मालढुङ्गा-बेनी सडक : ठेक्का सम्झौता तोड्ने चेतावनी

पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडिने भएको छ । सम्झौता अवधि सकिएर पटकपटक म्याद थप गर्दा कामको प्रगति नदेखिएपछि सम्झौता रद्द गर्ने तयारी भएको हो । सडक निर्माणमा भएको ढिलासुस्ती र निर्माण सामग्रीको अभावको विषयमा दुई हप्ताअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगतरूपमा अनुगमन गरेका थिए । अनुगमनका क्रममा मन्त्री ज्वालाले एक हप्ताभित्र समस्या समाधान गरेर सडक निर्माणलाई गति दिने आश्वासन दिएको भए पनि सडक निर्माणले गति लिन भने सकेको छैन । मन्त्री ज्वालाको निर्देशनपछि कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले ठेकेदार कम्पनीका प्रतिनिधिसँग छलफल गरेको छ । छलफलका क्रममा एक साताभित्र मजदुर र उपकरण थप गरेर निर्माण कार्यलाई तीव्रता दिने सहमति भएको आयोजनाका इञ्जिनियर अच्युत विलास पन्तले जानकारी दिए । उनकाअनुसार अबको एक महिनाभित्र योजनाको प्रगति नदेखिए ठेक्का तोड्ने गरी छलफल भएको हो । आयोजना कार्यालयले तत्काल कामको प्रगति देखिने गरी निर्माणको काम सुरु नभए ठेक्का रद्द गर्ने र पुनः नयाँ ठेक्का प्रक्रियामा जाने चेतावनी दिएको इञ्जिनियर पन्तले जानकारी दिए । ‘निर्माण सामग्रीको अभाव देखाएर ठेकेदारले योजना अलपत्र पार्दै आएका छन्’, इञ्जिनियर पन्तले भने, ‘अन्तिम पटक अब एक महिनासम्म योजनाको प्रगति नदेखिए ठेक्का तोड्नेछौँ र नयाँ प्रक्रिया सुरु गर्नेछौँ ।’ सडकको किनारबाट बग्ने कालगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न अदालतले रोक लगाएका कारण सडक निर्माणमा प्रयोग हुने सामग्रीको अभाव देखाउँदै ठेकेदारले धिमा गतिमा काम गरिरहेको छ । सम्झौतामा ३० महिनाभित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि तीन वर्षमा जम्मा ४५ प्रतिशत मात्र प्रगति भएको छ । दोस्रो पटक थपिएको म्याद गत आर्थिक वर्षको असारमा सकिएको थियो भने पुनःतेस्रो पटक छ महिना थप गरेको समय पुस मसान्तमा सकिएको छ । ठेकेदार कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वर कन्ट्रक्सनका प्रतिनिधि अमृत भट्टराईले ठेक्का सम्झौतामा कालीगण्डकी नदीबाटै निर्माण सामग्री उत्खनन गर्ने उल्लेख भए पनि अदालतको आदेशका कारण सामग्री प्रयोग गर्न नपाएको भन्दै अब छिमेकी जिल्ला वा अन्य वैकल्पिक उपाय अपनाएर भए पनि सामग्री उपलब्ध गराएर निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत १३ किमी दूरीको मालढुङ्गा-बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स-खड्का-कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स-खड्का-कृष्ण जेभीको पेटी ठेकेदार कम्पनी ओमकारेश्वर कन्ट्रक्सनले सडक निर्माणको जिम्मा लिएको छ । कालोपत्रसहित करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अहिले मालढुङ्गा-बेनी सडकमा यात्रा गर्न सकस हुँदै आएको छ । हिउँदमा धुलो र वर्षामा हिलाम्मे सडकमा यात्रा गर्न नागरिक बाध्य भएका छन् । म्याग्दी र मुस्ताङ तथा पर्वतकै जलजला क्षेत्रमा सञ्चालन हुने दैनिक सयौँको सङ्ख्याका सवारीसाधनले उडाएको धुलो बस्तीसम्म पुग्दा स्थानीयको जीवनयापनमा समस्या भएको छ । सडकमा गुडेका सवारीसाधनले उडाएको धुलो बस्तीमा पुग्दा सर्वसाधारणको स्वास्थ्यमा असर पुगेको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताए । सो सडकखण्डअन्तर्गत पर्ने पर्वतको खनियाघाट, फर्से, लस्ती, मिलनचोक र लामाखेतका स्थानीयले सडक निर्माण अलपत्र पर्दा धुलो र हिलोको समस्या भोग्नुपरेको गुनासो गरेका छन् । रासस

काठमाडौंका सडकमा १ हजार २६ वटा स्मार्ट लाइट जडान, थपिए १७७ वटा नयाँ पोल

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका सडकमा १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महाराजगञ्ज- लैनचौर-जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र-बालुवाटार-नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर-थापाथली-माइतीघर मण्डलासम्म ७६ वटा, चावहिल-बौद्ध सडक खण्डमा ९९ वटा वत्ती जडान गरिएका हुन् । यी खण्डको प्रारम्भिक अध्ययनमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ वटा बत्ती जडान गर्नु पर्ने देखिएको थियो । महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलका अनुसार स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको हो । पौडेलका अनुसार फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् । यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन् । ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन् । यसका लागि १७७ वटा पोल प्रयोग भएका छन् । बिजुली जडान गर्न ३० हजार ७१० मिटर तारको प्रयोग भएको छ । स्मार्ट लाइट जडान गर्न वा पोललाई पुनःप्रयोगमा ल्याउन नसकिने ४२१ वटा पोल हटाइएको छ । यी पोलहरु महानगरपालिका, विद्युत प्राधिकरण र निजी क्षेत्रले गाडेका थिए । रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडक बत्ती जडान गरिएको हो । यसका लागि नेपाल विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य भएको छ । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता काम गर्न साझेदारसँग सहकार्यका लागि २०७९ माघ २४ गते सम्झौता भएको थियो । ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमानको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने सम्झौतामा उल्लेख छ । यसबाट काम गर्नका लागि रुट पनि छुट्याइएको छ । बत्ती जडान गर्न प्राधिकरणले बोलपत्र आव्हान गरेको थियो । यसबाट छनौट भएको निर्माण पक्षसँग २०८० बैशाख २५ गते सम्झौता भएको थियो । सम्झौताबमोजिम २०८१ बैशाख २४ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ । महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइती घर मण्डलादेखि बागबजार सम्म, बागबजारदेखि शितल निबाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चावहिलदेखि जोरपाटीसम्मको रुट राखिएको छ । यसैगरी विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् । यो रुटमा बत्ती जडानको काम तत्काल सुरु हुने प्रक्रियामा छ । विद्युत प्राधिकरणका उपप्रबन्धक प्रमोद रिजाल भन्छन्, ‘हामीले काम गर्ने सडक खण्डमा यस अघि सौर्यबत्तीका लागि गाडिएका पोल छन् । ती पोलहरुको पुनःप्रयोग योजना स्वीकृति हुने चरणमा छ । योजना स्वीकृत भएपछि काम थालिनेछ ।’ यस खण्डमा १ हजार १७ वटा सडक बत्ती राख्नु पर्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । यस्तै ९२ वटा नयाँ पोल राख्नुपर्ने, २१ हजार ९७० मिटर तार आवश्यक पर्ने अनुमान छ । यसरी बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना आफ्ना स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, व्याट्रीलगायत सामानको आफैँले पुनप्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ । प्राधिकरणले बत्ती जडान गरिसकेपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गर्नेछ । यसपछिको मर्मत सम्भार महानगरपालिकाले गर्नेछ । सडक बत्ती प्रयोग भएवापत्को शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ । सबै बत्ती एउटै स्क्रिनबाट नियन्त्रण हुन्छन् सबै बत्ती जडान गरिसकेपछि बत्तीहरुलाई एउटै प्रणालीमा आवद्ध गरिनेछ । यसपछि एउटै स्क्रिनबाट बत्तीलाई आवश्यकताका आधारमा बत्तीलाई चहकिलो बनाउने, मधुरो बनाउने, निभाउने वा बाल्ने काम गर्न सकिन्छ ।

ट्रयाक खुलेको २९ वर्षपछि स्तरोन्नति हुँदै लोकमार्गको वैकल्पिक सडक

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजार उेछमै रहेको बिहुँ गाउँमा विसं २०५१ सालमा ट्रयाक खोलिएको सडक तीन दशकपछि स्तरोन्नति हुन थालेको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा रहेको सुलडाँडादेखि किमबोट हुँदै ठूल्ढुङ्गा जोड्ने सडक यस वर्ष स्तरोन्नति हुन लागेको हो । यस सडकलाई किसानको सडकका रुपमा लिने गरिएको छ । काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ५० लाखमा यो सडक स्तरोन्नति गर्न थालिएको हो । गाउँपालिकाको गौरवको आयोजना रहेको यस सडकलाई प्राथमिकतामा राखेर काम गर्न थालिएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बताए । सुलडाँडादेखि ठूल्ढुङ्गासम्म करिब १० किलोमिटर रहेको यस सडकमा अधिकांश पिक तथा जीप चल्दै आएको भन्दै साँघुरो हुँदा समय–समयमा दुर्घटना समेत हुने गरेको उनको भनाइ छ । लोकमार्गमा गुड्ने अधिकांश साना सवारी साधन यही सडक प्रयोग गर्ने हुँदा यसको स्तरोन्नतिका लागि केही वर्षदेखि पालिकाले बजेट विनियोजन गर्दै आएको प्रवक्ता विक बताउँछन् । काठेखोला गाउँपालिका–५ र ६ वटालाई जोड्ने यस सडक १९ वर्षदेखि स्तरोन्नति नहुँदा स्थानीय किसानले उत्पादन गरेको दूध र सुन्तला बजारसम्म पुर्‍याउन निकै समस्या हुने गरेको विकले बताए । स्तरोन्नतिपछि सबैभन्दा बढी फाइदा वडा नम्बर ६ का किसानलाई हुने उनको भनाइ छ । गाउँपालिकाले यो सडकसहित पालिकाभर रहेका ग्रामीण सडकलाई स्तरीय बनाउन थालेको उनले बताए । प्रवक्ता विकले भने, ‘यो सडक लोकमार्गसँग जोडिएको छ, पछिल्लो समय लोकमार्गमा भन्दा यस सडकमा बढी गाडी गुड्ने गरेका छन्, छोटो र सहज हुने हुँदा धेरै यताबाट हिँड्दा सडक बिग्रिएको छ, कच्ची सडकका ट्याक्टरदेखि साना सबै सवारी गुडा अप्ठेरो पनि बनेको थियो, यो सडक खास गरी सुन्तला पकेट क्षेत्र भएर गएको छ, यहाँ धेरै किसान हुनुहुन्छ, अहिलेसम्म सडकका कारण उहाँहरुले धेरै समस्या भोग्नु भएको थियो, अब सहज हुनेछ ।’ गाउँपालिकाका इन्जिनियर विनोद लामिछाने मंसिरको २४ गते ओम पल्टी विल्डर्स निर्माण कम्पनीले कामको जिम्मा पाएको र अहिले धमाधम काम भइरहेको जानकारी दिए । निर्माण कम्पनीले सडक स्तरोन्नतिका लागि ४० लाख ३५ हजारमा गाउँपालिकासँग सम्झौता गरेको उनको भनाइ छ । अहिले सडक चौडा गर्ने, पक्की नाली निर्माण ढलना गर्ने काम भइरहेको इन्जिनियर अधिकारीले बताए । निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको हुँदा अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ छ । फागुन मसान्तसम्म सक्ने गरी काम भएको उनी बताउँछन् । ‘सडक स्तरोन्नतिको काम तीव्र गतिमा नै भइरहेको छ, अर्को महिनाको अन्तिमसम्म सकिने सम्भावना छ, भौतिक प्रगति ७० प्रतिशत भएको छ, यही गतिमा काम भयो भने फागुनमा काम सक्न समस्या छैन’, इन्जिनियर अधिकारीले भने, ‘सडक साँघुरो थियो, धेरै गाडी हिँड्ने गर्थे, अहिले पूर्णरुपमा यो सडक बन्द गरेर काम भइरहेको छ, सडक स्तरोन्नति हुन थालेपछि स्थानीय पनि खुसी हुनुभएको छ, कच्ची सडकका कारण धुलोले हैरानी हुनुहुन्थ्यो, अब त्यो समस्या समाधान हुँदैछ ।’ रासस