तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती

इलाम । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छ भने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । तीन दशक बितिसक्दासमेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन । रतुवाखोला किनारमा खुलेको ट्रयाकमा सवारी साधन सञ्चानबाहेक केही प्रगति भएको छैन । दमकबाट घर्ती दोभानसम्म सोही खोलको ट्रयाकमा गाडी चलेका छन् तर सामान्य वर्षा हुनासाथ आवतजावत नै ठप्प हुन्छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमक (झापा) र पूर्व संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र माङसेबुङ (इलाम) जोड्ने सडक निर्माणले पूर्णता पाउन नसकेपछि एमाले नेतृत्वको तीव्र आलोचना हुँदै आएको छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण सडक निर्माणले गति लिन नसकेको हो । तेत्तीस किलोमिटर दूरीको सो सडक कालोपत्रका लागि ठेक्का लागेको पनि पाँच वर्ष बितिसक्यो । ठेक्काको समय बारम्बार थपिँदासमेत काम भएको छैन । सडक चौडा गर्दै कालोपत्र गर्नुपर्नेमा त्यसो गरिएको छैन । तीन खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो । पहिलो खण्डअन्तर्गत दमकको पहिलो बिन्दुबाट सात किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी २०७५ साल साउन अन्तिममा सम्झौता गरेको थियो । उक्त कम्पनीले रु २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएर काम नगरेको हो । चारपटक म्याद थप भएको र अन्तिमपटक थपिएको म्याद गत असार मसान्तमा सकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । राजमार्गको दोस्रो खण्ड १५ किलोमिटर सडक रु ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड ११ किलोमिटर सडक रु ५९ करोड १५ लाख ३५ हजारमा निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो । दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा २८ प्रतिशत काम भएको सडक डिभिजन कार्यालय इन्जिनियर गौतमकुमार देवले राससलाई जानकारी दिए । समग्रमा ३३ किलोमिटर सडकमा ५० प्रतिशतमात्र काम भएको उनले बताए । काम चाँडो गर्न सरोकारवालाको ताकेता निर्माणकार्य अधुरै छाडेपछि सवारीसाधन सञ्चालनमै समस्या भएको भन्दै काम चाँडो गर्न सरोकारवालाले ताकेता गरेका छन् । घर्ती दोभानबाट चिसोपानीसम्मको सडकखण्ड सवारी चल्न नसक्ने गरी बिग्रिएको भन्दै चाँडो मर्मत गर्न निर्माण कम्पनीलाई ताकेता गरेका हुन् । जिल्ला प्रशासन कार्यालय इलाममा सोमबार भएको सर्वदलीय बैठकले सडक निर्माणको गति अत्यन्त सुस्त भएको निष्कर्ष निकाल्दै चाँडो गर्न ताकेता गरेको हो । बैठकले चार बुँदे निर्णय गर्दै तोकिएको गुणस्तरमा आउँदो वर्षायाम अगाडि नै निर्माण सम्पन्न गर्न अनुरोध गरेको छ । बैठकले सडक निर्माणमा भएको प्रगतिको तत्काल अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकले घर्ती दोभानबाट चिसोपानीसम्मको सडकखण्ड पुस १० भित्र मर्मत गर्न प्रशासनले निर्माण कम्पनीलाई सचेत गराउने निर्णय गरेको छ । ठेकेदार कम्पनीले ढिलासुस्ती गरेपछि माङसेबुङ गाउँपालिकाले तीन महिनाअघि जिल्ला प्रशासन कार्यालय इलाममा समन्वय गराउन पत्रचार गरेको थियो । तीन महिनापछि प्रशासनले बोलाएको सर्वदलीय बैठकमा निर्माण कम्पनीका प्रतिनिधिमाथि सरोकारवालाले चर्को असन्तुष्टि र गुनासो राखेका थिए । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ठेकेदार कम्पनीको लापरवाहीले सडक निर्माण गति सुस्त भएको बताए । ‘ठेकेदारको लापारवाहीले काममा ढिलाइ भएको छ । त्यसको दोष भने हामी जनप्रतिनिधिले खेप्नु परिरहेको छ’, अध्यक्ष राईले भने, ‘सडकको काम सहज बनाउन ढुङ्गा, गिट्टी, बालुवाको ठेक्कासमेत नलगाएर सहयोग गरेका छौँ तर ठेकेदारले जिम्मेवार भएर काम गर्नुपर्यो ।’ उनले ठेकेदार कम्पनीबाट जनप्रतिनिधि र नागरिकलाई पटक–पटक ढाँट्ने काम भएको भन्दै अब पनि ढाँट्ने काम भए जनप्रतिनिधि नै आन्दोलनमा उत्रनुपर्ने अवस्था आउने चेतावनी दिए । निर्माण कम्पनी प्रतिनिधिले भने कोभिडको पहिलो र दोस्रो लहर नै सबैभन्दा ठूलो कारण देखाएर जोगिने प्रयास गरेका थिए । पटक–पटक म्याद थप्दासमेत काम गर्न नसकेको कमजोरी भने दुवै कम्पनीका प्रतिनिधिले स्वीकार गरेका थिए । रासस

सिंहदरबारबाटै नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ-बुटवल सडकखण्ड र मुग्लिन-पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन् । सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडकखण्डका बारेमा जानकारी लिए । निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘हाम्रा परियोजना भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मकरूपले बढाउनुपर्छ ।’ गिटी, बालुवा ढुङ्गा, विद्युत्का सानातिना समस्या सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्यो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ ।’ परियोजनाहरू निर्धारित लक्ष्यअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्देशन दिए । विविध कारण देखाएर निर्माणमा विलम्ब भयो भन्न नपाइने उनको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘यी दुई परियोजना अत्यन्तै महत्त्वपूर्ण छन् । समयमै सकिनुपर्छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु ।’ अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौं । यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक सदुपयोग गरौं ।’ रासस

सुपरन्यादी जलविद्युतको ६० प्रतिशत काम सम्पन्न

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजना हालसम्म ६० प्रतिशत निर्माण भएको छ । सिउरी न्यादी हाइड्रोपावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको अझै ४० प्रतिशत निर्माणकार्य बाँकी रहेको आयोजनाले जनाएको छ । यस आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सम्पन भएको छ । आयोजनाका प्रवन्धक निर्देशक दिनेश गुरुङका अनुसार विद्युत् गृह निर्माणका लागि ३८७ मिटर सुरुङ मार्ग, छ हजार ८०० किलोमिटर सुरुङमार्गमध्ये चार किलोमिटर टनेलको सुरुङ, भूमिगत पावर हाउस खन्ने, सुरुङका लागि दुईवटा अडिट टनेलसहित ५०० मिटर खन्नेजस्ता काम सम्पन्न भइसकेको छ । त्यस्तै ड्याम साइडसम्मको २२ किलोमिटर सडक निर्माणलगायत काम पनि सम्पन्न भइसकेको उनको भनाइ थियो । निर्देशक गुरुङले भने, ‘अहिले आयोजनाको नौ वटा ठाउँबाट विभिन्न कामहरु भइरहेका छन् । आयोजनामा हाल ५०० कामदारले काम गरिरहेका छन् । हेलिकोप्टरमार्फत् (एयरलिफ्ट गरी) सामान पुर्याएर बाँध र ड्यामसाइडबाट सडक खन्ने गरिएको थियो ।’ आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) अनुसार दुई वर्षभित्र अर्थात् ९२०८१ असारभित्र० विद्युत् उत्पादन सुरु गरिसक्नु पर्नेमा उनले सम्झौताअनुसार समय सिमाभित्र सम्पन्न हुन नसक्ने बताए । कोरोना महामारीका कारण एक दिनमा हुने काम सात दिन लाग्नाका साथै कामदार आउन समस्या, सामग्री ढुवानीमा समस्यालगायतले निर्माण कार्यमा ढिलाई भए पनि विसंं २०८२ असारभित्र सम्पन्न हुने अनुमान छ । हाई हिमालय र धवलागिरी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको यो आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ वटा वित्तीय संस्थाले रु पाँच अर्ब २५ करोड ऋण लगानी गर्नेछ । प्रवर्दधकको इक्वीटी (स्वपूँजी) रु एक अर्ब ७५ करोड रहनेछ । उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवर्दधकको २५ प्रतिशत हिस्सा रहने आयोजनाले जनाएको छ । करिब रु सात अर्बको लागतमा निर्माणको काम पूरा गरिने आयोजनाको लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत्गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिने भएको छ । सबस्टेसनसम्मको प्रसारण लाइन आयोजनाले नै निर्माण गर्ने भएको छ । यस आयोजनाका अनुसार वर्षात्को छ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदयामको छ महिनामा आठ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री गरिने भएको छ । रासस