बागमती सुधारका लागि २० वर्षे गुरुयोजना बनाइँदै
काठमाडौं । बागमती नदी र त्यसका सहायक नदीमा करिडोर निर्माण तथा नदी सफा बनाउने उद्देश्यले बीस बर्षीय गुरुयोजना बनाइने भएको छ । सन् २०४३ सम्म बागमतीलाई सफा बनाएर त्यसको दुवैतर्फ करिडोर सडक निर्माणको योजना बनाइएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । गुरुयोजनाका लागि खाका (ड्राफ्ट) बनेको र त्यसलाई अन्तिम रुप दिनका लागि विभिन्न सारेकारवाला निकायसँग छलफल भइरहेको समितिका इन्जिनियर कमल अर्यालले बताए । यस वर्ष अन्तिम रुप दिइने गरी तयारी अघि बढाइएको उनको भनाइ छ । उनले भने, ’अबको २० वर्षमा बागमतीमा बाँकी रहेका सबै काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।’ गुरुयोजना अनुसार बागमतीको पानी सफा गर्ने, दुवैतर्फ ढल, करिडोर निर्माण गर्ने, यसका सहायक र उपसहायक नदी सफा गरिनेलगायत विषय समेटिएका समितिले जनाएको छ । ठोस फोहरमात्र नभइ तरल फोहर पनि व्यवस्थापन गर्न जरुरी रहेकाले तरल फोहर व्यवस्थापनका क्षेत्रमा पनि काम गरिने समितिका इन्जिनियर अर्यालले बताए । उनका अनुसार तरल फोहर व्यवस्थापनका लागि ढल निर्माण गर्नुपर्ने भएकाले नदी किनारामा ढलको लाइन बिच्छाइने छ । ’ढलको लाइनलाई प्रशोधन केन्द्रमा लगेर प्रशोधन गरेपछि सफा भएको पानी मात्रै खसाल्ने योजना छ’, अर्यालले भने । उनले यो काम कतिपय नदीमा भइरहेकाले बाँकी नदीमा पनि अघि बढाइने बताए । समितिले अहिले उपत्यकाका ११ खोलामा तरल फोहर व्यवस्थापनको काम गरिरहेको छ । बागमतीसँग जोडिने सहायक खोला तथा सहायक खोलासँग जोडिएका उपसहायक खोलामा काम भइरहेको इन्जिनियर अर्यालले बताए । उनका अनुसार ती सबै खोला बागमतीमा मिसिने हुँदा सबैमा काम गरिएको हो । उपत्यकामा विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचा, बल्खु, मच्छे खोला, महादेव खोला र मनोमती खोला, नख्खु, कर्मनाशा, हनुमन्ते खोला छन् । ती सबै खोला तथा सहायक खोला सफा बनाउन दुबैतर्फ ढलको लाइन बिच्छाउने इन्जिनियर अर्यालले बताए । करिडोर बनाउने, तटबन्ध निर्माण गर्ने, बाँध बनाउने, नदी किनारामा रहेका मठमन्दिरको पुनर्निर्माण पनि गरिने उनको भनाइ थियो । बागमतीमा मिसिने खोलाहरुमा फोहर पानी प्रशोधनको काम हुन बाँकी रहेको इन्जिनियर अर्यालले बताए । ’विष्णुमतीमा ढलको लाइन बिच्छाइएको भए पनि विष्णुमती र बागमती मिसिएको ठाउँमा पाँच सय मिटरमाथि जाँदा दाहिनेतर्फ मनोमती खोलाबाट ढल आइरहेको छ’, उनले भने । १३ किमी लम्बाइको उक्त खोलामा दुवैतर्फ १३÷१३ गरी २६ किमी ढलको लाइन नजोड्दासम्म खोला सफा नहुने इन्जिनियर अर्यालले बताए । उनले भने, ’मनोमतीसँग जोडिने ससाना खोल्साहरु जुनमा तल ढल बग्छ र माथि गाडी गुड्छन् । त्यसलाई पनि व्यवस्थित नगर्दासम्म बागमती सफा हुँदैन ।’ सरकारले विसं २०६६ मा पाँच वर्षको बागमती कार्ययोजना बनाइएको थियो । अहिले सोही कार्ययोजनालाई परिमार्जित गरेर २० वर्षे गुरुयोजना बनाउन लागिएको समितिले जनाएको छ । रासस
मेलम्चीको पानी काठमाडौं पठाइयो
काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो । हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
नारायणगढ–मुग्लिन सडक खण्डका ३ पुल यसै महिना सञ्चालनमा आउने
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र बालुवा पुल यसै महिनाबाट सञ्चालनमा आउने गरी काम भइरहेको छ । सेतीदोभानको पुलमा रङ्ग लगाउन र बाह्य भागमा रेलिङ् राख्न बाँकी छ । डुम्रे र बालुवा पुलको सबै भागमा रेलिङ, कालोपत्र र रङ्ग लगाउन बाँकी रहेको छ । कार्कीले भने, ’सबै काम सकेर जेठ मसान्तभित्रमा तीनवटै पुल सञ्चालन गर्ने योजना रहेको छ ।’ अन्य चार पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ । पुल बनाउने ठाउँको पहाड विस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम सुरु भएको छैन । मुआब्जा वितरण गरेर खहरे खोलाको पुलको काम सुरु भएको छ । कार्कीका अनुसार तुइन खोलाको पुलबाहेक अन्य बाँकी रहेका पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । तुइन खोलाको पुल निर्माण गर्ने ठाउँको ढिस्को विस्फोटको प्रक्रियामा रहेको छ । यो पुलको भने टुङ्गो लाग्न सकेको छैन । कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही २०८० सालको पुस मसान्तसम्ममा सकिँदै छ । विसं २०७६ को चैतमा एक अर्ब २७ करोड रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो । नक्साङ्कनसहित पुल निर्माणका लागि ठेक्का लगाइएको हो । निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएको हो । पुलको गाडी गुड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो छ । दायाँबायाँ फुटपाथसहित गरेर नौदेखि ११ मिटर पुल फराकिलो रहेको छ । केही पुल भौगोलिक कारणले नौ मिटरमात्र फराकिलो बनाइएको छ भने धेरै पुल ११ मिटरका छन् । पुल निर्माण गरिने ठाउँमा २६ टहरा रहेका छन् । ती टहरालाई मुआब्जा दिएर व्यवस्थापन गर्ने काम भइरहेको छ । सबै घरटहरा व्यवस्थापन गर्दा ९७ रुपैयाँलाख भुक्तानी गर्नुपर्ने हुन्छ । हालसम्म १६ घरटहराको मुआब्जा दिएर हटाइसकिएको छ । सो सडक खण्डका चार पुल यसअघि नै निर्माण गरी सञ्चालनमा आएका छन् । सडक खण्ड विस्तार गरेसँगै पुराना पुल भएका ठाउँमा नयाँ पुल निर्माण सुरु गरिएको हो । यसै सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन हुने गर्छन् । रासस