२ वर्षदेखि परिचरको भरमा हेल्थपोस्ट, दरबन्दी भने सात जनाको

काठमाडौं ३०, असोज । पर्साको घोडदौड पिपरा ८ लक्ष्मीपुरमा रहेको स्वास्थ्थ चौकी २ वर्षदेखि परिचरको भरमा चलिरहेको समाचार सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । हेल्थपोस्टमा एक जना हेल्थ अस्ष्टिेन्ट एचए, ३ जना अहेव , दुइ जना अनमी र एक जना परिचर गरी ७ कर्मचारीको दरबन्दी छ। तर २ वर्षदेखि परिचर सुरेश राउत कुर्मीकै भरमा हेल्थपोस्ट चलिरहेको स्थानीय जगदिश साहले बताए। जिल्ला जनस्वास्थ्य कार्यालयले परिचर पनि नपठाएपछि गाविस कार्यालयले स्थानीय स्रोतबाट मासिक ४ हजार रुपैयाँ तलव दिएर कुर्मीलाई राखेको हो।

सरकारी अस्पतालमा आफ्नै औषधि पसल हुने, अस्पताल परिषरमा निजी फार्मेसीको दबदबा हट्ने

काठमाडौं ३०, असोज । सरकारी अस्पतालमा आफ्नो छुट्टै फार्मेसी (औषधि पसल) सञ्चालनमा आउने भएको छ । स्वास्थ्य मन्त्रालयले अनिवार्य रूपमा अस्पताल आफैँले फार्मेसी सञ्चालनका लागि छुट्टै बजेट विनियोजन गरेर पठाएपछि सरकार मातहतका अस्पतालले अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्नैपर्ने हुन्छ । यसअघि सर्वोच्च अदालतले पनि सरकारी अस्पतालले अस्पताल परिसरमा आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन आदेश दिइसकेको छ । यसअघि सरकारी अस्पतालभित्र निजी संस्थाले फार्मेसी सञ्चालन गर्दा सेवाग्राही बढी पैसा तिरेर औषधि किन्न बाध्य भएका थिए । निजी फार्मेसीले सरकारी अस्पतालभित्र औषधि पसल राख्न अस्पतालका पदाधिकारीलाई कमिसन खुवाउने चलन थियो । सर्वोच्च अदालतले आदेश दिए पनि निजी फार्मेसीको दबाबमा सरकारी अस्पतालले आफ्नो छुट्टै फार्मेसी सञ्चालन गर्न सकेको थिएन । बिरामीले एउटै औषधिलाई फार्मेसीपिच्छे फरकफरक मूल्य तिर्नुपर्ने बाध्यता थियो । अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्दा निजी फार्मेसीले औषधिलगायत अन्य सामग्रीमा लिएको मूल्यभन्दा २० देखि ४० प्रतिशतसम्म छुट हुनेछ । स्वास्थ्यमन्त्री गगन थापाले फार्मेसी निर्देशिका अनुसार सरकार मातहतका हरेक अस्पतालमा छ महिनाभित्र फार्मेसी सञ्चालन गर्न लागिएको जानकारी दिए । मन्त्री थापाले केन्द्रीय अस्पतालमा ३० लाख, क्षेत्रीय अस्पताल २५, उपक्षेत्रीय अस्पताल २० र अञ्चल अस्पतालमा १५ लाख रुपियाँ बीउ पुँजीको रूपमा पठाइसकेको जानकारी पनि दिए । यसैगरी जिल्ला अस्पताललाई कुल तीन करोड ४४ लाख रुपियाँ फार्मेसी सञ्चालनका लागि निकासा भइसकेको छ । समाचार स्रोतः गोरखापत्र दैनिकबाट ।

१२ हजार दृष्टिविहीनले संसार देख्न पाए, ८० प्रतिशत दानकर्ता उपत्यकाभित्रका

काठमाडौं २९, असोज । नेपालमा आँखादान सुरु भएको २२ वर्षमा करिब १२ हजार दृष्टिविहीनले संसार देख्न पाएका छन् । तिलगंगा आँखा प्रतिष्ठानको तथ्यांकअनुसार हालसम्म ११ हजार नौ सय ८० दृष्टिविहीनमा आँखाको नानी प्रत्यारोपण गरिएको छ । आँखा दान गरेका व्यक्तिको मृत्युपछि आँखा निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गरिन्छ । आँखा दान गर्ने ११ हजार दुई सय १७ नेपाली नागरिक छन् । त्यस्तै, सात सय ६३ विदेशी नागरिकले आफ्नै देशबाट सहयोगस्वरूप आँखाका नानी नेपाली दृष्टिविहीनलाई उपलब्ध गराएका छन् । हालसम्म आँखा प्रत्यारोपण गरिएकामध्ये ९६ प्रतिशतमा सफल भएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ । चार प्रतिशत पनि प्रत्यारोपण गरिएका व्यक्तिले चिकित्सकको सल्लाहलाई बेवास्ता गर्दा समस्या हुने गरेको आई बैंकका व्यवस्थापक त्वाएनाले बताए । प्रत्यारोपणपछि लामो समयसम्म अस्पतालमा नै बसेर उपचार गराउनुपर्नेमा हतार गरेर घर जाने र औषधिको राम्रोसँग प्रयोग नगर्नेहरूमा समस्या देखिएको उनले बताए । मृत्युपश्चात् आँखा संकलन गरिएका ८० प्रतिशत दानकर्ता उपत्यकाभित्रका छन् । उपत्यकाबाहिरबाट २० प्रतिशत आँखा संकलन भएको बैंकले जनाएको छ । काठमाडौंबाहिर विराटनगर, पोखरा, कैलाली र वीरगन्जमा आँखा संकलन केन्द्र छन् । संकलित आँखा आवश्यकताअनुसार प्रत्यारोपण गर्ने पूर्वाधार भएका सबै जिल्लामा पठाइने गरेको त्वाएनाले बताए । पूर्वप्रधानमन्त्री तथा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले पनि आँखादान गरेका थिए । मृत्युपश्चात् उनको आँखा निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गरिएको थियो । त्यस्तै, कम्युनिस्ट नेता निर्मल लामा, साहित्यकार केदारमान व्यथित, सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेती, साहित्यकार जगदीश घिमिरे, अभिनेत्री शान्ति मास्के, हास्य कलाकार हरिवंश आचार्यकी प्रथम पत्नी मिरा आचार्य, पूर्वप्रधानमन्त्री माधव नेपालका पिता मंगलकुमार उपाध्यायले पनि मृत्युपश्चात् आँखादान गरेका छन् ।