चितवन मेडिकल कलेजबाट चार लाखभन्दा बढीले पाए उपचार
चितवन । एकदशकदेखि सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) मा एक वर्षमा चार लाखभन्दा बढी बिरामीले उपचार पाएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा बहिरङ्ग सेवा (ओपिडी) मा चार लाख ४४ बिरामीलाई सेवा दिइएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले सो अवधिमा ३२ हजार ५७६ जनाको आकस्मिक कक्षमा उपचार भएको जानकारी दिएका छन् । आकस्मिक कक्षमा उपचार गराउन आउनेमध्ये ३६ प्रतिशत भने दुर्घटनाका बिरामी हुन् । सोही अवधिमा ४२ हजार ७०६ बिरामी भर्ना भएर सेवा लिएका छन् । त्यस्तै दुई हजार ९९३ ले निःशुल्क प्रसूति, सात हजार ८३० ले शल्यक्रिया, दुई हजार ५२८ ले मुख्य शल्यक्रिया सेवा लिएका छन् । गत आर्थिक वर्षमा ११ हजार ११ जनाको सिटिस्क्यान, दुई हजार ९७९ को एमआरआई, ५१ हजार ८६९ को युएसजी (भिडियो एक्स–रे) गरिएको थियो । सो अवधिमा ७४ हजार ४६३ जनाले बीमामार्फत सेवा लिए । भर्ना हुने बिरामीमध्ये पाँच हजार ६८४ जनाले बीमा सेवा उपयोग गरेको अस्पताल प्रबन्धक पारस अधिकारीले जानकारी दिए । अस्पताले गत आर्थिक वर्षमा सात जिल्लाका १२ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर छ हजार ५५१ जनालाई सेवा दिएको थियो । अस्पतालले ७०० श्ययाको अनुमति लिएको छ । शुरुआतका वर्षमा अस्पतालबाट थप उपचारका लागि काठमाडौँ जानेको सङ्ख्या ठूलो भए पनि हाल यो सङ्ख्या एक प्रतिशतभन्दा कम रहेको अधिकारीले दावी गरेका हुन् । यसैबीच, अस्पतालले कलेजो प्रत्यारोपणको स्वीकृति समेत पाइसकेको छ । विश्व हेपाटाइटिस डे (जुलाई २८) का अवसरमा आइतबारदेखि कलेजो प्रत्यारोपण सेवा शुरु गरेको हो । अस्पतालका निर्देशक डा. लम्सालका अनुसार चितवनमा नै पहिलोपटक हेपाटाइटिस तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सागर पौडेलबाट दैनिकरुपमा यो सेवा उपलब्ध हुँदै आएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले कलेजो प्रत्यारोपणको दक्ष जनशक्ति तयार भइसकेको जानकारी दिँदै अस्पताललाई देशकै कलेजो प्रत्यारोपणको केन्द्र बनाउने लक्ष्य रहेको बताए । उनका अनुसार बहिरङ्ग सेवामा कलेजो दिने र लिने दुवैको स्वास्थ्य परीक्षण, परामर्श सेवा दिइनेछ । न्यौपानेका अनुसार चितवन मेडिकल कलेज निजीमा सबैभन्दा बढी सङ्कायको पढाइ हुने कलेज हो । प्रविणता प्रमाणपत्र तह देखि स्नातकोत्तरसम्मको स्वास्थ्यसँग सम्बन्धित विभिन्न २६ वटा सङ्कायको पढाइ हुँदै आएको छ । न्यौपानेले सघन उपचार तथा बाल सघन उपचार कक्षजस्ता अत्यावश्यक जटिल उपचारमा पनि अस्पतालले सेवा दिइरहेको बताएका छन् । गङ्गालालपछिको मुटु रोगको उपचारमा चितवन मेडिकल कलेजलाई लिइने गरेको न्यौपानेको दावी छ । रासस
मेडिकल काउन्सिलकाे लाइसेन्स परीक्षाफल प्रकाशित, बिडीएसतर्फ ६१ प्रतिशत अनुत्तीर्ण
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस) र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए । तीमध्ये आठ जना अनुपस्थित र एक हजार ३११ जना अर्थात् ७८ उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । यसैगरी, बिडीएसतर्फ ३५३ जना सहभागीमध्ये १३८ जना अर्थात् ३९ प्रतिशतमात्र परीक्षार्थी उत्तीर्ण भएको काउन्सिल सदस्य प्रा डा. ढुण्डिराज पौडेलले जानकारी दिएका छन् । काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण नभइकन बिरामी परीक्षण गर्न पाइँदैन । पछिल्लो समय काउन्सिलको लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुनेको सङ्ख्यामा वृद्धि भइराखेको छ । यसैबीच, नेपाल चिकित्सक सङ्घको आगामी निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतको जिम्मा डा. बाबुराम मरासिनीलाई दिइएको छ । निर्वाचन माघ महिनामा हुँदैछ । केन्द्रीय सहकोषाध्यक्ष डा. प्रकाश बुढाथोकीका अनुसार प्रमुख निर्वाचन अधिकृत डा. मरासिनीले समितिमा अन्य दुई चिकित्सक मनोनीत गर्नेछन् । सङ्घको आगामी फागुनको १५ देखि १७ गतेसम्म पोखरामा आयोजना हुने २८औं सम्मेलनपूर्व निर्वाचन कार्यक्रम सम्पन्न हुने उनले जानकारी दिए । सङ्घमा हाल आठ हजारभन्दा बढी चिकित्सक सदस्य रहेका छन् । रासस
कास्कीका दलित १२ परिवारको निःशुल्क स्वास्थ्य बीमा
पोखरा । कास्कीको माछापुच्छे गाउँपालिका–३ घाचोकस्थित परियारटोलका १२ दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले संयुक्तरूपमा सो टोलका गरीब तथा विपन्न अवस्थाका उनीहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले एक वर्षको बीमा गराएका हुन् । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले स्थानीय सुरेश परियारलाई बीमाकार्ड हस्तान्तरण गर्दै ‘सुखी नेपाल समृद्ध नेपाल’ निर्माणको अभियानलाई सफल बनाउन सङ्घसंसस्थाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् । गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले वर्षको रु तीन हजार ५०० को बीमाबाट नागरिकलाई रु एक लाखसम्मको ऋणबाट मुक्त गर्न सकिने बताउँदै यस वर्ष पनि गरीब तथा विपन्न परिवारको बीमाका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको जानकारी दिए । दलित समुदायलाई स्वास्थ्य सेवासम्मको पहुँच सुनिश्चित गर्न रु ४२ हजारको लगानीमा एक वर्षको स्वास्थ्य बीमा गरिएको क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिएका हुन् । रासस