बिर्तामोडमा एक अर्ब बढीको लागतमा १४ किलोमिटर सडक कालोपत्र
बिर्तामोड । संघ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ । विश्व बैंकको आर्थिक सहयोग रहेको वडा नम्बर ६, ७ र ८ जोड्ने छ किलोमिटर २५८ मिटर लामो सडकमा हाल कालोपत्र भइरहेको छ । जेठको तेस्रो सातासम्ममा निर्माण सम्पन्न हुने आरपी समता जेभीका मनोज उप्रेतीले बताए । यो सडक आरपी समता जेभीले ५८ करोडमा निर्माणको ठेक्का लिएको हो । बिर्तामोड नगरपालिकालाई हल्दिबारी गाउँपालिकासँग जोड्ने सहिद चन्द्रमार्गको दुई किलोमिटर सडक आगामी १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन खण्डमा कालोपत्र भइरहेको छ । दुई किलोमिटर लामो उक्त सडकको पहिलो खण्डमा पाँच करोड ६० लाखको ठेक्का सिद्धीथुम्का एभरग्रिन जेभीले, दोस्रो खण्डमा ट्रस्ना निर्माण सेवाले ६८ लाखमा र तेस्रो खण्डमा नाम्लाक निर्माण सेवाले एक करोड पाँच लाखमा निर्माणको जिम्मा लिएको छ । वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा एक किलोमिटर सडकको छ करोडको ठेक्कामा शान्ति निर्माण सेवा प्रालिले धमाधम निर्माण गरिरहेको वडाध्यक्ष किशोर बुढाथोकीले बताए । रासस
छ्याङ्दी हाइड्रोले जेठ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले जेठ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अकित मूल्य दरका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन कम्पनीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा लगानीकर्ताहरूरूे असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताहरूले बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको बेसीशहर, सुन्दरबजार-६ मिलनचोक, भोर्लेटार-८ बसपार्क, सिउँडीबार सुन्दरबजार-९, उदिपुर र दोर्दी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बंक तथा वित्तीय संस्थाबाट र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
नागढुङ्गा-नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द गरिने, धार्के-सितापाइला मार्ग प्रयोग गर्न अनुरोध
काठमाडौं । राजधानी भित्रिने सडक मार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडक खण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडक खण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा-पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए । ‘निर्माण आयोजनाले नागढुङ्गा-पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो । प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो,’ प्रजिअ तिवारीले भने । नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आज सूचना गरी काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । बन्दको समयमा धार्के-सितापाइला तथा टोखा-छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।