पक्की पुलको विकल्पमा जाजरकोटमा बेलिब्रिज निर्माण गरिने

जाजरकोट । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम–पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको भेरी नदीमा बेलिब्रिज निर्माण गरिने भएको छ । यसका लागि तीन ठाउँमा सर्वे भएको पुष्पलाल मध्यपहाडी लोकमार्गका प्राविधिक वामेश्वर देवकोटाले जानकारी दिए । भेरी नगरपालिकाको–११ र १३ का तीन स्थानमा सर्वे भएको उनको भनाइ छ । नदीमा पक्की पुल निर्माणमा समय लाग्ने भएपछि तत्कालका लागि बेलिब्रिज निर्माण गर्न लागिएको पूर्वअर्थमन्त्री जनार्दन शर्माले बताए । पुष्पलाल मध्यपहाडी लोकमार्गमा पक्की पुल निर्माण ठेक्का पाएको कम्पनीले १० वर्षसम्म पनि काम नगरेपछि हाल सम्झौता रद्द गरिएको छ । सरकारले निर्माण कम्पनी वाईपी कन्ट्रक्सन प्रालि काठमाडौँविरुद्ध समयमै काम नगरेको भन्दै आठ करोड ५७ लाख ९५ हजार ६२६ रुपैयाँ जरिवाना समेत गरेको छ । सरकारको उक्त निर्णयविरुद्ध कम्पनीले अदालतमा मुद्दा दर्ता गरेको छ । निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि काम गर्न अटेर गरेपछि गत मङसिर २९ मा विभागीय निर्णय अनुसार ठेक्का सम्झौता रद्द गरिएको निर्देशनालयका डिभिजन प्रमुख इञ्जिनियर युवराज पोखरेलले बताए । सार्वजनिक खरिद नियमावली २०६३ अनुसार ठेक्का तोडिएपछि निर्माण व्यवसायीबाटै उक्त योजनाको रकम असूल उपर गर्ने व्यवस्था छ । कम्पनीले २०६९ सालमा तीन वर्षमा काम सम्पन्न गर्नेगरी १४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । रासस

पोखरामा तार भूमिगत गर्न सुरु

पोखरा । पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाले गति लिएको हो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले पोखरा महानगरपालिका–१० कुँडहर क्षेत्रबाट तार भूमिगत गर्नसुरु गरिएको बताए । ‘इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले भौतिकतर्फको काममा केही ढिलाइ भएको हो’, उनले भने, ‘गत सातादेखि काम सुरु भएको छ, अब आयोजनाले गति लिन्छ, डेढ वर्षभित्रमा काम सक्ने लक्ष्य छ ।’ आयोजनालाई आवश्यक तारसहित महत्वपूर्ण उपकरण भारतबाट ल्याइएको हो । सुरुमा कुँडहरमा रहेको प्राधिकरणको सवस्टेशन क्षेत्रको तार भूमिगत गरिनेछ । अहिले सडक खन्ने र पाइप विछ्याउने काम भइरहेको छ । पोखरा–मुग्लिन सडक आयोजनाले अनुमति नदिएका कारण मुख्य राजमार्ग क्षेत्रमा काम अगाडि बढाउन नसकिएको आयोजना प्रमुख सुवेदीले बताए । ‘सडकको अधिकार क्षेत्रभित्र पर्ने फुटपाथमै तार विछ्याउनुपर्छ तर सडकले अहिलेसम्म स्वीकृत दिएको छैन’, उनले भने, ‘मुख्य राजमार्गमा अवरोध आए, सिर्जनाचोक, लेकसाइडलगायत सहरका भित्री क्षेत्रमा काम सुरु गर्छौँ ।’ आयोजनाअन्तर्गत पोखरा–१० कुँडहरदेखि जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैंक चोक, लेकसाइड, सभागृह चोक, न्यूरोड, चिप्लेढुङ्गागायतका क्षेत्रमा तार भूमिगत गरिनेछ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइनेछ । ‘विद्युत्सँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्’, आयोजना प्रमुख सुवेदीले भने । पोखरामा मात्र तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा एक अर्ब ३० करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ । पोखरा र भरतपुरमा तार विछयाउन दुई अर्ब ५० करोड ३३ लाख रुपैयाँमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले ठेक्का पाएको थियो । दुवै सहरमा एकै प्याकेजमा काम भइरहेको आयोजना प्रमुख सुवेदीको भनाइ छ । तार विछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्याउने काम पनि प्राधिकरण नै गर्नेछ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार विछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने आयोजना प्रमुख सुवेदीले बताए । यात्रु र यातायातका साधनको आउजाउमा बाधा नपुग्ने गरी निर्माणका काम हुने उनको भनाइ छ । तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पु¥याइने प्राधिकरणले जनाएको छ । प्राधिकरणको पोखरा वितरण केन्द्रका प्रमुख ऋषिकुमार वर्णपालले विद्युत् लाइन जमिनमुनि विछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउने बताए । उनले तार भूमिगत आयोजनाले ओगटेको क्षेत्रभन्दा बाहिरका अव्यवस्थित र जीर्ण विद्युत् पोल हटाउन छुट्टै ठेक्का प्रक्रिया अगाडि बढेको बताए । उनले तार भूमिगत गर्दा सहर सुन्दर हुनुका साथै दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्ने बताए । अव्यवस्थित तार र पोलका कारण हुने दुर्घटनाबाट बर्सेनि मानिसले ज्याउन गुमाउनुपर्ने स्थिति छ । ‘विद्युत् लाइन विछ्याउने अभ्यास विश्वभर नै छ, हाम्रो जस्तो देशमा बजेटको सीमितता हुने हुँदा मुख्य सहरी क्षेत्रमा भर्खर सुरु हुँदैछ’, उनले भने, ‘पोखरा सहरभरिको तार भूमिगत गर्न अर्बौँ रकम बजेट चाहिन्छ ।’ भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने उनको भनाइ छ । अहिले चलिरहेको विद्युत् वितरण लाइनभन्दा भूमिगत प्रणाली तीन/चार गुणाले महँगो पर्छ । ‘महँगो परेपनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणालीमा जानैपर्छ’, प्रमुख वर्णपालले भने, ‘राज्यले यसमा लगानी बढाउनुपर्छ ।’ उनका अनुसार पोखरा वितरण केन्द्रअन्तर्गत विद्युत्का ९४ हजार एक सय ६५ ग्राहक छन् । वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक सङ्ख्या हो । प्राधिकरणले सहरी सौन्दर्य बढाउन ‘उज्यालो र सहर सफाइ अभियान’ चलाइरहेको छ । सडक छेउछाउका जीर्ण र प्रयोगविहीन पोल हटाउन सुरु गरिएको छ । भूमिगत प्रणालीलाई अन्य सहरमा विस्तार गर्दै जाने योजनामा प्राधिकरण छ । काठमाडौं उपत्यकापछि भरतपुर र पोखरामा सो परियोजना अघि बढेको हो । सो काममा प्राधिकरणसँग पोखरा महानगरले पनि साझेदारी गर्ने जनाएको छ । प्रभाव र उपयोगिता हेरेर पोखरा अन्य ठाउँमा पनि तार भूमिगत गरिने भएको छ । पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरा–मुग्लिन सडक आयोजनाभित्र पर्ने क्षेत्रमा तार विछ्याउनका लागि महानगरका तर्फबाट सहजीकरण गरिने बताए । ‘तार विछ्याउन सडकले अनुमति दिनुपर्छ, महानगर क्षेत्रमा बिनाअवरोध काम हुने वातावरण सिर्जना गर्न हामी पहल गर्छौँ’, उनले भने, ‘पोखराको सौन्दर्य विगारिरहेका अव्यवस्थित तार र विद्युत्का पोल हटाउने काममा हामी सबैले सघाउनुपर्छ’ । रासस

मुग्लिन–पोखरा सडक : पूर्वी खण्डमा २५, पश्चिम खण्डमा छ प्रतिशत प्रगति

  दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा २५ र पश्चिम खण्डमा छ दशमलव शुन्य पाँच प्रतिशत प्रगति हासिल भएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको छ भने जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा छ दशमलव शुन्य पाँच प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वीखण्डको काम केही सन्तोषजनक देखिए पनि पश्चिम खण्डको काम भने निकै सुस्त छ । मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले यो खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी दिए । साथै सबवेश र फेसको काम पनि सुरु गर्न लागिएको सुवेदीले बताए । उक्त खण्डमा विद्युत्का खम्बा स्थानान्तरणको कामले समस्या भए पनि उक्त समस्या समाधान हुँदै गएको सुवेदीले बताए । पूर्वीखण्डअन्तर्गत आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको तयारी गरिएको छ । सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रै सात किमी सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै सुवेदीले अब कालोपत्रको काम सुरु हुने जानकारी दिए । उनका अनुसार सडक कालोपत्रको परीक्षण भइसकेको छ । ‘कालोपत्रको ट्रायल भइसक्यो, कालोपत्र सडकलाई छुवाइसक्यौँ’, सुवेदीले भने । यस्तै जामुनेदेखि पोखरासम्मको पश्चिमखण्डको प्रगति न्यून रहेको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए । निर्माण कम्पनीका कारणका यो खण्डमा काम सुस्त रहेको र अब विस्तारै कामको गति बढ्ने श्रेष्ठले बताए । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक एडिबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस