सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप, अस्पतालमा क्षमताभन्दा बढी बिरामी
काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको छ । जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । जसका कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती सृजना भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताए । उनका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गरिएका छन् । ‘अस्पतालमा भर्ना भएका अधिकतम बिरामी भाइरल सङ्क्रमणकै हुन् । जनशक्ति कम छ, तर बिरामीको चाप अत्यधिक छ । अहिले हामीले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेका छौँ,’ शेर्पाले भने । ओपिडीका बिरामीलाई पनि अक्सिजन अस्पतालमा आउने अधिकांश बिरामी गम्भीर अवस्थाका छन् । डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया र श्वासप्रश्वास समस्याले ग्रसित बिरामीलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ । ‘अस्पतालका सबै बेड भरिएका छन् । सुत्केरी कक्षका बेडमा समेत अन्य बिरामी राखेर उपचार गराइरहेका छौँ । यदि बिरामीको सङ्ख्या अझै बढे, हामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ,’ डा रामबाबु जोशीले भने । भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका डा जोशीले बताए । स्वास्थ्य कार्यालयका अधिकारीले बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । फाप्लु अस्पतालमा जनशक्ति तथा आवश्यक औषधिको अभावले थप समस्या निम्त्याएको छ । दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित छन्, तर बिरामीको चाप अत्यधिक हुँदा उपचार प्रभावकारी रूपमा दिन कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका डा श्रेया पङ्गेनीका अनुसार भाइरल ज्वरो एकअर्काबाट सजिलै फैलिने भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता छ । भवन सुविधासम्पन्न, जनशक्ति अभाव साना साँघुरा टहराबाट विगत ५४ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सोलुुखम्बुको जिल्ला अस्पताल फाप्लुको सुविधासम्पन्न भवन तयार भएको छ । विविध कारणले वर्षौँदेखि बन्न नसकेको भवन सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले सरोकारवाला निकायमा पहल र समन्वय बढाएपछि भवन निर्माण भएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद निरौला र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले बुधबार संयुक्त रूपमा उद्घाटन गरेपछि लिफ्टसहितको अपाङ्गमैत्री नयाँ भवनबाट एकीकृत स्वास्थ्य सेवा सुरू हुने भएको छ । तर जनशक्ति भने अत्यन्त कम हुँदा उपचारमा समस्या भएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् । कोशी प्रदेश सरकारले यस अस्पताललाई १५ शय्याको मात्र स्वीकृति दिँदा सोहीअनुसार जनशक्ति रहेको अस्पतालका निमित्त प्रमुख शेर्पाले बताए । जसका कारण अस्पताल विकास समितिले आधा दर्शनभन्दा बढी कर्मचारी करारमा राखेर सेवा सञ्चालन गर्नुपरेको उनको भनाइ छ । हिमाली जिल्लाको अस्पताल भएकाले जनशक्ति कम रहे पनि बिरामीको चाप धेरै हुने भएकाले उपचारमा स्वास्थ्य उपकरण, औषधि तथा जनशक्तिको पनि अभाव झेल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले अस्पतालको दरबन्दीअनुसार जनशक्ति र उपकरण व्यवस्थापनमा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताए । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले जिल्ला अस्पताल भौतिक पूर्वाधारमा अब्बल रहेकाले सेवा प्रवाहमा चुस्त र स्तरीय बनाउन लाग्ने बताए । सोलुदूधकुण्ड नगरपालिका-४ मा रहेको यस अस्पतालमा जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरणमा सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता छ । जिल्ला अस्पतालको सुविधासम्पन्न भवन सहरी विकास मन्त्रालयको २१ करोड २१ लाख रुपैयाँको लागतमा निर्माण भएको ३० शय्याको अस्पताल भवन विसं २०७६ पुस २७ गतेदेखि निर्माण सुरु भई गत असार २५ गते निर्माण कम्पनीले अस्पताललाई हस्तान्तरण गरेको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमन्ड हिलारीले ५४ वर्षअघि स्थापना गरेको फाप्लु अस्पताल ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ । हालै नवनिर्मित भवन सात रोपनीमा बनेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको आफ्नै सुविधासम्पन्न भवन नहुँदा लामो समयदेखि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । सरकारले कर्मचारीको दरबन्दी घटाउँदा सेवा प्रवाहमा चुनौतीको सामना गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
के तपाईंमा त मानसिक रोगको समस्या छैन ?
हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए पनि वास्तवमा स्वस्थ नहुन सक्छन्अर्थात् मानसिक रोगबाट प्रभावित भएका हुनसक्छन् । शारीरिक रोगका बिरामीले आफ्नो रोगका बारेमा अरुलाई बताउने गरे पनि मानसिक रोगका बिरामीले सकभर सार्वजनिक गर्न चाहँदैन् । मानौँ उनीहरु बिरामी नै होइनन्झैँ गरी लुकाउने र परिवारका सदस्यले पनि ढाकछोप गराउन खोज्छन् । जतिबेला अन्य मानिसले थाहा पाउँछन्, त्यतिबेला बिरामीको अवस्था निकै जटिल भइसकेको हुन्छ । साधारण जनसङ्ख्याको कम्तीमा पनि दुई प्रतिशत मानिसलाई कडा मानसिक रोग लागेको पाइन्छ । न्युरोसिस पनि धेरै प्रकारको हुन्छ । साधारण जनसङ्ख्याको कम्तीमा १० देखि १५ प्रतिशत मानिसलाई कुनै न कुनै न्युरोसिस रोग लागेको पाइन्छ । त्यस्तै सुस्तमनस्थिति साधारण जनसङ्ख्याको करिब तीन प्रतिशतलाई भएको पाइन्छ । मदिरा तथा लागुऔषधको दुव्र्यसन पनि करिब तीनदेखि पाँच प्रतिशत मानिसमा देखिन्छ । पर्सनालिटी डिसअर्डर पनि करिब एक प्रतिशत मानिसमा देखिन्छ । करिब २५ देखि ३५ प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट पीडित हुन्छन् यस अर्थमा मानसिक रोग शारीरिक रोगजस्तै धेरै सङ्ख्यामा हुँदैन भन्ने धारणा सरासर गलत हो । सामान्यतया स्वास्थ्य भन्नासाथ शारीरिक स्वास्थ्यलाई बुझिन्छ । शारीरिक, मानसिक र सामाजिक तीनै पक्षको संयोजन भए मात्रै मानिसलाई स्वस्थ्य मान्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनले पनि स्वास्थ्य भन्नाले केवल रोग नहुँदैमा या अशक्त नहुँदैमा स्वस्थ भन्न मिल्दैन, शारीरिक, मानसिक र सामाजिक हिसाबले पूर्ण रूपमा स्वस्थ रहेको अवस्था भनी परिभाषित गरेको छ । तर व्यवहारमा शारीरिक पक्षलाई मात्र विशेष जोड दिइएको पाइन्छ । शारीरिक रोग भन्नाले शरीरको रोगजस्तै क्षयरोग, औलो ज्वरो, कालाजार, चिनीको रोग, कुष्ठरोग, क्यान्सर आदिलाई जनाउँछ । मानसिक रोगअन्तर्गत विभिन्न प्रकारका एङ्जाइटी डिसअर्डर, डिप्रेसन, वाइपोलार डिसअर्डर, माइग्रेन, छारेरोग, मादकपदार्थ तथा लागुऔषध दुव्र्यसन, सिजोफ्रेनिया, सुस्तमनस्थिति, पर्सनालिटी डिसअर्डर आदि पर्दछन् । सर्वसाधारण मानिसहरूमा मानसिक रोग भन्नासाथ पागलपन अथवा मानसिक असन्तुलन भएको वा बहुलाएका व्यक्तिको चित्रण मात्र मनमा आउने गरेको पाइन्छ र मानसिक रोग लागेको भन्नासाथ मानसिक रूपले असन्तुलन व्यक्ति भन्ने धारणा भएको पाइन्छ । यो धारणा सरासर गलत हो किनभने हामीले नछानीकन एक सय जना मानसिक रोगीहरू लियौँ भने तिनीहरूमध्ये करिब पाँच जना मात्र पागल अथवा मानसिक रूपले असन्तुलन भएको पाउँछौँ भने करिब ९५ जना अरू सर्वसाधारण मानिसजस्तै देखिन्छन् । नेपालमा मानसिक स्वास्थ्य समस्या एक गम्भीर र बढ्दो चिन्ताको विषय हो । पछिल्ला वर्षहरूमा मानसिक रोगबारे चेतना बढ्दै गए पनि, अझै पनि समाजमा यो विषयलाई खुला रूपमा छलफल गर्न हिचकिचाहट देखिन्छ । मानसिक रोगलाई लाज वा कमजोरीका रूपमा हेर्ने प्रवृत्तिले समस्या लुकाउने र उपचार नगर्ने प्रवृत्ति बढाएको छ । गरिबी, बेरोजगारी र वित्तीय अस्थिरताले पनि धेरैलाई डिप्रेसन र तनावको शिकार बनाएको छ । नेपालमा मदिरा र लागुऔषधको सेवन गर्ने व्यक्तिहरूको सङ्ख्या बढ्दै गएकाले मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको देखिन्छ । विवाह, पढाइ, जागीर र सामाजिक मान्यताका कारण कतिपय मानिसहरू ठूलो मानसिक दबाबमा रहेका छन् । शारीरिक स्वास्थ्य तथा शारीरिक रोगको उपचारमा विज्ञानले ठूलो फड्को मारेको छ र जनमानसमा शारीरिक स्वास्थ्यप्रति ठूलो सचेतना तथा जानकारी आए तापनि मानसिक स्वास्थ्य तथा मानसिक रोगप्रतिको गलत धारणा, भ्रम, अन्धविश्वास आदि अझ पनि समाजमा व्यापक रुपमा भएको पाइन्छ । मानसिक रूपले स्वस्थ हुनका लागि व्यक्तिमा समय तथा वातावरणअनुसार अगाडि बढ्न सक्ने क्षमता, भावनात्मक द्वन्द्वबाट ज्यादै विचलित नहुने गुण, अर्थपूर्ण रूपले जीवनयापन गर्नसक्ने क्षमता भएको, आफूमा विद्यमान सामथ्र्यको प्रयोग गरी उत्पादनशील तथा फलदायी काम गर्न सक्ने भएको, अरू व्यक्तिसँग अर्थपूर्ण सम्बन्ध जोडी सो सम्बन्धलाई निरन्तरता दिन सक्ने क्षमता भएको र कुनै प्रकारका मानसिक रोगका खास लक्षण नभएको अवस्था हुनुपर्छ । मानसिक रोग र मानसिक रोगीहरुप्रति संसारका हरेक देशमा केही न केही गलत धारणाहरु पाइन्छ । हाम्रो देशमा पनि मानसिक रोग सम्बन्धमा धेरै अन्धविश्वास तथा गलत धारणाहरु समाजमा व्याप्त छन् । मानसिक रोग विकसित राष्ट्रहरु र विकासोन्मुख राष्ट्रहरुमा बराबर पाइन्छ र सहरी क्षेत्रमा र गाम्रीण क्षेत्रमा पनि यो बराबर हिसाबले देखिएको छ । तर सामाजिक पृष्ठभूमि अलग–अलग भएको कारणले गर्दा रोगको लक्षणहरु अथवा बिरामीको समस्या भने फरक फरक हुन सक्दछ । दिन प्रतिदिन मानसिक रोगीको सङ्ख्यामा बढ्दै जाँदा तिनको उपचारमा भने राज्यको ध्यान पुग्न सकेको छैन । तीन करोडभन्दा ज्यादा जनसङ्ख्याका लागि हाल नेपालमा सवा दुई सय जति मात्र मानसिक रोग विशेषज्ञ छन् । मानसिक रोग विशेषज्ञ र जनसङ्ख्याका हिसाबले हालको अनुपात एकदम कम छ । विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार १० हजार जनसङ्ख्याको लागि एक जना मानसिक रोग विशेषज्ञ हुनुपर्नेमा हाल नेपालमा १० लाख ३३ हजार जनसङ्ख्याका लागि एक जनामात्र मानसिक रोग विशेषज्ञ पर्दछ । अर्थात् मानसिक रोग विशेषज्ञको र जनसङ्ख्याको अनुपात १ः३३,००,००० मात्र छ । त्यसैले मानसिक रोग विशेषज्ञ र अरु मानसिक स्वास्थ्य कार्यकर्ताको एकदमै कमी भएकाले मानसिक रोगको उपचारमा ठूलो समस्या देखिएको छ । जनशक्तिको अभावसँगै पर्याप्त बजेट नहुँदा पनि उपचारमा कठिनाइ हुने गरेको छ । विश्व स्वास्थ्य सगठनको अनुसार हरेक राष्ट्रले आफ्नो कूल राष्ट्रिय बजेटको कम से कम १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रको लागि छुट्याउनुपर्नेमा नेपालले करिब पाँच प्रतिशत मात्र छुट्याउने गरेको पाइन्छ । स्वास्थ्य क्षेत्रमा प्राप्त कूल रकममध्ये केवल ०।२ प्रतिशत मात्र मानसिक स्वास्थ्यलाई छुट्याउने गरेको पाइन्छ । यसरी बजेटको कमीले गर्दा पनि मानसिक रोगको उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष समस्या परेको देखिन्छ । मानसिक रोगका लक्षणहरू कस्ता–कस्ता हुन्छन् ? शारीरिक रोगका लक्षणहरू शारीरिक भएजस्तै मानसिक रोगका लक्षणहरू पनि प्रायः मानसिक प्रकृतिका हुन्छन् । जस्तै मनोदशा गडबडी, विचारको गडबडी, व्यवहारमा गडबडी, निद्रामा गडबडी, ज्ञानेन्द्रीय अङ्गहरूको अनुभूतिमा गडबडी, सम्झना शक्तिमा गडबडी, अन्र्तदृष्टिमा गडबडी, वुद्धि क्षमतामा गडबडी, एकाग्रतामा गडबडी, कुराकानीमा गडबडी, एकापसको अन्तक्र्रियामा गडबडी, सौखमा गडबडी आदिजस्ता लक्षणहरू मानसिक रोगहरूमा देखा पर्दछन् । सबै प्रकारका शारीरिक लक्षणहरू एउटै शारीरिक रोगमा नदेखेजस्तै सबै प्रकारका मानसिक लक्षणहरू एउटै मानसिक रोगमा देखिँदैनन् । कुनै मानसिक रोगमा एक प्रकारका लक्षणहरू देखिन्छन् भने अर्को मानसिक रोगमा अरू प्रकारका मानसिक लक्षणहरू देखिन्छन् । यी लक्षणहरूका आधारमा मानसिक रोग कुन प्रकारका हो भन्ने निदान गरिन्छ र सोहीअनुसार मानसिक रोगीको उपचार गरिन्छ । निद्रा नलाग्ने, बिनाकारण शङ्का गर्ने, बिनाकारण डराउने, उदास हुने, ज्यादा उत्तेजित हुने, असामान्य कुरा गर्ने, असामान्य व्यवहार देखाउने आदि जस्ता मानसिक लक्षणबाहेक टाउको दुख्ने, जीउ दुख्ने, मुटु चाँडोचाँडो धड्कने, छिटोछिटो पिसाब लाग्ने, बोली नआउने, शरीरको कुनै भाग नचल्ने, देख्न नसक्ने, सास फेर्न गाह्रो हुने आदि जस्ता शारीरिक लक्षण पनि मानसिक रोगमा देखा पर्न सक्दछन् । मानसिक रोगका कारणहरू के हुन सक्छन् ? मानसिक रोगको कारण यही नै हो भन्न र किट्न नसके तापनि वंशानुगत कारण, मनोवैज्ञानिक कारण, सामाजिक कारण, शारीरिक रोगका कारण, टाउकोको घाउ चोटपटकको कारण, सङ्क्रमण रोगका कारण, दिमागमा परजीवीको कारण, शारीरिक रोगका लागि सेवन गरिने कुनैकुनै औषधिका कारण, मस्तिष्कमा हुने एक प्रकारका न्युरोट्रान्समिटर भन्ने रासायनिक पदार्थहरूको गडबडीको कारण, मादक तथा लागुऔषधको अत्यधिक सेवनको कारण, व्यक्तित्वको कारण आदिलाई मानसिक रोगका कारणहरूमा लिन सकिन्छ । तर के छ भने धेरैजसो मानसिक रोगका कारणमा यिनीहरूमध्ये एउटाभन्दा धेरै कारणहरूको भूमिका भएको पाइन्छ । कुनै व्यक्तिमा एउटा कारणको प्राधान्यता हुन्छ भने अर्को व्यक्तिमा अर्कै कारणको प्राधान्यता भएको पाइन्छ । अत्यधिक मादक पदार्थ सेवन गर्नु तथा मादक पदार्थको कुलतमा फस्नु एक प्रकारको मानसिक रोग वा मानसिक विकृति हो । के मानसिक रोगको उपचार सम्भव छ ? धेरैजसो मानसिक रोगहरु उपचारपछि ठीक हुन्छ र निको हुन्छ । थोरै प्रतिशत भने निको नहुन सक्दछ र जीवनभर नै औषधि उपचार गरिरहनुपर्ने हुन्छ । तर यिनीहरुमा पनि औषधिले रोगलाई नियन्त्रण गर्न सकिन्छ सबै मानसिक रोगहरूको उपचार हुन्छ र धेरै मानसिक रोगहरू ठीक पनि हुन्छन् । कुनैकुनै शारीरिक रोग पूर्णतया ठीक नहुने र जिन्दगीभर औषधि खानुपर्ने भएजस्तै कुनैकुनै मानसिक रोग पनि त्यस प्रकारका हुन्छ । मानसिक रोगका उपचारमा औषधि दिने, बिजुलीको माध्यमबाट उपचार गर्ने, न्युरोमोडुलेसन उपचार, काउन्सेलिङ, साइकोथेरापी, फेमिली थेरापी, ग्रूप थेरापी, सोसल इन्टरभेन्सन, भोकेसनल थेरापी, रिहाविलिटेसन आदि जस्ता विधिहरू अपनाइन्छन् । मानसिक रोगको उपचार बिरामी, उसको परिवार तथा सामाजिक परिप्रेक्ष्यलाई ध्यानमा राखेर गर्नुपर्ने हुन्छ । मानसिक रोगको उपचार एक पटक गरेपछि छोड्न नहुने र सधैँभरि गरिरहनुपर्ने हुन्छ भन्ने भ्रम पनि मानिसहरुमा रहेको छ । यो गलत कुरा हो । धेरैजसो मानसिक रोगहरुमा केही महिना औषधि खाएर छोड्न सकिन्छ भने कुनै कुनै मानसिक रोग औषधि उपचार बिना पनि ठीक हुन्छ भने कुनैकुनै मानसिक रोगमा जीवनभर नै औषधि खानुपर्ने हुन्छ । नेपालमा धेरै मानिसहरू, विशेषगरी युवाहरू, डिप्रेसनको शिकार भइरहेका छन् । कामको चाप, पारिवारिक तनाव र भविष्यको अन्योलका कारण धेरैलाई एन्जाइटी डिसअर्डरको समस्या देखिन्छ । भूकम्प, द्वन्द्व, हिंसा, वा अन्य ट्रमाटिक घटनाहरूबाट गुज्रेका व्यक्तिहरूमा पोस्ट–ट्रमोटिक स्ट्रेस डिसअर्डर भएको पाइन्छ । कतिपयमा बाइपोलार डिसअर्डर, स्किजोफ्रेनिया जस्ता गम्भीर मानसिक रोगहरू पनि देखा पर्ने गरेका छन् । नेपालमा मानसिक रोगको समस्या ठूलो छ, तर यसबारे खुलेर कुरा गर्न र उचित उपचार खोज्न अझै पनि धेरै चुनौतीहरू छन् । मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु आवश्यक छ, ताकि सबै नागरिकहरू स्वस्थ जीवन बिताउन सकून् । यदि तपाइँलाई वा तपाइँको नजिक कसैलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या छ भने, चिकित्सक वा परामर्शदातासँग सम्पर्क गर्नु सबैभन्दा राम्रो उपाय हो । (स्वास्थ्य मन्त्रालयका पूर्वसचिव तथा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा श्रेष्ठसँग गरिएको कुराकानीम आधारित)
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
सिरहा । लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ । नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको दुई अर्ब रुपैयाँ आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा सञ्जयप्रसाद साहले जानकारी दिए । डा साहका अनुसार लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा जग्गामा अस्पताल बन्ने छभने यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । ‘आगामी पाँच वर्षभित्र अस्पताल निर्माण गरिसक्ने लक्ष्य छ,’ उनले भने । नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा तत्काललाई दुईवटा भवन निर्माण गरी गत माघ ४ गतेबाट ओपिडी सेवा सञ्चालन गरिसकिएको छ, जसको सोमबार औपचारिक उद्घाटन भइसकेको छ । लहान नगरप्रमुख महेशप्रसाद चौधरी र विश्वप्रसिद्ध मुटु शल्यचिकित्सक डा कुमुद धितालले संयुक्त रूपमा उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले लहानमा ‘कार्डियो र डाइवेटिक सेन्टर’ सञ्चालनमा आउनु लहानका लागि एउटा गौरवको आयोजना भएको बताए । अस्पताल बनिसकेपछि उपचारका लागि धरान, विराटनगर र काठमाडौं जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने उनले विश्वास व्यक्त गरे ।