सरकारी स्वास्थ्य संस्था आइएनजिओलाई ठेक्का, पाँच वर्षमा सम्झौता नवीकरण गर्ने सर्त
काठमाडौं १९, भदौ । सरकारी संरचनामा बनेका चारवटा स्वास्थ्य संस्था गैरसरकारी संस्थालाई ठेक्कामा सञ्चालन गर्न दिइएको छ। सरकारले दुई वटा स्वास्थ्य संस्था राष्ट्रिय तथा दुई वटा स्वास्थ्य संस्था अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई ठेक्कामा दिएको आइतबारको नयाँ पत्रिका दैनिकले समाचार छापिएको छ। ती स्वास्थ्य संस्था प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्ने सर्तमा ठेक्कामा दिएका छन्। सरकारले गैससलाई दिएका स्वास्थ्य संस्थामा बयलपाटा सामुदायिक अस्पताल, लमजुङ सामुदायिक अस्पताल, चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र र चौरजहारी अस्पताल रहेका छन्। प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)को रूपमा स्थापना भएको अछामको बयलपाटालाई अमेरिकी संस्था न्याय हेल्थलाई १० वर्षअघि ठेक्कामा दिएको छ । ठेक्का दिँदाको वेला केन्द्र रहेको सो संस्स्थालाई अस्पतालमा स्तरउन्नति गरी सञ्चालन गर्ने सम्झौता गरेको छ। यस वर्ष थप पाँच वर्षका लागि सञ्चालन गर्न सरकारले नवीकरण गरेको छ । सोही आइएनजिओलाई यसै वर्षदेखि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र पनि जिम्मा लगाइएको छ। सो केन्द्रलाई पनि अस्पतालको रूपमा विकास गरी सो क्षेत्रका जनतालाई थप सेवा दिन लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। त्यसैगरी, सरकारले लमजुङ सामुदायिक अस्पताललाई पनि मानव विकास तथा सामाजिक सेवा ९एचडिसिएस० नाम गरेको गैरसरकारी संस्थालाई ठेक्कामा दिएको छ । सो संस्थाले सरकारको अर्को अस्पताल चौरजहारी रुकुम अस्पताल पनि ठेक्कामा पाएको छ। सो संस्थाले ठेक्कामा पाएसँगै अस्पतालको नाम परिर्वतन गरी एचडिसिएस सामुदायिक जिल्ला अस्पताल राखिएको छ।
‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’, दर खादा स्वाथ्यको ख्याल गर्नुपर्ने
काठमाडौं १८, भदौ । तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो । यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदैछ भन्ने सन्देश दिन्छ । टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका छन् । हिन्दू धर्म, संस्कृतिमध्ये नारीहरूको महान पर्व तीजको दर खाने दिन शनिबार परेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र तृतीयाका दिन निराहार बसेर शिवको पूजा गरिन्छ । धार्मिक रूपमा तीज पर्व महिलाले पुरुषप्रति गरेको त्याग र समर्पणको जीवन्त कथा हो । पार्वतीले आफ्ना पति रोज्ने अधिकार स्थापित भएको पर्व तीज हो । महिला अधिकारको गरिमामय चाडका रूपमा रहेको यो पर्व मनाउने क्रममा पछिल्ला वर्षमा केही विकृति भित्रिएका छन् । बढ्दो तामझाम र सहरीया जीवनशैलीमा आएको परिवर्तनले चेलीलाई घरमा बोलाएर मीठोमसिनो खुवाउने चलन अब होटल, क्याटरिङ र रेस्टुरातिर सरेको छ । विभिन्न पारिवारिक समूह, सङ्घ, संस्था, टोलछिमेक र पार्टीहरूले चेलीबेटीलाई दर खुवाउन यस्तै ठाउँमा बोलाउने गरेका छन् । धेरै दिनसम्म दरको नाममा भोज खाने गर्नाले अस्पतालमा पेटका रोगीको सङ्ख्या बढेको पाइएको छ । तीजको रमाइला गीतमा एउटा गीत थप्नुपर्ने भएको छ । त्यो हो– ‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’। तीज आउनु निकै अघिदेखि दर खान थालेका महिलालाई परम्पराका गीतका सट्टा चेतनामूलक यस्तै गीत गाउनु सुनाउनुपर्ने अवस्था आएको छ । तीज आउनु महिना दिनअगावैदेखि दर खाएर पेट दुखाएका महिलाले केही दिनयता आयुर्वेद औषधालय धाउन थालेका छन् । गोरखापत्र दैनिकबाट ।
परिवार नियोजन संघमा ब्रम्हलुट, विघटनको संघारमा
काठमाडौं १७, भदौ । नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ । संघको नेतृत्वले दातृ निकायबाट प्राप्त रकम अनियमितता तरिकाले खर्च गर्ने र संघको कामकाज प्रचलित ऐन, कानुन र संघको विधानलाई समेत उल्लघंन गर्दै मनोमानी ढंगले संचालन गर्न थालेपनि संघको अस्तित्व संकटमा परेको हो । संघले आफ्ना कार्यक्रम संचालन गर्न कानुनबमोजिम पेन गर्नुपर्ने कागजात पेस नगर्ने, परियोजनाहरु स्वीकृतिबिना नै संचालन गर्ने, कार्यक्रम संचालन गरेपश्चात अनुमोदन नगर्ने, समाज कल्याण् परिषद्बाट अनुगमन नगराउनेलगायत समाज कल्याण ऐन २०४९, समाज कल्याण नियमवाली २०४९, संस्था दर्ता ऐन २०३४ तथा नेपाल परिवार नियोजन संघको विधानका व्यवस्थाहरु संघको केन्द्रीय समितिले लगातार उल्लघंन गरिरहेका कारण संघ संकटमा परेको छ । जसका कारण करिब १ करोड जनताले प्राप्त गरेको सेवा बन्द हुने अवस्थामा रहेको छ भने करिब ६ सय कर्मचारीको भविष्य अन्योलमा परेको छ । नेपाल समाचारपत्र दैनिकबाट ।