डेंगुले महामारी फैलिने खतरा, साउदेखी यता १ हजार जनामा डेंगु भएको पुस्टि

काठमाडौं २३, कात्तिक । समयमै जाँच तथा अनुसन्धान अभावका कारण घातक मानिएको डेंगु संक्रमणले महामारीको रूप लिने खतरा बढेको छ । मध्य र पूर्वी नेपालमा फैलिरहेको डेंगु नियन्त्रणमा सरकारी प्रयास रहेको बताइए पनि उक्त रोगको फैलावट रोक्न प्रयोगशालमा परीक्षण र अनुसन्धान नहुँदा महामारीको खतरा बढेको हो । झापामा देखापरेको ‘सेरो टाइप वान’ नामको डेंगु समयमै नियन्त्रण गर्न नसके अन्य प्रकारका घातक डेंगुले महामारी फैलाउने खतरा बढेको छ । वैज्ञानिक वर्गीकरणअनुसार टाइप वान, टाइप टु, टाइप थ्री र टाइप फोर गरी चार प्रकारका डेंगु रोग हुन्छन् । डेंगु संक्रमणले शरीरका संवेदनशील अंगबाट रक्त श्राव भई बिरामीको मृत्यु गराउँछ । सन् २००६ मा बाँकेलगायतका जिल्लामा चारै प्रकारका डेंगु संक्रमण फैलिएको थियो । सरकारले प्रभावित जिल्लामा फैलिएको डेंगु कुन प्रकारको हो भनेर जाँच गर्न सकेको छैन । डेंगुका प्रकार पुष्टि गर्ने प्रयोगशाला मेसिन तथा प्रविधि उपत्यकामा मात्रै उपलब्ध छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाामा मात्र डेंगुको प्रकार छुट्याउने सुविधा छ । प्रयोगशालाका कन्सलटेन्ट माइक्रोबायोलोस्टि विष्णु उपाध्यायका अनुसार तिहारअघि झापाका बिरामीबाट संकलन गरिएका १५ वटा नमुनामध्ये १० वटामा टाइप वान डेंगु पुष्टि भएको थियो । उपाध्यायका अनुसार सबैभन्दा धेरै डेंगु पुष्टि भएको चितवनबाट नमुना संकलन गरी जाँचका लागि काठमाडौं ल्याउन जरुरी छ । ‘सबै प्रकारका डेंगु फैलिने जोखिम छ । डेंगु फैलिएमा यसबाट ठूलो क्षति हुन सक्छ,’ उपाध्यायले भने, ‘नमुना आएजति पनि जाँच गर्न हामी तयार छौं ।’ जिल्लामा हाल र्‍यापिड एनन्टिजिन डिटेक्सन मेथडबाट डेंगु जाँच भइरहेको छ । सरकारलाई डेंगु प्रभावित जिल्लामा कुन प्रकारको डेंगु फैलिरहेको छ भन्ने जानकारी अहिलेसम्म छैन । गत साउनदेखि अहिलेसम्म चितवन, झापा, रूपन्देही, कैलाली, मकवानपुर, बाँके र बर्दियामा गरी करिब एक हजारजनामा डेंगु भएको पुष्टि भइसकेको छ । एडिस एगेप्टी नामक पोथी लामखुट्टेले टोकेपछि डेंगु संक्रमण हुन्छ । चिकित्सकका अनुसार उक्त संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिँदैन । ज्वरो आउनु, टाउको दुख्नु, हाड तथा जोर्नी दुख्नु, आँखा दुख्नु, वाकवाकी, लाग्नु डेंगुका प्रारम्भिक लक्षण हुन् । लामखुट्टेको टोकाइबाट जोगिनु र त्यसको नियन्त्रण डेंगुबाट बच्ने उपाय हुन् । अन्नपूर्ण पोष्टबाट । ।

कांग्रेस नेतृ सुजाता कोइरालाई स्तन क्यान्सर, उपाचार गर्न सरकारसँग एक करोड माग

काठमाडौं २१, कात्तिक । कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर भएको आशंका छ। एसियाली महिलाहरूको सञ्जाल आइक्याप (आइक्याप)को सम्मेलनमा मलेसियामा पुगेका वेला चेकअप गराउँदा चिकित्सकले क्यान्सरको आशंका गरेको कोइरालाले बताएकी छिन् । ‘मलेसियामा सम्मेलनमा भाग लिन गएको थिएँ । छोरी र ज्वाइँसँगै मलेसियामा घुम्दा रिँगटा लागेपछि अस्पताल पुगेर चेकअप गर्दा ब्रेस्टमा क्यान्सरको शंका भयो । मेरो त खानदानमा त्यस्ता बिरामी पहिले पनि धेरै थिए,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले मलाई पनि डर लाग्यो । क्यान्सरको शंकैशंका छ । ब्रेस्टमा सिस्ट ९भित्र पानी भरिएको डल्ला० निकाल्न मिल्ने भए निकालिहालौँ भन्ने भएपछि अप्रेसन गराएँ । सिस्ट निकालेँ, अब फलोअपमा जान्छु ।’ सुजाता १० कात्तिकमा नेपाल आएकी थिइन् । उनी अहिले मण्डिखाटारस्थित निवासमा आराममा छिन् । उनले ब्रेस्टको ‘मेमोग्राम’ गराउँदै आए पनि पहिले क्यान्सरको आशंका नगरिएको बताएकी छिन् । दाजु एवं बिपीका जेठा छोरा प्रकाश कोइरालाले पनि सुजाताको ब्रेस्टमा क्यान्सरको आशंका गरिएको बताए । अब सिंगापुर, मलेसिया वा भारतमा उपचार गराउन जाने तयारी भएको उनले जानकारी दिए । ‘महिलाको ब्रेस्टमा क्यान्सरको समस्या धेरै देखिन्छ । मनिषालाई पनि क्यान्सर लागेको शंका नेपालमा नै गरिएको थियो । पछि बम्बई पुगेर पुष्टि भयो,’ प्रकाशले भने, ‘सुजाताले मलेसियामा ब्रेस्टको चेकअप गर्दा क्यान्सरको शंका भयो । अहिले प्रारम्भिक चरणको उपचार भएको छ । डाक्टरको सेकेण्ड ओपिनियनपछि कुन स्टेजको कस्तो समस्या हो टुंगो लाग्छ । यसका लागि छिट्टै सिंगापुर, थाइल्याण्डको बैंकक र भारतको टाटा इन्टिच्युटमा जानेबारे छलफल भइरहेको छ ।’ अब केमियोथेरापी गर्ने भन्नेबारे पनि छलफल भएको तर दोस्रो परीक्षणपछि मात्र केमियाथेरापी गर्न आफूले सुझाव दिएको उनले बताए । पार्टी सभापतिसंग उपचार खर्च माग पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी सुजाताले आफ्नो उपचार खर्च जुटाइदिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् । देउवा निकट स्रोतका अनुसार मलेसियाबाट फर्किए लगत्तै सुजाताले उपचार खर्च महंगो हुने भन्दै एक करोड रुपैया जुटाइदिन आग्रह गरेकी हुन् । ‘उपचारमा केही बढी नै खर्च लाग्ने भन्दै उहाँले रकम जुटाइदिन सभापति देउवासँग आग्रह गर्नुभएको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘सभापतिले खर्चका लागि सरकारसँग पार्टीले पहल गर्ने बताउनुभएको छ।’ क्यान्सरको परीक्षण र प्रारम्भिक उपचारमा सुजाताले करिब ५० लाख रुपैया खर्च गरेको उनी निकट स्रोतको दाबी छ । थप उपचारमा जाँदा एक करोड रुपैयाँसम्म लाग्ने उनले निकट व्यक्तिहरुलाई बताउने गरेकी छिन्। कोइराला परिवारमा क्यान्सर खानदानी रोग कोइराला परिवारमा क्यान्सर खानदानी रोग जस्तै छ । बिपी कोइरालालाई घाँटी र फोक्सोमा, गिरिजाप्रसादलाई फोक्सोमा, मनिषालालाई ब्रेष्टमा क्यान्सर देखिएको थियो । सुशील कोइरालालाई पनि जिब्रो र फोक्सोमा क्यान्सर भएको थियो । सुशील र मनिषाको क्यान्सर उपचारपछि निको भएको थियो । नयाँ पत्रिका दैनिकबाट ।

उपचारमा १५ लाखभन्दा धेरै नदिने सरकारी प्रस्ताव, आफूखुसी विदेश जने विशिष्ट व्यक्तिले आफैं खर्च व्यहोर्नुपर्ने

काठमाडौं २१, कात्तिक । अति विशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि सरकारी सहयोग सिलिङ तोक्ने तयारी भएको छ । मन्त्रिपरिषद्को निर्णयमा भिभिआइपीले उपचार खर्चको नाममा मनपरी रकम लिन थालेपछि बढीमा १५ लाख दिने गरी सिलिङ तोक्ने तयारी भएको हो। ०६८ मा ल्याएको नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि संशोधनका लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको छ। अति विशिष्ट र विशिष्ट व्यक्तिलाई बढीमा १५ लाख तथा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुयाएका व्यक्तिलाई बढीमा पाँच लाख उपलब्ध गराउने गरी कार्यविधि परिमार्जन गर्ने स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय भएको छ। अहिलेको कार्यविधिमा सरकारले चाहेमा जोसुकै व्यक्तिलाई जति पनि खर्च उपलब्ध गराउन सक्ने प्रवधान छ । यसका कारण राज्यको ढुकुटीबाट जथाभावी रकम वितरण भएको भन्दै स्वास्थ्य मन्त्रालयले कार्यविधि परिमार्जनको निर्णय गरेको छ । प्रस्तावित कार्यविधिमा अन्य मन्त्रालयको पनि राय–सल्लाह लिन लागिएको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए । ‘विद्यमान अस्पष्ट नीतिका कारण जोसुकैले जतिसुकै खर्च पनि पाउने अवस्था छ, यसलाई नियमन गर्न र निश्चितताका लागि यो कार्यविधिलाई हामीले स्पष्ट बनाएका छौँ,’ मन्त्री थापाले भने, ‘कार्यविधि परिमार्जनपछि तोकिएको सीमाभन्दा बढीको औषधि उपचार सहायता कुनै पनि व्यक्तिले दोहो(याएर लिन पाउनेछैनन्।’ क–कसले पाउँछन् १५ लाख प्रस्तावित कार्यविधिअनुसार वर्तमान र पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, वर्तमान तथा पूर्वसभामुख, उपप्रधानमन्त्री तथा मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुख एवं वर्तमान तथा पूर्वपदाधिकारीहरू  । क–कसले दे पाउँछन पाँच लाखसम्म साहित्य, संगीत, कला, राजनीति, सार्वजनिक प्रशासनलगायत राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्याएका व्यक्ति । नयाँ पत्रिका दैनिकबाट ।