बागमती किनार अवस्थित पार्कले यस क्षेत्रको स्वरुप नै फेरिदिएको छ । विशेषगरी बागमती किनारमा सुकुम्वासी बस्ती विस्तार नहोस् भन्ने उद्देश्यले विसं २०६३ मा पार्कको निर्माण गरिएको हो । अहिले पार्कमा ३५ भन्दा बढी जातका दुई हजारभन्दा बढी बिरुवा छन् । पार्क निर्माण समितिले समय–समयमा थप वृक्षरोपण पनि गर्दै आएको छ । यस क्षेत्रमा टेकुदोभानदेखि ललितपुर महानगरपालिका–४ मलपोखरीसम्म राजतीर्थ पार्क, सहिद पार्क, बिपि पार्क र मोनमोहनपार्क गरी जम्मा चार पार्क छन् । पार्क व्यवस्थापनको जिम्मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भाडामा लिएको छ । बागमती नदीले छोडेको प्रतिजग्गा संरक्षण र हरियाली वातावरणसहित बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले पार्क निर्माण पार्क निर्माण समितिका अध्यक्ष राजेन्द्र थापामगर बताउँछन् । उनका अनुसार ललितपुर महानगरपालिका–२ देखि ललितपुर महानगरपालिका–४ सुन्दरघाटसम्मको बागमतीले छाडेको जमिनलाई पार्कका रुपमा विस्तार गरिनेछ । ‘कुनै समय यहाँ फोहोर व्यवस्थापन गर्ने डम्पिङ थियो । २०६२ सालमा फोहोर व्यवस्थापन समिति ललितपुरबाट प्राप्त भएको तीन लाख सहयोगबाट पार्कको निर्माण सुरु भएको हो । पार्क निर्माण र संरक्षणका लागि बागमती प्रदेश सरकार र ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरिरहेका छन्,’ संस्थापक अध्यक्ष थापाले भने । पार्क प्रवेश निःशुल्क गरिएको छ । फोहोरका कारण दुषित देखिने बागमती नदी छेउमा हरियाली पार्क निर्माण भएपछि यस क्षेत्रमा मानिसको चहलपहल बढिरहेको छ । पार्क निर्माणपछि फोहोर फाल्न पनि रोकिएको छ । पार्कको हरियालीले बागमती नदी छेउको बस्ती र नदीको शोभा बढाएको छ । रासस

कर नबढाउन आग्रह, उद्यमीलाई आत्मनिर्भर बनाउन जोड दिनुपर्ने

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले करको दायरालाई वृद्धि गरेको जनाउँदै यसलाई फिर्ता गर्न आग्रह गरिएको छ। विभिन्न राजनीतिक दलले चरणबद्ध सङ्घर्षका कार्यक्रमलाई जारी राख्दै सर्वसाधारणले तिर्न नसक्नेगरी निर्धारण गरिएको करलाई पुनरावलोकन  गर्न माग गरेका हुन् ।  ती दलले पहिलाकै अवस्थामा करलाई  ल्याउन अनुरोध गर्दै यसो नगरिए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । ‘कर तिर्न हामी तयार छौँ तर नाजायज कर तिर्न हामी बाध्य छैनौँ’ भन्ने नाराका साथमा बृहत् नागरिक कार्यक्रम समेत आयोजना गरिएको छ ।   कार्यक्रमसँगसँगै करवृद्धिविरूद्धको हस्ताक्षर संकलन जारी राखिएको छ । इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष नवराज चापागाँईले वृद्धि भएको कर नघटाएसम्म आन्दोलनका  कार्यक्रम जारी रहने बताए ।  सुन्दरहरैँचा नगरपालिकाको १२औँ नगरसभाबाट आव २०८०-८१ का लागि पारित आर्थिक ऐन, २०८० जनताका पक्षमा नदेखिएको सुन्दरहरैँचा नगरपालिकाका संस्थापक नगर प्रमुख शिवप्रसाद ढकाल जानकारी दिए ।  उनले जनताको जीवनस्तरलाई कसरी सहज बनाउने, खस्कँदो व्यवसायलाई कसरी प्रोत्साहित गर्ने र आत्मनिर्भर बन्न नगरस्तरीय आन्तरिक उत्पादनको वृद्धि कसरी गर्ने भन्ने तर्फ ध्यान दिन आग्रह गरे । स्थानीय शिक्षासेवी तथा राजनीतिकर्मी महेश आचार्यले जनभावनाको कदर गर्दै कर सन्तुलित र जनप्रिय बनाउन सुझाव दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित नगरसभापति टेकमणि न्यौपानेले हालको अव्यावहारिक आर्थिक ऐन, २०८० लाई व्यावहारिक बनाउन माग गरे ।  सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले जग्गाको वर्गीकरण गर्ने क्रममा  सामान्य कर बढेको हुनसक्ने उल्लेख गर्दै बढी भए पुनर्विचार गरिने बताए । ‘आफ्नो जग्गाको वर्गीकरण परिवर्तन गर्न चाहेमा नगरमा निवेदन दिन सकिने छ’, उनले भने, ‘जग्गाको वर्गीकरण जनताको हित र भलाइका लागि परिवर्तन पनि हुनेछ ।’ रासस