उद्याेगमा देखिएको विद्युत आपूर्ति समस्या १५ दिनमा समाधान हुन्छ : विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको प्रष्ट पारेको छ । विनाजानकारी उद्योगहरुको विद्युत आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरुबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा क्षेत्रका पत्रकारहरुसँगको भेटमा त्यस क्षेत्रमा देखिएको समस्या १०/१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरुलाई आग्रह गरे । यस वर्ष हिउँ/पानी नपरेर शुख्खायाम लम्बिंदा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको, धनुषाको ढक्केबर सबस्टेसनबाट थप विद्युत पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको, सप्तरीको रुपनी सबस्टेसनको बे्रकर चुँडिएको र कटैया–कुशहवा १३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा माग अनुसार आपूर्ति गर्न समस्या भएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । कार्यकारी निर्देशक घिसिङकाअनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत आयोजनाहरुको जडित क्षमता करिब दुई सय मेगावाट भएता पनि हिउँ/पानी नपर्दा अहिले करिब ३० मेगावाट मात्र विद्युत् उत्पादन भई काबेली करिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ । तर, एक दुई दिनदेखि ती आयोजनाहरुबाट विद्युत् उत्पादन बढ्दै गएकोले उद्योगहरुलाई अहिले नियमित विद्युत् आपूर्ति भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘सुनसरी मोरङ ओद्योगिक करिडोरका उद्योगहरुलाई विद्युत् काटेका छैनौं, लाइटिङ लोडमा मात्र चलाउनु भनेका थियौं, काबेली करिडोरमा उत्पादन बढ्नासाथ उद्योगहरुलाई विद्युत् आपूर्ति दिन सुरु गरिसकेका छौं, अहिले देखिएको अल्पकालीन समस्या हो, ठूलो समस्या हैन’, उनले भने । ‘अब १०/१५ दिनमा पूर्व मनसुन सुरु हुने अनुमान गरिएको, त्यसपछि भएसँगै खोलानालामा पानीको वहाब बढेसँगै विद्युत् उत्पादन बृद्धि हुन्छ, त्यसपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् जेठको पहिलो हप्ताबाट भारतर्फ निर्यात सुरु गर्छौं, यस वर्ष करिब १ हजार २ सय मेगावाट विद्युत् निर्यात हुने अनुमान गरेका छौं, निर्यात अनुमतिको स्वीकृतिका लागि भारतीय निकायहरुमा आयोजनाहरुको सूची पठाइसकेका छौं ।’ अहिले प्रणालीमा विद्युत्को उच्चतम माग १ हजार ७ सय ५० मेगावाट पुगेको छ । औसत माग १ हजार ३ सय मेगावाट र आधार माग १ हजार २ सय ७५ मेगावाट रहेको छ । तराईमा गर्मी बढ्दा खेतमा सिंचाइ गर्न सिंचाइको लोड अत्याधिक बढेको छ । झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र विद्युत् माग ८० मेगावाट पुगेको छ । प्राधिकरणले कुलेखानी जलाशयलाई २४ सै घण्टा पूर्ण क्षमतामा चलाएको छ । आन्तरिक उत्पादनले विद्युत् माग धान्न नसकेपछि दैनिक रुपमा औसतमा ५ सय मेगावाट आयात गरिएको छ । गत वर्षभन्दा यस वर्ष जलविद्युत आयोजनाहरुको जडित क्षमता बढेता पनि पानी/हिउँ नपर्दा देशभित्रको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको छ । प्राधिकरणका विद्युत्गृहहरु बाहेक निजी क्षेत्रका जलविद्युतगृहको विद्युत उत्पादन जडित क्षमताको करिब १४ प्रतिशत मात्र रहेको प्राधिकरणको अनुमान छ । कार्यकारी निर्देशक घिसिङले अगामी वर्षको गर्मी मौसममा अहिलेको जस्तो समस्या आउन नदिन अहिले ढल्केबर– इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौंडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेको बताए । यी लाइन बनेपछि ढल्केबरबाट पूर्व र पश्चिम विद्युत प्रवाहका लागि प्रसारण लाइनको समस्या नहुने उनले थपे ।

काठमाडौंको शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी

काठमाडौं । काठमाडौं महानगरपालिका–७ मा पर्ने शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी भएका छन् । यसअघि उक्त स्थानमा गोरेटो बाटो साँघुरो थियो । पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्य हुँदा स्थानीय समस्या भोग्दै आएका थिए । त्यसका कारण आवतजावतमा निकै सास्ती थियो । ढल निकासको व्यवस्था पनि थिएन । चालु आर्थिक वर्षमा कामपाको बजेटबाट सडकमा ढलान गर्ने र ढुङ्गा छाप्ने योजनाअन्तर्गत अहिले दुई सय ८३ मिटर सडकमा ढल राखेर ढलान गरिएको छ । कतै अतिक्रमण हटाएर, कतै स्थानीयसँग समन्वय गरेर चौडाइ चारदेखि पाँच मिटरसम्मको बनाइएको छ । उपभोक्ताको पाँच प्रतिशत योगदान रहेको कार्यक्रमको सम्झौता रकम ५६ लाख ५४ हजार आठ सय ८० रुपैयाँ रहेको महानगरले जनाएको छ । सडक मर्मतका लागि यही वैशाख ३० गतेसम्मको अवधि दिइएको थियो । उपलब्ध गराइएको समयभन्दा अगाडि नै योजना सम्पन्न भएपछि उक्त सडक आजबाट सञ्चालनमा आएको हो । आज सडक सञ्चालनको शुभारम्भ गर्दै प्रदेशसभा सदस्य श्रीराम लामिछानेले स्थानीय सरकारको काममा प्रदेशसभाका तर्फबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने र सँगै काम गर्ने धारणा राखे । ‘सडक निर्माण हुनु जत्तिकै महत्वपूर्ण कुरा भनेको सडकको उपयोग हो र यसलाई दुरुपयोग हुनबाट बचाउनु हो’, वडा नं ७ का वडाध्यक्ष विमलकुमार होडाले भने, ‘वडाको समग्र एवं दिगो विकासका लागि हामी हाम्रा योजनाको सामाजिक परीक्षण गराउने तयारीमा छौँ, यस्तै दीर्घकालीन योजनाका लागि कार्यशालामार्फत स्थानीय माग र आवश्यकता अध्ययन भइरहेको छ ।’ अब यस स्थानमा आगामी ४० वर्षसम्म वर्षसम्म ढलको समस्या नहुने स्थानीयले विश्वास लिएका छन् । स्थानीय अरुण बस्नेतले सडक निर्माण भएकामा खुसी व्यक्त गर्दै व्यापार व्यवसायलाई असर नहुने गरी सडकमा पार्किङ निषेध गर्नुपर्ने धारणा राखे । अर्का स्थानीय महेश्वर शर्माले छतबाट सडकमा खस्ने पानीले ढलानको आयु घटाउने भएकाले छतको पानी सडकमा नखस्ने प्रबन्ध मिलाउन सम्बन्धित सबै स्थानीयले ध्यान दिनुपर्ने बताए । सडक सञ्चालन भएसँगै सडकसँग जोडिएका व्यापारीलाई गुट्खा, परागजस्ता धूमपानजन्य सामग्री नबेच्न, आफ्नो क्षेत्रको सडक आफैँ सफा गर्न, सडकमा जथाभावी फोहर नफाल्न, व्यापार गरिने सटरमा फोहर वर्गीकरण गर्ने भाँडो राख्न, मनपरी पार्किङ्ग नगर्न वडा अध्यक्षले अनुरोध गरे । रासस

साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने

साँखु । साँखुदेखि लप्सीफेदीसम्म विभिन्न खण्डमा सडक पुनःनिर्माणको काम गरिने भएको छ । साँखु–लप्सीफेदी सडकमा केही खण्डमा सडक धेरै बिग्रिएकाले पुनःनिर्माण आवश्यक रहेको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । ती ठाउँमा सडक कोतरेर तल्लो भाग बेस थपेर कालोपत्र गरिने डिभिजनका सूचना अधिकारी सुनित केसीले बताइन् । उनले भनिन्, ‘त्यहाँ धेरै खण्डमा धेरै बिग्रिएको छ, सडक बलियो बनाउन पुरानो सामग्री हटाएर नयाँ हालेर गर्नुपर्ने छ ।’ साँखु–मेलम्ची सडकमा मेलम्चीबाट क्रसरको ढुङ्गा र गिट्टी लिएर आउने टिपरले गर्दा सडक बिग्रिएको उनले बताइन् । अधिकांश खण्डमा नियमित रुपमा मर्मत, खाल्डाखुल्डी भएका स्थानमा खाल्डा टाल्ने, कालोपत्र माथिबाट थप्ने ओभरले गरिने डिभिजनको योजना छ । बढी समस्या भएको ठाउँमा तल्लो भाग नै हटाएर पुनःनिर्माण गरिन लागिएको उनले जानकारी दिए । यसअघि कार्यालयले चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथको एउटा खण्डमा पुनःनिर्माणको काम गत महिना सुरु भएको थियो । बल्खुदेखि कलङ्कीसम्म पुनःस्थापना यो आवभित्र सकिने उनले बताए । एक दशमलव दुई किमी लम्बाइमा सर्भिस लेनमा काम भइरहेको छ । चक्रपथको अरु खण्डमा तत्काल यस्तो समस्या नपाइएको उनले बताए । डिभिजन कार्यालयले चालु आवभित्र स्वीकृत कार्यक्रमअन्तर्गत कलङ्कीबाट खसीबजार हुँदै बल्खु खण्ड, लैनचौरदेखि महाराजगञ्ज, लैनचौरबाट चक्रपथ हुँदै बालाजु बाइपास, साँखुबाट लप्सीफेदी हुँदै भोटेचौरसम्म आवधिक मर्मत गरिरहेको छ । चक्रपथको बल्खु क्षेत्र र साँखुदेखि लप्सीफेदीसम्म बढी क्षति भएकाले पुनःनिर्माण अघि बढाउन लागिएको डिभिजन कार्यालयले जनाएको छ । साँखुबाट लप्सीफेदीसम्मको सडक सिन्धुपाल्चोक जोड्ने सडकका रुपमा रहेको छ । साँखु आफैँमा महत्वपूर्ण सहर रहेको छ भने सिन्धुपाल्चोकबाट जोडिने छोटो मार्ग भएकाले यो सडकको महत्व अझै बढेको छ । रासस