एनएचआरसीको अध्यक्षमा डा. नारायण विक्रम नियुक्त
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्यक्षमा डा. नारायण विक्रम थापा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अगामी चार वर्षका लागि डा. थापालाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् । यसअघिका अध्यक्ष डा. गेहनाथ बरालको कार्यकाल सकिएपछि मन्त्री पौडेलले थापालाई नियुक्त गरेका हुन् । डा. थापा यसअघि नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष समेत भएका थिए ।
बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डेकेयर’मा आउने गर्दछन् । डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको उनले जानकारी दिए । उनका अनुसार ‘ओपिडी’ फर्मेसीबाट बिमामार्फत् र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छ भने अन्तरङग भवनभित्र विपन्नसहित नगदमा चौबिसै घण्टा खुल्ला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ । डेकेयर फर्मेसीबाट विपन्नमार्फत् र नगदमा औषधि खरिद गर्न सकिने छ । भर्ना नभइकन केमो लगाउनेलाई लक्षित गरी सञ्चालन गरिएको यो फार्मेसी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने उनले जानकारी दिए । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले बिरामीलाई औषधि किन्न पालो कुर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न फार्मेसीको नयाँ शाखा सञ्चालन गरिएको बताए । छिट्टै शल्यक्रिया कक्ष र सघन उपचार कक्षलाई सहज हुने गरी अर्को फार्मेसी सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।
ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ । हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शल्यक्रियापछि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट व्यवस्था गर्न भनेका थिए । सोहीअनुसार सचिव स्तरीय निर्णयमार्फत मन्त्रालयले अब अस्पतालमा सबै बिरामीले देख्ने स्थानमा मूल्य सार्वजनिक हुने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने गरी निर्णय गरेर परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए । साथै बिक्रेताहरूलाई बढी मूल्य लिनबाट रोक्न सबै अस्पतालले आर्थिक वर्षमा कुनै रोगको प्रत्यारोपण, शल्यक्रिया तथा उपचारका लागि नयाँ खालको वस्तु आवश्यक परेमा कम्पनी, आधिकारिक विक्रेता तथा मूल्य सार्वजनिक गरेर मात्र बिरामीले प्राप्त गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले पत्राचार गरेको छ । मन्त्रालयले बिरामीको गुनासो आउने वातावरण आउन नदिन समेत पत्रमार्फत अस्पतालहरूलाई सचेत बनाएको छ ।