के गर्छन् नेपालमा बर्सेनि उत्पादित दुई हजार चिकित्सक ?
काठमाडौँ, १७ असार । नेपालमा स्वदेश र विदेशमा अध्ययन गरी आएका विद्यार्थी हरेक वर्ष औसतरुपमा एक हजार ५०० देखि दुई हजार चिकित्सक उत्पादन हुने गरेका छन् । नेपाल मेडिकल काउन्सिलको तथ्याङ्कअनुसार यो दर बढ्दो क्रममा छ । काउन्सिलकी प्रशासकीय अधिकृत अनिता लामाले हरेक वर्ष चिकित्सकको बढ्दो उपस्थितिले यो सङ्ख्या बढ्दै जाने बताइन । तर माथि उल्लिखित चिकित्सकले काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा दिँदा भने कहिले ६० र कहिले ४० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुने गरेको पाइएको छ । प्रशासकीय अधिकृत लामा भन्छिन,“यति धेरै सङ्ख्यामा अनुत्तीर्ण हुने कुरा राम्रो होइन । अझ देशभित्र पढेकाभन्दा बाहिर पढेर आएका बढी अनुत्तीर्ण हुने गरेको पाइएको छ । हामीले यसरी धेरै विद्यार्थी अनुत्तीर्ण हुनुको कारण खोजी गर्दैछौँ ।” उनले परीक्षा दिने विद्यार्थीमा कति त ३३ पटकभन्दा बढी पटक अनुत्तीर्ण भएकाले नक्कली विद्यार्थी भेटिएको उल्लेख गरिन । त्यसैबेलादेखि नक्कली प्रमाणपत्रधारी चिकित्सकको पनि कुरा छानबिनको दायरामा आएको उनले स्पष्ट पारिन । काउन्सिलका रजिस्ट्रार दिलीप शर्माले अहिले भइरहेको नक्कली प्रमाणपत्रधारी चिकित्सक छानबिनबाट नक्कली परीक्षार्थी पनि कम हुने विश्वास व्यक्त गरे । काउन्सिलले वर्षमा चारपटक एमबिबिएस अध्ययन गरेका विद्यार्थीका लागि चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा लिँदै आएको छ भने वर्षको दुईपटक विशेषज्ञताका लागि अध्ययन गरेका विशेषज्ञ परीक्षा लिँदै आएको छ । स्थापना भएको २०२० सालदेखि हालसम्म काउन्सिलमा एमबिबिएस स्नातक गरेका १७ हजार २६५ चिकित्सकले चिकित्सक दर्ता प्रमाणपत्र लिएका छन् । तीमध्ये ११ हजार २४४ पुरुष र ६ हजार २१ महिला चिकित्सक दर्ता भएका छन् । नेपालमा विभिन्न विषयमा विशेषज्ञता हासिल गरेका चार हजार ४८६ विशेषज्ञ चिकित्सक दर्ता भएका छन् जसमा तीन हजार ३०४ पुरुष र एक हजार १८२ महिला विशेषज्ञ छन् । यो सन् २०१५ सम्मको तथ्याङ्क हो । सन् २०१५ मा एमबिबिएस ९स्नातक० र एमडी, एमएस, र एमडिएस ९स्नातकोत्तर० अध्ययनका लागि एक हजार २६६ विद्यार्थी विभिन्न देश गएको प्रशासकीय अधिकृत लामाले जानकारी दिइन । विदेशमा गई एमबिबिएस अध्ययन गर्न जानेमध्ये बङ्गलादेशमा सबैभन्दा बढी ५९४ विद्यार्थी छन् । चीनमा १६०, फिलिपिन्समा ७४, भारतमा १९, इजिप्टमा १३, रुसमा १८, पाकिस्तानमा १३, किर्गिज्स्तान र गुयानामा एकएकजना विद्यार्थी छन् । त्यसैगरी, एमडी, एमएस र एमडिएस ९स्नातकोत्तर० पढ्न गएकामध्ये सबैभन्दा बढी चीनमा १९५, फिलिपिन्समा ५८, बङ्गलादेशमा ३४, थाइल्यान्डमा दुई, अस्टे«ेलियामा दुई, जापानमा पाँच, युकेमा एक, युएसएमा आठ, भारतमा ४४, किर्गिज्स्तानमा चार, पाकिस्तानमा चार, इजिप्टमा १३, कोरियामा एक, इरानमा एक र बेल्जियममा एकजना गरी ३७३ जना चिकित्सक स्नातकोत्तरका लागि विभिन्न देशमा छन् । नेपालमा विभिन्न मेडिकल कलेजमा एक हजार ९०५ जना विद्यार्थीले एमबिबिएस अध्ययन गरिरहेका छन् । हालसम्म नेपालबाट सात हजार १९९ जना विद्यार्थीले बाहिरी देश गई एमबिबिएस अध्ययन गरेका छन् भने एमडी, एमएस र एमडिएस ९स्नातकोत्तर० दुई हजार २६६ जनाले विदेशमा गई अध्ययन गरिसकेका छन् । रासस
नक्कली प्रमाणपत्रधारी चिकित्सकको निवेदन खारेज
काठमाडौँ, १३ असार । सर्वोच्च अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आरोपमा पक्राउ परेका १० चिकित्सकले दायर गरेको रिट निवेदन खारेज गरेको छ । कामु प्रधानन्यायाधीश सुशीला कार्की र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले नक्कली शैक्षिक प्रमाणपत्रका आरोपमा पक्राउ परेका चिकित्सकले दायर गरेको निवेदन खारेज गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । आदेशमा भनिएको छ, “थुनामा भएका नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ भएका चिकित्सक गैरकानुनी र बद्नियतपूर्ण पक्राउ परेको भन्न सकिने अवस्था देखिँदैन ।” नक्कली प्रमाणपत्रका आरोपमा चिकित्सकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० बाट पक्राउ परेपछि आफूहरुलाई गैरकानुनी रुपमा थुनामा राखेको उल्लेख गर्दै संयुक्त रुपमा निवेदन दायर गरेका थिए । निवेदन दिने चिकित्सकमा रामकुमार प्रधान, विनिता पाण्डे, सरोज घिमिरे, पन्नलाल पटेल, मोहम्द रुहुल्लाह, श्रीराम घिमिरे सहित थिए । यसैबीच काठमाडौँ जिल्ला अदालतले नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका चिकित्सकलाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा अनुमति दिएको छ । रासस
बिचौलियामाथिको कारबाहीपछि अस्पतालको आम्दानी २५ प्रतिशत बढ्यो
चितवन, ३१ जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थानीय प्रशासनले कर्मचारीसहित बाहिरी बिचौलियालाई पक्राउ गरी निगरानी बढाएपछि अस्पतालको आन्तरिक आम्दानी बढेको छ । यसका कारण बिरामीसमेत लाभान्वित भएका छन् । करिब एक महिनाअघिदेखि स्थानीय प्रशासनले अस्पतालका बिचौलियामाथि निगरानी र कारबाही प्रक्रिया अगाडि बढाएको थियो । यस अवधिमा पाँच जना कर्मचारीसहित २० जना बिचौलियालाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको थियो । यससँगै कार्यालय समयमा समेत लुकिछिपी निजी क्लिनिक तथा अस्पताल धाउने काम चिकित्सक र प्रविधिज्ञले छाडेका छन् भने बिरामीलाई छिटो हुन्छ भन्दै निजी क्लिनिक र अस्पताल पठाउने क्रमसमेत घटेको छ । अस्पतालभित्र औषधि, केमो, लज, ल्याब र डाक्टरका लागि बिरामी तान्न पुग्ने बिचौलिया अस्पतालमा देखिन छाडेको स्थानीयवासीले बताएका छन् । अस्पतालआसपास रहेका फार्मेसी र ल्याब मात्रै होइन, चौबीसकोठीमा लस्करै रहेका धेरै अस्पतालको व्यापार खस्किएको सञ्चालकले बताएका छन् । प्रशासनको कदमपछि क्यान्सर अस्पतालमा दैनिक सङ्कलन हुने राजस्वमा २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अस्पतालको राजस्व उपशाखाका प्रमुख शिव पौडेलका अनुसार दैनिक दुई लाख ७५ हजार रुपैयाँको हाराहारीमा सङ्कलन हुने राजस्व तीन लाख ५० हजार रुपैयाँ पुगेको छ । यद्यपि अस्पतालमा बढी चल्ने सिटी स्क्यान, मेमोग्राफी, एमआरआई र केही महत्वपूर्ण परीक्षण अझै हुन सकेका छैनन् । आइतबारदेखि मङ्गलबारसम्म अस्पतालमा बिरामी बढी आउने हुँदा अस्पतालको आम्दानी बढी हुने गर्दछ । अस्पतालका उपनिर्देशक डा देजकुमार गौतमका अनुसार सिटी स्क्यान र मेमोग्राफी पुराना बिग्रिएर चीन सरकारले उपलब्ध गराएपछि जडानको क्रममा रहेका छन् भने विद्युत् आपूर्तिमा गडबड भएर र युपिएस बिग्रिएर एमआरआई सञ्चालनमा आउन सकेको छैन । आपूर्तिकर्तालाई भुक्तानी हुन नसक्दा परीक्षण गर्ने केमिकलको अभावमा केही परीक्षण नभएको उनले बताए । अस्पतालमा युरिया, गिलुभिन टोटल, गिलुभिन डाइरेक्ट, एसटी, एलटीजस्ता सामान्य परीक्षणसमेत केमिकलको अभावमा हुन सकेका छैनन् । सबै उपकरण सञ्चालनमा आएर ल्याब परीक्षण नियमित हुन सके राजस्व दोब्बर हुने स्वयम् गौतम बताए । सबै उपकरण चले अस्पतालका अधिकांश चिकित्सक, प्रविधिज्ञ र कर्मचारीको लगानी रहेका निजी अस्पताल, क्लिनिक, ल्याब नचल्ने हुँदा छिट्टै उपकरण बिगार्ने र रिएजेन्ट अभाव देखाइरहने काम कर्मचारीबाटै हुने गरेको आरोप छ । अस्पतालका लेखा प्रमुख पिताम्बर उपाध्यायका अनुसार अस्पतालबाट भर्ना, परीक्षण, डिस्चार्ज लगायतबाट वार्षिक १० करोड रुपैयाँको हाराहारीमा आम्दानी हुन्छ भने अन्य फार्मेसी, फलफूल बिक्री, सटर भाडा, चमेनागृह लगायतबाट एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । भित्री र बाहिरी दुवै बिचौलिया रोक्न सके आम्दानी दोब्बर हुने प्रस्ट देखिन्छ । बिचौलिया नियन्त्रणसँगै २५ प्रतिशत आम्दानी बढिसकेको यस अस्पतालमा हुन नसकेका सबै परीक्षण हुन सके अहिले नै आम्दानी दोब्बर हुने देखिन्छ तर त्यसका लागि स्थानीय प्रशासनको अनुगमन निरन्तर हुनुपर्ने स्थानीयवासीको भनाइ छ । अस्पताल बनाउन त्यहाँ कार्यरत चिकित्सक र प्रविधिज्ञको तलब बढाएर अस्पतालभित्रै पेइङ क्लिनिक सञ्चालन गर्ने र निजीमा काम गर्न रोक्ने काम हुन सके बिरामीले सस्तो शुल्कमा सहज उपचार पाउने क्यान्सर सेवा समाजका अध्यक्ष श्यामप्रसाद लामिछाने बताउछन् । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह चिकित्सक र प्रविधिज्ञसमेत बिचौलियाको भूमिकामा रहने र आफ्नो निजी अस्पताल र क्लिनिकमा लगेर बिरामी जाँच्ने गरेको भन्ने गुनासो आएपछि उनीहरुमाथि समेत निगरानी भइरहेको बताउछन् । अस्पताललाई हानि हुने र बिरामीलाई अप्ठ्यारो पार्ने जो सुकै भएपनि प्रशासनले नछाड्ने उनले बताए । प्रशासनको निगरानीसँगै अस्पतालका चिकित्सक र कर्मचारीसमेत दिनभर कार्यालयमा रहेर काम गर्न थालेका छन् । रासस