चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार
काठमाडौं । चीनले आपतकालीन अवस्थाहरूमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन सफलता पूर्वक विकास गरेको छ । यस ड्रोनको विकास हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चीन राज्य पोत निर्माण निगमको अन्तर्गतमा चिनियाँ विज्ञान तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा गरेको हो । यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरणहरू जडान गरिएका छन् । कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर श्री हुआङ युहङका अनुसार यो ड्रोन उच्च चिसो तापक्रम तथा पाँच हजार मिटरको उचाइसम्मका कठिन भूगोलमा समेत प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ । यो ड्रोनको तौल ६०० किलोग्राम छ र यसले ३०० किलोग्रामसम्मको भार बोक्न सक्छ । यसमा स्वचालित उडान प्रणालीका साथै टाढाबाट नियन्त्रण गर्ने सुविधा पनि रहेको छ । यसले गर्दा विपद् वा महामारीको बेला छिटो र प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गर्न सकिनेछ । हुआङले भने, ‘हामीले मेडिकल उपकरण, ड्रोन प्रविधि र कृत्रिम बुद्धिमत्ताको संयोजनमार्फत चीनको स्मार्ट आपतकालीन उद्धार क्षमतामा ठूलो सुधार ल्याएका छौं ।’
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रयोगमा रोक
काठमाडौं । चितवनको भरतपुर अस्पतालले वातावरण प्रदूषण प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको हो । उनले भने, ‘फार्मेसीमा औषधि दिँदा र खाजा घरमा कागजको झोलाको प्रयोग गरिएको छ ।’ अस्पतालमा बिरामी भेट्न आउँदा कागजका झोला र कपडाका झोला प्रयोग गर्न अस्पतालले बिरामीका आफन्तहरूलाई आग्रह गरेको छ । अस्पतालले कुनै पनि कार्यक्रममा प्लाष्टिकका सामग्रीको प्रयोग नगर्ने उनले बताए । प्लाष्टिकका झोलाले वातावरणलाई हानि गर्ने भएकाले प्रयोगमा रोक लगाइएको हो ।
नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त गर्ने सेवाहरू बारेको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले निःशुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थानलगायतका विवरण पनि सार्वजनिक गरेको छ । मन्त्रालयले नयाँ डिजाइन गरेको आफ्नो वेबसाइटमा निःशुल्क सेवासम्बन्धी विवरणहरू र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि विवरणमा छ । मन्त्रालयले नागरिकलाई सरकारी स्वास्थ्य संस्थामार्फत आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको छ । यसैगरी, मृगौला रोग, मुटु रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया तथा जलन उपचार सेवाअन्र्तगत विभिन्न उमेरसमूहका बिरामीलाई विभिन्न खालका सेवा निःशुल्क दिइरहेको छ । यसका लागि सेवा प्राप्त गर्ने स्थानको जानकारीसहित कागजात चाहिने भएमा त्यससम्बन्धी विवरणसमेत राखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकले प्राप्त गर्ने निःशुल्क उपचार पारदर्शी र सबैले थाहा पाउने गरी जानकारी राख्न भनेका थिए । सोही आधारमा मन्त्रालयले नयाँ डिजाइन गरिएको वेबसाइटमा विस्तृत विवरण खुलाएको हो । उनले यसअघि संघीय अस्पताल तथा मेडिकल कलेजहरूलाई सेवा शुल्कसम्बन्धी विवरण वेबसाइट तथा अस्पतालमा सबैले देख्ने गरी राख्ने व्यवस्था मिलाउन भनेका थिए । सोही आधारमा अधिकांश जसोले यस्तो विवरण नागरिकले थाहा पाउने गरी राखेका छन् ।