अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता
काठमाडौं । जेन-जी पुस्ताले देशव्यापी रुपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित भएको छ । दुई दिनअघिको काठमाडौं केन्द्रित प्रदर्शन देशव्यापी फैलिएर सबैजसो क्षेत्र प्रभावित भएको देखिन्छ । विशेषगरी पहिलो दिन नयाँबानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका विरामीको उपचार गर्न अस्पतालहरूलाई भ्याइनभ्याइ भएको अवस्था छ । मीनभवनस्थित सिभिल अस्पतालले विरामीको चाप अध्यधिक भएसँगै आकस्मिक सेवाबाहेकका अरु सेवा अहिले बन्द गरेको छ । अस्पतालका निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार बिरामीका लागि खानालगायत अत्यवश्यक सेवा पुर्याउन कठिन भएको छ । ‘स्रोतसाधनको समस्या छ, जनशक्ति व्यवस्थापन पनि त्यत्तिकै चुनौतीपूर्ण छ । चिकित्सक तथा नर्सहरु ‘डबल ड्युटी’ गरेर भए पनि अहोरात्र खटिनुभएको छ, तर हाललाई ‘ओपिडी’ र ‘ओटी’ सेवा बन्द गरिएको छ”, उनले भने, “हिजोदेखि ड्युटीमा आएका आजमात्र घर फर्किँदै हुनुहुन्छ ।” हाल सो प्रदर्शनमा घाइते ४६ जनाको उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालले पनि प्रदर्शनमा घाइतेहरूलाई उच्च प्राथमिकता दिइ उपचार गरिरहेको अस्पतालका निर्देशक डा सुवास आचार्यले जानकारी दिए । अत्यावश्यक र ‘रेफर’ भएर आएका बिरामीको भने उपचार रोकिएको छैन । ‘ओपिडी’ सेवा सञ्चालनमै छ, तर बिरामीहरू अस्पतालसम्म आइपुग्न सकेका छैनन् । 'डबल ड्युटीमा खटेर हामीले काम गरिरहेका छौँ । घर जाने अवस्था नभएकाले स्वास्थ्यकर्मीहरू अस्पतलामै रही काम गरिरहनुभएको छ', उनले भने, 'हाल ५३ जना घाइतेको यस अस्पतालमा उपचार भइरहेको छ ।' निर्देशक आचार्यका अनुसार ‘ओपिडी’ नियमित रूपमा सञ्चालन भइरहेको, आकिस्मक सेवामा चाप रहेको, मुख्य शल्यक्रिया भने हाललाई बन्द गरिएको र यातायात नियमित रूपमा चले भोलिबाट सबै सेवा सञ्चालन गरिने छ । 'राष्ट्रिय ट्रमा सेन्टरमा हाल ४० जना घाइतेको उपचार भइरहेको छ । जसमा चार जनालाई शल्यक्रियापछि ‘आइसीयु’मा राखिएको छ । अहिले त अवस्था ठिकै छ । तर एउटा एम्बुलेन्स नै तोडफोड गरेका छन्', अस्पतालका निर्देशक डा बद्री रिजालले भने, 'चिकित्सक र नर्स ल्याउन भने केही समस्या छ । स्रोतसाधन अभावका बीच पनि उपचार सेवा रोकेका छैनौँ ।' परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि २४सै घण्टा सेवा सञ्चालनमा छ । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सो अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले भने, 'ओपिडी नियमित नै सञ्चालन छ, आकस्मिक सेवा चलिरहेकै छ । शुल्क लिएर दिइने सेवा (पेइड सर्भिस) बन्द गरिएको छ ।' रासस
मंगलबारको प्रदर्शनमा घाइते भएका ३३ जना त्रिवि शिक्षण अस्पतालमा भर्ना
काठमाडौं । मंगलबारको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका ३३ जना प्रदर्शनकारीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ । यसअघि सोमबार र मंगलबार देशभर भएको प्रदर्शनमा २१ जनाले ज्यान गुमाएका छन् । तीमध्ये १९ जनाको काठमाडौंमै प्रहरीको गोली लागेर मृत्यु भएको हो । हालसम्म प्रदर्शनका कारण ५०० भन्दा बढी घाइते भएको अनुमान छ । घाइतेहरूलाई त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
घाइतेको ज्यान बचाउन सबै उपचार निःशुल्क, सिभिल इमर्जेन्सीमा स्वास्थ्यले थप चिकित्सक खटायो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइतेको ज्यान जोगाउन आवश्यक सबै उपचार निःशुल्क गर्न अस्पतालहरुलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा घाइतेहरुको जीवनरक्षाका लागि आवश्यक सबै उपचार निःशुल्क गर्ने गरी मन्त्रालयले अस्पतालहरुलाई पत्र पठाएको हो । आकस्मिक कक्षमा थप स्वास्थ्यकर्मी बिरामीहरुको उपचार भैरहेका अस्पतालका आकस्मिक कक्षमा परेको बिरामीको चाप मध्यनजर गर्दै जनशक्ति व्यवस्थापनमा मन्त्रालयले विशेष जोड दिएको छ । सिभिल अस्पतालको आकस्मिक कक्षमा सघाउन ४ चिकित्सकसहित ६ सुरक्षाकर्मी खटाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । वीर अस्पतालको ट्रमा सेन्टरले पूर्ण क्षमतामा बिरामीको उपचार गरिरहेको छ । रगत अभाव हुन नदिन २४ सै घण्टा हटलाइन १११५ मन्त्रालयले घाइते बिरामीहरुलाई रगत अभाव हुन नदिन मन्त्रालयको हटलाइन हेल्लो स्वास्थ्यलाई २४ सै घण्टा चलाउने भएको छ । कुनै पनि बिरामी वा अस्पतालले रगत अभाव भएमा १११५ मा फोन गरेर जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ । एम्बुलेन्स सेवा प्रभावकारी बनाउन सक्रियता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउने गरी आपतकालीन अपरेशन सेन्टरमार्फत व्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि व्यवस्था मिलाइएको छ । मन्त्रालयले सबै चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ।