स्वास्थ्यमन्त्री पौडेलको संयुक्त राष्ट्र संघमा सम्बोधन, स्वास्थ्य सुधारका लागि अन्तर्राष्ट्रिय सहकार्यको आह्वान
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र किशोरावस्थाको जन्मदरमा कमी तथा बालविवाह घटाउन समेत नेपालले सफलता पाएको मन्त्री पौडेलले बताए । 'नेपाल आफ्नो स्वास्थ्य प्रणाली सबल बनाएर हरेक नागरिकलाई स्वस्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध छ,' मन्त्री पौडेलले भने, 'तर यो हामी एक्लैले मात्र गर्न सम्भव छैन ।' मन्त्री पौडेलले अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धताबाट मात्र सम्भव रहेकोमा जोड दिए । स्वास्थ्य क्षेत्रमा बजेटको सीमितता तथा प्रतिव्यक्ति स्वास्थ्य खर्च विश्वव्यापी दरका तुलनामा कम भएका कारण ग्रामीण क्षेत्रमा पर्याप्त पूर्वाधार विकास तथा स्वास्थ्य संस्थाको कमी हुनाले स्वास्थ्य पहुँचमा कठिनाइ भोग्नु परेको मन्त्री पौडेलले बताए । जलवायु परिवर्तनका कारण समेत नेपालको स्वास्थ्य क्षेत्रले कठिनाई बेहोर्नु परिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले भने, ‘जलवायु परिवर्तन र प्राकृतिक प्रकोप बढ्दै जाँदा आपतकालिन अवस्थाको सामना गर्ने स्वास्थ्य प्रणालीको लचिलोपनलाई पहिले भन्दा बढी बलियो पार्न जरुरी छ ।’ तर विकास सहायतामा कमीका कारण नेपालजस्ता देशले चुनौतीको सामना गर्नु परिरहेको बताए । ‘यो समस्या सम्बोधन गर्नका लागि हामी नेपाललाई विकास सहायता वृद्धिका लागि विशेष जोड दिन्छौं,’ मन्त्री पौडेलले भने । मन्त्री पौडेलले यस्तो सहायताले मात्र स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि यो जरुरी रहेको बताए । निजी क्षेत्रलाई समेत स्वस्थ्यमा लगानी वृद्धि जरुरी रहेकोमा मन्त्री पौडेलले जोड दिए । मन्त्री पौडेल आजबाट पाँच दिनसम्म चल्ने सत्रमा नेपालको नेतृत्व गर्दै सहभागी छन् । न्यूयोर्कमा रहेका बेला मन्त्री पौडेलले द्विपक्षीय वार्ताका साथै त्यहाँ रहेका नेपाली समुदायसँग स्वास्थ्य सेवा सुधारका लागि सुझाव संकलन गर्ने कार्यक्रम रहेको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रमुख राजदुत लोकबहादुर थापाले जानकारी दिए ।
चैत २९ गते संवाद श्रृङ्खला-२ आयोजना गर्दै ह्याम्स अस्पताल
काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले स्वास्थ्य सबैको सरोकार भन्ने नारासहित संवाद श्रृङ्खला–२ आयोजना गर्ने भएको छ । अस्पतालको वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको यो कार्यक्रम चैत्र २९ गते दिउँसो १२:१५ बजेदेखि होटल रमादा, धुम्वाराहीमा सञ्चालन हुनेछ । कार्यक्रमलाई तीन सत्रमा विभाजन गरिएको छ । पहिलो सत्रमा 'गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच' विषयमा सरोकारवालाबीच व्यापक छलफल गरिनेछ । दोस्रो सत्र 'नागरिकको स्वास्थ्यमा लगानी' विषयमा केन्द्रित हुनेछ, जसमा स्वास्थ्य क्षेत्रमा आवश्यक लगानी, स्रोत व्यवस्थापन र दीर्घकालीन रणनीतिबारे विमर्श गरिनेछ । तेस्रो तथा अन्तिम सत्रमा भने पहिलो दुई सत्रको सारांश प्रस्तुत गरिनेछ र उक्त सत्रमा माननीय उप–प्रधान तथा शहरी विकास मन्त्रीको प्रमुख मन्तव्य पनि रहनेछ । सम्वन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय, र प्रतिनिधिसभा सांसदहरूको सहभागिता रहने यस संवाद कार्यक्रमबाट जनस्वास्थ्यमा देखिएका समस्या, चुनौती र समाधानका उपायहरूबारे गहन छलफल गरिनेछ । छलफलबाट प्राप्त निष्कर्ष र सुझावहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरिनेछ । सन् १९९७ मा स्थापना भई हाल धुम्वाराहीमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक भवनबाट सेवा दिइरहेको ह्याम्स अस्पतालले भूकम्प प्रतिरोधात्मक संरचना, हेलिप्याड, र उच्चतम प्रविधियुक्त उपकरणसहित सेवा प्रदान गर्दै आएको छ । कोभिड महामारीको समयमा पनि विश्वस्तरीय सेवा प्रदान गर्दै जनविश्वास जित्न सफल भएको अस्पतालले गुणस्तरीय उपचार, चिकित्सा शिक्षा, नर्सिङ्ग तालिम, र अनुसन्धान मार्फत स्वास्थ्य क्षेत्रमा योगदान दिइरहेको छ । ह्याम्सले सामाजिक उत्तरदायित्वको अनुभूति गर्दै यस्ता संवाद कार्यक्रम प्रत्येक वर्ष नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित
काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले अस्पतालमा सेवा लिन आउने बिरामीको प्रतिक्षाको समयलाई एक घण्टामा सीमित गरेको छ । सेवा प्रवाहलाई थप चुस्त बनाउन अस्पतालले बिरामीको प्रतिक्षाको समयलाई सीमिततामा झारेको हो । यसका कारण अस्पतालमा पछिल्लो समय आँखा उपचार गराउने बिरामीको चाप बढेको छ । अस्पताललले दैनिक ६०० देखि ९०० जनासम्मलाई उपचार सेवा प्रदान गरिरहेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले भने, ‘अस्पतालको सेवा प्रवाहलाई चुस्त बनाउन सेवा लिन आउने बिरामीको प्रतिक्षाको समयलाई एक घण्टामा सीमित पारेको छ । दक्ष नेत्र विशेषज्ञसहित अन्य स्वास्थ्यकर्मी, आधुनिक प्रविधि, उच्च गुणस्तरका उपकररणबाट हाम्रा आँखा सेवा उपलब्ध भइराखेका छन् । यही कारणबाट पछिल्लो समय बिरामीको चाप वृद्धि भइराखको छ ।’ विसं २०३० चैत २६ गते त्रिपुरेश्वरमा जनसहयोगमा अग्रज समाजसेवी तथा नेत्र विशेषज्ञद्वारा सेवा सुुरु गरेको सो अस्पतालले आँखाको विशिष्ट सेवा मोतियाविन्दु, रेटिना, अकुलोप्लाष्टी, कर्निया, जलविन्दु, बाल आँखा सेवालगायत आरओपीको लागि अलग्गै विभागबाट १६ नेत्र विशेषज्ञ एवं १२५ कर्मचारीद्वारा सेवा प्रदान गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत गोसाईँका अनुसार आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत १ लाख ३१२, आकस्मिक २० हजार ९६, सर्जरी ५ हजार ७९५, आँखा शिविरमा परीक्षण ४० हजार ६१५ र शिविरमा सर्जरी ८८३ जनालाई सेवा उपलब्ध गराएको थियो । अर्कोतर्फ अस्पतालले विद्यालयस्तरमा आँखा परीक्षण कार्यक्रम पनि सञ्चालन गरिराखेको छ । चालु आवको हालसम्म नौ हजार ३३९ विद्यार्थीको दृष्टि परीक्षण गरेर ४९७ जनालाई निःशुल्क चश्मा प्रदान गरेको छ । अस्पतालले विभिन्न प्रकारका जनशक्ति उत्पादन गर्दै आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत एमडी, अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत नेत्र सहायक तालिम हुँदै आएको छ । विशिष्ट सेवाका विभिन्न सेवामा छात्रवृत्ति तालिमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्यसमेत रहेको उनले जानकारी दिए । हाल अस्पतालमा एमडीमा १२, अप्टोमेट्रीमा २४ र नेत्र सहायकमा ३७ जना विद्यार्थी अध्ययनरत छन् । प्रमुख कार्यकारी गोसाईँले भने, ‘भविष्यमा अस्पतालमा बिरामीको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । यसका लागि अस्पतालले अहिलेदेखि नै पूर्वतयारी गर्दै आएको छ । अस्पतालले प्रदान गर्ने सेवाको उच्च गुणस्तर कायम गर्दै विशेषगरी विपन्न र सीमान्तकृत वर्गको पहुँचका लागि सर्वसुलभ सेवा उपलब्ध गराइएको छ ।’ आगामी दिनमा अस्पतालले आफ्नो न्यूनतम शुल्कमा वा निःशुल्क सेवासमेत प्रदान गर्ने नीति लिएको छ । अस्पतालले आँखा जाँच तथा परीक्षणका लागि आवश्यक उपकरण प्रत्येक वर्ष अत्याधुनिक गर्दै लगेको छ । ज्येष्ठ नागरिकमध्येमा ८० वर्ष नाघेका व्यक्तिलाई गत वर्षदेखि मोतियाविन्दु शल्यक्रियामा ५० प्रतिशत सहुलियत गरी सेवा उपलब्ध गराइरहेको छ । उनका अनुसार गत चार वर्षमा अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १ लाख ६२ हजार ९७६ बिरामीलाई सेवा प्रदान गरिएको छ । उक्त अवधिमा अस्पतालले प्रदान गर्ने शल्यक्रिया बिरामी सङ्ख्या दोब्बर वृद्धि भएको छ । गत वर्ष ९ हजार ९३ शल्यक्रिया गर्न सफल भएको छ । प्रमुख कार्यकारी अधिकृत गोसाईँले भने, ‘आगामी चार वर्षभित्रमा शल्यक्रिया सेवा सङ्ख्या वार्षिक १५ हजार पुर्याउने लक्ष्य अस्पतालले लिएको छ । गत दुई वर्षदेखि कम तौल र प्रिम्याच्युर जन्मेका शिशुमा हुने दृष्टि पर्दाको रोगको उपचार (आरओपी) हालसम्म ९४५ बच्चाका आँखा परीक्षण गरिएको छ ।’ विस्तारित कार्यक्रमअन्तर्गत आँखा शिविरमार्फत गत वर्ष ८४५ जनाको आँखा शल्यक्रिया गरिएको छभने यस वर्ष करिब एक हजार ५०० शल्यक्रिया गर्ने लक्ष्य रहेको अस्पतालले जनाएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिका अनुसार सामुदायिक आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत गत वर्ष ३१ विद्यालयमा आँखा जाँच कार्यक्रम, ३० आँखा जाँच शिविर तथा ११ आँखा शल्यक्रिया शिविरमार्फत ४० हजार ६१५ जनालाई सेवा प्रदान गरी दुई ८८४ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छभने यस वर्ष ५० हजार जनाको आँखा परीक्षण गरी तीन हजार ५०० निःशुल्क चश्मा वितरण गर्ने योजना रहेको उल्लेख छ । अस्पतालको व्यवस्थापनमा बाराको सिमरा र गोरखाको भच्चेकमा आँखा उपचार केन्द्र तथा उपत्यकाभित्र सुन्दरीजल र खोकनामा भिजन सेन्टरको सेवालाई अझ प्रभावकारी बनाई अस्पतालको रेफरल प्रणालीलाई अझ बजबुत बनाइने अस्पतालले जनाएको छ । अस्पतालले सरकारको नीतिअनुरुप आँखा स्वास्थ्यमा सरकारी तथा गैरसरकारी साझेदारी नीतिलाई आत्मसात् गरी सेवा प्रवाह गर्ने नीति लिएको छ । प्रमुख कार्यकारी गोसाईँले बिरामीको सुविधाका लागि सरकारको स्वास्थ्य बिमा योजना लागू गर्ने कार्य अघि बढाइएको बताउनुभयो । आगामी चार वर्षको लक्षित बिरामी सङ्ख्या वृद्धिलाई मध्यनजर गरी थप भौतिक पूर्वाधारको निर्माण तथा हाल भइरहेको स्थानको अधिकतम सदुपयोगतर्फ ध्यान दिइने विज्ञप्तिमा उल्लेख छ । अस्पतालले हाल छवटा शल्यक्रिया कक्षबाट सेवा प्रदान गर्दै आएको छ । यसैगरी अस्पतालमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमको गुणस्तरलाई कायम राख्न आवश्यक व्यवस्था गरिने पनि जनाइएको छ । विज्ञप्तिमा भनिएको छ , ‘आँखाको उपचार सेवाको पहुँच विस्तार गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालन गर्न एवं आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्न सरकारका साथै अन्तर्राष्ट्रिय संघसंस्था एवं जनसहभागिताका लागि स्थानीय तहका सरकारहरुसँगे सहकार्य गर्दै लैजाने योजना रहेको छ ।’