काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशमा लोडसेडिङको अवस्था नरहेको स्पष्ट पारेको छ । चितवनलगायतका क्षेत्रमा लोडसेडिङको तालिका नै सार्वजनिक भएको भन्ने चर्चा चलेपछि प्राधिकरणले त्यसको खण्डन गर्दै मर्मतसम्भारका लागि मात्रै बत्ती काटिएको जनाएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सञ्चारकर्मीसँगको कुराकानीमा चितवनमा लोडसेडिङ नभई सबस्टेसन स्तरोन्नति र पुरानो कन्डक्टर (तार) फेर्नका लागि केही समय लाइन काट्नुपरेको बताए ।
उनले भने, ‘त्यहाँ सबस्टेसनको क्षमता बढाउने काम भइरहेको छ। पुरानो तारले लोड धान्न नसकेपछि त्यसलाई फेर्न आज/भोलि दुई दिन लाइन काटिएको हो। यसलाई लोडसेडिङ भनेर गलत व्याख्या गरियो ।’
शाक्यले प्राधिकरणको आधिकारिक सामाजिक सञ्जालबाट समेत यस्तो सूचना नआएको दाबी गरे ।
किन जान्छ झ्याप्प-झ्याप्प बत्ती ?
गर्मी बढेसँगै देशका विभिन्न ठाउँमा झ्याप्प-झ्याप्प बत्ती जाने समस्याले उपभोक्ता आक्रान्त छन् । यस विषयमा निर्देशक शाक्यले प्रणालीमा माग बढेअनुसार पुरानो पूर्वाधारले धान्न नसक्दा यस्तो समस्या आएको स्वीकार गरे ।
‘गर्मीमा बिजुलीको माग बढ्दा पुरानो नेटवर्क र तारहरूले लोड धान्दैनन्, जसले गर्दा ट्रिपिङ हुने वा जल्ने समस्या आउँछ,’ उनले भने, ‘यो लोडसेडिङ होइन । लोडसेडिङ भनेको मागअनुसार बिजुली नै नपुग्नु हो, तर अहिले बिजुली पुगेको छ, प्रणालीले धान्न नसकेको मात्र हो ।’
उनले कहिले र कुन ठाउँमा यस्तो समस्या आउँछ भन्ने पूर्वानुमान गर्न नसकिने भएकाले तालिका निकाल्न सम्भव नभएको पनि बताए ।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरे लाइन काटिने
प्राधिकरणले उद्योगी-व्यवसायीहरूले तिर्न बाँकी रहेको डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन कडा कदम चाल्ने संकेत गरेको छ । निर्देशक शाक्यका अनुसार बक्यौता उठाउने विषयमा निर्णय गर्न गठित समितिलाई काम गर्न ३५ दिनको समय दिइएको छ ।
निर्देशक शाक्यले भने, ‘३५ दिनको म्याद दिइएको छ । समितिले निर्णय गरेपछि बक्यौता उठाउनुपर्छ । यदि तोकिएको समयमा पैसा तिरेनन् भने लाइन काटिन्छ ।’ उनले पैसा तिरेको खण्डमा भने लाइन नकाटिने स्पष्ट पारे।
हितेन्द्रले निकाले लोडसेडिङको तालिका, अब दैनिक ६ घण्टा बत्ती नआउने