तीन जनाबाट बच्चा बनाउन ब्रिटेनको स्वीकृति, दुई महिला र एक पुरुषको समिश्रणबाट बच्चा जन्माइने
काठमाडाैं, ३० मंसिर । ब्रिटेनको फर्टीलीटी रेगुलेटर अर्थात प्रजनन सम्बन्धी नियामक संस्थाले दुई महिला र एक पुरुषको समिश्रणबाट बन्ने बच्चा जन्माउन स्वीकृति दिएको छ। ऐतिहासिक र विवादास्पद रहेको यो निर्णय घातक आणुबंशिक रोग लाग्ने बच्चा नजन्मुन् भन्ने उद्देश्यले गरिएको हो। ब्रिटेनको न्युक्यासलका डाक्टरहरुले विकास गरेको उन्नत इन भीट्रो फर्टीलाइजेशन अर्थात कृत्रिम गर्भादान प्रविधिबाट अब त्यस्तो सुविधा दिन तयार भएको बताउँदै इच्छुक दाताहरुसँग डीम्बका लागि अपील गरिसकेका छन्। यस्तो पहिलो बच्चा छिटोमा सन २०१७को अन्त्यसम्ममा जन्मन सक्छ। प्रविधि कैयौं परिवारले समस्याग्रस्त माइटोकोन्ड्रियाका कारण सञ्चो नहुने रोग लागेका थुप्रै बच्चाहरु गुमाइसकेका छन्। यस्ता रोगहरु आमाबाट बच्चामा पुग्ने हुनाले दाताको डीम्ब, आमाको डीम्ब र बाबुको शुक्रकीट मिलाएर प्रविधि अगाडि बढाइन्छ । बच्चामा दाताको डीएनए न्यून मात्रामा हुन्छ। प्रक्रिया कानुनी, नैतिक र बैज्ञानिक रुपमा तयार छ। ऐतिहासिक ह्युमन फर्टीलाइजेशन एण्ड इम्ब्रियोलोजी अथोरिटि (एचएफइए)की अध्यक्ष स्याली सेशायरले भनिन्, “यो ऐतिहासिक महत्वको निर्णय हो। यो ध्यानपूर्वक अगाडि बढ्नुपर्ने विषय हो र लामो बाटो हिँड्नुछ। हामीले आज गरेको निर्णयबाट मानिसहरु खुशी हुनेछन् भन्ने ठान्छु।” अब त्यस्तो प्रविधि अपनाउन चाहनेले एचएफइए मा अनुमतिपत्रका लागि निवेदन दिन सक्नेछन्। यसले एक वर्षमा २५ जोडीलाई सहयोग पुर्याउने लक्ष्य छ। तर केही बैज्ञानिकहरुले यो प्रविधिको नैतिकतामाथि प्रश्च उठाउँदै यसले आणुवंशिक डिजाइनर बच्चा जन्माउने ढोका खोल्नेछ भनेका छन्। मान्छेका हरेक जसो कोषमा हुने खाद्यान्नलाई उर्जामा बदल्ने अंश माटोकोन्ड्रियामध्ये समस्याग्रस्त माइटोकोन्ड्रियाका कारण त्यस्तो रोग लाग्छ। हरेक ४३ सय जन्मने बच्चा मध्ये एकजना अन्धो, कमजोर मांशपेशी हुने, कान नसुन्ने, बेहोस हुने, सिकाइमा समस्या, मधुमेह, मुटु र कलेजो फेल भएका र कैयौंपटक बच्चा नबाँच्ने स्थिति जस्ता घातक लक्षणसहित जन्मिन्छन्। कसरी काम गर्छ ? यो मुख्यत दाताबाट स्वस्थ्य माइटोक्रोन्डिया लिने प्रविधि हो। तर माइटोक्रोन्डियाको आफ्नैपनि डीएनए हुने भएकाले जन्मने बच्चामा तीनजना मानिसको डीएनए हुनेछ। तर बच्चामा व्यक्तित्व र अरु कुराहरु भने बाबुआमाबाटै आउनेछ। यो प्रक्रियाबाट बच्चा जन्माउने ब्रिटेन पहिलो मुलुक भने हुनेछैन। जोर्डनका जोडी र न्यूयोर्कका डाक्टरहरुले यो प्रक्रिया मेक्सिकोमा अपनाएका थिए र त्यसबाट जन्मेको बालक स्वस्थ्य रहेको बताइएको छ। साभारः बीबीसी
स्वस्थ्यमा राज्यको पहुँचको कमी, एउटा सिटामोलको लिन एक दिन पैदल हिँड्नुपर्ने
जिल्लाका दुर्गम भेगका स्थानीय सिटामोल लिन स्वास्थ्य संस्था पुग्न एक दिन हिँड्न बाध्य छन् । भौगोलिक विकटताका कारण सामान्य रोगको उपचार पनि स्थानीयलाई सहज छैन । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा दुर्गम गाउँका बासिन्दा सामान्य स्वास्थ्य उपचार सेवाबाट बञ्चित छन् । ‘गाउँबाट अस्पताल पुग्न एक दिन लाग्छ, त्यसैले घरेलु उपचारमै गाउँले निर्भर हुनु परेको हो ’, पुजारु ९ टीकाचौरका स्थानीय यमलाल पुनले भने, ‘उपचारका लागि बिरामीलाई अस्पताल लानु भन्दा गाउँलेहरु धामीझाँक्रीकै भर पर्छन् ।’ जिल्लाका अति दुर्गम गाविस दहको जुर्क, निपाने पजारुका् टीकाचौर, रुव ढिम्को समाइला, धनरासी भगवतीको सिउन, सीमाको लयकाँडालगायतका गाउँका बासिन्दा स्वास्थ्य सेवाबाट टाढा रहेको छ । राजधनी दैनिकबाट ।
आइओएम बचाउँ भन्दै डिनको राजिनामा मागेपछि मेडिकल पठनपाठन अवरुद्ध
काठमाडौं, २८ मंसिर । त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा डा.जगदिश अग्रवाललाई डिन नियुक्त गरिएको विरोधमा मेडिकल कलेज, आयुर्वेद क्याम्पस र नर्सिङ क्याम्पसहरुको पठन पाठन अवरुद्ध भएको छ । आइओएम बचाउ अभियानमा सहभागिहरु त्रिविले डा.गोविन्द केसीको अनसनको बलमा डा.जगदिश अग्रवाललाई नियम विपरित डिन नियुक्त गरेको भन्दै विरोधमा ओर्लिएपछि पठन पाठन अवरुद्ध भएको हो । विधिसम्मत ढंगले डीन नियुक्त भएका डा.केपी सिंहलाई राजिनामा गर्न बाध्य बनाएर अन्याय गरेको भन्दै डा.अग्रवालको राजिनामा नआएसम्म विरोधका कार्यक्रम जारी राख्ने आईओएम बचाउ अभियानका डा. सुरेश उप्रेतिले बताए । उनले भने– ‘नब्वे प्रतिशत फ्याकल्टीको विरोधलाई लत्याएर डा.केसीको हटमा डीन वनाइएका डा.अग्रवालले राजिनामा नदिएसम्म पठन पाठनमा कोही सहभागी हुने छैनन् ।’ आईओएम बचाउ अभियानका सहभागिहरुले अग्रवाललाई डीन नियुक्त गरेकै दिन विरोध गर्दै डीनको कार्यालयमा तालावन्दी गरेका थिए । अहिलेको समस्या समाधानको एक मात्र विकल्प डा.अग्रवालको राजिनामा रहेको अभियानका अर्का सदस्य डा. अभिमन्यू झाले बताए । उनले भने–‘ आईओएमप्रति थोरै पनि माया छ भने ९० प्रतिशत फ्याकल्टीको भावना अनुसार अग्रवालले तत्काल राजिनामा दिएर निकास दिनुपर्छ ।’ आईओएम मातहतका प्राध्यापक, विद्यार्थी, स्वास्थ्यकर्मि र कर्मचारी डिनको राजिनामा माग्दै विरोधमा ओर्लिएका कारण यतिखेर महाराजगन्ज मेडिसन क्याम्पस, नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, विराटनगर नर्सिङ क्याम्पसलगायतका शिक्षण संस्थामा पढाइ हुन सकको छैन ।