स्वास्थ्य बीमा कार्यक्रम देशैभर पुग्ने, हालसम्म ४६ जिल्लाका १७ लाखले गरे बीमा
काठमाडौ । आगामी आर्थिक बर्षमा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुग्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै हाल ४६ जिल्लामा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमलाई ७७ वटै जिल्लामा बिस्तार गर्ने उल्लेख गरेका हुन् । सरकारले स्वास्थ्य बीमा बोर्ड मार्फत कार्यक्रम सञ्चालन गर्दै आएको छ । बोर्डमार्फत हालसम्म १७ लाख १० हजार जनाले स्वास्थ्य बीमा गराएका छन् । बोर्डका प्रमुख रमेश पोखरेलले भने–‘पछिल्लो समय मुगु जिल्लामापनि बीमाको कार्यक्रम उद्घाटन गर्यौ, यसरी नै हाम्रो (विजनेश) व्यापार बढ्ने पक्का छ ।’ छोटो समयमै सबै कुरा जुटाउन केही कठिन हुने भएपनि आफूहरुमा काम गर्ने आत्मविश्वास रहेकाले देशैभरी स्वास्थ्य बीमाका कार्यक्रम सञ्चालन गर्न समस्या नहुने बताए । सरकारले प्रदान गर्ने रकम दाबी व्यवस्थापनमा मात्र खर्च हुने बीमा बोर्डले जनाएको छ । साथै, विभिन्न जिल्लाहरुमा आफ्नो कार्यक्रम बिस्तार हुँदै गएकाले आगामी दिनमा सबै जनता बीमाको पहुँचमामा आउने छन्- बोर्डका प्रमुख पोखरेलले बताए । बिमित परिवार संख्या ४ लाख ५ हजार हालसम्म बिमित परिवारको संख्या ४ लाख ५ हजार पुगिसकेको छ । बोर्डका अनुसार १७ लाख १० बजार बिमित मध्ये पुरुष ४७ प्रतिशत र महिला ५३ प्रतिशत रहेका छन् । हालसम्म बीमा शुल्क स्वरुप १ अर्ब ३५ करोड रुपैयाँ उठेको बोर्डले जनाएको छ ।
कामना सेवाका ग्राहकलाई सिद्धबाबा, सिद्धार्थनगर र लुम्बिनी अस्पतालमा विशेष छुट
काठमाडौँ । कामना सेवा विकास बैंक लि.ले सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, सिद्घार्थनगर सिटी हस्पिटल प्रालि र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिसँग स्वास्थ्य सेवा सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि.को तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र सिद्धबाबाको तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान, सिद्घार्थनगरको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल तथा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिको तर्फबाट प्रमुख प्रशासक लोकनाथ भुषालले हस्ताक्षर गरेका छन् ।
नेपाल इन्भेष्टमेण्ट बैंकका ग्राहकलाई हाम्स हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र हाम्स हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका भिसा कार्ड/मास्टर कार्ड भएका ग्राहक, कर्मचारी तथा तिनका आफन्तले हाम्स हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने छन् । सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र हाम्सका तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।