दोर्दी खोलाको कटअफ मूल्य साधारणको २७० रुपैयाँ र संस्थापकको २६५ रुपैयाँ
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको सेयरको कटअप मूल्य निर्धारण गरिएको छ । कम्पनीले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य प्रतिकित्ता २७० रुपैयाँ निर्धारण भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको संस्थापक समूहको (लकइनमा रहेको) सेयरको कटअफ मूल्य २६५ रुपैयाँ कायम भएको छ । यस्तै, सर्वसाधारण समूहको (लकइनमा रहेको) सेयरकाे कटअफ मूल्य प्रतिकित्ता २७० रुपैयाँ निर्धारण भएको कम्पनीले जनाएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँ दरका संस्थापक समूहको (लकइनमा रहेको) १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण समूहको (लकइनमा रहेको) १ लाख ६५ हजार ९५६ कित्ता र सर्वसाधारण समूहको ४ लाख ९५ हजार ६७९ कित्ता (लकईनमा नरहेको) गरी कुल १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित सेयर जेठ ११ गतेदेखि जेठ २० गतेसम्म बिक्री खुला गरेको थियो । कम्पनीको उक्त सेयर खरिदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरुको प्रशोधन गरि निष्काशनकर्ता कम्पनीले जेठ २८ गते बाँडफाँड गरिएको जनाएको छ । कटअफ मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको तथा सर्वसाधारण समूहको (लकइनमा नरहेको) हकमा माग भन्दा कम सेयर खरिदको लागि आवेदन प्राप्त भएकोले रितपुर्वक आवेदन पेश गर्नेहरूलाई माग बमोजिम बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । बाँडफाँटकाे विवरण बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिनेछ । बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी जेठ ३० गते शुक्रबारदेखि आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आइपीएस मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । सर्वसाधारण समूह (लकइनमा नरहेको) तर्फ ९३ हजार ६२९ कित्ता सेयरको लागि आवेदन नपरेकाले पुनः लिलाम बिक्री गरिने कम्पनीले जनाएको छ ।
'चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
गलेश्वर । कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ (रिङरोड) स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको छ । नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथ चिटिक्क देखिएको छ । नेपाल सरकारको देशभर १० वटा नमूना नगरपालिका बनाउने कार्यक्रमअन्तर्गत तीन करोड १९ लाख रुपैयाँको लगानीमा बेनीबजारस्थित चक्रपथ स्तरोन्नतिको काम पूरा भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । बेनी नगरपालिका–८, कालीपुलदेखि दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म करिब ९०० मिटर लम्बाइ र पाँचदेखि छ मिटर चौडाइको सडकमा नालीसमेत निर्माण गरिएको छ । यसरी बेनी बजारको बाहिरी क्षेत्र कालीगण्डकी र म्याग्दी नदीको किनारैकिनार चक्रपथ बनेपछि सवारीसाधन आवागमनमा सहज भएको र बजार क्षेत्रको भित्री भागमा सवारीसाधनको चाप घटी दुर्घटनाको जोखिम पनि कम भएको नगरप्रमुख केसीले स्पष्ट गरे । बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनीबजार संरक्षणका लागि ‘आरसिसी’ तथा ‘मेसिनरी’ तटबन्ध निर्माणको कामले निरन्तरता पाइरहेको छ । विसं २०७३ मा कालीगण्डकी नदी किनारमा पक्की र म्याग्दी नदी किनारमा मेसिनरी पर्खाल लगाउने गरी जल उत्पन्न प्रकोप नियन्त्रण सव–डिभिजन कार्यालय बागलुङले बेनी बजार संरक्षण आयोजना सुरु गरेको थियो । विसं २०७२ मा कालीगण्डकी किनारमा रु एक करोड ८८ लाखको लागतमा १२४ दशमलव पाँच मिटर र २०७० सालमा ६३ मिटर पक्की पर्खाल निर्माण गरिएको थियो । यसैबीच सिँचाइ मन्त्रालयले बेनीबजार संरक्षण कार्यक्रमको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० स्वीकृत गरेको थियो । कालीगण्डकी र म्याग्दीको सङ्गमस्थलमा रहेको बेनीबजार १७ औँ शताब्दीमा बस्ती विस्तार भएको एक ऐतिहासिक एवं रमणीय बस्ती हो । इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार १६३१ सालमा पर्वत राज्यको विखण्डन भएपछि पर्वत सातौँ राजा मलेबम मल्लले पर्वत राज्यको राजधानी बेनीमा सारेपछि व्यावसायिक यात्राको सुरुआत र बस्ती विस्तार भएको हो । अन्नपूर्ण सर्किटअन्तर्गत प्रमुख पर्यटकीय आकर्षण र बासस्थान बनेको बेनी बजार राजधानी काठमाडौंदेखि करिब ३०० किलोमिटर पश्चिममा अवस्थित छ । सदरमुकाम बेनी र आसपासका क्षेत्रबाट अन्नपूर्ण, धौलागिरि, नीलगिरि, चुरैन, मानापाथी र गुर्जासहित एक दर्जनभन्दा बढी हिमशृङ्खला देख्न सकिन्छ । रासस
बीपी राजमार्ग पुन:निर्माणले लियो गति, अरबौंको ठेक्का बाँडफाँड हुँदै
काठमाडौं । गत असोज दोस्रो साता आएको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको पुन:निर्माणले गति लिन थालेको छ । सरकारले विभिन्न खण्डमा ठेक्का प्रक्रिया तीव्र बनाएसँगै निर्माण कार्य अघि बढ्ने संकेत देखिएको हो। चार खण्डमा विभाजन गरिएको बीपी राजमार्ग पुन:निर्माणको दोस्रो खण्डको ठेक्का समेत लगाइएको छ । सिन्धुलीतर्फ पर्ने बर्खेखोला-नेपालथोकसम्मको ४ किलोमिटर सडक पुन:निर्माणको ठेक्का खरीढुंगा-रघिसिङ-रक्षितिज जेभीले प्राप्त गरेको सडक डिभिजन कार्यालय, भक्तपुरले जनाएको छ । डिभिजन कार्यालयका अनुसार यो खण्डको ठेक्का पाउन ११ निर्माण कम्पनीले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये सबैभन्दा कम लागतमा प्रस्ताव गर्ने खरिढुंगा-रघिसिङ-रक्षितिज जेभीलाई ठेक्का दिइएको हो । कुल लागत १ अर्ब रुपैयाँ अनुमान गरिए पनि उक्त जेभीले ६१ करोड १४ लाख रुपैयाँमा निर्माण गर्न सहमति जनाएको छ । यसअघि गत साता मात्र काभ्रे खण्डको चारसयबेंसीदेखि डालबेंसीसम्मको ८।५ किलोमिटर सडक पुनर्निर्माणको ठेक्का पनि लगाइएको थियो । सो खण्डको पुन:निर्माण कार्य थानी-एवान-रकमलजीत जेभीले पाएको हो, जसको ठेक्का मूल्य १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । कम्पनी चयन प्रक्रिया सम्पन्न भएसँगै अब चाँडै सम्झौता गरी निर्माण कार्य सुरु गरिने डिभिजन कार्यालयले जनाएको छ ।