नदीजन्य वस्तु उत्खनन रोकिँदा विकास निर्माण प्रभावित
मुगु । मुगु जिल्लास्थित छायानाथ रारा नगरपालिकामा नदीजन्य वस्तु उत्खनन रोकिँदा निर्माण प्रभावित भएका छन् । स्थानीय प्रशासनले स्थानीय सरकारलाई वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन तयार गरेर मात्र नदीजन्य वस्तु उत्खनन तथा बिक्री वितरण निर्देशन दिएको थियो । प्रतिवेदन तयार नगरी गैरकानुनी तरिकाले उत्खनन तथा बिक्री वितरण गरी नदी दोहन गरिएको पाइएको जनाउँदै पछिल्लो समय प्रशासनले नदीजन्य वस्तु उत्खनन, खरिद र बिक्रीमा रोक लगाएको थियो । ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ अनुसार स्थानीय गाउँपालिका वा नगरपालिकाले आफ्ना कार्यक्षेत्रभित्र खोला, नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न वातावणीय प्रभाव अध्ययन गरी प्रतिवेदन तयार पारेर प्रतिवेदनमा उल्लिखित परिमाण र तोकिएको क्षेत्रमा मात्र नदीजन्य पदार्थ उत्खनन गर्नुपर्छ । लामो समय भइसक्दा पनि छायानाथ रारा नगरपालिका क्षेत्रमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी बिक्री, वितरण गरिरहेको र जथाभावी नदीजन्य पदार्थ दोहन हुँदा सडक, पुल र नदी आसपासको जमिनमा जोखिम बढ्न थालेपछि स्थानीय प्रशासनले अवैध नदीजन्य पदार्थ दोहन रोक्न गिट्टी, बालुवा, ढुङ्गा उत्खनन रोकेको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । मापदण्ड २०७९ अनुसार स्थानीय सरकारहरुले तयार पारेको वातावणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको अवधि तीन वर्षको हुन्छ । छायानाथ रारा नगरपालिकाले २०७६ सालमा प्रतिवेदन गरेर ठेक्कामार्फत नदीजन्य वस्तुको उत्खनन, खरिद बिक्री गर्दै आए पनि प्रतिवेदनको अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि नगरपालिकाले आइइइ नगरी अवैध रुपमा खरिद, ढुवानी गर्दै आएकाबाट शुल्क भने उठाउँदै आएको जनाइएको छ । गत शनिबारदेखि स्थानीय प्रशासनले नदीजन्य वस्तु गिट्टी, बालुवा, ढुङ्गा उत्खनन, खरिद बिक्री र ढुवानीमा रोक लगाएपछि गमगढी बजारमा निर्माणाधीन व्यक्तिगत घर र नगर क्षेत्रभित्रमा सञ्चालनमा रहेका, सम्झौता भएका नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारका योजना प्रभावित भएका छन् । नगरपालिकाको आर्थिक सहयोगमा निर्माणाधीन आँखा अस्पताल मुगुको भवन बनाउन समस्या भएको छ । निर्माण कम्पनीका प्रतिनिधि सन्तोषकुमार मल्ल भने, ‘आथिक वर्षको अन्तिममा विना सूचना गिट्टी, बालुवा, ढुङ्गा बन्द गरिँदा अब हामीले निर्माणको काम कसरी गर्ने ? यसको जिम्मा कस्ले लिने नगरपालिकाले लिने कि प्रहरी कार्यालयले लिने कि प्रशासन ।’ रारा बहुमुखी क्याम्पसको चारकोठे भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनीका प्रतिनिधि सुरेन्द्र रावल बाधा अड्काउ कसरी फुकाउने त्यो नगरपालिकाले जिम्मा लिनुपर्ने र समयमै काम नसकिए आफूहरु जिम्मेवार नहुने पनि बताए । नगर क्षेत्रका झुगेला, अल्कासाघु, भैसीकुना, घट्ट, बालै भन्ने स्थानबाट बालुवा, गिट्टी र ढुङ्गा उत्खनन तथा बिक्री हुँदै आएको छ । मुगु कर्णाली र गमगाढ खोला नदीजन्य वस्तुका प्रमुख स्रोत हुन् । आथिक वर्ष सकिन एक महिना मात्र बाँकी रहेका बेला विनासूचना नदीजन्य वस्तु, पदार्थ रोकिँदा निर्माण कम्पनी, उपभोक्ता समिति विकास निर्माणका काम कसरी गर्ने भनेर चिन्तित बनेका छन् । जिल्ला प्रहरी कार्यालयका मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले अवैध उत्खनन, खरिद, ढुवानी र बिक्रीमा निगरानी बढाएको बताए । छायानाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भाम नगरपालिकाले वातावणीय प्रभाव अध्ययन प्रतिवेदन तयार गर्नका लागि प्रक्रिया अघि बढाइरहेको जानकारी दिए । उनले नदीजन्य वस्तुमा स्थानीय प्रशासनले रोक लगाउँदा विकास निर्माणका काम ठप्प भई धेरै बजेट ‘फ्रिज’ जाने भएकाले नगरपालिका, स्थानीय प्रशासन र जिल्ला समन्वय समितिको समन्वयात्मक बैठक बसी छिट्टै बाधा अड्चन फुकाउने बताए । रासस
नवलपुरमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध
नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिए । अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको उनले बताए । यसैबीच भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् । ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन गई यात्रु घाइते भएका प्रहरी नायब उपरीक्षक पौडेलले बताए । सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको उनले बताए ।
नदी कटान नियन्त्रण गर्न ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८ स्थित म्याग्दी उद्योग वाणिज्य सङ्घको भवन पछाडिसम्म कालीगण्डकी नदी किनारमा नयाँ प्रविधिको पक्की पर्खाल निर्माण भएको हो । सो योजना निर्माणका लागि रु नौ करोड ५६ लाखमा विसं २०७८ पुसमा रौताह–बिएनबी जेभीले ठेक्का सम्झौता गरेको थियो । कालीगण्डकीको कटानबाट उच्च जोखिम रहेको सो क्षेत्रमा एक सय ४० मिटर लम्बाइ भएको काउन्टर फोर्ट ९नयाँ प्रविधिको हेभी पर्खाल० र ३० मिटर ग्राभेटी प्रविधिको पर्खाल निर्माण गर्ने काम सकिएको रौताह–बिएनबी जेभीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताए । उनका अनुसार नदी किनारमा १४ मिटर फराकिलो जग ढलान गरी ३२, १६ र १२ एमएमको गोलाइ भएका रडहरू प्रयोग गरी दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र आठ मिटर अग्लो पक्की पर्खाल निर्माण गरिएको छ । पर्खाल निर्माणका लागि कालीगण्डकी नदीलाई डाइभर्सन गरिएको थियो । यो ठेक्कामार्फत् यसअघि कालीपुल बसपार्कमा ८० मिटर लामो, आठ मिटर अग्लो ग्राभिटी र मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा ४६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो । विसं २०८१ वैशाखसम्म ठेक्का सम्झौताको म्याद भए पनि २०८० चैतमै निर्माण सकिएको रौताह-बिएनबीका प्रतिनिधि श्रेष्ठले बताए । परियोजनामार्फत् करिब ४८ करोड लागतमा सञ्चालित सातमध्ये चारवटा योजना सम्पन्न भएका र थप तीनवटा सम्पन्न हुने चरणमा छन् । परियोजनाका प्रमुख कालीबहादुर शाहीले ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका योजनाको ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको बताए । बेनी नगरपालिका–२ भसभसेस्थित म्याग्दी र कालीगण्डकीको दोभानमा ७५ मिटर लम्बाइ भएको कम्पोजिट पर्खाल निर्माण गर्न दुई करोड ३० लाखमा ठेक्का लिएको हिमालयन कन्ट्रक्सनले दुई वर्षको काम चार महिनामै सकेको थियो । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा रहेको कालीगण्डकी आमा समूहको भवन पछाडि ८४ मिटर लामो र आठ मिटर अग्लो पर्खाल बनाउन रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले शुरू गरेको चार महिनामै ९० प्रतिशत निर्माण सकेको परियोजनाका इन्जिनियर कृष्ण विश्वकर्माले बताए । जलजला गाउँपालिका–२ र ३ नं वडामा पर्ने बगरफाँटस्थित कालीगण्डकी किनारमा ९० मिटर लामो कम्पोजिट पर्खाल निर्माण गर्न तीन करोड २० लाखमा माछापुच्छ्रे निर्माण सेवाले ठेक्का लिएको योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । जलजला–२ राममन्दिर संरक्षणका लागि कालीगण्डकी नदी किनारमा एक सय ३८ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यो योजना निर्माणका लागि माछापुच्छ्रे निर्माण सेवाले चार करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा दुई सय ६२ मिटर कम्पोजिट पर्खाल बनाउन १२ करोड ३७ लाखमा ठेक्का लिएको सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुरेश खड्काले बर्खाअघि नै निर्माण सकिने बताए । बेनी नगरपालिका–९ गलेश्वरस्थित राहुघाट र कालीगण्डकी नदी किनारमा एक सय १० मिटर कम्पोजिट पर्खाल निर्माण गर्न भाग्यलक्ष्मी कन्ट्रक्सनले दुई करोड २५ लाखमा ठेक्का लिएको थियो । राहुघाट नदी किनारमा पर्खाल निर्माण भइसकेको र कालीगण्डकी किनारमा दुई–तीन दिनमा सकिने निर्माण कम्पनीका प्रतिनिधिले जनाएका छन् । सबै योजना निर्धारित समयभित्रै काम सकिएका र सम्पन्न हुने चरणमा रहे पनि भुक्तानी नपाउँदा समस्या भएको निर्माण कम्पनीका सञ्चालकले गुनासो गरेका छन् । चालु आवमा रु नौ करोड विनियोजन भएको बजेट भुक्तानी भइसकेको र थप नौ करोड बजेट रकमान्तरणका लागि सङ्घीय अर्थ मन्त्रालयमा कागजात पेस गरेको परियोजनाका प्रमुख शाहीले बताए । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि गत वर्ष एक अर्ब १९ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्वीकृत गराएको थियो । बेनी नगरपालिका–४ सिङ्गा तातोपानी बजार संरक्षणका लागि परियोजनामार्फत काम गर्न आगामी आवमा बजेट प्रस्ताव गरिएको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले परियोजनामार्फत कालीगण्डकी र म्याग्दी नदी किनारमा कटान नियन्त्रणका लागि स्वीकृत डिपिआरअनुसार थप बजेट व्यवस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमा पहल गरिएको बताए । रासस