मेडिकल कलेज खोल्ने सरकारको तयारी, कहाँ कहाँ खुल्छन् ?

काठमाडौँ । सरकारले बर्दिवास, बुटवल र सुर्खेतमा मेडिकल कलेज सञ्चालनका लागि प्रारम्भिक कार्य तीव्र गतिमा अगाडि बढाएको छ । यहि गतिमा काम भए आगामी दुइवर्षभित्र तीनसय शैयाको अस्पताल र पाँच वर्षभित्र मेडिकल कलेज पूर्ण रुपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने नीति अनुसार प्रदेश २ को बर्दिवास, प्रदेश ५ को बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज सञ्चालन गर्न लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले तीनवटै स्थानमा आगामी पाँच वर्षभित्र मेडिकल कलेज सञ्चालन गर्ने गरी काम अघि बढेको जानकारी दिए ।  बुटवल र बर्दिवासमा कलेज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको छ, केसीले भने,“सुर्खेतमा पनि केही समयपछि द्रुत गतिमा काम अघि बढ्नेछ ।” बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख देवी सुवेदीले हाल भइरहेको गतिमा काम अघि बढे तीन वर्षभित्र तीनसय शैयाको अस्पताल सञ्चालनमा ल्याउने जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एनआईसी एशियाका ग्राहकले एभरेष्ट अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल प्रालि, काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५% देखि १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपकचन्द्र बरालले हस्ताक्षर गरेका छन् ।

१७ महिनाका लक्की विक जीवन मरणको दोसाँधमा, आर्थिक सहयोगका लागि अभिभावकको याचना

काठमाडौँ । दाङ जिल्लाको दंगिशरण–४ का १७ महिनाका बालक लक्की विक त्रिवि शिक्षण अस्पतालमा जीवन मरणको दोसाँधमा रहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारमा समस्या भएको राजेश विकले बताए । छोराको उपचारका लागि सहयोग गरिदिन राजेशले आग्रह गरेका छन् । उनका छोरा लक्कीलाई निमोनिया हुनुका साथै हातखुट्टा र पेटमा समेत समस्या भई बैखाख ११ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । कृतिम स्वासप्रश्वासको सहायताले उपचार भइरहेको र दैनिक १०–१५ हजार खर्च लाग्ने अवस्था रहेको त्रिवि शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा विनय गुरुङले बताए ।