सरकारले १५ वर्षमुनिका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने

काठमाडौं । सरकारले आर्थिक रूपमा विपन्न परिवारका १५ वर्षमुनिका बालबालिकाको मुटु सम्बन्धी रोगको निःशुल्क उपचार गर्ने भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सो जानकारी दिएका हुन् । उनका अनुसार शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘आर्थिक कठिनाइका कारण कुनै पनि बालबालिका मुटु उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो,’ प्रवक्ता बुढाथोकीले भने । स्वास्थ्य मन्त्रालयले ५०० बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका २ लाख ५० हजार रुपैयाँ सहायता उपलब्ध गराउनेछ । नेपालमा प्रत्येक १,००० बालबालिकामध्ये ८ देखि १० जनामा मुटु सम्बन्धी समस्या देखिने विभिन्न अध्ययनहरूले देखाएका छन् । त्यस्तै, मन्त्रालयले मस्कुलर डिस्टोफी रोगको पहिचान, रोकथाम, उपचार तथा पुनःस्थापनाका लागि नीति तथा कार्ययोजना बनाउन प्राध्यापक डा. जगदिशप्रसाद अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन गरेको छ । मस्कुलर डिस्टोफी एक प्रकारको अनुवंशिक रोग हो, जसले मांसपेशी कमजोर बनाउँदै शरीरलाई गतिहीन बनाउने गर्छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी जानकारी लिन, सेवा प्रवाहमा गुनासो गर्न र सुझाव दिन ‘हेलो स्वास्थ्य’ कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गर्न सकिने व्यवस्था मिलाएको छ ।

 आन्दोलनमा घाइते भएकाहरूको केएमसीले नि:शुल्क उपचार गर्ने 

काठमाडौं  । काठमाडौं मेडिकल कलेजले (केएमसी) आन्दोलनमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने जनाएको छ । शुक्रबार काठमाडौंका विभिन्न स्थानमा आन्दोलनका क्रममा घाइते भएकाहरूको  नि:शुल्क उपचार गर्ने जनाएको हो । मेडिकल कलेजले एक विज्ञप्ति निकाल्दै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइतेहरूको नि:शुल्क उपचार गर्ने उल्लेख गरेको छ । तर उपचार गर्दा लाग्ने औषधी र औषधीजन्य सामाग्री भने स्वयं व्यक्तिले प्रबन्ध गर्नुपर्ने अस्पतालले जनाएको छ । 

महिला र शिशु कुपोषण न्यूनीकरणका लागि स्वास्थ्यमन्त्रीको पहल, अमेरिकी परोपकारी संस्थाले सहयोग गर्ने

काठमाडौं । नेपालमा गर्भवती महिला र नवजात शिशुमा देखिएको कुपोषण न्यूनीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अमेरिकी परोपकारी संस्था एलेनर क्रुक फाउण्डेसनसँग सहकार्य प्रस्ताव गरेका छन् । फ्रान्सको पेरिसमा आयोजित पोषणसम्बन्धी विश्व सम्मेलनमा सहभागी भइरहेका मन्त्री पौडेलले पेरिसस्थित नेपाली दूतावासमा फाउण्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग वार्ता गर्दै नेपालमा मातृ-शिशु पोषण सुधार गर्न संस्थागत साझेदारी आवश्यक रहेको बताएका हुन् । नेपालमा हाल गर्भवती महिलालाई आइरन चक्की प्रदान गरिँदै आए पनि अन्य १५ आवश्यक पोषक तत्वको अभाव रहेको विज्ञहरूको भनाइ छ । सरकार अब ती सबै तत्वको मिश्रण दिने योजना बनाउँदैछ । जसका लागि मन्त्री पौडेलले अमेरिकी परोपकारी संस्थासँग आर्थिक तथा प्राविधिक सहयोगको आग्रह गरेका छन् । संस्थाले सरकारलाई आवश्यक पर्ने थप बजेट तथा स्रोत पहिचान गर्न सघाउने प्रतिबद्धता जनाएको छ । निकट भविष्यमा यसबारे औपचारिक सम्झौता हुने आशा गरिएको छ । ‘आर्थिक अभावका कारण मातृ-शिशु स्वास्थ्य हेरचाह कमजोर हुन नदिने हाम्रो प्रयास हो,’ मन्त्री पौडेलले भने, ‘यो वार्ता त्यसैको एउटा महत्वपूर्ण कडी हो, जसबाट हामी उत्साहित छौं ।’ केही महिनाभित्रै सहकार्यका लागि कार्ययोजना निर्माण भइरहेको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिएका छन् । साथै, नेपाली उद्योगहरूलाई पोषक तत्व मिश्रित सामग्री उत्पादनमा संलग्न गराउने मन्त्री पौडेलको प्रस्तावमा पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । नेपालमा कुपोषणका कारण हुने मातृ-शिशु मृत्युदर न्यूनीकरणका लागि पोषक तत्वयुक्त खाद्य पदार्थको उपलब्धता महत्वपूर्ण हुने भएकाले यस सहकार्यले दीर्घकालीन रूपमा ठूला लाभ पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।