नेपाली सडक अब कालोपत्रे होइन, सेतोपत्रे बनाइनुपर्छ : अध्यक्ष मारु
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले नेपाली सडकलाई निर्माण गर्न अब कंक्रिट नै प्रयोग गर्नुपर्ने बताएको छ । 'कालोपत्रे होइन, अब सेतोपत्रे गरौं' भन्ने नारासहित संघले सोमबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै यस्तो बताएको हो । नेपालमा सडक निर्माण गर्दा बिटुमिनका सडकको सट्टा कंक्रिट सडकलाई प्राथमिकता दिनुपर्ने संघका अध्यक्ष रघुनन्दन मारुले बताए । उनले अब गाउँ-गाउँमा बन्ने सबै सडकहरू कंक्रिटयुक्त बनाइनुपर्नेमा जोड दिए । बिटुमिनबाट निर्माण गरिएका सडक कम टिक्ने बताउँदै कंक्रिटको प्रयोग भए लामो वर्षसम्म टिक्ने उनको दाबी छ । उनले नेपालमा बिटुमिनबाट बन्ने सडकको तुलनामा कंक्रिट सडकको सुरुवाती लागत महँगो भए पनि दीर्घकालीन फाइदा हुने बताए। अध्यक्ष मारुले भने, 'हामी छ्ड, सिमेन्ट, ढुंगा, बालुवा गिट्टी सबैमा आत्मनिर्भर छौं । बिटुमिन आयातित वस्तु हो, जुन लामो समयसम्म टिकाउ हुँदैन । त्यसमा पनि किनेर ल्याउनुपर्ने झन्झट छ । कंक्रिटको सडक निर्माण गर्न बालुवा, गिट्टी र सिमेन्ट भए पुग्छ, जुन हामीसँग पर्याप्त छ । अब नेपालको सडक निर्माणमा बिटमिन होइन, कंक्रिट नै लागु गर्नुपर्छ ।' दीर्घकालीन रूपमा खर्चको हिसाब हेर्ने हो भने बिटमिनको सडकको तुलनामा कंक्रिट सडकको लागत सस्तो हुने उनको भनाइ छ । उनले अब कंक्रिट सडकलाई मान्यता दिन संविधानबाटै पारित गर्न सरकारसँग आग्रह गरे । यसैगरी, बिटुमिनका लागि डलर चाहिने तर कंक्रिट सडक बनाउन आफ्नै स्रोत साधन खर्च हुने उद्योगमन्त्री दामोदर भण्डारी बताउँछन् । उनले देशभर बाटोको समस्या रहेको बताउँदै सरकारको खर्च हुने क्षेत्र पूर्वाधार भएको र यसमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले भने, 'अगाडिबाट नेपाल सडक निर्माण गर्दै जाने अनि पछाडिबाट भत्किँदै जाने गरेका छन् । यो ठूलो समस्या छ । यसका लागि हामीले अब कंक्रिट सडकमा ध्यान दिइनुपर्छ । हामी सिमेन्ट र छडमा आत्मनिर्भर छौं । यति मात्रै हैन, हामीसँग धेरै स्रोतसाधन छ । अब यसमा सबैले ध्यान दिनुपर्ने जरुरी छ ।' मन्त्री भण्डारीका अनुसार बिटुमिनको आयु १० देखि २० वर्ष र कंक्रिट सडकको आयु ३० देखि ४० वर्षसम्म हुने गरेकाे छ । सहज यात्रा लागि व्यवस्थित सडक आवश्यक रहेको र यसको लागि छिट्टै कानुन बनाउनुपर्नेमा उनको जोड छ । उनले सडक निर्माणको काममा उद्योग मन्त्रालयबाट गर्नुपर्ने साथ सहयोगका लागि आफू सधैं प्रतिबद्ध रहेको बताए । यसैगरी, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कंक्रिट सडक निर्माणको अवधारणा चाँडै लागु हुनुपर्ने बताए । यसमा सरकारको साथसहयोग रहने उनकाे भनाइ छ । उनले स्थानीय सरकारले अब सिमेन्टको प्रयोग गरी कंक्रिट सडक निर्माणमा लाग्न आग्रह गरे । मन्त्री सिंहले भने, 'हाम्रै देशमा उत्पादनमा भएको सिमेन्टको प्रयोग गरी अब कंक्रिट सडक बनाइनुपर्छ । आफ्नै उत्पादन, आफ्नै निर्माणलाई जोड दिनुपर्छ । सरकार सधैं तपाईंहरूकै साथमा छ, यसमा ढुक्क हुनूहोस् । नेपालमा २२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको छ ।' उनले लागतभन्दा आफ्नै देशमा उत्पादन भएका सामाग्रीलाई प्रयोगमा ल्याउन जोड दिनुपर्ने बताए ।
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल, सभामुख घिमिरे र पूर्वाधारमन्त्री दाहालको चासो
काठमाडौं । अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माई नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् । स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उनी भन्छन्, ‘पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।’ हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ । बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ । अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको बताए । ‘सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ,’ उनले भने, ‘उहाँहरूले पुलको अवस्था हेर्नु भएको पनि छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौँ ।’ नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उहाँले सङ्घीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताए । पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उनको भनाइ छ । वि.संं २०६५ सालमा भारत सरकारको २ करोड रुपैयाँको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए । सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपिन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको बताए ।
बर्खा लागेपिछ धुलिखेल-साँगा सडकको कालोपत्रे शुरु
काठमाडौं । स्तरोन्नतिको काम जारी रहेको साँगा-धुलिखेल सडक खण्डको कालोपत्र शुरु भएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ । अरनिको राजमार्गअन्तर्गत साँगा-धुलिखेल सडक खण्ड ६ लेनमा विस्तार भइरहेको छ । सूर्यविनायक-साँगा र साँगा-धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा साँगा-धुलिखेल खण्ड कालोपत्र शुरु गरिएको हो । धुलिखेल मुख्य चोकदेखि बनेपातर्फको बाँसघारीसम्म एक किलोमिटर सडक अहिले कालोपत्र शुरु गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए । हाल आधुनिक प्रविधिबाट कालोपत्रको पहिलो तह सकेर दोस्रो तहको काम भइरहेको जनाइएको छ । खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्र हुने छ । पहिलो तहमा ३० देखि ३५ समीको ‘सबबेस’, त्यसपछि २० सेमीको ‘सिटिपी’ गरी त्यसमाथि १० सेमीको ‘क्र्याक-रिलिफ लेयर’ हालेर त्यसमाथि ११ देखि १३ सेमीको ‘डिबिएम’ गरी त्यसमाथि ६ सेमीको ‘आस्पाल्ट कङ्क्रिट लेयर’ गरी जम्मा ८० सेमीको आधुनिक प्रविधिबाट कालोपत्र भइरहेको हो । सूर्यविनायक-धुलिखेलसम्म १६ किलोमिटर दुरी छ । जसमा सूर्यविनायक-साँगा ७.५ किमी र साँगा-धुलिखेल ८.५ किमी छ । यो दुरीमा ६ लेन सडक विस्तार तीन वर्षमा सम्पन्न गर्ने गरी दुई खण्ड, दुई चरणमा ठेक्का सम्झौता गरिएको थियो । सूर्यविनायक-साँगासम्मको ठेक्का विसं २०७९ मङ्सिर र साँगा-धुलिखेलसम्मको ठेक्का सम्झौता २०७९ पुसमा गरिएको थियो । सडक खण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बनाउने ठेक्का सम्झौता छ । इन्जिनियर खनालका अनुसार हालसम्म साँगा–धुलिखेल सडकखण्डको भौतिक प्रगति करिब ५० प्रतिशत सम्पन्न भएको छ । हाल शुरु गरिएको तीन किमी कालोपत्रे असार मसान्तभित्र सकेर करिब ६० प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य आयोजनाको छ । यो आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडक खण्ड विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडक खण्ड ३ अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप दिनहुँ बढिरहेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वीतराईका लामा दुरीका सवारी मात्र दैनिक २ हजार ५०० भन्दा बढी गुड्ने गरेका छन् ।