सरकारी अस्पतालका फार्मेसी करोडौं नाफामा, एकै वर्षमा आठ करोड रुपियाँभन्दा बढी नाफा
काठमाडौं ५, मंसिर । स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरूमा आफ्नै फार्मेसी अनिवार्य रूपमा राख्नुपर्ने ताकेता गरिरहेको बेला सरकार मातहत रहेका अस्पतालले भने फार्मेसीबाट करोडौँ कमाउन सफल भएका छन् । १५ वर्षअघि स्थापना भएको गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीले एकै वर्षमा आठ करोड रुपियाँभन्दा बढी रकम कमाएको छ भने तीन वर्षअघि मात्र स्थापना भएको भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रको फार्र्मेसीले ५० लाख रुपियाँ कमाउन सफल भएको छ । गङ्गालाल अस्पतालको फार्मेसी खर्च कटाएरै उक्त रकम कमाउन सफल भएको हो । अस्पतालका कार्यकारी निर्देशक डा। ज्योतिन्द्र शर्माले केन्द्रको फार्मेसीले मासिक औसत ६७ लाख रुपियाँ आम्दानी गर्ने गरेको जानकारी दिए। यस अस्पतालको खुद नाफा मात्र हो, कार्यकारी निर्देशक डा. शर्माले भने, ‘फार्मेसीमा मात्र अस्पतालले ३५ देखि ४० करोडसम्मको कारोबार गर्ने गरेको छ।’ मानव अङ्ग प्रत्यारोपणका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अस्पताल स्थापना भएको केही वर्षमै फार्मेसीबाट लाखौँ आम्दानी गर्न सफल भएको बताए। हामीले निजी फार्मेसीभन्दा ४० प्रतिशतसम्म कम मूल्यमा औषधि बिक्री गरिरहेका छौँ, निर्देशक श्रेष्ठले भने, ‘गत वर्षमात्र चार करोड २० लाख रुपियाँको कारोबार भएकोमा ५० लाख रुपियाँ आम्दानी गर्न सफल भएको छ । डा। श्रेष्ठले अस्पतालको फार्मेसीबाट औषधि किनेर बाहिर लगि निजी फार्मेसीबाट नाफा लिई बेचेको पाइएको जानकारी दिए। यसैगरी गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले फार्मेसीबाट गत आर्थिक वर्ष ३८ करोड ८० लाख रुपियाँभन्दा बढीको कारोबार भएको जानकारी दिँदै त्यसबाट आठ करोड रुपियाँ नाफा भएको बताए। यसैगरी गत वर्षमात्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको कान्ति बाल अस्पतालले पनि मासिक ३० लाख रुपियाँको कारोबार गर्दै आएको छ । अस्पतालका निर्देशक डा। अजित रायमाझीले सुरु वर्षमै फार्मेसीबाट अस्पतालले १० लाख रुपियाँ आम्दानी गर्न सफल भएको जानकारी दिए। अस्पतालकै फार्मेसी हुँदा बिरामीलाई सहुलियतदरमा औषधि पाउन सकेको भन्दै निजी फार्मेसीमा भन्दा अस्पतालको फार्मेसीबाट २० देखि ५० प्रतिशतसम्म कम मूल्यमा औषधि पाउनसक्ने जानकारी दिए। यस्तै शिक्षण अस्पताल महाराजगन्ज, मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पनि वार्षिक पाँच करोडभन्दा बढी मुनाफा कमाउन सफल भएका छन् । स्थापना कालदेखि नै आफ्नै फार्मेसी सञ्चालन गरेको केन्द्रको मुख्य आम्दानी फार्मेसी नै हो, निर्देशक डा। शर्माले भने, यस रकमले हामीलाई वार्षिक रूपमा कर्मचारीलाई तलब, भत्ता, बिजुली, पानी लगायतमा खर्चेका छौँ । कर्मचारीको तलब, भत्तामा मात्र २५ देखि २७ करोडसम्म खर्च हुने जानकारी दिँदै डा। शर्माले फार्मेसीको आम्दानीले गर्दा अस्पताललाई ठूलो राहत मिलेको बताए। गोरखापत्र दैनिकबाट ।
सवै स्वास्थ केन्द्रमा चिकित्सक पुगेको सरकारी दावी गलत, १६ स्वास्थ्य केन्द्रमा चिकित्सक छैनन्
काठमाडौँ,२ मङ्सिर । सरकारले सबै स्वास्थ्य केन्द्रमा चिकित्सक पुगेको भनी गरेको दाबी गलत भएको पाइएको छ । बुधबारदेखि काठमाडौँमा सुरु भएको ‘आव २०७२\७३ मा सम्पादित स्वास्थ्य सेवा तथा कार्यक्रमको राष्ट्रिय वार्षिक प्रगति समीक्षा गोष्ठी’मा आफ्ना विकास क्षेत्रको स्वास्थ्य प्रतिवेदन प्रस्तुत गर्दै पाँचै विकास क्षेत्रका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशकले अझै पनि आफ्ना कार्यक्षेत्रभित्रका कतिपय जिल्लाका स्वास्थ्य केन्द्रमा चिकित्सक नपुगेको जानकारी गराए । स्वास्थ्य मन्त्रालयले गत महिनामात्र देशभरका सबै स्वास्थ्य संस्थामा चिकित्सक पुगिसकेको बताएको थियो । तर अझ पनि देशभरका १६ प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक नभएको प्रतिवेदन निर्देशकले प्रस्तुत गरेका छन् । पूर्वाञ्चलका तीन, मध्यमाञ्चलका तीन, पश्चिमाञ्चलका पाँच, मध्यपश्चिमाञ्चलका दुई र सुदूरपश्चिमाञ्चलका तीन प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना पनि चिकित्सक छैनन् । स्वास्थ्यमन्त्री गगनकुमार थापाले गत असोजमा नियमित पत्रकार भेटघाटमा आफूले मन्त्रालय सम्हाल्नुअघि देशभरका २३ स्वास्थ्य केन्द्रमा एकजना पनि चिकित्सक नभएको बताउँदै आफूले त्यहाँ चिकित्सकको व्यवस्था गरिसकेको जानकारी गराएका थिए । उनले प्रत्येक स्वास्थ्य संस्थामा कम्तीमा दुईजना चिकित्सक राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । अझै पनि १६ स्वास्थ्य संस्थामा एकजना पनि चिकित्सक नभएको पाइएको छ । अहिले ७५ जिल्लामा २०४ प्राथमिक स्वास्थ्य केन्द्र छन् । तीमध्ये १६ स्वास्थ्य संस्थामा एकजना पनि डाक्टर छैनन् । एकचालीस स्वास्थ्य संस्थामा भने तीनभन्दा बढी डाक्टरले काम गरिरहेको मन्त्रालयको तथ्याङ्क छ । प्रत्येक वर्ष सरकारी छात्रवृत्तिमा पढेका ३५० भन्दा बढी डाक्टर उत्पादन हुन्छन् । उनीहरुलाई कम्तीमा दुई वर्ष दुर्गम क्षेत्रमा गई काम गर्नै पर्ने प्रावधान छ । अहिले सरकारले छात्रवृत्ति, करार स्थायी दरबन्दीमा चिकित्सकलाई स्वास्थ्य संस्थामा पठाउने गरेको छ । तीमध्ये चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, बिपी कोइराला राष्ट्रिय प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालयलगायतबाट छात्रवृत्तिमा पढेका ३५० भन्दा बढी एमबिबिएस चिकित्सकलाई सरकारले तलब दिएर सम्पूर्ण सेवा सुविधासहित दुर्गम स्वास्थ्य संस्थामा पठाउने गर्छ । तर बिरामी कम हुने र ठूलो रोग लागेमा जिल्ला अस्पताल वा बाहिर जाने परिपाटीले दुर्गम र ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य संस्थामा बसेका चिकित्सकले काम सिक्ने मौका नपाउने भएकाले चिकित्सक पठाउन भने सरकारलाई चुनौती छ । तर, स्वास्थ्य सेवा विभागका उपसचिव तारानाथ लुइँटेल भने सुर्खेतको एक स्वास्थ्य केन्द्रबाहेक अन्य सबैमा कात्तिक महिनासम्म एक चरण चिकित्सक पु¥याएको बताए । उनले कतिपय अवस्थामा चिकित्सकको सरुवा, अध्ययनमा जानेलगायतका कारणले रिक्त रहने गरेको भए पनि मन्त्रालयले ती रिक्त स्थानमा करारमा नियुक्त गर्ने प्रक्रिया सुरु गरिसकेको जानकारी दिएको छ । रासस
देश माफियाले चलाइरहेको डा. केसीको भनाई, परिवर्तन देख्न नचाहनेले देश विगारको आरोप
काठमाडौं ३०, कात्तिक । डा. गोविन्द केसीले मुलुक माफियाले चलाइरहेकाले विकृति विसंगतिहरू देखिएको आरोप लगाएका छन् । नौवटा माग राखेर दसौं अनशन सुरु गरेका डा.केसीले भने, ‘मुलुकमा अहिले लुटतन्त्र छ, देश माफियाले चलाइरहेको छ, राजनीतिकर्मी उनीहरूका प्यादा मात्र हुन् ।’ नेपाली राजनीतिमा गैरजिम्मेवारपन अपराध, भ्रष्टाचार, दण्डहीनता संस्थागत भइसकेको आरोपसमेत डा.केसीको छ । नेता, माफिया र राजनीतिक भागबन्डाबाट पद ओगटेकाहरूमा मुलुकप्रति अलिकति पनि माया नभएकाले उनीहरूले संस्थानहरूलाई आफ्नो ‘पुख्र्यौली’, सम्पत्ति ठान्ने गरेको दाबी डा.केसीको छ । ‘उनीहरूले मुलुकका उत्कृष्ट संस्थानहरूलाई आफ्नो कार्यकर्ता आसेपासेका लागि मागी खाने भाडो बनाए, अब चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) तिर पनि आँखा लगाएका छन्,’ डा।केसीले संस्थानलाई ध्वस्त पार्न नै पार्टी कार्यकर्ता रहेका त्रिवि उपकुलपति तीर्थ खनियाँले वरिष्ठताको आधार मिचेर भविष्यमा नियुक्ति प्रक्रियालाई आफ्नो मालिकहरूको अनुकूल बनाएको बताए । स्वास्थ्य शिक्षा, सेवा मात्र नभई सुशासनको क्षेत्रमा समेत हाल देखिँदै गरिएको विकृति, विसंगति, गडबडी, अपारदर्शिता, अन्योल, माफियाकरणको चक्रब्यूँहलाई शक्ति केन्द्रहरूले जसरी भए पनि जारी राख्ने प्रयासमा रहेको आरोप उनको छ । जनताद्वारा नेता चुनिए पनि उनीहरू ‘पावर हंग्री’ मात्र भएकाले मुलुकमा सार्थक परिवर्तन देख्न नसकिएको उनी बताउँछन् । नेतालाई जनताको आवाज सुन्नुसँग मतलब नभई कुर्सीमा पुग्न मात्र हतार हुनुका साथै उनीहरू जनताप्रति जिम्मेवार नभएर कुर्सीमा जान जे गर्न पनि तत्पर भएकाले मुलुकको हाल यस्तो स्थिति भएको उनको धारणा छ । कान्तिपुर दैनिकबाट ।