मापदण्ड पालना गर्न सवै स्वास्थ्य संस्थाहरुलाई मन्त्रालयको निर्देशन
काठमाडौं, १३ कात्तिक । स्वास्थ्य मन्त्रालयले सवै स्वास्थ्य संस्थाहरुलाई मापदण्ड तत्काल पालना गर्न आह्वान गरेको छ । मन्त्रालयले सार्वजनिक महत्वको सूचना जारी गरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड संवन्धी निर्देशीका, २०७० ले तय गरेका मापदण्डहरु पुरा गर्न आग्रह गरेको हो । निर्देशिकामा व्यवस्था भएका अनुसार नीजि स्वास्थ्य संस्थामा कम्तीमा दश प्रतिशत शैयामा निःशुल्क उपचारगर्न मन्त्रालयले आग्रह गरेको छ । त्यस्तो दश प्रतिशत शैयामा विपन्न, असहाय, बेबारिसे विरामीहरुलाई उपचार गराउनु पर्ने निर्देशिकामा उल्लेख छ ।निःशुल्क उपचार प्राप्त गर्नका लागि विपन्न, असहाय, बेबारिसे बिरामीहरुलाई स्वयं घोषणा फाराम भर्न लगाई उनीहरुको फोटो सहितको विवरण अस्पतालको परिसरमा सर्वसाधारण सवैले देख्नेगरी टाँस्न आग्रह गरिएको छ। साथै निःशुल्क उपचार प्राप्त गर्नेहरुको विवरण जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभाग तथा स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा जस्ता संवन्धित निकायहरुमा मासिक रुपमा विवरण पठाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले निर्देशिकामा भएका व्यवस्थाहरु कार्यान्वयन भए नभएको बारेमा विभिन्न संयन्त्रहरु परिचालन गरी अनुगमन तथा नियमन गर्ने जनाएको छ । अनुगमनका क्रममा मापदण्डहरु पुरा नभएको पाइएमा कानुन अनुसार कारवाही हुने पनि मन्त्रालयले स्पष्ट पारेको छ
रगत अभावमा बिरामीको बिचल्ली, राजधानीमै एक सातादेखि समस्या चर्कियो
काठमाडौं १३, कात्तिक । दाङका इन्द्र गिरीका बुवा काशीरामको क्यान्सर पुष्टिपछि पित्तथैलीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भयो । थापाथलीस्थित नर्भीक अस्पतालमा भर्ना भएका काशीरामको शल्यक्रिया गर्नुअघि रगतको जोहो गर्न चिकित्सकले परिवारसँग आग्रह गरे । अस्पतालमा नपाइएपछि इन्द्र अत्तालिदैं बालकुमारीस्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसंचार केन्द्रमा पुगे । केन्द्रले रगत स्टक नभएको र रक्तदानका लागि कसैलाई खोजेर ल्याउन भन्यो । शुक्रबार उनी रगत राख्ने भाँडो बोकेर छट्पटाउँदै थिए । पसिनाले उनको अनुहार भिजेको थियो । इन्द्रको आडैमा छट्पटाइरहेका रामेछापका रामेछापका भीमबहादुर बस्नेतको हालत पनि उस्तै थियो । मोटरसाइकल दुर्घटनामा परेका उनका भान्जा दीपेश बुढाथोकीको मध्यपुर ठिमीमा उपचार भइरहेको छ । चिकित्सकले रगत नभए ज्यान जाने संकेत गरिसकेका छन् । मोटरसाइकल हाँकेर सबेरै उनी केन्द्रमा आए पनि रगत पाएनन् । आत्तिदै भएजति आफन्तलाई फोन गरिरहेका थिए उनी । गिरी एक्ला थिएनन् । अरू पनि आत्तिदै भएजति आफन्तलाई फोन गरिरहेका थिए । त्यहाँ रगत लिन चाहनेहरुको भीडले त्यही संकेत गरिरहेको थियो, कि राजधानीमा रगतको अभाव छ । अन्नपूर्ण पोष्ट दैनिकबाट ।
बर्डफ्लुबाट सतर्क हुन भारतीय सरकारको आह्वान
नयाँ दिल्ली, १० कात्तिक । भारतको सङ्घीय सरकारले स्वास्थ्य सन्देश जारी गरी बर्ड बर्डफ्लुबाट सतर्क हुन आह्वान गरेको छ । बुधबार जारी सन्देशमा पंक्षीहरुसँग सकेसम्म टाढा रहन सवैलाई आग्रह गरिएको छ । मरेका र बिरामी पंक्षीको व्यवस्थापन गर्दा निकै सतर्कता अपनाउन पनि सन्देशमा विषेश जोड दिइएको छ । गतहप्ता मात्रै नयाँ दिल्ली र मध्यप्रदेशको चिडियाखानामा बर्ड फ्ल्युबाट केही चराहरु मरेका थिए । रासस/सिन्ह्वा