ग्वार्को फ्लाई ओभरको संरचना निर्माण सम्पन्न, छिट्टै सञ्चालनमा आउने

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ ।  निरीक्षणका क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माण नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले जनाए । सडक विभागका महानिर्देशक डा विजय जैसीले मुख्य संरचनाको निर्माण पूरा भएको भन्दै केही दिनभित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने जानकारी दिए । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले अब फ्लाई ओभरको मध्य भागमा ‘डिभाइडर’ राख्ने र केही सामान्य कामहरू बाँकी रहेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे । तेइस दिन भित्रै बाँकी काम पूरा भएपछि यातायात सञ्चालनका लागि खुला गरिने उनले जानकारी दिए ।  पूर्वनिर्धारित समयमा निर्माण पूरा हुन नसकेपछि मन्त्री दाहालले पटकपटक निरीक्षण र अनुगमन गरेपछि तीव्र गतिमा काम गर्न निर्देशन दिएका थिए । सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।  

विद्युत् पहुँच नभएका डोल्पाका ५ पालिकामा सोलार वितरण, कर्णालीका बस्तीहरू उज्यालो हुँदै

काँक्रेविहार । विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य ऊर्जा) वितरण सुरु गरिएको छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । छार्काताङसोङ गाउँपालिकाको छ वटा वडाहरुमा ६६ लाख रुपैयाँ आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । त्यस्तै काइके गाउँपालिकाको दलित बस्ती रहेको वनढाडामा २० लाख रुपैयाँको ७५ घरधुरीलाई सोलार वितरणको काम समेत भइरहेको प्रमुख गिरीले बताए । डोल्पोबुद्ध गाउँपालिका–६ मा २५ लाख रुपैयाँ लागततमा ८० घरधुरीलाई सोलार वितरणको कार्य सुरु गरिएको छ । उपल्लो डोल्पाकै शे फोक्सुण्डो गाउँपालिका–१ मा २० लाख रुपैयाँमा ४५ घरधुरीलाई सोलार वितरणको काम भएको उनले जानकारी दिए । ठूलीभेरी नगरपालिका–११ स्थित गाउँमा स्थानीयवासी र कार्यालयको साझेदारीमा ३० लाख रुपैयाँमा १५५ घरधुरीलाई सोलार वितरणको काम अन्तिम चरणमा पुगेको छ । विद्युत्को पहुँच नपुगेका कर्णालीका जिल्लाहरुमा विद्युत्को पहुँच विस्तार गर्ने कार्यक्रमअन्तर्गत सोलार वितरण गरिएको छ ।  

देशमा अघोषित लोडसेडिङ, बंगलादेशलाई बिजुली बेच्दै  प्राधिकरण

काठमाडौं । देशभर अघोषित लोडसेडिङको गुनासो चुलिँदै गर्दा नेपाल विद्युत प्राधिकरण भने विदेशी बजारमा बिजुली बेच्नमा केन्द्रित भएको छ ।  भारतलाई दैनिक सयौं मेगावाट बिजुली बेचिरहेको प्राधिकरणले‍ आगामी असार १ गतेदेखि बंगलादेशलाई पनि ४० मेगावाट विद्युत बेच्ने तयारी पूरा भएको छ । विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार शनिबारदेखि रातको समयमा भारततर्फ दैनिक १५०-२०० मेगावाट विद्युत् पठाइएको छ । यही मार्ग हुँदै बंगलादेशलाई पनि आपूर्ति गरिने उनले जानकारी दिए । भारतको बहरमपुर–भेरामारा ५० मेगावाट क्षमताको प्रसारण लाइनमार्फत बंगलादेशतर्फ विद्युत निर्यात हुने जनाइएको छ । नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ६ महिनासम्म प्रतिदिन ४० मेगावाट विद्युत् निर्यात गर्नेछ । यो कारोबारको दर प्रतियुनिट ६.४ अमेरिकी सेन्ट, अर्थात् झण्डै ८ रुपैयाँ ८० पैसा तोकिएको छ । भारतले विद्युत् आयातको स्वीकृति प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रणालीले गर्दा नेपालभित्र उत्पादित बिजुली अनुमति अभावमा खेर जाने अवस्था बारम्बार देखिएको छ । चालू वर्षमा भारतले दिएको निर्यात स्वीकृति ९४० मेगावाट मात्र हो, जबकि नेपालसँग १ हजार ५०० मेगावाटसम्म प्रवाह गर्न सक्ने पूर्वाधार छ ।  थप ३५० मेगावाटको स्वीकृति माग गरिए पनि प्रक्रिया भारतको विदेश मन्त्रालयको अनुमति र नेपालकै राजनीतिक अन्योलताका कारण अघि नबढेको प्राधिकरणले जनाएको छ । नेपालमा विद्युत् उत्पादन क्षमता बढिरहेको भए पनि आन्तरिक खपत नबढ्नु, प्रसारण लाइन अभाव र पूर्वाधारको असमान वितरणले विद्युत् खेर जाने समस्या उत्तिकै छ । प्रवक्ता ढकालका अनुसार बंगलादेश पावर डेभलपमेन्ट बोर्डले खरिदका लागि आवश्यक कागजात बुझाइसकेको छ र भारतको नेशनल लोड डिस्प्याच सेन्टरसँग प्राविधिक समन्वय सकिएको छ । उनले अब बिना अवरोध असार १ गतेबाट आपूर्ति सुरु हुने जानकारी दिए । देशभर उपभोक्ताको बिजुलीको पहुँच असमान छ । कतै घण्टौं लोडसेडिङ, कतै भोल्टेज समस्या । तर नेपाल विद्युत् प्राधिकरण भने ती समस्याको समाधानभन्दा विदेशी निर्यातमै व्यस्त छ ।