पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित
म्याग्दी । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन् । पक्की पुलले मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट र मङ्गला गाउँपालिकाको वडा नं ५ मा पर्ने छिसबाङलाई दरबाङसँग जोडेपछि यहाँका पाँच हजार बढी जनता लाभान्वित हुनुका साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पुर्याउन सहज भएको छ । विसं २०७७ साउन ४ गते चार करोड ४५ लाख ८१ हजारमा पूर्वाधार विकास कार्यालयले प्रदीप जुम्ली जेभीसँग ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रस’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले बताए । पुल निर्माणपछि मालिका गाउँपालिका–१ निस्कोट, २ रुमका साथै मङ्गला गाउँपालिका–५ का छिसवाङ, टिकवाङ र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधारण लाभान्वित भएका मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए। उनका अनुसार पुल निर्माणसँगै निस्कोटबाट मङ्गलाको टिकवाङ–रुम–बागलुङको ताराखोला–खोप्टी–छिसवाङसम्म सडक सञ्जाल विस्तार भएको छ । ‘१४ वर्षअघि सडक पुगेको निस्कोट म्याग्दी नदीमाथि पक्की पुल नहुँदा पालिकाको केन्द्र दरबाङ यातायात सेवाबाट विच्छेद थियो। हिउँदमा नदीबाट नै जोखिमपूर्ण यात्रा गरे पनि बर्खामा समस्या थियो, छ्यारछ्यारेमा पुल बनेपछि सिङ्गो वडामा बाह्रै महिना यातायात सम्पर्क स्थापित भएको छ,’ अध्यक्ष पुनले भने । ‘पुल बनेपछि निकै सहज भएको छ, अब नदीमा हेलिएर वारपार गर्नुपर्ने समस्या छैन,ु मङ्गला–५ छिसबाङका विकल सेनले भने, ‘स्थानीयले उत्पादन गरेका तरकारी, फलफूल, कृषि उपज र दुग्धजन्य पदार्थको बजारीकरणमा पनि पुलले निकै भएको छ ।’ त्यसैगरी मालिका गाउँपालिका–१ निस्कोटका रामबहादुर पुनले पनि आफूले उत्पादन गरेको तरकारी र सुन्तला बिक्रीका लागि पुल बनेपछि निकै सजिलो भएको बताए ।
ढल्केबर-इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
काठमाडौं । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए । ‘पूर्वी खण्डको काम सम्पन्न हुने चरणमा छ । ढल्केबर पश्चिम खण्डमा भने विभिन्न स्थानमा अझै पनि अवरोध छ । अवरोध हटाएर आयोजना सम्पन्न गर्न हामी लागिपरेका छौँ,’ उनले भने । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना सुरु गरिए पनि स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगलगायत समस्याका कारण रुग्ण बन्दै आएको छ । पूर्वी खण्डको काम सम्पन्न भएपछि माथिल्लो तामाकोशीलगायत आयोजनाको बिजुली पूर्वी भागका औद्योगिक क्षेत्रमा मागअनुसार आपूर्ति गर्न सहज हुनेछ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ दुई सय ८८ किलोमिटर छ । पूर्वी खण्डको काम प्रायः पूरा भएकाले उद्घाटनको तयारी भएको तथा त्यसनिम्ति ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अनुरोध गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर एक सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा एक सय ५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी विगत ११ वर्षदेखि काम जारी छ । पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि सात सय ९२ वटा टावर निर्माण गर्नुपर्छ । धेरै जसो टावरको काम भए पनि स्थानीयवासीले प्रसारण लाइनको मार्ग स्थानान्तरण गरिदिन माग गर्दै अवरोध गरेका कारण बाँकी ३५ वटा टावरको काम नै रोकिएको छ । मोरङ–सुनसारी औद्योगिक करिडोरलगायत समग्र पूर्वी नेपालको माग धान्नका लागि भारतबाट थप विद्युत् आयात तथा वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत निर्यात गर्न यो प्रसारण लाइन जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्वका हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो ठूलो विपत आउनसक्ने बताए । कूल ४००/२२० केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । हेटौँडा उपमहानगरपालिका वडाहरु १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४, हेटौँडा–११ स्थित थानाभर्याङमा दुई र जियाजोर क्षेत्रमा आठवटा टावर निर्माणमा अवरोध छ । थानाभर्याङमा रहेको सबस्टेसनमा लाइन जडानका लागि दुईवटा टावर निर्माण गर्नुपर्नेछ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुनेछन् । स्थानीयको अवरोध अन्त्य गर्न प्राधिकरणको निरन्तर प्रयास जारी छ । यद्यपि यसमा सफलता प्राप्त भएको छैन । प्रसारण लाइन मकवानपुरबाट बारा– रौतहट,–सर्लाही–महोत्तरी–धनुषा–सिराहा–उदयपुर–सप्तरीहुँदै सुनसरीको इनरुवासम्म निर्माण हुनेछ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले निर्माण प्रभावित भएको छ । कुल ३० महिनामा निर्माण सम्पन्न गर्ने २०६९ सालको माघमा ठेक्का सम्झौता भएको थियो । हेटौँडा–ढल्केबर–इनरुवा चार सय ४० केभी प्रसारण लाइन विद्यमान एक सय ३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ २३ मिटर हुनेछ । आयोजनाले पाँच सय १८ हेक्टर वन क्षेत्रमा रहेका रूखहरु काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिम अधिग्रहण गर्नुपर्नेछ । मार्गाधिकारमा चार सय ७५ हेक्टर निजी जग्गा र एक सय ७१ वटा घर तथा अन्य संरचना प्रभावित हुनेछन् । कुल १७ करोड अमेरिकी डलर अनुमानित लागतको आयोजनामा नेपाल सरकार, विद्युत प्राधिकरणको लगानी छ । यसअघि सो आयोजनाका लागि विश्व बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो । विश्व बैंकले आयोजनाबाट हात झिकेपछिको ऋण प्रवाह रोकिएसँगै बाँकी काम सरकार र प्राधिकरणले पूरा गर्नुपर्नेछ ।
धुलिखेल-खावा सडकखण्ड २ दिन बन्द
काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि बन्द भएको छ । सडक स्तरोन्नति जारी रहेकाले शनिबार र आइतबार दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै अरनिको राजमार्ग (धुलिखेल–जिरोकिलो–खावा खण्ड) शनिबारदेखि दुई दिन दिउँसोको समयमा बन्द रहने जनाएको हो । राजमार्गको धुलिखेल जिरोकिलो–खावा खण्डमा थप मर्मत तथा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, सरोकार भएका निकाय तथा स्थानीयकाबीच यही जेठ ७ गते उक्त खण्ड दुई दिनसम्म बन्द गर्ने निर्णय भएसँगै शनिबार र आइतबार बन्द गरी स्तरोन्नति थालिएको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी एवं इञ्जिनियर सुमन बस्नेतले जानकारी दिए । बैठकको निर्णयअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारीसाधनबाहेक सबै किसिमका यातायात सञ्चालन पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए । बन्द अवधिभर वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यलाई सहयोग गरिदिन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ । सो समय अवधिमा काठमाडौँ–बनेपा हुँदै पाँचखालतर्फ जाने सवारीसाधनका लागि होराइजन होटल हुँदै आगन्तुक होटल–रविओपी हुँदै पाँचखालको बाटो प्रयोग गर्न आग्रह सूचना अधिकारी बस्नेतको भनाइ छ । उनका अनुसार साना सवारीसाधनका लागि बनेपा चारदोबाटो–रविओपी हुँदै पाँचखालको बाटोलाई वैकल्पिक मार्गका रूपमा व्यवस्था गरिएको छ । साना सवारीसाधनका लागि बिपी राजमार्ग-तिनपिप्ले-पाँचखालको बाटो वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न र दोलालघाट पाँचखाल हुँदै काठमाडौंतर्फ जाने सबैखाले सवारीसाधनका लागि जिरोकिलो-कुन्ताबेंसी नगरकोट सडक प्रयोग गर्न आग्रह गरिएको सूचना अधिकारी बस्नेतले बताए । उक्तस्थान (धुलिखेल र पाँचखाल) चोकमा रोकिएका सबै सवारीसाधनलाई बन्द अवधिपछि मात्र छोडिने सडक विभागले जनाएको छ । यसअघि जेठ ८ र ९ गते दुई दिन सडक विभागले यसरी नै सवारीसाधनलाई वैकल्पिक सडकको व्यवस्था गरी स्तरोन्नतिको काम गरेको थियो । साथै जेठ १० र ११ गते सडक नियमित सञ्चालन गरी स्तरोन्नतिको काम गरिएको थियो । ‘जेठ ८ र ९ गते आवागमन बन्द गरेर काम गर्दा कामको प्रगति धेरै भएको थियो । साथै १० र ११ गते नियमित आवागमन सञ्चालन गरी काम गर्दा कामले गति लिन सकेको थिएन’, सूचना अधिकारी बस्नेतले भने । सडक बन्द गरी काम गर्दा प्रगति धेरै भएको पाइएकाले जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर पुनःदुई दिन उक्त खण्ड बन्द गरी कामलाई तीव्रता दिइएको उनले जानकारी दिए । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ स्थित पाट्नेखोला साँघुको मुखबाट ग्वाभञ्याङभित्रका सडकखण्डअन्तर्गत सिन्का फ्याक्ट्री मुसेखोल्सामा सोमबारदेखि ढलान कार्य सुरु हुने भएकाले सो सडक भएर आवतजावत गर्ने प्रयोगकर्तालाई वैकल्पिक बाटो प्रयोग गर्न वडा कार्यालयले आग्रह गरेको छ । बेथानचोक गाउँपालिकाको गौरवको कार्यक्रममार्फत प्रत्येक वर्ष पाँच किमी बाटो कालोपत्र गर्ने योजनाअनुसार चालु आर्थिक वर्षको कार्यक्रम पाट्नेखोला साँघुको मुखबाट ग्वाभञ्याङसम्म सञ्चालन हुने सडकखण्ड परेको सार्वजनिक सूचना जारी गर्दै जानकारी दिइएको बेथानचोक–२ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले बताए । उक्त सडकखण्ड भएर सञ्चालित सवारीसाधनका लागि वैकल्पिक मार्ग बसपार्क–बादुरेमुडा–डाँडाघर खण्ड प्रयोग गर्न आग्रह गरिएको उनले जानकारी दिए ।