पोखरा जोड्ने राजमार्गको बिजोग : हिलो र धुलोले सास्ती

पोखरा । पर्यटकीय राजधानी पोखरा जोड्ने दुवैतर्फका ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ । पोखरा-मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक-याम्दी सडक समयमा नबन्दा वर्षातमा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । दुवै राजमार्गबाट आउजाउ गर्ने सर्वसाधारण यात्रु र स्थानीयबासीले हिलो र धुलोको सास्तीबाट कहिले मुक्ति पाउँछन् भन्ने कुनै टुंगो छैन । ‘प्रि-मनसुन’ को याम चलिरहेकाले पानी पर्दासाथ सडक हिलाम्मे हुने र घाम लाग्दा धुलाम्मे हुने गरेको छ । स्तरीय सडक नहुँदा पैदलयात्रीसमेत समस्या व्यहोर्न बाध्य छन् । पोखरा-दमौली चल्ने बसका सहचालक दीपक परियारले सडककै कारण सवारी जामलगायतका समस्या भोग्नुपरिरहेको सुनाउँछन् । ‘निर्माणका क्रममा भएकाले सडक ठाउँठाउँमा भत्किएको छ, यात्रामा जोखिम छ’, उनले भने, ‘सडकको काम ढिलो हुँदा यो समस्या धेरै लम्बिने देखिन्छ ।’ आउँदो वर्षायाममा पोखरा-मुग्लिङ यात्रा अझै कष्टकर बन्ने देखिएको परियार बताउँछन् । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्गको दुरावस्थाका कारण पर्यटक आवागमनमा पनि नकारात्मक प्रभाव परिरहेको छ । २ वर्षअघि सुरु भएको उक्त सडक विस्तार तथा स्तरोन्नति सुस्त गतिमा हुँदा समस्या निम्तिएको हो । आयोजनाको पूर्वी खण्ड (मुग्लिन-जामुने) मा हालसम्म भौतिक प्रगति ५१ प्रतिशत र पश्चिम खण्ड (जामुने-पोखरा) मा जम्मा १७ प्रतिशत पुगेको जनाइएको छ । पूर्वी खण्डको १४ किमि दूरीमा दुईतर्फी (चार लेन) र १२ किमिमा एकतर्फी (दुई लेन) सडक कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डमा पर्ने १७ साना-ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेको र ३ वटा निर्माणाधीन छन् । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ । बाँकी ठाउँमा कालोपत्रका लागि बेस हाल्नेदेखि, कल्भर्ट, नाली, पर्खाललगायत पूर्वाधार तयारीका काम भइरहेको जनाइएको छ । ४१.४५ किमिको पूर्वी खण्डमा ०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा ६ लेन र बाँकी खण्डमा ४ लेनको सडक बन्नेछ । आयोजनाको पश्चिम खण्ड ९पोखरा(जामुने०का प्रमुख राजेशप्रसाद पौडेलले उक्त सडक खण्डको काम सकिन अझै दुई वर्ष लाग्ने बताए । ‘हालसम्म पश्चिम खण्डको भौतिक प्रगति १७ प्रतिशत छ, कुनै अवरोध आएन भने दुई वर्षभित्र काम सकिन्छ’, उनले भने । कतिपय ठाउँमा सडक दायाँबायाँका भौतिक संरचना, विद्युत् पोल, खानेपानी र सिँचाइका पूर्वाधार व्यवस्थापन गर्न काम बाँकी रहेको उनको भनाइ छ । पश्चिम खण्डमा हालसम्म साढे ५ किमि सडक कालोपत्र भइसकेको जनाइएको छ । तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रको तयारी गरिएको प्रमुख पौडेलले जानकारी दिए । आगामी असारभित्र ३० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्यसहित आयोजनाको कामलाई गति दिइएको उनको भनाइ छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म ३८.८८ किमि दूरी रहेको पश्चिम खण्डको आधा सडक ६ लेन र आधाजति ४ लेनको बन्नेछ । आयोजनाको पश्चिम खण्डको निर्माण पूर्वी खण्डको भन्दा ६ महिनापछि सुरु भएको थियो । सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत पोल, खानेपानीका पूर्वाधार आदि हटाउन समय लागेकाले सडक निर्माणमा ढिलाइ भएको प्रमुख पौडेलले बताए । पश्चिम खण्डअन्तर्गत दुलेगौँडा र मुख्य बजार क्षेत्रको सडक ४६ मिटर हुनेछ । जामुनेदेखि कुम्लेखोलासम्ममा १८ मिटर र बाँकी खण्डमा २३ मिटर सडक कालोपत्र हुने जनाइएको छ । पश्चिम खण्डमा १२ वटा पक्की पुल र सयको हाराहारीमा कल्भर्ट बनिरहेको आयोजना कार्यालयले जनाएको छ । पोखराको सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन अवस्थामा छ । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्डको निर्माण ठेक्का लिएको हो । कुल ८१ किमि दूरीको सो सडक एसियाली विकास बैंकको अनुदान सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । २ किलोमिर दूरीले दिएको दु:ख पोखरा महानगरपालिका–१ का अध्यक्ष सहारा प्रधानले २२ सय मिटरको हरिचोक–याम्दी सडक २ वर्ष बित्दासमेत स्तरोन्नति हुन नसकेको बताए । मध्यपहाडी लोगमार्गअन्तर्गत पर्ने यो सडकखण्ड नबन्दा स्थानीय मात्रै होइन, धौलागिरि क्षेत्र प्रवेश गर्ने यात्रुले सास्ती व्यहोर्नु परिरहेको छ । ‘हामीले पटकपटक दबाबमूलक कार्यक्रम पनि गर्‍यौं । तर निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलासुस्ती गरिरहेको छ’, उनले भने, ‘पोखरा प्रवेश गर्ने मुख्य सडकमार्गको अवस्था दुर्दशापूर्ण छ, स्थानीयबासी पनि धुलो र हिलोले हैरान छन् ।’ पोखरा–बागलुङ चल्ने जीपका चालक लक्ष्मण क्षेत्रीले २ वर्षदेखि उक्त सडकको अवस्था नाजुक रहेको बताए । ‘एकातिर गाडीलाई मार अर्कातिर यात्रुलाई सकस’, उनले भने, ‘दुवैतर्फ चार लेन कालोपत्र सडक छ, बीचको बाटो किन बनेन अचम्म छ ।’ ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा उनले दुःखेसो पोखे । सोही सडकका कारण पोखरासम्मको यात्रा झञ्झटिलो र लामो बनेको यात्रुको गुनासो छ । पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेँदीसम्मको सडक २ वर्षअघि नै कालोपत्र गरिएको थियो । बीचको झण्डै २२ सय मिटर सडक विस्तार र कालोपत्र गर्न बाँकी रहेको लोकमार्ग आयोजना कार्यालय, पर्वतले जनाएको छ । केही ठाउँमा नाला निर्माण र पर्खाल चिन्ने काम भएपनि सडकको भौतिक प्रगति अति न्यून छ । आयोजना कार्यालयले कामलाई गति दिन निर्माण व्यवसायीलाई पटकपटक ताकेका गर्दै आएको छ । आयोजनाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायत सरोकार भएका पक्षबीचको बैठकमा सडक निर्माण छिट्टै सक्ने प्रतिबद्धता जनाइएपनि कामले गति लिन नसकेको वडाध्यक्ष प्रधानले बताए । गत वर्ष साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले निर्माणको जिम्मा पाएको थियो । २५ मिटर चौडा चार लेनको उक्त सडक दुई वर्षभित्र सक्नुपर्ने सम्झौता छ । प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडकको दुरावस्थाप्रति जनगुनासो पनि बढ्दै गएको छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन् । सडक कालोपत्र नहुँदा धुलो र हिलोको समस्याले स्थानीयवासी पनि आजित भएका छन् । व्यापारमा पनि असर पुगेको जनाइएको छ । सडक साँघुरो र अस्तव्यस्त हुँदा सवारी जामको समस्या उस्तै छ । दुर्घटनाको पनि जोखिम बढेको छ । ‘मौसमको प्रतिकुलता, भुक्तानी नपाएको जस्ता समस्या देखाएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको छ’, वडाध्यक्ष प्रधानले भने, ‘अहिलेकै गतिमा काम भए आउँदो साउनभित्र पनि सडक कालोपत्र हुन मुस्किल पर्ने देखिन्छ ।’ रासस

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान

नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम चाँडै सम्पन्न गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरेको जनाएको हो । कम्पनीका ठेक्का सहव्यवस्थापक राकेश झाले नारायणगढ–बुटवल सडकको कालोपत्र गर्ने काम चाँडो सम्पन्न गर्न प्रतिघण्टा चार सय मेट्रिक टन क्षमताको ‘हटमिक्स प्लान्ट’ जडान गरिएको बताए । प्लान्टमा बालुवा, ढुङ्गा, गिट्टी र अलकत्र हालेपछि मेसिनले आफैँ अलकत्रलाई पगालेर अस्फाल्ट (कालोपत्र गर्ने तयारी कच्चा पदार्थ) बनाएर पठाउने उनले बताए । यस प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको खण्डमा जडित क्षमताको ८० प्रतिशतसम्म कार्य क्षमता हुने भन्दै उनले दैनिक दुई किलोमिटरसम्म कालोपत्र गर्न सकिने बताए । प्लान्ट कावासोती–१६ स्थित सुक्खा खोलाको किनारमा जडान गरिएको छ । यहाँबाट उत्पादन भएको अस्फाल्टले एकैपटक तीन/चार स्थानमा कालोपत्र गर्न सक्ने अवस्था रहेको झाको भनाइ छ । ‘अहिले सडकमा सब बेस र बेस तयार भएको ठाउँमा कालोपत्र गरिरहेका छौँ’, उनले भने, ‘विभिन्न कारणले गर्दा हाम्रो हटमिक्स प्लान्ट पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।’ दैनिक आठ घण्टामात्र प्लान्ट सञ्चालन हुने हो भने पनि १० दशमलव ५० मिटर चौडाइ र ६० मिलिमिटर मोटाइमा दैनिक दुई किलोमिटर कालोपत्रको कार्य सजिलै गर्न सकिने उनले बताए । नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले यस सडक विस्तारका लागि जडान गरिएको प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आउन नसक्दा आयोजनालाई केही फाइदा नभएको बताए । ‘सडक विस्तारका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरण पनि न्यून परिचालन भएको छ’, उनले भने, ‘यो लामो दिनमा पनि दैनिक ८/९ घण्टाभन्दा बढी काम हुन सकेको छैन, जसले गर्दा काममा ढिलाइ भएको छ ।’ बाटो सम्याउने ग्रेडर आवश्यकताभन्दा आधा कम भएको भन्दै उनले १५ वटा ग्रेडरले सम्याएर बेस बनाउँदा समय लाग्ने र कालोपत्रको काम ढिला हुने बताए । ‘प्लान्टलाई पूर्ण क्षमतामा चलाउन सकेको खण्डमा प्रतिघण्टा करिब १६ वटा गाडीमा अस्फाल्ट भरेर कालोपत्र गर्ने ठाउँमा पठाउँदै कामलाई तीव्रता दिन सकिन्थ्यो’, उनले भने, ‘निर्माण कम्पनीलाई जनशक्ति र उपकरण बढाउन पत्राचार गर्दा पैसाको अभाव भएको सुनाउँछ ।’ निर्माण कम्पनीले एक प्रतिशत काम गरेपछि भुक्तानी पाउने गरी सम्झौता भएको र सोही अनुसार भुक्तानी भइरहेको खनालले बताए । ‘यो पूर्वीखण्डको ठेक्का रकम रु नौ अर्ब ३८ करोड रहेको छ, यसको एक प्रतिशत काम भएपछि निर्माण कम्पनीले भुक्तानी दाबी गर्ने र योजनाले भुक्तानी गर्ने सम्झौतामा उल्लेख भएको छ’, उनले भने, ‘निर्माण कम्पनीले यहाँबाट पाएको पैसाले मात्रै काम गरिरहेको छ, उसले थप पैसा लगानी गरेर काम गर्ने चासो नदेखाउँदा काममा ढिलासुस्ती भएको हो ।’ निर्माण सुरु भएको ४२ महिनामा सडक विस्तारको काम सक्नेगरी विसं २०७५ माघमा निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सरकारसँग सम्झौता गरेर काम सुरु गरेको थियो । दुई पटकसम्म म्याद थप भइसकेको योजनाको हालसम्म भौतिक प्रगति ५० दशमलव ६२ प्रतिशत मात्रै पुगेको इन्जिनियर खनालले बताए । दोस्रोपटक थप भएको म्याद आगामी साउन ८ गते सकिने यस खण्डमा हालसम्म एकतर्फी गणना गर्दा ३७ किलोमिटर कालोपत्र, २१ साना पुल निर्माण, एक सय ६३ कल्भर्ट निर्माण भएको तथा आठ ठूला पुलको निर्माण अन्तिम चरणमा रहेको खनालले बताए । विस्तार सुरु भएको पाँच वर्ष नाघ्दासमेत आधा मात्रै काम सकिएको सडकमा उड्ने धूलोका कारण स्थानीय र यात्रुहरुले सास्ती खेप्नुपर्ने बाध्यता छ । कालोपत्र नभएको ठाउँमा उड्ने धुलोका कारण सडक देख्नै समस्या हुने तथा खाल्डाखुल्डीका कारण दुर्घटनासमेत हुने गरेको छ । रासस

बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइन

फाइल फोटो ढोरपाटन । बागलुङको अत्यन्तै विकट मानिने रमुवा गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । गलकोट नगरपालिका–१० स्थित रमुवा गाउँमा विसं २०६२ सालमा लघु जलविद्युत पुगे पनि हिउँदको समयमा अन्धकारमा बस्नुपर्ने बाध्यता थियो । नेपाल विद्युत प्राधिकरणले यही वैशाख २४ गते केन्द्रीय प्रसारण लाइन बिस्तार गरेको हो । गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय हर्षित भएका छन् । बर्खाको समयमा मात्र बिजुली बाल्न पाउन रुमुवावासीले अब बाह्रै महिना विद्युत प्रयोग गर्न पाउने भएका छन् । १८ वर्ष अगाडि ठूलो खोला लघु जलविद्युत आयोजना सञ्चालनमा आएपछि रमुवा गाउँमा बिजुली पुगेको थियो । तर, खोलामा पानीको बहाव कम हुँदा समस्या भएको थियो । जसकारण गाउँमा बिजुली आपूर्तिमा समस्या हुँदै आएको थियो । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ७६ किलोमिटर उत्तर पश्चिममा रहेको रमुवा तुलनात्मकरुपमा विकटमा पर्छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको रमुवाका स्थानीय कृषि र पशुपालनमा आवद्ध रहँदै आएका छन् । गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय उत्पादनलाई प्रशोधन र बजारीकरणमा सहज पुग्ने विश्वास लिइएको छ । गलकोट नगरपालिका–१० का पूर्वअध्यक्ष तिलक घर्ती मगरले केन्द्रीय प्रसारण लाइन नहुँदा रमुवाका हजारौँ नागरिक अन्धकारमा बस्नुका साथै सूचना सञ्चारबाछ टाढा हुनु परेको बताए । गाउँमा सञ्चालनमा रहेको लघु जलविद्युत आयोजनाले एउटा चिम पनि नबल्न नसक्ने र नेपाल टेलिकमको टावरसमेत सञ्चालन नहुँदा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको उनको भनाइ छ । अब ती समस्या समाधान हुने विश्वास लिएको घर्ती मगरले बताए । ‘गाउँमा बिजुली छैन भन्दा घर–घरमा लाइन पुगेको थियो तर जलविद्युतले हिउँदको समयमा एउटा बल्ब (चिम) पनि बाल्न सक्दैनथ्यो, केन्द्रीय प्रसारण लाइन ल्याउनका लागि धेरै प्रयास गर्‍यौँ, बल्ल आयो,’ उनले भने, ‘केन्द्रीय प्रसारण लाइनले यहाँका हजारौँ नागरिकको मुहारमा खुसी ल्याएको छ, अब बाह्रै महिना बिजुलीको सुविधा हुने छ, यसले स्थानीयको दैनिकी नै बदलिने अपेक्षा लिएका छौँ ।’ नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले भौगोलिक विकटताका बाबजुत लामो समयको प्रयासमा यहाँ विद्युत पुर्‍याउन सफल भएको बताए । अघिल्लो वर्षदेखिनै रमुवामा विद्युत् पुर्‍याउनका लागि काम गरे पनि यस वर्ष पुगेको उनको भनाइ छ । रमुवामा लाइन ल्याउनका लागि करिब डेढ करोड रकम खर्च भएको प्रमुख पौडेलले बताए । ‘यो ठाउँ निकै विकट रहेछ, अघिल्लो वर्षनै विद्युत पुर्‍याउने गरि काम गरेका थियौँ तर भौगोलिक विकटताका कारण पुर्‍याउन सकिएन, यस वर्ष बल्लतल्ल सकियो, रमुवा गाउँको मुख्य समस्या स्थानीय हाइड्रोपावरले टेलिकमको टावर सञ्चालन गर्न पनि सक्दो रहेनछ,’ उनले भने ।