पिपुल्स पावरको बिक्री नभएको ४ लाख कित्ता हकप्रद सेयर लिलामीमा राख्यो

काठमाडौं । पिपुल्स पावरले अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले भदौ १५ गतेदेखि भदौ २२ गतेसम्म ४ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अनुपातमा १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।  सो अवधिमा बिक्री नभएको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको हो । कम्पनीको उक्त सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।  कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । 

बुङ्गल हाइड्रोले भदौ १६ गतेदेखि आईपीओ बिक्री गर्ने, २० हजार कित्ता आवेदन दिन पाइने

काठमाडौं । बझाङको बुङ्गल हाइड्रोले भदौ १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ६२ हजार २५० कित्ता कर्मचारी र बाँकी रहेको १७ लाख १ हजार ५ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने भदौ ३० गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

२ वर्षमा सम्पन्न गर्ने भनिएको सडक पुल ५ वर्षसम्म बनेन, ठेकेदार सम्पर्क विहीन

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँ पालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ८ करोड रुपैयाँमा उक्त पुल निर्माण गर्न सूर्य जेभी निर्माण कम्पनीले जिम्मा पाएको थियो । विसं २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्नि प्रसाद सापकोटाले जुगल गाउँपालिका-१ र ५ जोड्ने ६३ मिटर लामो पुलको शिलान्यास गरेका थिए ।  जुगल गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठका अनुसार स्थानीय सरकारले पटकपटक निर्माणकार्य अघि बढाउन आग्रह गरे पनि निर्माणमा संलग्न व्यवसायीले बेवास्ता गरिरहेको छ । उनका अनुसार पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका बासिन्दा लाभान्वित हुनेछन् । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई निर्माणको काम जिम्मा दिएर ठेकेदार सम्पर्क विहीन हुँदै आएको उपाध्यक्ष श्रेष्ठ बताउँछन् ।  निर्माणको जिम्मा पाएको सूर्य जेभी निर्माण कम्पनीका प्रोपाइटर गणेश आर्चाय ‘ड्रइङ डिजाइन’को ‘एप्रुभ’ भइसके पनि चरिकोट डिभिजन कार्यालयले भिओ नबनाइदिएको कारण काम सुरु नभएको बताउँछन् ।  ‘हामी पुलको काम तत्कालै गर्न चाहन्थ्यौं तर सडक डिभिजन कार्यालय चरिकोटले भिओ नबाइदिएको कारण काम गर्न गाह्रो भयो,’ उनले भने । सडक डिभिजन कार्यालय चरिकोटले दुई वर्षदेखिको बिल भुक्तानी नगरेको उनको दाबी छ । पुलको बीचको पिलर १० इन्च फरक परेको र सोको ड्रइङ पुनः निर्माण गरेर एप्रुभ भइसकेकाले भिओ र बिल भुक्तानीको काम नरोकिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख आकाश श्रेष्ठ बताउँछन् ।  जुगल गाउँपालिका-५ का वडाध्यक्ष रवीन्द्र घिमिरेले पुल निर्माण अघि नबढ्दा जनताले सास्ती भोग्नुपरेको बताए । नदी वारिपारि गर्न झोलुङ्गे पुल भए पनि जीर्ण भएकाले जोखिम रहेको उनको भनाइ छ ।