मध्यपहाडी राजमार्ग : सम्झौताको सात वर्षपछि ठेक्का रद्द गरिँदै
गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने दुई सडक खण्डका ठेकेदारको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये जम्मा २५ किलोमिटर सडक खण्ड कालोपत्र हुन सकेको छैन तर अन्य सडक कालोपत्र भइसकेर हस्तान्तरणको प्रक्रियामा छ । समस्याग्रस्त जिल्ला सदरमुकामको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २५ किमी सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीको ठेक्का तोड्ने प्रक्रियामा लागिएको पर्वतस्थित मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालयले जनाएको छ । बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्डको निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गर्न मध्यपहाडी राजमार्ग निर्देशनालयमा पठाउने तयारी गरिएको उक्त कार्यालयका प्रमुख कल्पना अधिकारीले जानकारी दिए । ‘निर्माण व्यवसायीको चरम लापरबाही भयो, तल्लो खण्डमा चार पटक र उपल्लो खण्डमा पाँच पटक म्याद थप्दासमेत कालोपत्र भएन, अब रद्द गर्नुको विकल्प रहेन, उपल्लो सूर्य कन्स्ट्रक्सनको बोलपत्र रद्दका लागि तेस्रो प्रक्रियामा पुगेका छौँ, तल्लो भारत सिद्धसाई कम्पनीको नाममा पनि मङ्गलबार सूचना निकालेका छौँ’, आयोजना प्रमुख अधिकारीले भने, ‘दुई वर्षमा सक्ने काम पटक–पटक म्याद थप गर्दासमेत नसक्नु भनेको चरम लापरबाही हो दुवै ठेक्का सम्झौता रद्द गरेर नयाँ प्रक्रियामा जान्छौँ ।’ दुई वर्षमा सक्नेगरी निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र गर्न नसक्दा उक्त कार्यालयले ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाएको हो । कार्यालयका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले दुवै खण्डमा गरी १३ किमी सडक कालोपत्रका लागि पूर्वाधारसमेत निर्माण नगरिएका कारण असारसम्म म्याद भएका दुवै निर्माण कम्पनीलाई सम्झौता रद्द गर्नेगरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । ‘निर्माण कम्पनीको ढिलाइले सीमा नाघ्यो, नागरिक स्तरबाट समेत आन्दोलन भइरहेका छन्, असारसम्म कालोपत्र सक्ने कुनै सङ्केत देखिएन फिल्डमा कामदार देखिएनन् उपल्लो १२ किमी सडकको सूर्य कन्स्ट्रक्सनविरुद्ध पत्रिकामा सूचना प्रकाशित गरी धरौटी रकम जफत गरेर निर्देशनालय पठाउन थालिएको छ, तल्लो भारत सिद्धिसाईको ठेक्का रद्द गर्ने विषयमा पत्रिकामा सूचना प्रकाशित गरिएको छ’, उनले भने, ‘आगामी असारको २० सम्म तल्लो खण्ड र असार ५ गतेसम्म उपल्लो खण्डको सम्झौता म्याद छ तर काम नसक्ने भएपछि म्याद अगावै ठेक्का रद्दको प्रक्रियामा गएका हौँ ।’ उपल्लाचौरदेखि १३ किलोमिटर सडकको भारत/सिद्धिसाई जेवीसँग २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म चार पटक म्याद थप गर्दासमेत बल्ल सात किमी सडक मात्रै कालोपत्र गरेको छ भने अझै छ किमी सडक कालोपत्र गर्न बाँकी रहेको छ । उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो । उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको कामसमेत बाँकी छ । यस्तै बिहूँदेखि घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि २०७२ साल माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सूर्य कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो । हालसम्म पाँच पटक ठेक्का सम्झौता म्याद थप भएको उक्त सडक खण्डको म्याद असारसम्म भए पनि ठेक्का रद्द गर्न लागिएको हो । काम नगरेपछि ठेक्का रद्द गरी धरौटी रकम जफत गरेर निर्देशनालय पठाइने र निर्देशनालयले सडक विभागमा लगेर ठेक्का रद्द गरी नयाँ ठेक्का आह्वान गर्ने छ । बाह्र किलोमिटर सडकमध्ये हालसम्म उपल्लो खण्डमा छ किलोमिटर सडक कालोपत्र भए पनि पाँच पटक म्याद थप्दासमेत छ किलोमिटर सडक कालोपत्र गर्न अझै बाँकी रहेको छ । यस सडकको ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको उक्त कार्यालयले जनाएको छ । साढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुन नसक्दा नागरिकले सास्ती खेप्नु परेको छ । अहिले बिहूँमा दैनिकजसो निर्माण व्यवसायीविरुद्ध स्थानीयवासीले विरोध जनाएर आन्दोलनका कार्यक्रमहरुसमेत सार्वजनिक गरेको स्थानीयवासी खिमानन्द कँडेलले जानकारी दिए । जिल्लाको गलकोट, बडिगाड, ढोरपाटन र निसीखोलामा सडक कालोपत्र भइसक्दासमेत जिल्ला सदरमुकाम खण्ड कालोपत्र हुन नसक्दा यहाँका जनता निर्माण व्यवसायी विरुद्ध आन्दोलनमा उत्रेको उनको भनाइ थियो । रासस
सडक विभागले ४ स्थानमा पुल निर्माण गर्ने
काठमाडौं । सडक विभागले आगामी वर्ष चार स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाउने भएको छ । काठमाडौं उपत्यकाको बागमती नदी, चितवनको नारायणी नदी, कास्कीको विजयपुर र रुपन्देहीको तिनाउ नदीमा अत्याधिक पुल निर्माणका लागि अध्ययन थालिएको सडक विभाग, पुल महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, ‘विश्वका कतिपय सहर पुलका कारण चिनिन्छन्, त्यसैगरी यी पुल पनि ती ठाउँको परिचय झल्किने गरी बनाउन लागिएको छ ।’ विशेषतासहित पुल निर्माणको योजना बनाइएको शाक्यको भनाइ छ । नयाँ बनाइने चारवटै पुलमा स्थानीय मौलिकता समेट्ने गरी डिजाइन गरिने उनले बताए । काठमाडौंमा मन्दिर वा कुनै कलात्मक कुरा, चितवानमा गैँडा र अरु ठाउँमा पनि त्यहाँको विशेषता समेट्ने योजना रहेको छ । तिनाउ नदीमा बिश्व बैंकको ‘सिग्नेचर पुलमा एक्सेस प्रोग्राम’ अन्तर्गत पुल निर्माण गर्न लागिएको छ । पोखरामा पुल निर्माणका लागि विभागले अन्तर्राष्ट्रिय विज्ञको सहयोगमा डिजाइन तयार गर्ने योजना बनाएको छ ।
शुक्लाफाँटामा खानेपानी समस्या हट्दै
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ का बासिन्दा खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि निकै खुसी भएका छन् । वर्षौंदेखि ‘हेडपम्प’को पानी पिउँदै आएका बासिन्दाले आइरनको समस्या झेल्दै आएका छन् । खानेपानीको हेन्डपम्पमा आइरन आउँदा पत्थरीलगायतको समस्या अधिकांश बासिन्दामा देखिँदै आएको स्थानीय गौरसिंह साउदले बताए । ‘खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि वर्षौंदेखिको शुद्ध पेयजल पिउने सपना साकार हुने भएको छ’, उनले भने । वडमा नगरको गौरवको योजनाअन्तर्गत छ करोड आठ लाख ९८ हजार आठ सय ६९ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ । नगरपालिकाका इञिजनियर दिपक धामीका अनुसार निर्माण भइरहेको खानेपानी आयोजनामा नगरपालिका र सङ्घीय सरकारको ५०/५० प्रतिशत लागत साझेदारी रहेको छ । खानेपानी आयोजना निर्माणका लागि उच्चकोटी ड्रिल एन्ड कन्ट्रक्सन प्रालि धनगढीले जिम्मा पाएको छ । आयोजना आगामी आवको असार १८ गते भित्रै निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजनाका लागि दुई सय २५ घनमिटरको टङ्की निर्माण गरिने निर्माण व्यवसायी सुरेन्द्रकान्त पन्तले बताए । ‘निर्धारित समयअगावै खानेपानी आयोजना निर्माण गर्ने लक्ष्य लिएका छौँ’, उनले भने, ‘सम्झौताअनुसार उपभोक्ता घरसम्म पाइप जडानदेखि धाराको टुटी जडान गर्छौं ।’ खानेपानी आयोजनाका लागि २७ हजार मिटर पाइपलाइन विस्तार गर्ने योजना रहेको छ । खानेपानी आयोजनाका लागि बोरिङ गाडनका लागि ड्रिल गर्ने कार्य अगाडि बढाइएको छ । खानेपानी सञ्चालनका लागि डेढ तले कार्यालय भवन र पर्खाल निर्माण गरिने निर्माण व्यवसायी पन्तले बताए । खानेपानी आयोजनाबाट लक्ष्मीपुर, ढकनियाँ र रानीपुरका गरी पाँच सय ८५ घरधुरी लाभान्वित हुने भएका छन् । नगर प्रमुख रणबहादुर महराले खानेपानी आयोजना निर्माणको शुभारम्भ गर्दै नगरको गौरवको योजनाअन्तर्गत खानेपानी आयोजनालाई राखिएकाले निर्धारित समयमै निर्माण पूरा गरिनुपर्ने बताए । वडावासीको मागअनुसार शुद्ध पेयजल घरघरमा पु¥याउने सपना साकार बनाउनका लागि आयोजना निर्माणलाई दु्रत गतिमा अगाडि बढाइएको उनले बताए । ‘खानेपानी आयोजना निर्माणको पूरा भएपछि आइरन र आर्सेनिकको समस्या हटेर जान्छ’, नगर उपप्रमुख कल्पना पन्तले भने, ‘शुद्ध पेयजल उपलब्ध हुने भएपछि वडाका बासिन्दा पानीजन्य रोगबाट पनि मुक्त हुन्छन् ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले खानेपानी आयोजना निर्माणलाई छिटोभन्दा छिटो पूरा गरी वडाका बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउन आतुर रहेको बताए । यसअघि गैरसरकारी संस्थाको सहयोगमा वडामा सिँचाइका लागि ३० डिपट्युबवेल जडान गरिएको छ । रासस