एभरेष्ट बैंकका ग्राहकलाई नेपाल मेडीसिटी अस्पतालमा ७% छुट
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले नेपाल मेडीसिटी हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडि परामर्श तथा प्याकेजहरु बाहेक अन्य सेवा-सुविधाहरुमा ७% छुट पाउन सक्नेछन् । साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले भिषा डेबिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्नेछन् ।
आँखा अस्पतालमा नयाँ उपकरणबाट जलविन्दुको उपचार
काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले जलविन्दुको उपचार गर्न नेपालमै पहिलो पटक उच्च प्रविधिको उपकरणबाट सेवा प्रवाह गर्न थालेको छ । सो उपकरणबाट आँखा उपचार गराउँदा आँखाको भित्री चापलाई घटाई जलविन्दुबाट आँखामा हुने क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको चिकित्सकले बताएका छन् । ’सुप्रा ८१० इनफ्रेर्ड लेजर’ नामक उक्त उपकरणले जलविन्दुको मात्र नभई आँखाको पर्दासम्बन्धी उपचारसमेत गरिने अस्पतालले जनाएको छ । जलविन्दुलाई दृष्टिविहीन बनाउने जटिल आँखाको समस्याका रुपमा लिइन्छ । नेपाल अन्धोपन सर्वेक्षणको तथ्याङ्कअनुसार जलविन्दुलाई अन्धोपनको तेस्रो प्रमुख कारण मानिन्छ । औसतमा ४० वर्षको उमेरबाट देखिने यो रोग वंशाणुगत एवम अन्य कारणबाट हुने गरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जलविन्दुको कुनै पूर्व लक्षण नदेखिने भएकाले यो रोगले आँखाको दृष्टिमा निकै क्षति पुर्याएपछि मात्र रोगका बारेमा थाहा पाउने गरेका अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले जानकारी दिएका छन् । नेपाल आँखा अस्पतालमा वार्षिक झण्डै चार हजार सात सय जलविन्दुका रोगी आउने गरेको अस्पतालको तथ्याङ्कले देखाएको छ । यसरी, जलविन्दुको रोकथाम, उपचार, औषधि, शल्यक्रिया र लेजर थेरापीद्वारा गर्न सकिने चिकित्सकहरु बताउँछन् । केही वर्षदेखि अस्पतालले प्रत्येक तीन÷तीन महिनाको फरकमा महिनाको अन्तिम शनिबार जलविन्दुका बिरामी र जलविन्दु रोग विशेषज्ञबीच अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत घलेले बताए । रासस
होशियार, ई-चुरोटले मस्तिष्कका तन्तुलाई नष्ट गर्छ
वासिङ्टन । परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई-चुरोट (विद्युतीय चुरोट)ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ । आई-साइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क मुसामा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको उल्लेख छ । मस्तिष्कका तन्तुमा विद्युतीय तरल पदार्थ, एरोसोल वा निकोटिन मिसिए त्यसले मस्तिष्कको समग्र तन्तु र कोषिकामा नकारात्मक असर गर्दछ । सुरुआती दिनहरुमा सुरक्षित ठानिएको ई–चुरोटहरु जस्तै भ्यूज र जूल पनि निकै हानिकारक छन् । यी चुरोटहरु नियमित सेवन गरेमा मानिस कुलतमा फस्ने र त्यसबाट अन्ततोगत्वा मस्तिष्कका कोषिकाहरु मर्ने वा रोगी हुन्छ, अध्ययनमा भनिएको छ । अध्ययनकी लेखिका अटेना जाहेदीले निकोटिन भएका कुनैपनि वस्तुको सेवन मानव स्वास्थ्यका लागि हानिकारक देखिएको पनि बताए । उनले ई–चुरोटको धुँवा मस्तिष्कसम्म पुग्ने गरेकाले पनि यो निकै खतरनाक देखिएको बताए । जाहेदीले मस्तिष्क विकासका क्रममा गम्भीर मोडमा रहने भएकाले युवा र गर्भवतीले त अझ बढी ध्यान दिनुपर्नेमा जोड दिए । उनले युवा, किशोरावस्था वा गर्भवती हुँदा मस्तिष्कमा ई–चुरोटले बहुआयामिक असर पार्ने गरेको अध्ययनबाट देखिएको छ भने । उनले यस्तो उमेरमा ई–चुरोट सेवनले स्मरणशक्ति, सिकाई र बोधमा ठूलो क्षति पुग्ने बताए । अध्ययन सहयोगी टाल्बोटले पनि जहाँसुकै पाइने ई–चुरोटमा निकोटिन हुने र त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने बताए । रासस/एएनआई