रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य
रसुवा । नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको थियो । चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ । पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिए । पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ । चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साविक सतहमा लाने काम अगाडि बढाइसकेको छ । बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिए । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।
पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने समय थपियो
काठमाडौं । पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ । असार २२ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा अब लगानीकर्ताहरुले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको हो । कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो । त्यसैले असार १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
बुङ्गल हाइड्रोको आईपीओमा स्थानीयले आवेदन दिने समय लम्बियो
काठमाडौं । बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । असार २९ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आवेदन दिने समय आज साउन ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५ सय कित्ता सेयरमा अति प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिका वडा नं। ६ ९साविक पिपलकोट गा।वि।स। वडा नं. ४, ५ र ७० र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १० का स्थानीय र २ लाख ९० हजार ५ सय कित्ता सेयरमा सामान्य प्रभावित क्षेत्र बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयहरूले आवेदन दिन पाउनेछन् । साथै, सर्वसाधारणलाई छुट्याइएको २० करोड ७५ लाख रुपैयाँको २० लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै बुङ्गल हाइड्रोको रजिस्टर्ड कार्यालय धोबी घाट ललितपुर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्युँ शाखा, कृषि विकास बैंकको बुङ्गल शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा र आयोजना स्थान खौलाधारबाट समेत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।