मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु

मुग्लिन । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका पाँच घर भत्काउने काम भइरहेको छ । डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र हो । डुम्रे बजार लमजुङ जिल्लाको प्रवेशद्वार पनि हो । ‘डुम्रे बजारका क्षेत्रमा रहेका सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउने काम भइरहेको छ, अहिलेसम्म पाँच घर भत्काइएको छ’, उनले भने, ‘सडक मापदण्डभित्र रहेका सबै संरचना विस्तारै हटाइन्छ ।’ डुम्रे बजारमा धेरै वर्ष पहिला बनेका अधिकांश घर सडक मापदण्डभित्र बनेका छन् । त्यस्ता घरटहरालाई मुआब्जा दिएर भत्काइने योजनाले जनाएको छ । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका पर्दछन् । आँबुखैरेनी र व्यास नगरपालिका क्षेत्रभित्रका घरटहरा पनि हटाउने तयारी भइरहेको जनाइएको छ । उनका अनुसार यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । यसका लागि २२ करोड ४५ लाख रुपैयाँ मुआब्जा वितरण गरिनेछ । उनले भने, ‘घरटहरा भत्काउनका लागि ८३ जनालाई पहिलो किस्ताबापतको रकम भुक्तानी गरिएको छ, पहिलो किस्ता प्राप्तिका लागि अन्यको निवेदन परे पनि बजेट अभावका कारण दिन सकेका छैनौँ’, अपुग रकम असार मसान्तसम्म निकासा भए लाभग्राहीलाई वितरण गर्न सकिने उनको भनाइ छ । मुग्लिन पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ३० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सरकारले मुग्लिन पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौं उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ । प्रणालीअन्तर्गत गेट नम्बर १ ले पानी सुरुङको भित्र पठाउने, गेट नम्बर ९ फल्स गर्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनले भने, ‘गेट नम्बर ९ ले गर्दा धमिलो पानी सुरुङभित्र पस्न पाउँदैन ।’ आयोजनाअन्तर्गत वैकल्पिक प्रणालीअन्तर्गतका गेट मर्मतका लागि १० दिनसम्म बन्द गरिएको थियो । पानी पथान्तरणको काम ‘हेडबर्क’ ले गर्ने भए पनि सम्पन्न नहुँदै क्षतिग्रस्त भएकाले वैकल्पिक प्रणलीमार्फत पथान्तरण भइरहेको छ । गत मङ्गलबारदेखि उपत्यकामा पानी पुनः ल्याउन थालिएको थियो । गेटको मर्मतका लागि बन्द गरिएको र एकै पटक धेरै परिमाणमा पठाउन नहुने भएकाले विस्तारै बढाउँदै लगिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने, ‘सुरुमा एक तिहाइ र त्यसपछि दुई तिहाइ गर्दै पूरा क्षमतामा पानी ल्याउने गरी मिलाइएको छ ।’ उपत्यकामा पहिलोपटक मेलम्चीको पानी वि.सं २०७७ चैतमा ल्याइएको थियो । पहिलोपटक पानी ल्याइएको केही महिनामा नै असारमा लेदोसहित आएको बाढीका कारण त्यहाँको संरचनामा क्षति पुगेको थियो । जुन अहिलेसम्म पनि पुनःनिर्माण भइसकेको छैन । गत दुई वर्ष पनि हिउँदमा मात्रै उपत्यकामा पानी ल्याइएको थियो । पानी पथान्तरणका लागि निर्माण गरिएको संरचना ‘हेडबर्क’ को क्षति भएपछि अहिले अस्थायीरुपमा पानी पथान्तरण गरेर ल्याइएको छ । वर्षाको समयमा बाढी आउन सक्ने र यसले गर्दा सुरुङभित्र बाढी पस्ने जोखिम भएकाले गत वर्षहरुमा वर्षामा सुरुङ बन्द गरिएको थियो । यो वर्ष गेटको मर्मत गरेर सम्भव भएसम्म वर्षामा पनि पानी चलाउने समितिको योजना रहेको छ । उपत्यकामा मेलम्चीको पानीका कारण हिउँदमा पानीको अभाव कम भएको छ । उपत्यकाको भित्री भागमा पहिले पानीको बढी समस्या रहेकामा अहिले भित्री भागमा नियमित पानी वितरण भइरहेको छ । चक्रपथ बाहिरका धेरै ठाउँमा भने वितरणका लागि पाइप बिच्छाउने काम भइरहेको छ । रासस

असार ४ भित्र आयोजनाको म्याद नथपे काम ठप्प गर्ने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं । सरकारले असार ४ गतेभित्रमा सबै आयोजनाहरूको म्याद नथपे निर्माण व्यवसायीहरूले आयोजना ठप्प गर्ने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार सम्मेलन यस्तो चेतावनी दिएको हो । महासंघका अध्यक्ष रवि सिंहले २०८० असार ४ भित्रमा सबै आयोजनाहरूको म्याद थपको निर्णय नभएमा सम्पूर्ण आयोजनाहरू ठप्प गरी निर्माण व्यवसायीहरू आफ्ना सबै इजाजत पत्रहरू राज्यलाई बुझाएर आन्दोलनमा होम्मिन बाध्य हुने बताए । सरकारी रवैयाका कारण मुलुकको निर्माण उद्योग धराशायी गर्न सरकार नै लागि परेको पुष्टि मात्र नभइ निर्माण व्यवसायीहरूले ‘आत्मदाह’ गर्न थालेको महासंघ बताउँछ ।